बालकलाई हेर्ने चस्मा बदलौँ

पिताम्बर न्यौपाने
प्रबन्ध निर्देशक, इसिइसि

अहिले सबै अभिभावक आफ्नो सन्तान समाजमा राम्रोमा गनियोस् भन्ने चाहना राख्छन् । समाजले पनि राम्रो बालक र नराम्रो बालक भनेर अलग्याएको छ । हाम्रो समाजले आज्ञाकारी, अंग्रेजीमा कुराकानी गर्न सक्ने, इष्र्या नगर्ने, चकचक नगर्ने, जिद्धि नगर्ने, बढी प्रश्न नगर्ने, पढ्ने र सहजै गृहकार्य गर्ने, भनेका जवाफ दिने, कुनै कुरामा चासो नगर्ने र आफ्नो काम आफै गर्ने बालकलाई नमुना बालक मान्दछ । त्यस्तै चकचक गर्ने, धेरै प्रश्न सोध्ने, जिद्धि गर्ने, नयाँ प्रयास गर्न खोज्ने, गल्ती गर्ने, अपशब्द प्रयोग गर्ने र झगडा गर्ने, ठूलो मान्छेको कुरामा बोल्ने र आफ्नो निर्णय आफै गर्ने बालकलाई खराब बालक मानिन्छ । कोर्ष बाहिरको किताब वा अन्य कुरा गर्ने र चाहे खुसी या रमाएर किन नहोस् बालकले ठूलो स्वरमा कराउँदा उसलाई खराब बालकको पंक्तिमा राखिदिन्छ यो समाजले ।

कतिपय घरसल्लाह, आफन्तजनको भेटघाट वा महत्वपूर्ण बहसको बेलामा बालकलाई सजिलै ‘बाबु! नानी! तिमी सानै छौ । उता गएर बस त । हामीलाई यहाँ निकै काम छ’ भनेर आफ्ना छोराछोरीलाई कुराकानी र छलफलमा संलग्न नगराउने प्रवृत्ति हाम्रो समाजको धेरै परिवारमा अझै छ । केही विषयमा अनभिज्ञता जनाए, ‘यति कुरा पनि आउँदैनव्यवहारले बालविकासमा प्रभाव पर्छ । अब तपाईँ हामीले बनाएका असल वा बदमास बालकका परिभाषाहरू बालविकासका हिसाबले सान्दर्भिक तथा आवश्यक छन् त भन्ने कुरामा मन्थन गर्न पर्ने बेला आएको छ ।

बालविकासका लागि गर्नुपर्न सकारात्मक अभ्यासहरू
बालबालिकालाई उमेरअनुसारको अभ्यास र व्यवहार गरेर उसको विकासमा सघाउ पुर्याउन सकिन्छ । अभिभावकले बालविकासका लागि सहयोग गर्नुपर्छ ।

१) मानव अन्तक्र्रिया
अभिभावकले बालबालिकालाई आफ्ना घरका र विभिन्न विषयको छलफलमा सहभागी गराउनुपर्छ । उनीहरूसँग जतिसक्दो कुराकानी गर्नुपर्छ । बालबालिकालाई कुनै पनि कुरा कस्तो लाग्छ भनेर उनीहरूको विचार लिनुपर्छ । विद्यालय जाने बालक हुन् भने उनीहरूले विद्यालयमा के गरे, के खाए भनेर प्रश्न गर्नुपर्छ । बालबालिकालाई ठूलो मान्छेसँग बोल्न लगाउनुपर्छ ।

बालबालिकाहरूको आवश्यकता, रुचि तथा क्षमता अनुसार उनीहरूलाई स्वतन्त्र रुपमा खेलकुद वा अन्य कृयाकलापमा सहभागी गराउनुपर्छ । केटाकोटीको चौतर्फी विकासको लागि उनीहरूलाई प्रशस्त खेल्न दिनुपर्छ । जो बालबालिकाले खेलको माध्यमबाट आफ्नो विकास गर्ने मौका पाएका हुन्छन्, उनीहरू बढी तार्किक, सिक्न सक्ने र आत्मनियन्त्रण गर्न सक्ने हुन्छन् । बालबालिकालाई के गर्न मन लाग्छ, त्यसमा ध्यान केन्द्रित गरी उनीहरूलाई आफ्नो वातावरणमा रमाउन दिनुपर्छ । जब बालबालिका खुसी हुन्छन्, तिनको विकासमा पनि सकारात्मक छाप पर्छ ।

२) खोज र अन्वेषण
हामी बालबालिका उफ्रिए, कुनै सामान चलाए र खेले भने ‘कति चकचक गरेको भनेर गाली गर्छौँ । तर वास्तवमा बालविकासका लागि उनीहरू उफ्रिनै पर्छ । उनीहरूले सामानहरू चलाउँदा चलाउँदै नयाँ कुराहरू सिक्न सक्छन् । बालबालिकालाई कौतुहलता भएका विषयमा खोज गर्न दिइनुपर्छ ।

३) गल्ती गरेर सिक्ने
के अभिभावकले कहिलै गल्ती गर्दैनन्? उनीहरूबाट अन्जानमा गल्ती हुँदैन ? हो, अभिभावकहरूबाट गल्ती हुन्छन्, भने बालबालिकाले गल्ती गर्दैनन् भनेर कसरी सोच्ने? बालबालिकाले अन्जान र कहिलेकाहीँ जानाजान गल्ती गरिरहेका हुन्छन् । भुल गर्नबाट बचाउँदैमा उसले कहिले गल्ती गर्दैन भन्ने होइन । हामीले हाम्रो सन्तानलाई भुलबाट सिक्ने मौका दिनुपर्छ । जबसम्म एक बालक भुल गर्न डराउँदैन, सिकाइ सम्भव छ । तर के कुरामा गल्ती गर्न दिनुहुने र के कुरामा दिन नहुने भन्ने कुरा बुझ्नुपर्छ ।

गल्ती गर्न दिन मिल्ने
सानो चक्कु चलाउन दिन हुने
उफ्रिने, कुद्ने र लड्न दिन हुने
स–साना रुख चढ्न दिने
केही सामान खोलेर हेर्ने दिने

गल्ती गर्न दिन नमिल्न कुरा
बालबालिकाले बाटो काट्न सिक्छ भन्दै उसलाई एक्लै बाटो काट्न दिनु हुन्न
बालबालिकालाई बिजुलीसँग चल्न र खेल्न दिनु हुन्न
उनीहरूलाई ठूलो हतियारबाट टाढै राख्नुपर्छ
आगोसँग खेल्न र आगोनजिक जान दिनुहुन्न

अब के गर्ने त अभिभावकले ?
हरेक आमाबुवाले आफ्नो सन्तानले राम्रो गरेको हेर्न र सुन्न चाहन्छन् । साथै अरुहरूबाट आफ्नो बालकको प्रशंसा सुन्न चाहन्छन् । तर सबैका सन्तान चाहेजस्तो बन्दैनन् र बन्न सक्दैनन् पनि । किनभने त्यहि अनुसारको व्यवहार अभिभावकले पनि गरेका हुदैनन् । प्रत्येक बालक आफैमा विशिष्ट हुन्छन् । उसको आफ्नै शैली हुन्छ ।

हामीले हाम्रा बालबालिकालाई हेर्ने तथा असल तथा बदमास भनेर मुल्यांकन गर्ने चस्मा परिवर्तन गर्नु पर्छ । हामी के चाहन्छौँ, समाजले बालबालिकालाई कसरी मुल्यांकन गर्छ भनेर बालबालिकाहरूलाई कचकच गर्नूको सट्टा के कुराले बालकको सकारात्मक विकासमा सहयोग गर्छ भन्ने कुराको अधारमा हाम्रो चस्माले बालबालिकालाई मुल्यांकन गर्न जरुरी छ ।

अभिभावकको काम भनेको बालबालिकाभित्र भएको कोपिलालाई फुल्न दिने हो । त्यसलाई उजागर गर्ने हो । तर कतिपय अवस्थामा अभिभावककै व्यवहारले उनीहरू फक्रनुको सट्टामा दिनप्रतिदिन खुम्चँदै र ओइलाउँदै जान्छन् । अभिभावकले बालमनोविज्ञान बुझेर त्यसै अनुरुपको व्यवहार गर्नुपर्छ ।

१) ज्ञानी बालकको परिभाषामा पूनर्विचार
साना बालबालिकामा विभिन्न खोट देखाउँदै, होच्याउँदै निरुत्साहित गर्ने काम बन्द गर्नुपर्छ । हामी सबै अभिभावकले एकपटक सोचौँ त, के हाम्रो समाज र हामीले नमुना भनेका बालकहरू साँच्चै नै नमुना बालक हुन् त ? हामीले भनेको शत प्रतिशत मान्ने बालकलाई नमुना बालकभित्र राखेका छौँ । के हामीले भनेका कुराहरू चाहिँ गलत हुन सक्दैन र ?

