म हरेक सम्बन्धको सम्मान गर्छु

ललितपुरको सानेपामा जन्मि त्यहीँको ज्ञानोदय बालबाटिका स्कुलबाट वि.स. २०५२ सालमा एसएलसीसम्मको अध्ययन सकेर वि.स. २०५७ सालबाट शिक्षण क्षेत्रमा लागेकी बिना शर्मा ललितपुरको हात्तीवनस्थित फेरि वल्र्ड मन्टेश्वरीकी प्रिन्सिपल हुन् । वि.स २०३५ कात्तिक १० गते बुवा नारायण शर्मा र आमा मुना शर्माकी कान्छी छोरीको रूपमा जन्मिएकी उनले बालविकास विषयमा स्नातकोत्तर गरेकी छन् । प्रारम्भिक शिक्षाको लागि स्थापित एकताको संस्थापक अध्यक्ष उनी घुमफिर गर्न र पुराना गीत सुन्न मन पराउँछिन् । सबैलाई समूहमा राखेर काम गर्न मनपराउने उनले आफ्नो विद्यालयमा पनि समूहमा राखेर अध्ययन गराउने वातावरण बनाएकी छन् । पहिलो पटक तालिमै नलिइ वि.स. २०५९ सालमा नखिपोटको जुपिटर स्कुलमा नर्सरीका नानीहरूलाई पढाएकी उनले शिक्षण पेशामा आफ्नो भविष्य देखेकी थिइन् । इसिइसिको औपचारिक प्रशिक्षण लिएपछि अध्यापनको थप जोश बढेको बताउने बिनाले २०६४ सालमा फेरि वल्र्ड मन्टेश्वरी स्थापना गरिन् । त्यसपछि पनि तालिम भनेपछि छुटाउँदिनन् । कुनै पनि काम पूर्ण इमान्दारितासाथ गर्ने बानी परेको बताउने बिना शर्माको व्यक्तित्वको चर्चा उनकै शब्द र शैलीमा प्रस्तुत छ ।

प्रारम्भिक बालविकास मेरो चासोको विषय हो । यसको विषयमा काम गर्ने मेरो चाहना र उद्देश्य हो । त्यसहिसाबले यो मेरो प्यासन हो । मलाई बालबालिका र बालविकासको बारेमा एकदमै चासो लाग्छ । त्यसैले पनि हरेक दिन सुत्नुअघि कम्तीमा १ घण्टा यसको विषयमा अध्ययन गर्छु । त्यो एक घन्टा कहिले इन्टरनेटमा विताउँछु त कहिले किताबमा । उनीहरूको विकास र उनीहरूलाई गर्नुपर्ने व्यवहारलगायतका विषयबारे नयाँ नयाँ जानकारीहरू खोजिरहन्छु । त्यसरी अध्ययनबाट थाहा लागेका कुराहरू आफ्नो विद्यालयमा लागू पनि गर्छु ।

मलाई हरेक सम्बन्धको माया लाग्छ । कसैसित सम्बन्ध बिगार्न मन पर्दैन । म आफू संलग्न संस्था वा विद्यालयमा जोडिने हरेक व्यक्तिहरूसँग सुमधुर सम्बन्ध राख्ने प्रयत्न गरिरहन्छु । समूहमा बाँध्ने खुबी छ मसँग ।

केटाकेटी मेरा काम हुन् । उनीहरू मेरो उद्देश्य र भविष्य पनि । कुनै बेला कुनै कारण विचलित भएछु भने पनि म नानीहरूका गतिविधिहरू नियाल्छु । उनीहरूका कुराहरू सुन्छु । उनीहरूलाई हेर्दा हेर्दै र सुन्दा सुन्दै म ठिक भइसक्छु, चिन्तामुक्त हुन्छु । ७२ सालको भूकम्पपछि एक महिना विद्यालय बन्द नै रह्यो । विद्यालय सञ्चालन नगरुञ्जेल भूकम्प र पराकम्पनको त्रासले हामीभित्र ठूलै डेरा जमायो । त्यसबाट निस्कन धेरै कठीन भयो । तर जसै विद्यालय सञ्चालन भयो, म नानीहरूको सम्पर्कमा आएँ । मभित्रको डर र त्रास विलाउन लाग्यो । मलाई बालबालिकासँग बस्न मन लाग्छ । त्यसैले विद्यालय छिर्ने बित्तिकै एकप्रकारको छुट्टै आनन्द महशुस गर्छु ।

मलाई समूहमा रहेर काम गर्न मनपर्छ । मेरो स्कुलमा समूहमा शिक्षण हुन्छ । दुई दुईवटा कक्षामा संयुक्त शिक्षण हुन्छ । प्ले गु्रप र नर्सरीलाई एउटा कक्षा र एलकेजी र युकेजीलाई एउटा कक्षामा राखेर त्यसमा पनि बच्चाको क्षमताअनुसार समूह निर्माण गरी व्यक्तिगत हेरचाह र शिक्षण गर्ने गर्छौँ । यसरी युकेजीका विद्यार्थीको क्रियाकलाप हेरेर एलकेजीका नानीहरूले र नर्सरीको गतिविधिबाट प्ले ग्रुपका नानीबाबुले सिकिरहेका हुन्छन् ।

मलाई हरेक सम्बन्धको माया लाग्छ । कसैसित सम्बन्ध बिगार्न मन पर्दैन । म आफू संलग्न संस्था वा विद्यालयमा जोडिने हरेक व्यक्तिहरूसँग सुमधुर सम्बन्ध राख्ने प्रयत्न गरिरहन्छु । समूहमा बाँध्ने खुबी छ मसँग ।

त्यस्तै मलाई कुनै पनि काम पूर्ण नै चाहिन्छ । मैले कुनै कामको जिम्मेवारी लिइसकेपछि त्यसलाई पूरा गर्नैपर्छ र त्यो शतप्रतिशत या उत्तम नै हुनुपर्छ । त्यसमा सम्झौता गर्दिनँ । मैले आफ्नो व्यक्तिगत जीवनमा केही सम्झौताहरू गरेकी छु तर पेशागत र व्यावसायिक जीवनमा सम्झौता स्वीकार्य छैन । विद्यालयका शिक्षकहरूलाई पनि काममा सम्झौता नगर्न सल्लाह दिने गर्छु । आवश्यक परे सम्झाइबुझाइ पनि गर्छु । ‘भैगो’ भन्ने बानी छैन मेरो ।

मलाई कसैले कुनै पनि कुराको लागि मेरो जानकारीविनै प्रयोग गरेको भान भयो भने उसँगको सम्बन्ध तोडिदिन्छु । कसैको बानी असाध्यै मन परेको छैन भने उसँग सम्झौता गरिरहन्न । उसँग नजिकको सम्बन्ध राख्न रुचाउँदिनँ ।

:193 Views

Leave a Reply