‘विद्यालयभित्र नेपाली भाषा बोलेकै कारण सजाय दिने काम रोक्नुपर्छ’ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयभित्र नेपाली भाषा बोलेकै कारण विद्यार्थीलाई सजाय दिने कार्य रोक्नुपर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको ‘विद्यालय शिक्षा’ सम्बन्धी राष्ट्रिय सम्मलेनमा उनले अग्रेजीको साम्राज्य बनाउन राष्ट्र भाषामाथि प्रहार भइरहेको कुरा गम्भिर भएर सोच्न आग्रह गरेका थिए । अग्रेजी सिकाऊ तर नेपाली कमजोर नबनाऊ भन्दै विद्यालयले नेपाली भाषालाई बेवास्ता गर्न नहुनेमा उनको जोड थियो । ‘डोको, डालो र थुन्चे सबैलाई बास्केट शब्दले सिकाउँदा हामीले हाम्रो आफ्नो पहिचान र मौलिकतालाई समाप्त पार्दै छौँ भन्ने कुरामा आजैबाट सचेत हुनुपर्छ । नेपाललाई भाषिक उपनिवेश बन्नबाट हामीले जोगाउनुपर्छ । त्यसमा निजी लगानीका विद्यालयका सञ्चालकहरूले पनि विशेष ध्यान दिनुपर्छ ।’ उनी थपे ‘विश्वव्यापी ज्ञानका विषयहरू जस्तै गणित, विज्ञान र कम्प्युटरलाई अंग्रेजी माध्यममा पढाउन सकिन्छ तर हाम्रो कला, संस्कृति, साहित्यलगायतका पहिचानमूलक विषयहरू जस्तैः सामाजिक, शारीरिक विषय नेपाली भाषामा नै पढाउनु उपयुक्त हुन्छ ।’

पढाइ र कामको तालमेल नभएको भन्दै उनले भने, ‘रेमिटेन्सबाट समृद्ध भएको मुलुक कुनै पनि छैन । हामीले पनि विदेश जानेभन्दा नेपालमा नै रहेर काम गर्न सक्ने शिक्षा दिनुपर्छ । त्यसका लागि विद्यालय शिक्षालाई उद्योग, अस्पतालआदि विषयसँग जोड्नुपर्छ ।’

‘सीप, संस्कार र प्रविधिसहितको शिक्षाका रुपान्तरण’ नाराका साथ गरिएको सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको शिक्षा शैक्षिक वेरोजगार उत्पादन अभियान जस्तै बनेको स्वीकारेका छन् । त्यस्तै अहिले निजी विद्यालयको चर्चाको विषय बनिरहेको उच्च शिक्षा छात्रवृत्तिको सन्दर्भमा निजी विद्यालयलाई आश्वासन दिदैँ उनले भने, ‘बालबालिकालाई कुन मुलको पानी खाएको भन्ने आधारमा विभेद हुँदैन । जुनसुकै विद्यालयमा पढेको भएपनि अवसर समान हुनुपर्छ ।’

बिहिबार र शुक्रबार भएको २ दिने सम्मेलनमा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले सिप र प्रविधिसँग शिक्षालाई जोड्न नसके विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न नसकिने बताए ।

कार्यक्रम संयोजक राजेन्द्र बानियाँले विद्यालयका प्रिन्सिपलहरूलाई विद्यालयमा पढाउने शिक्षक, विद्यार्थीहरूलाई कसरी जीवनापयोगी शिक्षा दिने र विश्वबजारमा जोड्ने भन्ने कुरा सिकाउन सम्मेलनको आयोजना गरिएको बताए । गुणस्तरीय शिक्षाको मुद्दाहरूका बारेमा छलफल गर्दै विद्यालय परिवर्तनमा सम्मेलन सहयोगी हुने बताउँदै उनले भने, ‘कक्षाकोठामा पढाउने विधिलाई सिकाउने विधिमा ढाल्ने विषयमा हामी केन्द्रित भएका हौँ ।’

स्वामी आनन्द अरुणले आध्यात्मिक मुल्य मान्यताको चर्चा गर्दै किताबका पढेका कुरा बिर्सन सकिने तर शिक्षकको व्यक्तित्व बिर्सन नसक्ने भएकाले शिक्षा दिने शिक्षकले पहिला आफूलाई शिक्षित गर्नुपर्ने उल्लेख गरे । उनले कक्षा १० र १२ मा फेल हुँदा विद्यार्थीले आत्महत्या गर्नु सो विद्यार्थी फेल नभई शिक्षा प्रणाली फेल भएको आरोप लगाए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका डा. भोजराज शर्माले नेपालमा शैक्षिक सुधारका पहलबारे प्रष्ट पार्दै सरकारी विद्यालयको दिवा खाजामा धेरै खर्च गर्ने राष्ट्रमा भारतपछि नेपाल रहेको दाबी गरे । उनले दुई फरक परिवेश र स्थिति समूहबाट विद्यार्थी आउने भएकाले निजी र सरकारी विद्यालयलाई तुलना गर्न नहुने बताए ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेलले ‘रचनात्मक र आलोचनात्मक नागरिक उत्पादनका लागि परिवर्तनकारी स्टीम शिक्षा’ का बारेमा चर्चा गरेका थिए । उनले बालबालिकालाई बच्चा सोचेर नभई उसलाई एउटा वयस्कको रुपमा व्यवहार गर्नुपर्ने बताए ।

