म बालबालिकाको धरालो हुँ

६ दशक देखि निरन्तर बालसाहित्यमा सकृय लेखक शान्तदास मानन्धर ८७ वर्षको उमेरमा पनि बालापनकै जोशका साथ श्रृजनामा लागिरहेका देखिन्छन् । तर जब उनले बालसाहित्यमा हात हालेका थिए, त्यस समयमा भने नेपालमा बालसाहित्यको नाम निशान थिएन । “त्यसबेला बालबालिकाका लागि साहित्य लेख्ने कोही थिएन, मात्र लक्ष्मीप्रसाद देवकोटा थिए । उनले लेखेको बालसाहित्य पनि बालसाहित्य जस्तो थिएन, तर उनमा बालबालिकाका लागि लेख्छु भन्ने चाहिं थियो,“ उनी राणाशासनको समय सम्झन्छन् । मानन्धरले करीब ४० वर्ष अघि ’बालकोसेली’ नामक पत्रिका प्रकाशन गर्न थालेका थिए । हालसम्म त्यस पत्रिकाका ९८ अंक प्रकाशित भइसकेका छन् । उनले आफूले मात्र लेखेनन् धेरैलाई बालबालिकाको लागि लेख्न अभिप्रेरित पनि गरे । तर बालसाहित्य लेख्न र लेखाउन सजिलो भने नभएको उनको अनुभव छ । बालसाहित्य किन आवश्यक छ भनेर कतिपय अभिभावकलाई बुझाउनै नसकेको बताउने उनी बालबालिकालाई साहित्यमार्फत समाजका राम्रा कुराहरू चिनाउनुपर्नेमा जोड दिन्छन् । बालबालिकाको चिन्ता गर्ने उनै शान्तदास मानन्धरले केटाकेटीको बारेमा नुवागीसँग साटेको अनुभूति उनकै शब्द र शैलीमा ।

केटाकेटी भनेका केटाकेटी नै हुन् । उनीहरू केटाकेटी जस्तै हुन्छन् । उनीहरूलाई केटाकेटीलाई जस्तै नै व्यवहार गर्ने हो । उनीहरूबाट अपेक्षा पनि त्यही गर्ने हो । तर बच्चा हो, यसलाई केही थाहा हुन्न भन्ने सोचेर व्यवहार कदापि गर्न हुन्न । किनकी भर्खरै जन्मेको एउटा सानो बच्चाले पनि आमा चिन्दछ । उसले आमाको काख र अरुको काख छुट्याउन सक्छ । आमाको स्पर्श र अरुको स्पर्श जानेको हुन्छ । बच्चा अरुको काखमा जाने बित्तिकै किन रुन्छ ? थाहा छ ? किनभने उसले आमाको काख र अरुको काख छुट्याउन सक्छ । दुध खाँदै मुखमा हेर्दै उसले आफ्नो आमा हो भन्ने थाहा पाउँछ । स्पर्श, दृष्टि अनि ध्वनीको माध्यमबाट को आमा को बाबा, मान्छे चिन्न सक्छ उसले । जन्मँदै उसमा पनि विवेक हुन्छ, चेतना हुन्छ ।

यस्तो कुरा धेरैले विचार गरेका हुँदैनन् । कतिले त बालबच्चासँग कसरी व्यवहार गर्ने भन्ने कुरा जानेका हुँदैनन् । के बोल्ने के नबोल्ने भन्ने ज्ञान हुँदैन कतिलाई । आफ्नो अज्ञानताकै कारण आफ्नै सन्तान आफूले चाहे जस्तो नभएको गुनासो गरिरहन्छन् । त्यसो नहोस् भन्ने चाहने हो भने सबैभन्दा पहिला बच्चालाई बुझ्न जरुरी छ । उनीहरूलाई बुझेपछि बल्ल आफूले चाहे जस्तो गराउन, भनाउन र बनाउन सकिन्छ । नभए अभिभावकको चाहना एकथरीको हुन्छ, छोराछोरीको अवस्था अर्कैथरीको हुन्छ । तर बुझ्ने कसरी ? हेरेर मात्र बुझिन्न । उसँग सँगै बस्न पर्छ । उसका कुरा र बानी व्यवहार हेर्न पर्छ । उसँग खेल्न पर्छ । उसलाई आँखाबाट हेरेर, कानबाट सुनेर अनि मात्र अन्य तरिका पहिल्याइ बुझ्न सक्छौँ । उनीहरूसँग समय नबिताइ हामीले बालबालिकालाई बाहिरबाट बुझ्न सक्दैनौँ । उनीहरूलाई बुझ्न उनीहरूसँग नै बस्नुपर्ने हुन्छ । हामीहरू धेरै जसो हेर्छौँ तर देख्दैनौँ । त्यसैले बुझ्दैनौँ ।

बच्चालाई बुझ्न पनि उसको नजिक नगई हुँदैन । उसलाई हेरेर होइन देखेर बुझिन्छ ।

केटाकेटी भनेको हाम्रो काखमा हुर्केका हुन्छन् । हामीले उनीहरूलाई जसरी हुर्कायौँ, उनीहरू त्यसैगरी हुर्कन्छन् । कुकुरसँग राख्यौँ भने उनीहरू कुकुर जस्तै चार हातखुट्टा टेकेर हिँड्छन् । बाघसँग राखे बाघै जस्ता बन्छन् । यसको अर्थ हाम्रो पालनपोषणमा निर्भर हुन्छ केटाकेटीको भविष्य, उसको संस्कार र व्यवहार । अभिभावकले आफूले चाहेर र मनले केही कुरा चिताएर मात्र हुँदैन । मनले चिताएसरी व्यवहार पनि गर्नुपर्छ । हामीले गर्ने व्यवहार हाम्रा केटाकेटीले प्रतिबिम्वित गर्छन् । चिताउने तर त्यो अनुसार व्यवहार नगर्दा धेरै अभिभावक आफ्ना सन्तानसँग दुखी हुने गर्छन् ।

हुर्काउन गार्हो

पहिला अभिभावकले बालबालिकालाई यस्तो बनाउँछु भनेर सोचेकै हुँदैनथे । उनीहरूले बच्चा रोयो भने भोकाएर होला भनेर खानेकुरा खुवाउँथे । उतिबेलाका बच्चाहरू त्यसैमा रमाउँथे । आमाबुवाले जता लग्यो उतै जान्थे, जे दियो त्यही खान्थे । त्यसैले ज्ञानी थिए ।

कतिपय अभिभावकहरू पहिला पहिला बालबालिका हुर्काउन सजिलो भन्ने गर्छन् । हो सजिलो त थियो । किनकि पहिलेका बच्चाहरूले अहिलेको बच्चाहरूले जति कुराहरू देखेका हुँदैनथे । नदेखेपछि माग्दैनथे । आमाबुवालाई यो चाहियो त्यो चाहियो भनी पिर्दैनथे । उनीहरू धेरै खेल्थे मात्र । उनीहरूमा केही कुराको लगाव थिएन । पहिला अभिभावकले बालबालिकालाई यस्तो बनाउँछु भनेर सोचेकै हुँदैनथे । उनीहरूले बच्चा रोयो भने भोकाएर होला भनेर खानेकुरा खुवाउँथे । उतिबेलाका बच्चाहरू त्यसैमा रमाउँथे । आमाबुवाले जता लग्यो उतै जान्थे, जे दियो त्यही खान्थे । त्यसैले ज्ञानी थिए ।

अहिले बच्चा हुर्काउन गार्हो भयो भनेको मतलब अभिभावकले चाहेअनुसार बालबालिका भएनन् भन्न खोजिएको हो । उनीहरूले चाहेअनुसार बालबालिकाले खाएनन् वा गरेनन् भनेको हो । तर आफूले चाहेअनुसारको बनाउन पहिला अभिभावकले बच्चालाई बाटो बनाइदिनुपर्छ । कुन बाटोमा कहिले हिँडाउने हो उसलाई बताइदिन पर्छ । धेरै अभिभावक आफै यो कुरामा अल्मलिन्छन् अनि बच्चा पनि अल्मलिन्छ र उनीहरू दुखी हुन्छन् । आफूले जाहेजस्तो बनाउने भन्ने अभिभावकहरू विद्यालयलाई बच्चा हुर्काउने जिम्मा लगाउँछन् । कतिपय बच्चाहरू आमाबुवाले होइन विद्यालयले हुर्काएका हुन्छन् । त्यसैले ती सोही विद्यालयअनुसारका हुन्छन् । यसरी पैसा लगानी गरेर मात्र बालबालिका हुर्काइएको मानिँदैन । मैले पनि मेरा केटाकेटी सबै आफैले कहाँ हुर्काउन पाएँ । आमा, बजै, काका, काकी, मामामाइजू, विद्यालय सबैले मिलेर हुर्काए । मैले हुर्काएका केटाकेटी भनेका त मेरा आफ्ना छोराछोरी होइनन्, मैले हुर्काएको केटाकेटी भनेको त मैले तालिम दिएका केटाकेटी हुन् ।

धेरै प्रश्न

प्रश्न सोध्नु गलत होइन । प्रश्न सोध्नु आफैमा वैज्ञानिक हो । उसलाई सोध्न प्रोत्साहन गर्न पर्छ । उसको कौतुहलता मेट्नुपर्छ । यसबाट उनीहरूको चेतना र ज्ञान पनि बढ्छ ।

बालबालिकाले धेरै प्रश्न गर्छन् । उनीहरू जिज्ञासु हुन्छन् । बच्चाले कोही बाहिरबाट आएमा कहाँ गएर आएको?, त्यो कहाँ छ?, त्यहाँ भन्दा पर के छ?, त्यो भन्दा झन् पर के छ? भनेर प्रश्न गर्ने गर्छन् । मैले यसमा कथा नै लेखेको छु । एउटा बच्चाले आमालाई के तरकारी पकाएको भनि प्रश्न गर्छ । आमाले साग भनि उत्तर दिन्छिन् र बच्चाको थप प्रश्न आउँछः के को साग ?, त्यो साग खाँदा के हुन्छ ?, त्यसमा के छ ? वास्तविक जीवनमा पनि त्यस्ता प्रश्न आउँछन् । त्यस्ता प्रश्न आउँदा कतिपयले झर्को मान्ने गर्छन् । बालबालिकाको स्वभाव नै नयाँ कुरा जान्ने र प्रश्न सोध्ने हुन्छ । त्यस्तो अवस्थामा हामीले उनीहरूलाई गाली गर्नु हुँदैन । प्रश्न सोध्नु गलत होइन । प्रश्न सोध्नु आफैमा वैज्ञानिक हो । उसलाई सोध्न प्रोत्साहन गर्न पर्छ । उसको कौतुहलता मेट्नुपर्छ । यसबाट उनीहरूको चेतना र ज्ञान पनि बढ्छ । आफूलाई थाहा भएका सबै प्रश्नको जवाफ दिनुपर्छ । थाहा नभएको खण्डमा ‘थाहा भएन सोधेर भन्छु भरे भोलि’ भन्नुपर्छ । यसबाट उसले एकै मान्छेलाई सबै कुरा थाहा नहुने रहेछ भन्ने बुझ्छ, जवाफ पर्खने बानीको विकास हुन्छ ।

पढ्नेले जागिर पाउँछ

पहिला पहिला पढ्ने मान्छेले मात्र जागिर पाउँछ भन्ने सोच थियो । त्यसैले पनि बच्चालाई पढ पढ मात्र भनिन्थ्यो । त्यहि कुरा अहिले पनि चलिरहेको छ । तर बालबालिकालाई के पढ्ने भनेर चाहि कसैले भनिदिएको हुँदैन ।

बालबालिकालाई हुर्काउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । बालबालिकालाई स्वस्थ बनाउन जोड दिइनुपर्छ । स्वस्थ भनेको तीन किसिमबाट हुन्छः तन, मन र वातावरण । बच्चा बस्ने कोठा, स्कुल र उसको वातावरणबाट उसलाई ख्याल गर्नुपर्छ । हावा, पानी, खाना र वातावरण खराब हुँदा बच्चा बिरामी पर्छ । बच्चाको खेल्ने ठाउँ समेत सफा हुनुपर्छ । जुन ठाउँमा फोहोर छ, त्यो ठाउँमा पर्दा मात्र बालबालिकालाई फोहोर लाग्छ भने बुवाआमाले बोलेर, व्यवहारबाट, खुवाएर बच्चालाई फोहरी बनाउन सक्छ । बच्चालाई कहाँ–कहाँबाट हानी पुग्छ भनेर ध्यान पुर्याउनुपर्छ । अभिभावक धेरै सचेत हुनुपर्छ ।

पहिला पहिला पढ्ने मान्छेले मात्र जागिर पाउँछ भन्ने सोच थियो । त्यसैले पनि बच्चालाई पढ पढ मात्र भनिन्थ्यो । त्यहि कुरा अहिले पनि चलिरहेको छ । तर बालबालिकालाई के पढ्ने भनेर चाहि कसैले भनिदिएको हुँदैन । हामीलाई जति पनि कुरा पढाइएका छन्, ती सबै साँच्चै हामीलाई चाहिने मात्र पढाइएका छन् ? वा हामीले पढ्ने सबैकुरा राम्रा छन् ? हामी चाहिने नचाहिने, राम्रा नराम्रा सबै पढ्छौँ । त्यसैले बच्चालाई काम लाग्ने कुरा यो हो भनेर पढ्न प्रेरित गर्नुपर्छ ।

बालबालिकाका लागि काम लाग्ने कुरा भनेको बालसाहित्य हो । बालसाहित्य भनेको त्यस्तो साहित्यिक रचना हो, जुन बालबालिकाका निम्ति काम लाग्छ । बालसाहित्य भनेको कथा, कविता मात्र होइन । भावनात्मक र कल्पनाशिलताबाट बालसाहित्य तयार गर्नुुपर्छ ।

उद्देश्यसहितको बालसाहित्य
बालसाहित्य रचना गर्दा पनि हामीले ३ वटा मुख्य बुँदालाई ख्याल गर्नुपर्छ । पहिलो बालबालिकालाई स्वस्थ बनाउने बारे । तपाईँले लेखेको र तयार गरेको कुरा र कामबाट केटाकेटीको सेवा गर्दै हुनुहुन्छ भने पहिला बालबालिकालाई स्वस्थ बनाउनुपर्छ । स्वास्थ्यसम्बन्धि लेख्नु बालसाहित्य हो । बालबालिकालाई ‘हामी बिरामी हुन चाहँदैनौँ’ भन्ने विषयमा धेरै अङ्क लेखेको छु । मैले नै नानीबाबुहरूलाई सोधेँ ‘तिमीहरू बिरामी हुन चाहन्छौ?’ उनीहरूले ‘हामी चाहँदैनौँ तर हामीलाई कहिले रुघा लाग्छ, कहिले ज्वरो आउँछ’ भने । उनीहरूले मात्र चाहेर उनीहरू बिरामी नहुने भन्ने हुँदैन । उनीहरू बिरामी हुने कारणहरू छन् : हावा खराब भयो भने, पानी खराब भयो भने, खाना खराब भयो भने र वातावरण खराब भयो भने ।

दोस्रो सचेत बनाउनु वा चेतना दिनु हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विकासका कुरा उनीहरूलाई थाहा दिनुपर्छ । बालबालिकालाई हेर्ने मात्र नभई उसलाई देख्न सक्ने बनाउनुपर्छ । र तेस्रोमा बालबालिकालाई सामथ्र्य बनाउन पर्छ । कुनै पनि कर्म गर्न सक्ने क्षमताको विकास उसमा गराउन पर्छ ।

केही बालसाहित्यमा बालबालिकाको स्वास्थ्यलाई हानी हुने वस्तुको विज्ञापन पनि प्रयोग गरेको पाइन्छ । बालबालिकालाई अहित हुने कुरा बालसाहित्यमा राख्नु हुँदैन ।

मैले बालबालिकाको लागि विभिन्न कथा तथा कविता लेखेको छु । पानी र माटोको बारेमा कथा लेखिसकेको छु । अब घामको बारेमा लेख्दै छु । त्यस्तै धेरै पुस्तकहरू पनि सम्पादन गरेको छु । बालबालिकालाई गीत लेखेको छु । बालकोशेली प्रकाशन गरेको झण्डै सय अंक पुग्न लाग्यो । त्यसबाट उनीहरूका लागि काम लाग्ने, उनीहरूको दिमागलाई पोषण मिल्ने खुराकहरू पस्किराखेको छु । बालबालिकाको कुराकानी शैली, गीतको माध्यम र चित्रबाट बालबालिकालाई बुझाउन सकिन्छ । बच्चाले चित्रको भाषा सजिलै बुझ्छन् । त्यो माध्यमबाट पढाउन उत्प्रेरित गर्न सकिन्छ । पढाउनु भनेको छरितो बनाउनु हो नि ।

‘रातोभालेको रातै सिउर’, ‘टिकटिके कीरा’, ‘छुनुमुनु पँधेरामा’, ‘अब खेल खेल्ने’, ‘पढ्न कति रमाइलो’, ‘क का कि की’, ‘छुनुमुनु जु गएको’ इत्यादिबाट पुस्तक लेखेको छु । केही कविता, कथा गीत सानो ठिमीको पाठ्यक्रम विकास केन्द्रले छापेर वितरण गरेको छ ।

मैले बालसाहित्यमा लेखेको ५५ वर्ष भयो । तर म कवि होइन । म बालबालिकाको धरालो हुँ । म बालकहरूको विचार गर्ने मान्छे हुँ । बालबालिकालाई के के मनपर्छ, त्यहि त्यहि गर्नुपर्छ मैले । मैले उनीहरूलाई हानी नहुने, उनीहरूलाई हुर्कन सहज हुने काम गर्नुपर्छ ।

:948 Views

Leave a Reply