बालबालिकले भनेका केही कुराहरू सहि हुन सक्दैन र? त्यस्तै हामी चकचक नगर्ने र चुप लागेर बस्ने बालकलाई ज्ञानी बालक भन्छौँ । सबै अवस्थामा चुपचाप बस्ने र केही कुराको चासो र खोजी नगर्ने बालबालिकालाई ज्ञानी भन्न मिल्छ? पढाइमा अग्रसर बालक मात्र ज्ञानी बालक हो? पढाइमा केही कमजोर भएपनि अतिरिक्त क्रियाकलापमा राम्रा भएका बालबालिका चाहिँ के खराबै हुन्छन्? यस विषयमा अभिभावकहरूले एकपटक पूनर्विचार गर्नुपर्छ ।

२) गल्ती सुधार कसरी गराउने
अभिभावकहरू आफ्नो बालकले आफूले भनेको शत प्रतिशत कुरा मानोस् भन्ने चाहन्छन् । र बालबालिकाले केही गल्ती गरेमा तुरुन्तै प्रतिक्रिया दिइहाल्छन् । हामीले आफ्ना सन्तानलाई बारम्बार सानासाना गल्तीमा गाली तथा सजायको भागीदार बनाउन कहिले चुकिरहेका छैनौँ । हप्काएर, थर्काएर, तर्साएर कोठामा थुनेर, कुटपिट जस्ता कार्यले साचै काम गर्छ?

बालबालिकालाई नचिच्याइकन, नकारात्मक आदेश नदिइकन उनीहरूलाई किन केही कुराहरू गर्नलाई मनाही छ र किन नियमहरू लागू गरिए भनेर बुझाउनुपर्छ । बालबालिकाले किन गल्ती गरे भनेर त्यसको कारण खोज्नुपर्छ र सम्झाउनुपर्छ । उनीहरूको भावना, चाहना, आवश्यकता बुझ्नुपर्छ । उनीहरूलाई हरेक पल सकारात्मक प्रोत्साहन दिनुपर्छ । त्यसले उनीहरूमा नैतिकवान र जिम्मेवारीपनको भावना उत्पन्न हुन्छ ।

३) समय दिने
अभिभावकहरू सन्तानको लागि भनी काम गरिरहेका छन्, तर सन्तानले मागेको बेलामा उनीहरूले समय दिन सकिरहेका हुँदैनन् । यो समस्या नै अहिलेको जल्दोबल्दो समस्या हो । घरव्यवहार र सिकाइ, यी दुवै पक्षलाई समानान्तरण गर्दै अभिभावक वा बुवाआमाले सन्तानको लागि प्रशस्त समय व्यवस्थापन गर्नुपर्छ । उनीहरूसँगै बसेर विभिन्न खेल खेल्ने, कुराकानी गर्ने, कथा सुनाउने र कहिलेकाही कुनै ठाउँमा घुमाउन लगेर पनि बालबालिकालाई समय दिन सकिन्छ । यसले गर्दा बालबालिकाले आफ्नो अभिभावकलाई विश्वास गर्छन् र तिनका बीच सम्बन्ध पनि राम्रो रहिरहन्छ ।

४) सहभागी गराउने
हाम्रा नानीबाबुलाई सरसल्लाह तथा छलफलमा सहभागी गराउनुपर्छ । हाम्रो समावेशी व्यवहारले हरेक निर्णयमा आफू पनि सहभागी हुन पाएकोमा हाम्रा नानीबाबु सन्तुष्ट हुन्छन् । आफ्ना सन्तानसँग प्रशस्त छलफल गरौँ ।

