विद्यार्थीलाई नलागेको भ्रमण वर्ष २०२०

रमेश काठमाडौँको एउटा विद्यालयमा कक्षा सातमा पढ्छन् । उनले भ्रमण वर्ष २०२० बारे सुनेका छन् । अब धेरै पर्यटकहरू नेपाल आउँदै छन् भन्ने उनले सुनेका छन् । त्यसैले बजारमा, ठूला ठूला पसलहरूमा, उनी मामा घर जाँदा चढ्ने गाडी सबैमा भ्रमण वर्षको लोगो अंकित ब्यानर र स्टिकरहरू देखेका छन् । शिक्षकहरूले पनि भ्रमण वर्ष शुरु भयो भनेका रहेछन् । तर खासमा भ्रमण वर्षले के अर्थ राख्छ भन्ने कुराको उनलाई खासै भेउ छैन । सबैले सबैतिर भ्रमण वर्षको कुरा गरेको सन्दै हिँडेका उनी यसबारे आफ्नो दायित्व के हो भन्ने कुराको जानकारी उनलाई छैन । होस् पनि कसरी ? एक जना राम्रै विद्यालयका प्रिन्सिपल भ्रमण वर्षबारे भन्दै थिए ‘भ्रमण वर्ष सरकारलाई मात्र हो लागेको । खै हामीलाई केही लागेको छैन । हामी हिँड्ने बाटो अहिले पनि उतिकै हिलाम्मे छ, धुलाम्मे छ । कहीँ कतै केही कुरा पनि परिवर्तन भएको देखेका छैनौँ । पर्यटक आइहाले भने पनि हाम्रो यही विजोग हेर्ने त होला नि । नभए देखाउने राम्रो कुरा केही छ जस्तो लाग्दैन ।’ विद्यालयलाई भ्रमण वर्ष मनाउन कुनै जिम्मेवारी दिएको छ कि भनी सोध्दा उनले भने ‘छैन, त्यस्तो केही छै्रन । आजसम्म कसैले केही पत्राचार वा मौखिक रूपमै पनि केही भनेका छैनन् । विद्यालयले केही गर्न सक्दैन भन्ने होला नि सरकारलाई । कि त विद्यार्थीको काम पढ्ने हो भनेर हामीलाई सहभागी नगराएको होला ।’ औपचारिक रूपमा सहभागी हुने कुनै अवसर नदिइएकोमा दुखी बनेको संकेत गर्दै उनले फेरि भने ‘हेर्नोस् सरकारले ठूलो अवसर गुमाउँदै छ । देशमा ५० लाख बढी विद्यार्थी विद्यालय शिक्षामा आवद्ध छन् । उनीहरूलाई सहभागी नगराउनु भनेको देशको उर्वर, गतिशील र प्रचुर सम्भावना बोकेको विशाल जनशक्तिलाई सरकारी अभियानमा सहभागी गराउन सरकार चुक्नु हो ।’
नेपाल भ्रमण वर्ष मनाइरहेको सरकारले देशकै ठूलो जमातलाई बेवास्ता गरेको शैक्षिक जगतका सरोकारवालाहरूको भनाइ छ । विशेषगरी विद्यालय र त्यहाँका विद्याथीलाई भ्रमण वर्षमा सहभागी गराउने सरकारको कुनै निर्देशन र स्पष्ट योजनाबारे आफूहरूलाई जानकारी नभएको उनीहरूको गुनासो छ ।
रमेशकी आमा आशालाई पनि भ्रमण वर्ष लागेको छैन । उनी नियमित घर र अफिसको काममा जान्छिन् । भ्रमण वर्षमा के गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ पनि अरुका जस्तै थिए । उनले भनिन् ‘के सोचेर सरकारले भ्रमण वर्ष मनाउँदै छ थाहा छैन । सफल हुन्छ भन्ने कुरामा पनि शंकै लाग्छ । अधिकांश सडकको अवस्था दयनीय छ, सवारीको चाप उस्तै छ । भनेको बेला कतै जान पर्यो भने गाडी समयमा पाइँदैन । पाइहाल्यो भने पनि भनेको बेलामा पुग्न मुश्किलै छ । गाडीहरू उही नै छन् । मानिसहरूले थुक्न रोकेका छैनन् । जथाभावी पिसाब गर्ने मानिसहरूलाई कसैले रोक्न सकेका छैनन् । फोहरको थुप्रो घटेको छैन । ७२ सालको भूकम्पले लडेका कतिपय घरहरू अझै बन्नै बाकी छन् । मान्छेहरूलाई भ्रमण वर्षमा के गर्न पर्छ पर्दैन भन्ने कुरा थाहा छ जस्तो पनि लाग्दैन । यस्तोमा ब्यानरहरू टाँगिएकै भरमा पर्यटकहरू नेपाल आउलान् जस्तो त लाग्दैन है मलाई त ।’
नेपालका विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालयलाई नलागेको नेपाल भ्रमण वर्ष २०२० सफलताबारे आशंका गर्नेहरू प्रशस्तै देखिएका छन् ।
सबिना बानियाँ
:811 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव