स्नातक पढ्ने भइन् प्रिता

अपाङ्गता भएका ब्यक्ति र त्यस्तो सदस्य भएको परिवारलाई गर्ने समाजको संकीर्ण र विभेदपूर्ण व्यवहारको खुलेर सामना गर्न पर्ने भक्तपुर बंशगोपालकी रामेश्वरी बल्ल बताउँछिन् । जन्मँदै मस्तिष्क पक्षघात भएकी २८ वर्षीय आफ्नी छोरी प्रितालाई ह्विलचेयरको भरमा स्कुल कलेज र बोकेरै पनि देशका विभिन्न स्थानमा पुर्याइसकिन् उनले । छोरीको उन्नति र अवसरको लागि जोसुकैसँग लड्न पछि नपर्ने रामेश्वरी परिवारले हिम्मत गरे आफ्नी छोरी जस्तै अन्य मानिसहरूको जीवन पनि सहज हुने बताउँछिन् ।
प्रिता हरेक दिन बिहान ६ बजे ह्विलचेयरमा बसेर कलेज जान्छिन् । बुवाआमाले उनलाई कलेजको कक्षाकोठासम्म पुर्याइदिन्छन् । बुवा अफिस गइसकेपछि विहान साढे १० बजे तिर उनकी आमा रामेश्वरी एक्लै जान्छिन् उनलाई लिन । उनैले ह्विलचेयरबाट उठाएर बोकेरै प्रिताको कोठामा पुर्याउँछिन् । उनलाई खाना खुवाइसकेपछि रामेश्वरी आफ्नो काममा लाग्छिन् । प्रिता त्यसपछिको समय आफ्नै तरिकाले विताउँछिन् । उनी भुइँमा सुतेरै बसेकी हुन्छिन् । उनका हात खुट्टाहरू बाँगिएका छन् । उनको शरीर पनि बाँगिएकै छ । तर बाँगिएको खुट्टाको सहाराले मोबाइलमा फेसबुक चलाउँछिन्, कविता कोर्छिन् गृहकार्य गर्छिन् । उनले आफ्नो कथा लेख्न पनि शुरु गरि सकिन् । यो देख्ने जोकोही आश्चर्यमा पर्छन् । उनको बोली स्पष्ट छैन तर कुरा गर्न असाध्यै मन पराउँछिन् । उनको हेर्नेसुन्ने र सम्झने शक्ति बलियो छ । एकपटक कतै देखेको वा भेटेको मानिस पनि सजिलै चिन्दछिन् । उनी सबैको पर्वाह गर्छिन् तर उनको पर्वाह विशेष त उनकी आमा रामेश्वरीले गर्छिन् ।
‘उसले आफैले केही पनि गर्न सक्दैन । दिनभरी भुइँमा लडिरहन्छे । उसलाई खुवाउनपर्छ । लुगा लगाइदिनपर्छ । सरसफाइदेखि दिसा पिसाब सबै गराउन पर्छ । खुट्टाले कापीहरू पल्टाउँछिन् । मोबाइल चलाउँछिन् । कलमले लेख्न सक्दिनन् । पहिला त खुट्टाले भएपनि अलिअलि कलम च्यापेर लेख्थी । तर केही समय पहिले विरामी परेदेखि त्यो पनि सक्दिनन् ।’ उनले भनिन् ।
प्रिता आफ्नी आमालाई अप्ठ्यारो होला भन्ने चिन्ताका कारण भोज भतेर, सभासमारोह र घुम्न पनि जान मान्दिनन् । तर रामेश्वरी छोरीको पनि सुन्दिनन् । ह्विलचेयरमा सम्भव नभए गाडि र त्यो पनि नभए बोकेरै भएपनि आफूसँगै ठाउँठाउँमा लगिसकिन् छोरीलाई । उनले हवाइजहाज चढाएर चितवन पुर्याइन्, गाडीमा सुर्खेत सिन्धुपाल्चोक, स्वर्गद्वारीलगायत देशका अन्य ठाउँमा लगिसकिन् । उनले अपाङ्गता भएकी छोरीलाई सँगसँगै लिएर हिँडेको देख्दा देख्नेले नानाथरी कुरा गर्ने गरेको चाल पाएपनि वास्ता नगर्ने बताइन् । ‘उसलाई लिएर बाहिर कुनै कार्यक्रममा जान लागेको देखेपछि यस्ती केटीले पढेर के गर्ली? यस्तीलाई लिएर किन हिँड्न परेको भनी बात लाउँछन् । त्यस्तो भन्नेलाई म मुखभरीको जवाफ दिन्छु । मेरी छोरी कुनै एक दिन सिबिआर वा कुनै संस्थामा गइन् भने दिनैको ४०० भत्ता पाउँछिन् भन्दिन्छु । म मेरी छोरीलाई हेपेको सहन सक्दिनँ । मलाई कतिले छुच्ची रैछिन् भनेको पनि सुनेकी छु । तर आफ्नो सन्तानको लागि चाहिने कुरा सोद्धा पनि छुच्ची भइन्छ भने ठिकै छ भनी चित्त बुझाउँछु । म अगाडि बढिनँ भने मेरी छोरी सधैँ पछाडि नै हुन्छिन् ।’
उनका हात खुट्टाहरू बाँगिएका छन् । उनको शरीर पनि बाँगिएकै छ । तर बाँगिएको खुट्टाको सहाराले मोबाइलमा फेसबुक चलाउँछिन्, कविता कोर्छिन् गृहकार्य गर्छिन् । उनले आफ्नो कथा लेख्न पनि शुरु गरि सकिन् । यो देख्ने जोकोही आश्चर्यमा पर्छन् ।
