पुलिस स्कुल सामाखुसीका ९३ स्काउटहरु ३ दिने ककनी क्याम्पमा

काठमाडौं । नेपाल पुलिस स्कूल, सामाखुसीका स्काउट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ रात ३ दिने शिवीरमा सहभागी गराई विभिन्न प्रयोगात्मक प्रशिक्षण दिइएको छ । कक्षा ६ देखि ९ सम्मका ९३ जना स्काउट विद्यार्थीलाई नुवाकोट, ककनीस्थित स्काउट नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको थियो ।

?

कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकी प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले यस्ताखाले प्रशिक्षणले वालवालिकामा नेतृत्वदायी क्षमताको विकास गराउने कुरामा आफू विश्वस्त रहेको बताइन् ।  उनले नेपाल पुलिस स्कूल, सामाखुसीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता खाले कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै विद्यार्थी कालमा आफु पनि स्काउटको सदस्य भएको स्मरण गरीन । आफु विद्यार्थी छँदा अहिलेको जस्तो व्यवस्थित तरिकाबाट स्काउट क्रियाकलाप हुने नगरेको बताउँदै आगामी दिनमा यस्ता खाले कार्यक्रममा आफुलाई पनि सहभागी हुन इच्छा जागेको बताइन ।

प्रहरी वरिष्ठ उपरिक्षक बज्राचार्यले उत्कृष्ट स्काउट विद्यार्थीलाई पदक र सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र समेत वितरण पनि गरीन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक महेन्द्रराज रन्जितले विद्यालयले विद्यार्थीलाई स्काउटमा सहभागी गराएकोमा खुसी व्यक्त गर्दै विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान दिएको कुरा आफुलाई महसुस भएको बताए । कार्यक्रममा स्कूलका समादेशक प्रहरी निरीक्षक लक्ष्मी प्रसाद भण्डारीले स्वागत मन्तव्यका क्रममा स्काउटले शारीरिक, मानसिक, बौद्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक विकासमा मद्दत पुर्याउने हुनाले आगामी दिनमा पनि अझै व्यवस्थित तरिकाले निरन्तरता दिन चाहेको बताए ।
कार्यक्रमका संयोजक सुरज खनालले कार्यक्रम अवधिभर विद्यार्थीहरुले गरेका विभिन्न १३ प्रकारको साहसिक क्रियाकलापहरुको फोटो तथा भिडियो प्रदर्शनी गरेका थिए भने कार्यक्रमको सञ्चालन सामाजिक शिक्षक कर्णसिंह साउदले गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल युएन पिटिसी तालिम केन्द्र, ककनीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र बम पनि सहभागी थिए । कार्यक्रमका सभापति नेपाल पुलिस स्कूल, सामाखुसीका निमित्त प्राचार्य ओम प्रसाद भुसालले कार्यक्रममा सहभागी भई विद्यार्थीको हौसला बढाईदिएकोमा प्रमुख अतिथि, अतिथि लगायत सबैलाई धन्यवाद दिए ।

स्कुलका स्काउट प्रशिक्षक सुरज खनालको नेतृत्वमा ९३ जना विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक सरिता डङ्गोल, प्रहरी नायव निरीक्षक विश्वनाथ झालगायत प्रहरी कर्मचारीहरु, शिक्षकहरु तथा स्काउट प्रशिक्षकहरुले सो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेका थिए ।

:335 Views

Leave a Reply