गुरु गम्भीरमानको सालिक बन्यो

सालिक मुनि उभिएर
सुशील ताम्राकार‎
आज जुन माटोमा म उभिएको छु
आज जुन बाटोमा म हिँडेको छु
जिन्दगीका सारा किस्साहरू
खुसी बाँचेका सारा हिस्साहरू
यही स्कुलको भित्ताहरूमा पाउँछु
दलिन खम्बा र इट्टाहरू देख्छु
हामीलाई मान्छेबाट असल मान्छे
मान्छेहरू माझ कुशल मान्छे
बनाउन, मनाउन, भनाउन
जसले सिंगो जीवन दिए
जसले हर कोहीलाई जीवन दिए
आज सालिक मुनि उभिएर
म देखिरहेछु उहाँका सपनाहरू ,
म सुनिरहेछु चिन्ताका धड्कनहरू
म पुछिरहेछु खुसीका आँसुहरू
म मुस्काइरहेछु उहाँमा मुस्कानहरू
(२०७६ मंसीर २८)

धेरै पाठकलाई सम्झना हुन सक्छ, कक्षा १० को अनिवार्य अंग्रेजी किताबमा रहेको ‘अ लेटर टु अ पेन फ्रेन्ड’ शीर्षकको रचना । त्यसमा चिठी पाउने साथीको नाम छ— गम्भीरमान मास्के । भोलिपल्ट लन्डन उड्ने तयारीमा रहेका मास्के त्यसको अघिल्लो रात उडानको तयारीमा हुन्छन्— पेन फ्रेन्डको सल्लाहअनुसार ।

त्यो पाठमा दिइएको नाम मात्रै होइन, ठेगाना पनि दुरुस्तै मिल्छ— एक जना अंग्रेजी शिक्षक गम्भीरमान मास्केको दैनिकीसँग । त्यो लेख मास्के स्वयम्ले लेखेका होइनन् भन्ने जानकारहरू बताउँछन् । तर, गम्भीरमान मास्केको लोकप्रियता यस्तो थियो कि मानौं, अंग्रेजी शिक्षकको पर्यायवाची भनेकै उनी थिए । वि. सं. २०१७ सालमा अंग्रेजी विषय शिक्षकको रूपमा विश्व निकेतन प्रवेश गरी २०२३ देखि २०५१ सम्म प्रधानाध्यापक रहेका मास्केको २०७५ मंसिर १६ गते निधन भएको थियो । 

उनलाई नजिकबाट चिन्ने अवसर पाएका उनका एक जना विद्यार्थी शुशील ताम्राकार भन्छन् ‘एउटा पात्र जसको भोगाइ कुनै एक दुखद नाटकका पात्रसँग मेल खान्छ । सानैमा मातृ वियोग, पछि पत्नी वियोग र त्यसपछि फेरि कान्छो छोराको निधन । अनि राजनीतिक पृष्ठभूमिका बाबुको जेल चलान भएदेखि निसन्तान ठूलाबाबा–ठूलीआमासँग बस्न गएको जीवनशैली । गम्भीरमान सरले अंग्रेजी शिक्षण तथा सिकाइमा ल्याएको फेरबदल एकदमै मननीय छ ।’

विश्व निकेतन स्कुललाई सफलताको शैक्षिक नाम दिने अग्रणी व्यक्ति बताइन्छ गम्भीरमान मास्के । आफैंमा एक सिर्जनशील लेखकसमेत रहेका गम्भीरमानले नेवारी, नेपाली र अंग्रेजी भाषामा केही कृतिसमेत लेखेको उनी निकट व्यक्तिहरू बताउँछन् । विद्यार्थीलाई खुसी बनाएरै पढाउने अनि थोरै पैसा जम्मा हुनासाथ कुनै छात्रवृत्ति स्थापना गर्ने गम्भीरमानको परोपकारी भावनालाई मूर्त र दीर्घकालीन बनाउन उनका समकालीन तथा विद्यार्थीहरूले विश्व निकेतन गम्भीरमान फाउण्डेशन स्थापना गरेका छन् । ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ मूल उद्देश्यका साथ गठन भएको बताइएको सो संस्थाले समान र गुणस्तरीय शिक्षाको पहुँच सबै नागरिकसम्म कसरी पुर्याउन सकिन्छ भन्ने बारे चिन्तन गरी उपयुक्त योजना बनाउने, विश्व निकेतन र समकालीन शिक्षा क्षेत्रमा योगदानबारे अभिलेखीकरण गर्ने र आउँदा दिनहरूमा विश्व निकेतनको गौरवशाली इतिहासलाई अझ उचाईमा पुर्याउन विभिन्न कार्य गर्ने तथा विश्व निकेतनको पर्याय मानिने गुरू गम्भीरमान मास्केको प्रेरणापुञ्जलाई व्यवस्थित र अभिलेखीकरण गर्ने बताएको छ ।

फाउण्डेशनले गत मंसिर २८ गते शनिवार राजधानीको विश्व निकेतन मावि प्राङ्गणमा पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरेको छ । विद्यालयका पूर्वप्रधानाध्यापकहरू सत्यनारायण राजभण्डारी, कमला शाक्य, निर्मल गिरी तथा मास्केका समवयी मित्र डा. हेरम्बबहादुर राजभण्डारीले संयुक्त रूपमा सालिक अनावरण गरेका थिए ।

स्वर्गीय मास्केको वार्षिकीको अवसर पारेर सालिक अनावरण गरिएको हो । कार्यक्रममा विद्यालयकी पूर्वशक्षिका मञ्जु अधिकारीले सरलता नै गम्भीरमानको परिचाय भएको बताइन् । ‘गम्भीरमान सरले अविभावकत्व लिएर शिक्षक तथा विद्यार्थीलाई सदैव प्रोत्साहन गर्ने तथा प्रसाशनिक प्रमुख भएर शिक्षक तथा कर्मचारीलाई मित्रवत् व्यवहार गर्नुहुन्थ्यो,’ उनले स्मरण गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले शिक्षा क्षेत्रका अनुकरणीय व्यक्तित्व गम्भीरमानका विद्यार्थीहरूले सामाजिक संस्था गठन गरेर उनको चिनो विद्यालयमा निर्माण गरेर प्रसंशनीय काम गरेको बताए ।

सालिक अनावरण कार्यक्रममा मास्केकी नातिनी डा. सफला मास्केले आफ्ना बाजे (हजुरबुबा)बारे स्मरण गर्दै भनिन्, ‘जहिल्यै पनि असल व्यक्ति बन्न प्रेरित गर्नुहुन्थ्यो । उहाँको त्यो गुण सबैका लागि अनुकरणीय छ ।’

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना गुरुप्रति श्रद्धा अर्पण गर्न फाउण्डेशनमाफर्त सालिक स्थापनाको काम हुनु अनुकरणीय कार्य भएको बताउँदै ‘विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्न निकेतन बुझिने जुन पर्याय बनेको थियो त्यसलाई सालिक स्थापनाले पूर्ण गराएको छ,’ कँडेलले भने ।

फाउण्डेशनले यसअघि स्वर्गीय मास्केको जन्मदिन पारेर उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङ्गरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ ।

 

:578 Views

Leave a Reply