बालक स्वभावैले आमाबुवा दाजुभाइले गरेको कामको सिको गर्न खोज्छन् । लुगा धुने, कुचो लगाउने, गिलास पखाल्ने, जुत्तामा पलिस गर्ने, ओछ्यान लगाउने, तरकारी काट्ने जस्ता काम गर्न खोज्छन् । तर अधिकांश अभिभावकले बालकलाई आफू खुसी काम गर्न दिँदैनन् । बालकले घरको काम गर्न खोज्छ भने उसलाई रोक्ने नभई सहभागी गराउनुपर्छ । सही र सहज तरिकाबाट बालबालिकालाई काममा सहभागी गराउन सकिन्छ । बालकलाई भान्छामा तरकारी काट्न, साना लुगा धुन, प्लेट पखाल्न दिनुपर्छ । बालकले सक्ने र रमाउने काममा उसलाई सहभागी गराउन सकिन्छ । यसले गर्दा बालबालिकाको आत्मविश्वास बढ्छ र आमाबुवाको साथ पनि रहन्छ ।

५) मौका दिने
आज हरेक घरमा हरेक आमाबुवाले गर्ने गुनासो भनेकै बालकले प्रविधि (टिभि, मोबाइल, भिडियो गेम) को अनावश्यक र अत्याधिक प्रयोग गर्ने भन्ने हो । त्यसो भन्दैमा बालबालिकालाई प्रविधिको प्रयोग गर्नै दिनु हुन्न भनिएको होइन । बालबालिकाको उमेरअनुसार सहि तरिकाबाट प्रविधिको प्रयोग गर्न मौका दिनुपर्छ । १० वर्षभन्दा मुनिका बालकले दिनमा बढीमा ४५ मिनेटसम्म इलेक्ट्रोनिक सामान चलाउन सक्छन् । बालकहरूको हरेक प्रयासबाट उनीहरूको क्षमता अभिवृद्धि हुन्छ । उनीहरूलाई साहित्यका कुरा पढ्न दिने, अतिरिक्त क्रियाकलापमा सहभागी हुनका लागि मौका दिनुपर्छ । उनीहरूको रुचिअनुसार नृत्य, गीत, पौडीलगायतका क्रियाकलापमा संलग्न गराउनुपर्छ ।

६) आफ्नो काम आफै गर्न लगाउने
बालकलाई उनीहरूले सक्ने काम आफै गर्न दिनुपर्छ । र नसकेको खण्डमा आवश्यक सहयोग गरिदिनुपर्छ । उमेरअनुरुप सन्तानलाई जिम्मेवारी दिनुपर्छ । आफ्नो सामानको सुरक्षा गर्न लगाउनुपर्छ । त्यस्तै कुनै सामान जहाँबाट निकालिएको हो, त्यहि राख्न लगाउनुपर्छ । आफै खाना खाने, कपडा लगाउने, जुत्ताको तुना बाँध्न दिनुपर्छ ।

अभिभावकलाई बालकका इन्जिनियर हो पनि भन्ने गरिन्छ । बालकलाई कस्तो बनाउने भन्ने कुरामा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । पहिले हाम्रो चस्मा बदलौँ त्यसपछि हाम्रो व्यवहार । बालबालिको विकासमा क्रमशः आफै सकारात्मक प्रभाव पर्न थाल्छ । त्यसैले अभिभावकले आफ्ना सन्तानलाई उनीहरूको बाल्यकालमा नै धेरै ध्यान दिनुपर्छ । बाल्यकालका क्रियाकलापले उसको बयस्क अवस्थासम्मलाई प्रभाव पार्छ । बालबालिकाको लागि अभिभावकका समय सबैभन्दा महत्वपूर्ण हो भन्ने कुरा अभिभावकले बुझेर उनीहरूसँग कुराकानी गर्नुपर्छ । बालबालिकालाई आदरपूर्वक साथी जस्तो गरी कुराकानी गर्नुपर्छ । आदरको कुरा गर्दा बालबालिकालाई तपाईँ नै भन्नुपर्छ भन्ने छैन । उसलाई आदर गर्ने शैलीमा व्यवहार गर्नुपर्छ । तर एकल परिवार जहाँ बाबुआमा र बालक मात्र छन्, त्यस्तो परिवेशका बालबालिकालाई तपाईँ भाषा आवश्यक पर्छ । किनकि त्यो बालकले घरमा तिमी नै बढी सुनेको हुन्छ ।

:24809 Views

Leave a Reply