प्रिता आफ्ना नजिकको आफन्ती कहाँ भोजमा जाँदा एक दुई दिन उतै पनि बस्ने गर्छिन् । त्यस्तो अवस्थामा उनलाई एक्लै कसरी छोड्नु हुन्छ भन्ने प्रश्न झर्न नपाउँदै प्रिताकी आमाले भनिन् ‘जन्माउन पो मैले जन्माएको । तर सन्तान त सबैका हुन् । कसैकी नातिनी, कसैकी फुपू, कसैकी दिदी, कसैकी भान्जी । एक दिन खान नपाए मर्दिनन् । उसको रे्खदेखको जिम्मा उनीहरू सबैको पनि त हो । हाम्रै परिवारले मात्र गर्नुपर्छ भन्ने त छैन नि । त्यसैले ढुक्कसँग मामाघर, बाजेको घरतिर एक दुईदिन छोड्छु । खुवाउँछन् । उसलाई सबैले माया पनि गर्छन् ।’कुनै दिन प्रिता एक्लै घरमा बसिन् भने उनलाई दिसापिसाब गराउन छिमेकीले सहयोग गर्छन् ।
प्रिताले पहिला आफू जस्तै अपाङ्गता भएकाहरूसँग बसेर सिबिआरमा पढिन् । ३ कक्षासम्म त्यहाँ पढेपछि उनी आफ्नी बहिनी निष्ठासँग भक्तपुरको एभरेस्ट स्कुलमा सँगै कक्षा चारमा पढ्न थालिन् । ७३ सालमा प्रवेशिका परीक्षा दिएपछि प्लस टु पढ्न उनका बुवा पवनकुमार बल्लले घरमै शिक्षकको
व्यवस्था गरिदिए । अहिले ख्वप कलेजमा स्नातक पढिरहेकी छिन् ।
प्रिता आफूलाई निकै भाग्यमानी ठान्छिन् । उनी सरह वा उनीभन्दा राम्रो शारीरिक अवस्था भएकाहरूको तुलनामा उनले धेरै अवसरहरू पाइन् । छरछिमेक, साथीभाइ, परिवारको दरिलो साथ पाएर जीवन सुखी भएको बताउने उनी सबैलाई धन्यवाद भन्छिन् । अपाङ्गता भएको व्यक्ति, त्यसमाथि छोरी भइकन पनि आमा, बुवा, बहिनीको असीम माया, साथ र भरोसा पाउँदा निकै खुशी लाग्ने उनी बताउँछिन् । उनी एउटा कविता संग्रह प्रकाशन गर्न चाहन्छिन् ।
प्रिताका बुवा पवनकुमार, आमा रामेश्वरी र बहिनी निष्ठालाई भोजभतेर सभासमारोह र घुमाउन जाँदा आफूहरूलाई कुनै कठिनाइ र लज्जाबोध नहुने बताउँछन् । उनका बुवा पबनकुमार भन्छन् ‘उनको दिमाग तेजले चल्छ । अहिलेसम्म परिवारमा वा उनको जीवनमा भएका हरेक घटना उनलाई तिथिमिति सबै याद छ । उनले ती कुराहरू मोबाइलमा लेख्न शुरु गरिन् । पहिला पहिला एउटा सानो मोबाइलमा रेडियो सुन्थी । गत वर्ष स्मार्ट फोन दिएपछि उनले चलाउन थाली । उनको अधिकांश समय मोबाइलमा बित्छ । उनका धेरै साथीहरू छन् । उनलाई भेट्न आइरहन्छन् । हामीले चाहेर मात्र हुँदैन । उनमा पनि केही गर्छु भन्ने आँट छ । त्यसैले खेलकुदमा जितेर आउँछिन् । कार्यक्रमहरूमा कविता लेख्छिन् । कसैलाई अनावश्यक दुख दिँदिनन् ।’
‘म एक्लैले केही गर्न सक्दिनथेँ । मेरो श्रीमानको साथ, सानी छोरीको साथ र अन्य परिवारका सदस्यको साथ नपाएको भए प्रिता अरु धेरै अपाङ्गता भएका मानिसहरू जस्तै घरको कुनामा लडिरहेकी हुन्थी ।’ प्रिता जन्मिएको एक वर्ष नवित्दै उनलाई मस्तिष्क पक्षघात भएको परिवारले चालपाइसकेको थियो । त्यतिबेला सबैलाई पीडा भयो । उनकी आमालाई कति पीडा भयो भन्ने कुरा अरुले अनुमान मात्र लगाउन सक्लान् । तर अहिले छोरीलाई विभिन्न संघसंस्थाले सम्मान गरेको देख्दा पुराना सबै दुख विर्सिने बताउँछिन् रामेश्वरी । र भन्छिन् ‘म एक्लैले केही गर्न सक्दिनथेँ । मेरो श्रीमानको साथ, सानी छोरीको साथ र अन्य परिवारका सदस्यको साथ नपाएको भए प्रिता अरु धेरै अपाङ्गता भएका मानिसहरू जस्तै घरको कुनामा लडिरहेकी हुन्थी ।’
अपाङ्गता भएको व्यक्तिलाई साथ र भरोसा दिन सकेको खण्डमा उनीहरू समाज र सिंगो संसारको लागि उत्प्रेरक बन्न सक्छन् भन्ने सन्देश दिन चाहन्छन् बल्ल दम्पति । त्यसमा पनि पहिलो साथ परिवारको हुनुपर्नेमा जोड दिन्छन् ।
:1091 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव