बालसाहित्य लैङ्गिक भेदभाव विनाको हुनुपर्छ

हामी विकासोन्मुख देशमा छौँ र अन्य देशको तुलनामा हाम्रो परिप्रेक्ष्यमा इन्टरनेटको प्रयोग कम मात्रामा रहेको छ । इन्टरनेटलाई ज्ञानबर्धक सामग्रीको खोजीमा भन्दा मनोरञ्जनात्मक सामग्रीको खोजीमा बढी प्रयोग गरिएको हुन्छ तर पनि यसलाई सकारात्मक रूपमै लिनु पर्दछ किनभने यसले मानिसमा इन्टरनेटको प्रयोग गर्ने बानीको विकास हुँदैछ र बिस्तारै यसको महत्वको विकास पनि हुनेछ ।बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरूले पनि ठूला मानिसले जे गर्दछन् त्यहि कुराको देखासिकि गर्दछन् । त्यसैकारणले पनि बालबालिकाहरूले इन्टरनेटमा रहेको ज्ञानबर्धक सामग्रीभन्दा चलचित्र तथा अन्य कुराहरू नै बढी हेर्ने गरेका हुन्छन् ।

इन्टरनेटमा बालबालिकाहरूका लागि नेपाली भाषाका कथा, चित्र, कार्टुन जस्ता मनोरञ्जनात्मक सामग्रीहरू, जसले ज्ञान पनि प्रदान गर्दछ, त्यस्ता सामग्री प्रशस्त मात्रामा रहेका छैनन् । त्यसैले पनि बालबालिकाले हिन्दी तथा अंग्रेजी भाषाका सामग्रीहरूको प्रयोग बढी गरिरहेका हुन्छन् वा इन्टरनेटमा गेमहरू बढी खेलिरहेका हुन्छन् । तर पनि इन्टरनेटमा नेपाली भाषाका बाल सामग्रीहरू जो जति छन् तिनलाई सकारात्मक रूपमा लिनु पर्दछ किनभने प्रयास भएको छ । बालबालिकाहरूमा मनोरञ्जन अनि ज्ञान प्रदान पनि गरेकै छ र आउने दिनहरूमा यस्ता सामग्रीहरूको संख्यात्मक र गुणस्तरात्मक बृद्धि हुँदै जाने पनि छ ।

इन्टरनेटमा नेपाली भाषाका बाल सामग्रीहरू जो जति छन् तिनलाई सकारात्मक रूपमा लिनु पर्दछ किनभने प्रयास भएको छ ।

इन्टरनेटमा रहेका श्रब्यदृश्य सामग्रीहरूले बालबालिकाहरूमा मनोरञ्जन तथा ज्ञान त प्रदान गर्छ नै साथै उनीहरूमा अलि छिटो प्रभाव पनि पार्दछ तर त्यसले बालबालिकाहरूमा अध्ययन बानीको विकास उल्लेखनीय रूपमा गरेको हुँदैन । छापिएका पुस्तकहरू आफ्ना हातले छुंदै, हरेक पानाहरू पल्टाउँदै अनि एक एक शब्द अनि चित्रहरूलाई केलाउँदै पढ्दा त्यसको अनुभव र अनुभूति बेग्लै हुन्छ । मनोरञ्जन, ज्ञान, प्रभावको साथै अध्ययन बानीको विकास पनि राम्रोसँग हुन जान्छ । बालबालिकाले चाहेको बेला पुस्तक निकालेर पढ्न पनि पाउँछन् । कतिपय ठाउँमा इन्टरनेट पनि छैन त्यसैले पनि त्यहाँ छापा पुस्तक नै एकमात्र बिकल्प हुन जान्छ ।

बालबालिकाको मनोविज्ञान बुझ्नु आवश्यक
बालबालिकाको मनोविज्ञानलाई बुझ्नु सजिलो कुरा होइन । उनीहरूको सिकाइ, धारणा, बुझाई, विकास, प्रभाव तथा मनोरञ्जन सबै कुराहरूलाई ध्यानमा राखेर सामग्रीको विकास गर्नुपर्ने हुन्छ जुन आफैमा एउटा जटिल कार्य हो । इन्टरनेटमा रहेका बाल सामग्रीहरू केहि हदसम्म बालबालिकाहरूको मनोविज्ञानमैत्री रहेका छन् तर पनि पर्याप्त मात्रामा छैनन् । हुन त यो सबै कुरा स्रोत, सामग्री, समय, दक्षता तथा उद्देश्यमा निर्भर गर्ने कुरा हो तर पनि अलि बढी सचेत भएर त्यस्ता सामग्रीहरू अपलोड गर्नु पर्ने हुन्छ ।

मैले माथि भनेको जस्तै अनलाइन सामग्रीहरूको प्रभाव बढी हुने भएको हुनाले पनि त्यस्ता सामग्रीद्वारा प्रदान गरिने ज्ञान तथा सूचनामा अलि बढी सचेत हुनु पर्दछ । मनोरञ्जन प्रदान गर्ने र लोकप्रियता हासिल गर्ने प्रयासमा बालबालिकाको मनोविज्ञानलाई कदापी ओझेलमा पार्न हुँदैन ।

बालबालिकाको सामग्रीमा महिला प्रस्तुती
यो महत्वपूर्ण सवाल हो । समावेशीकरण तथा महिला सशक्तिकरण अहिलेको जल्दोबल्दो मुद्दा हो र सरकारले पनि यसलाई मुलधारमा ल्याउने प्रयास गरिरहेको छ ।हिजो आज महिला हिंसा सर्वत्र व्याप्त छ । महिला र पुरुषमा भेदभाव छ । अवसरमा पहुँच छैन । सानै उमेर देखि नै “यो छोरा मान्छेले गर्ने काम हो र यो छोरी मान्छेले गर्ने काम हो” भन्ने भावनाको विकास भैरहेको छ ।यसो हुनुमा अन्य विविध कारणहरू पनि छन् तर मेरो विचारमा प्रमुख कारण भनेको सानैदेखि बालबालिकाहरूले के पढे, कसरी पढे, के हेरे र के सुने भन्ने कुरा हो ।

अहिले पनि चाहे त्यो इन्टरनेटमा भएका बाल सामग्री होस् वा छापा पुस्तक होस्, त्यहाँ महिलालाई गौण स्थानमा राखिएको हुन्छ ।

बहादुरी र बढी सम्मान अनि पैसा हुने स्थानमा पुरुषहरूलाई नै राखिएको हुन्छ, उदाहरणको लागि प्रहरी अधिकारी, पाइलट, वकिल, किसान, प्रोफेसर जस्ता चरित्रहरू पुरुषद्वारा दर्शाइएको हुन्छ भने भान्सामा खाना पकाउने, बारीमा घाँस काट्ने, कोमल, घरको काम गर्ने, छिटै रुने जस्ता चरित्रहरूमा महिलाहरूलाई दर्शाइएको हुन्छ । यस्ता सामग्रीहरू पढेर, हेरेर र सुनेर नै हाम्रा बालबालिकाहरू ठूला भएका हुन्छन् र उनीहरूको मनोविज्ञान पनि त्यसै अनुरूप विकास हुँदै जान्छ ।

समय बदलिएको छ, यदि लैंगिक समानता, महिला सशक्तिकरण तथा शुन्य सहनशिलतालाई सुनिश्चित गर्ने तिर लाग्ने हो भने त्यो कागज र कुरामा सीमित गरेर हुँदैन बरु त्यसलाई हरेक मानिसको मस्तिष्कमा बसाल्नु पर्छ जुन कार्य सानैदेखि बालबालिकाहरूका अध्ययन तथा श्रव्यदृश्य सामग्रीहरूमा समाबेश गर्नु पर्दछ ।

:1287 Views

Leave a Reply