अंग्रेजी हेरेर नेपाली सिकिन्न

हरेक आमाबुवा आफ्ना सन्तान आफूभन्दा हरेक कुरामा अघि होस् भन्ने चाहना राख्छन् । पढाइ, लेखाइ, सोचाइ, बुझाइ, बोलाइ, सबैमा । त्यसैले आफूले बुढेसकालमा देखेको मोबाइल बामे नसर्दैको शिशुको हातमा थमाउँछन् । आफूले अंग्रेजी नजान्दा भोगेको समस्या उसले भोग्न नपरोस् त्यसैले बोली नफृुट्दै अंग्रेजी गीत सुनाउँछन् । यही क्रममा सन्तान ठूलो भएपछि अभिभावक चैँ नेपाली नै रहन्छन् सन्तान भने विदेशी भइसक्छन् । परिणाम त उनीहरू नेपाली बोल्न अक्मकाउँछन्, लेख्न अन्कनाउँछन्, नेपाली चाडपर्व भनेपछि झ्याउ मान्छन् । छोराछोरीलाई आफूभन्दा अघि बढाउने धुनमा छोराछोरी आफूसँग हुँदाहुँदै र बस्दाबस्दै विदेशी भइसकेको पत्तै पाउँदैनन् । अनि सराप्छन् आफैलाई, आफ्नो कर्मलाई, भाग्यलाई ।

दुध चुस्दै गरेको बच्चालाई अंग्रेजी, हिन्दी, चिनिया भाषाका गीत, कार्टुन, कथाहरू, खेलहरू देखाउने, खेलाउने अभिभावकले आफ्ना सन्तानले ठूलो भएपछि नेपाली बोल्न सकेन, पढ्न सकेन, लेख्न जानेन भनेर गाली गर्न पाइयो र ?

त्यस्तै काखे बच्चालाई चाउ चाउ र कुरकुरे कसरी मनपर्छ ? किन घरको भात भनेपछि मुख विगार्छ ? मकै, भटमास किन चिन्दैन ऊ ? चाउ चाउको स्वाद उसले कसरी पायो ? कुरकुरे कसले खुवायो ? बजारिया खानेकुराको बानी उसलाई कसले गरायो ? जवाफ सजिलो छ – आमाबुवाले । आफूले बच्चामा खान पाएन, अहिले छोराछोरीलाई खुवाउन पर्छ भन्दै आफ्नो बालापनमा नदेखेको अनि नखाएको बजारमा पाइने तयारी खाजाहरू खुवाउन थालेपछि भोलि घरको भात नखाँदा किन खाइनस् भनेर गाली गर्ने अधिकार गुमाउँछ आमाबुवाले । त्यसरी नै दुध चुस्दै गरेको बच्चालाई अंग्रेजी, हिन्दी, चिनिया भाषाका गीत, कार्टुन, कथाहरू, खेलहरू देखाउने, खेलाउने अभिभावकले आफ्ना सन्तानले ठूलो भएपछि नेपाली बोल्न सकेन, पढ्न सकेन, लेख्न जानेन भनेर गाली गर्न पाइयो र ? त्यो अधिकार पनि गुमाउँछ ।
त्यसो भनेर सूचना र प्रविधिको युगमा जन्मिएका वा हुर्किरहेका केटाकेटीलाई टिभी वा मोबाइल देखाउनै हुन्न भन्ने पनि होइन । तर केटाकेटी उमेरमा मातृभाषा वा नेपाली भाषामा तयार भएका सामग्री देखाउन पर्छ । कलिलो मस्तिष्कमा मातृभाषा र राष्ट्रिय भाषाको जग बसाल्न सहयोग हुन्छ । अभिभावकले आफ्ना सन्तानको लागि सही सामग्री छनोट गरिदिएर बालबालिकालाई आफ्नो मातृभाषा र राष्ट्रिय भाषा सिक्ने अधिकारको उपयोग गर्न दिनुपर्छ ।

नेपालमा बालबालिकाका लागि राम्रा भिडियो सामग्री नबन्नु आफैमा ठूलो विडम्बना हो । हुन त नेपाली भाषाका बालगीत वा भिडियोहरू बनाउन स्वतस्फूर्त लाग्नेहरू हातका औँलामा गन्नलाई पुग्दैन । केही संस्थागत रूपमा र केही व्यक्तिगत रूपबाट पनि यस्ता सामग्री पाइए पनि ती अत्यन्त न्युन छन् । उपलब्ध सामग्रीमा कथानक सामग्री केही मात्रामा भएपनि अन्यखालका सामग्री भने खासै पाइँदैन । यस्ता सामग्री बढाउन शिक्षा मन्त्रालय, पाठ्यव्रmम विकास केन्द्र तथा शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरूले पनि यसमा ध्यान दिनुपर्ने समय आइसकेको छ । निजी क्षेत्रका प्रकाशन संस्थाहरू तथा निजी विद्यालयहरूले पनि यस्ता सामग्री विकासमा ध्यानदिनु जरुरी छ । एकातिर यस्ता सामग्री बढाउनु छ भने अर्कातिर उपलब्ध सामग्री पनि भाषिक, बालबालिकाको स्तर तथा अभिरुचिका दृष्टिले कत्तिको उपयोगी छन् समीक्षा गरिनु आवश्यक छ ।

:125 Views

Leave a Reply