विद्यालयलाई छोएन भ्रमण वर्षले

अहिले अधिकांश नेपाली नागरिकको मनमस्तिष्कमा डेरा जमाएको राष्ट्रिय कार्यक्रम हो, ‘नेपाल भ्रमण वर्ष २०२०’ । सामाजिक सञ्जालमा हेर्ने हो भने पनि अधिकांश नेपालीले आफू घुमेको क्षेत्रको फोटो राख्दै नेपाल भ्रमण वर्ष सफल गराउन सहयोग गराएको बताइरहेका हुन्छन् । नेपालका विभिन्न संघसंस्थाहरूले पनि आफ्ना विभिन्न कार्यक्रमदेखि विज्ञापनसम्म प्रयोग ‘नेपाल भ्रमण वर्ष २०२०’ को लोगो प्रयोग गरिरहेको देखिन्छन् । सञ्चार माध्यमहरूले पनि भ्रमण वर्षको लोगोलाई ब्यापक प्रयोग गरेको भेटिन्छ । त्यस्तै विद्यालयहरूले पनि विद्यार्थीहरूलाई घुमाउन लाँदा वा शिक्षकहरू घुम्न जाँदा ब्यानरमा भ्रमण वर्षको लोगो राखेर आफूले भिजिट नेपाल सफल पारेको बताइरहेका छन् । तर भ्रमण वर्षको लोगो प्रयोग गरेकै भरमा भ्रमण वर्ष सफल बनाउन सहयोग गरेको वा भ्रमण वर्ष सफल बनाएको भन्नु कत्तिको उपयुक्त होला? यो छलफलको अर्को विषय बन्न सक्छ ।

‘विद्यार्थी र शिक्षकलाई भ्रमण गराएर भ्रमण वर्ष धुमधामले मनायौँ या मनाउछौँ’ अधिकांश निजी विद्यालयलाई भ्रमण वर्षको योजना के छ भन्दा आउने जवाफ हो यो । निजी विद्यालयले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि विद्यार्थीलाई पोखरा, लुम्बिनी, चितवन जस्ता पर्यटकीय क्षेत्रमा लगेको गतिविधिलाई नै भ्रमण वर्ष मनाएको जानकारी दिइरहेका छन् । के फरक छ यो वर्षमा भन्ने नुवागीको प्रश्नमा उनीहरूको जवाफ थियो, ‘हामीले भ्रमण वर्षको लोगो राखेका थियौँ या भ्रमण वर्षको ब्यानर राख्यौँ ।’

विद्यार्थीहरूलाई घुमाउन लाँदा वा शिक्षकहरू घुम्न जाँदा ब्यानरमा भ्रमण वर्षको लोगो राखेर आफूले भिजिट नेपाल सफल पारेको बताइरहेका छन् । तर भ्रमण वर्षको लोगो प्रयोग गरेकै भरमा भ्रमण वर्ष सफल बनाउन सहयोग गरेको वा भ्रमण वर्ष सफल बनाएको भन्नु कत्तिको उपयुक्त होला?

विद्यार्थीलाई घुमाउन लैजाँदैमा नेपालले भ्रमण वर्ष मनाएको हुने हो भने नेपालले प्रत्येक वर्ष भ्रमण वर्ष मनाएको भनिदिए हुने टिप्पणीहरू पनि सुनिन्छन् । अथवा विदेशी पर्यटकहरू बढेको आधारमा भ्रमण वर्ष मनाउने भए यसलाई राष्ट्रिय पर्व नभनि बाह्य पर्यटन बृद्धि कार्यक्रम मात्र भन्न उपयुक्त हुने टिप्पणीकर्ताहरू बताउँछन् ।

सरकारी विद्यालयको सन्दर्भमा अधिकांश विद्यालयले अहिलेसम्म केही कार्यक्रम बनाइ नसकेको उल्लेख गरेका छन् । एक विद्यालयका प्रअले त नुवागीसँगै प्रश्न गरे, ‘हामीले भ्रमण वर्षमा केही गर्नुपर्छ र?’ कतिपय सामूदायिक विद्यालयहरू जाडो बिदाका कारण बन्द छन् । त्यहाँका प्रअहरूले भ्रमण वर्ष शुरु भएको महिनादिन हुन लागेपनि विद्यालयले भ्रमण वर्षको बारेमा छलफल गर्न नभ्याएको कुरा उल्लेख गरेका छन् । अर्का एक सामुदायिक विद्यालयका प्रअले भने, ‘सरकारले भ्रमण वर्षको बारेमा केही भनिदिए चाहिँ त्यो काम गर्नुपर्ला या हामी बिदापछि यसका बारेमा सोचौँला ।’

त्यस्तै प्रि–स्कुलहरू त भ्रमण वर्षको बारेमा अन्जान नै देखिन्छन् । २२ वर्ष पछिको यो राष्ट्रिय पर्वका बारेमा बालबालिकालाई सामान्य जानकारी दिनुपर्छ या कमसेकम एक पटक परिवारलाई भनेर घुम्न जानुपर्छ है भन्ने चेतना बालबालिकालाई दिनुपर्छ भन्नेसम्म धेरै प्रि–स्कुलका सञ्चालकले सोचेका छैनन् । केही प्रि–स्कुलले यसको बारेमा केही सोचेको भएपनि त्यसलाई विद्यार्थीको व्यवहार र योजनामा प्रभाव पार्ने भन्दा पनि यसको उद्घाटन कार्यक्रमका बारेमा मात्र केन्द्रित भएर भिजिट नेपाल के हो भन्ने कुरा मात्र बुझाउने योजना बनाएका छन् ।

निजी विद्यालयका संगठनहरूले केही योजना बनाएर त्यसलाई लागु गरिसकेको भनिरहँदा सोही संस्था अन्तर्गतका सदस्य विद्यालयहरूले त्यस विषयमा अनभिज्ञता दर्शाएका छन् । यसले केन्द्रको योजनाको पारदर्शिता र कार्यान्वयनमा ध्यान दिन नसके भ्रमण वर्षमा पनि संस्थाभित्र समावेशीताको प्रश्न उठ्न सक्ने खतरा रहेको सरोकारवालाहरू बताउँछन् । विद्यालय क्षेत्रलाई भ्रमण वर्षमा समावेश नगरे भ्रमण वर्ष सफल हुने सम्भावना न्युन रहने विज्ञहरू बताउँछन् ।

:53 Views

Leave a Reply