नयाँ कुरा सिक्ने मौका छोड्दिनँ

करिब दुई दशकदेखि शिक्षण क्षेत्रमा आवद्ध शर्मिला केसी सिंह बनेपास्थित हिकारी किन्डरगार्डेनकी प्रिन्सिपल हुन् । बनेपाको बुडोलमा जन्मि विवाहपश्चात ललितपुर धोबीघाटमा बस्ने उनी दैनिक बनेपाको विद्यालयमा आउँछिन् र फर्कन्छिन् । बालबालिकालाई आफ्नो उर्जा र शक्तिको श्रोत मान्ने उनी हिकारीमा आउनुपूर्व शिक्षणमा खासै रुचि नभएको खुलाउँछिन् । तर आफ्नो पढाइ, प्रशिक्षण र संगतले शिक्षणकै लागि जन्मिएको रहेछु भन्ने महशुस गर्न थालेकी उनी आफूलाई शान्त स्वभावको व्यक्ति बताउँछिन् । आफ्ना दुबै छोराहरू ठूला भइसकेपछि हाइकिङ, ट्रकिङ र अन्य किसिमका घुमघामहरू गर्ने सोच बनाएको बताउने शर्मिलाको व्यक्तित्वको चर्चा उनकै शब्द र शैलीमा प्रस्तुत छ ।

म हरेक दिन स्कुटरमा ललितपुर, धोबीघाटबाट हिकारी किन्डरगार्डेनमा आउँछु । विवाहअघि नै म हिकारीसँग थिएँ । अहिले पनि यसैसँग छु । कतिले उहाँदेखि आउन सजिलो छ र ? भनी सोध्नुहुन्छ । म आउनेलाई भन्दा सोध्नेलाई असजिलो भएको भन्ने बुझ्छु । ‘बनेपाबाट काठमाडौँ, ललितपुर र अझै टाढा टाढा काम गर्न जानेहरू धेरै छन् । उनीहरू जान सक्छन् भने म ललितपुरबाट किन आउन नसक्ने ?’ मलाई सोध्नेलाई प्रतिप्रश्न गर्ने गर्छु । यो क्रम चलेको १२ वर्ष भयो । मलाई हिकारी मन पर्छ । हिकारीको शुरुवाती दिनदेखि म संलग्न छु । मैले आफ्नो जीवनको उद्देश्य यहाँ भेट्टाएकी छु । त्यसैले म हिकारीसँग छु । तर हिकारी नभइ कुनै अरु विद्यालयमा पुगेकी थिएँ १७ वर्षपहिला भने सायद म शिक्षणमा हुँदिनथेँ । किनकि मलाई पढाउने खासै रुचि थिएन । मेरो रुचिविपरीत मैले शिक्षाशास्त्र पढेँ । त्योबेला मेरो मन रोएको थियो ।

बनेपामा आजभन्दा अठारबीस वर्षपहिले किन्डरगार्डेनहरू थिएनन् । हिकारी सम्भवत पहिलो किन्डरगार्डेन नै हुनुपर्छ । एक जापानी नागरिक मायुमी आदाचीले शुरु गर्नुभएको यो किन्डरगार्डेनमा बालबालिकाको रुचिको ख्याल गरिन्थ्यो, उनीहरूलाई खेलाइन्थ्यो, गाउन र नाच्न लगाइन्थ्यो । यी कुरा त्यतिबेलाका विद्यालयहरूका भन्दा फरक थिए । हिकारीको अध्यापन शैलीले मलाई शिक्षणप्रति मोह जाग्न थाल्यो । त्यसमाथि मेरो कलेजको पढाइले यसप्रति जिम्मेवार हुन प्रेरित गरिरह्यो । हिकारीमा काम गर्न थालेको पाँच सात वर्षपछि नै म यो पेशामा रमाउन थालिसकेकी थिएँ ।

मैले शुरुका दिनमा यस किन्डरगार्डेनका संस्थापक मायुमीसँग प्रभावकारी शिक्षणका विभिन्न विधिहरू जान्ने मौका पाएँ । केटाकेटीको सम्पूर्ण सिकाइ कसरी हुन्छ भन्ने विषयमा उनीबाट सिकेँ । उनकै कारण जापानका किन्डरगार्डेनहरूमा गई त्यहाँको शिक्षण विधिहरू जान्ने अवसरहरू पाएँ । जापानका केटाकेटीलाई जस्तो व्यावहारिक शिक्षा दिन हामीले धेरै मिहिनेत गर्न पर्छ । हामी धेरै पढाउँछौँ, उनीहरू देखाउँछन् र गराउँछन् । हामी केटाकेटी लड्यो भने उठाउन कुदिहाल्छौँ तर उनीहरू लडेकालाई आफै उठ्न प्रेरित गर्छन् । यति फरक रहेछ उनीहरूको र हाम्रो शिक्षामा ।

कोही पनि व्यक्ति पूर्ण हुँदैन र सिकाइको क्रम कहिल्यै अन्त हुँदैन भन्ने कुरामा म विश्वास गर्छु । म नयाँ विषयबारे जान्न उत्सुक हुन्छु । त्यही भएर म तालिमहरू छुटाउँदिन । आफूलाई अपग्रेड गराउने बलियो माध्यम हो जस्तो लाग्छ तालिम । त्यसैले छुटाउँदिन । म बालबालिकाको लागि काम गर्छु । तर बालबालिकाबारे सबै ज्ञान छैन मसँग । संसारमा बालबालिकाको विषयमा नयाँ नयाँ अध्ययन अनुसन्धानहरू भइरहेका हुन्छन् । उनीहरूलाई पढाउने, सिकाउने वा उनीहरूसँग गर्ने व्यवहारबारे नयाँ नयाँ जानकारीहरू आइरहेका हुन्छन् । तालिमहरूमा जाँदा ती कुराहरू जान्ने मौका पाइन्छ ।

मैले इसीइसीको तालिमदेखि नेपाली र अंग्रेजी फोनिक्सको तालिम, इन्टरनेशनल चाइल्ड डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने मौका पाएँ । अहिले आफ्नै विद्यालयमा केयर गिभरको तालिम लिइरहेको छु । म बेला बेला आयोजना हुने विभिन्न कार्यशाला र सम्मेलनहरूमा सहभागी भइरहन्छु । कति कुरा अझै सिक्न बाकी छन् । म सिकिरहेकी छु ।

म शान्त प्रकृतिको मान्छे । तर नानीहरूको होहल्ला मन पर्छ । उनीहरूसँग एकदमै घुलमिल हुन मन पराउँछु । म आफैलाई सिक्ने इच्छा भएको व्यक्ति भन्छु । म कर्तब्यनिष्ठ प्रिन्सिपल, जिम्मेवार श्रीमति अनि बुहारी, मिलनसार साथी र मायालु आमा पनि हुँ । जस्तोसुकै परिस्थितिमा आफ्नो भूमिका निर्वाह गर्न सक्ने व्यक्ति हुँ । समस्या समाधान गर्ने क्षमता राख्दछु ।

मलाई संसारमा के भइरहेको छ भन्ने जान्न मन लाग्छ र मैले नियमित समाचार सुन्ने समय नै छुट्याएको छु । विहान बेलुकीको समय भने परिवारलाई नै दिन्छु । कहिलेकाहीँ कुनै कुराले तनावमा भएँ वा मलाई निकै चिन्ता लाग्यो भने म नानीबाबुहरूसँग बस्छु । म तनावमुक्त हुन्छु, चिन्तामुक्त हुन्छु ।

:265 Views

Leave a Reply