डा. शुशिल कँडेलले ८० प्रतिशत अभिभावकका कारण र २० प्रतिशत समाज र शिक्षकको कारण बच्चाले कक्षामा समस्यामा देखाउने उल्लेख गरे । कक्षा ५ सम्मको बालबालिकालाई गृहकार्य नदिन आग्रह गर्दै त्यसको सट्टामा परिवारसँग जोडिने खालका व्यवहारिक कार्य दिन सकिने भन्दै उनले आफ्नो अनुभव सुनाएका थिए ।

ललितपुरको युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछानेले कक्षाको संरचना र प्रस्तुतीमा परिवर्तन नआएको बताउँदै भने, ‘चकको सट्टामा बोर्ड मार्कर आएको छ, माटोको भुइँको सट्टामा सिमेन्टको भुइँ भएको छ, तर अन्य कुरमा परिवर्तन देखिँदैन । वर्तमान अवस्थामा विद्यार्थीलाई २० वर्षपछि आवश्यक हुने सिप सिकाउनुपर्छ । जीवन र जगतसँग शिक्षालाई जोड्दै लानुपर्छ, हामीले परिवारको नाम, उमेरको बारेमा सोध्नेभन्दा पनि परिवारसँग बसेर आफूले सक्दो सहयोग गर्न सिकाउनुपर्छ ।’ उनको प्रस्तुती ‘विश्वव्यापी रुपमा शिक्षाको प्रवृत्ति’ विषयमा रहेको थियो ।

डा.विष्णु कार्कीले ‘विद्यालय शिक्षामा नयाँ सुरुवातको समय’ विषयमा प्रस्तुती दिँदै प्रविधिबिनाको शिक्षा असम्भव मात्र नभई सोच्न पनि नसकिने उल्लेख गरे । ‘स्कुल गए भन्नु सिक्ने ग्यारेन्टी होइन, सिकाउनका लागि शिक्षकले पाठ्यक्रमलाई वास्तविक जीवनसँग जोड्दै लैजानुपर्छ ।’ उनले भने ।

काठमाडौँ युनिभर्सिटि हाइस्कुलका एकेडेमिक डिरेक्टर डा. बारबारा बटरअर्थले ‘विद्यालय परिवर्तको लागि नेतृत्व’, डा. हेमन्तराज दाहालले ‘सुरक्षित स्कुल’ र प्राध्यापक डा. लक्ष्मण ज्ञवालीले ‘२१ औँ शताब्दीमा शिक्षक क्षमता विकास’ विषयमा आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै ‘न्युरो लिङ्ग्विस्टिक प्रोग्रामिङ्’ विषयमा प्रोफेसर राजेश टायलले प्रस्तुती दिएका थिए भने ‘२१ औँ शताब्दीमा सिप सिकाइका लागि आइसिटि’ विषयमा डा. सुशिल उप्रेतीको प्रस्तुती थियो ।

डा. टम रवरटसनले शिक्षकले विद्यार्थीलाई किताब रटाउने र आफूले भनेको मात्र भन्न लगाइ उसको विचार नसुन्ने भएकाले नेपालका धेरै स्कुलमा अझै राजतन्त्र रहेको औंल्याए । उनले विद्यालयमा के पढाउने भन्ने विषयमा प्रस्तुती दिदैँ भने, ‘शिक्षकको काम भनेको विद्यार्थीलाई किताब पढाउने मात्र होइन, किताबमा भनेका कुरा सहि छ, कि छैन भनि विद्यार्थीलाई आलोचनात्मक सोच राख्न दिनुपर्छ ।’ उनले नेपाली विद्यालय व्याकरणमा धेरै केन्द्रित भएको भन्दै संरचना, स्पष्टता र संक्षिप्ततामा ध्यान दिनुपर्ने सुझाव दिए ।

डा.हरि लम्सालले स्कुलमा लगानी र वित्तिय विषयमा प्रस्तुत गर्दै मर्ज गरिएका सरकारी विद्यालयमा निजी व्यवस्थापनमा स्कुल सञ्चालन गर्न दिन सकिने विषयमा सरकारले सोच्नुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा ललितपुरको प्रिमियर स्कुलकी प्रिन्सिपल पवित्रा लिम्बुले आफ्नो विद्यालय सफलताका विषयमा बोलेकी थिइन् भने नरबहादुर कार्कीले विद्यालयलाई अभिभावकसँग जोड्ने विषयमा आफ्नो जीवनका अनुभव सुनाउँदा सहभागीमा रौनकता छाएको थियो ।

प्याब्सनको इतिहासमा पहिलो पटक भएको सो सम्मेलनमा सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रिन्सिपल, संचालक, शिक्षक, शिक्षा नीति निर्माण गर्ने, कानुनविज्ञलगायत तीन सयभन्दा बढीको सहभागीता रहेको थियो ।

:1041 Views

Leave a Reply