चैत्र ५ गतेभित्र परीक्षा सक्ने सरकारी निर्देशनः न निल्नु न ओकल्नु

सबिना बानियाँ
विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास बढ्दै गएसँगै नेपालका अधिकांश विद्यालयमा परीक्षाको तालिकामा फेरबदल आएको छ । केहीले आजबाट सुरु गरेका छन् केहीले भोलिबाट सुरु गर्दैछन् भने केहीले आफ्नै बार्षिक तालिका अनुसार परीक्षा सञ्चालन गर्ने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सतर्कता अपनाउन शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । साथै विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका भेला हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न आह्वान गरेको छ ।
सरकारी निर्देशनको पालना गर्ने निर्णय गरेका कतिपय विद्यालयले आफ्ना पाठहरू सकाउनका लागि शनिबार र सार्वजनिक बिदामा समेत कक्षा सञ्चालन गरेका छन् । काभ्रे बनेपाको विद्यासागर स्कुलका प्रिन्सिपल हिरा शर्माले विद्यार्थीको पढाइ पूरा गर्न शनिबार पनि स्कुल सञ्चालन गरेको बताएका छन् । भक्तपुरको आदर्श आजाद माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीकृष्ण किसी पनि आफ्नो विद्यालय बिदाको समयमा पनि सञ्चालन गरेको बताउँछन् । सरकारको नीति पालना गर्नुपर्ने भन्दै उनले आजैबाट परीक्षा सञ्चालन गरेका छन् । तर यसरी छिटो परीक्षा लिँदा भने विद्यालय र विद्यार्थीमा केही प्रभाव पर्ने मत राख्छन् उनी, ‘हामीले परीक्षा केन्द्रित कक्षाहरू सञ्चालन गर्न पाएनौँ ।’
उनको विद्यालयको कक्षा ८ को परीक्षा नगर शिक्षाले लिँदै आएको छ । प्रत्येक वर्ष परीक्षा केन्द्र अन्य विद्यालयमा पर्नेमा कोरोना भाइरस कै कारण यस वर्ष भने सबै विद्यालयले आफ्नो विद्यालयभित्रै परीक्षा लिने भएको बताएका छन् । परीक्षापछिको समयमा कोरोना भाइरसबारे संत्रास कम भएमा विद्यार्थीलाई प्रोत्साहनमूलक कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।
उनी मात्र होइन चितवनको भरतपुरस्थित कमलदेवी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बेलबहादुर गुरुङ पनि आफ्नो विद्यालयले परीक्षा ५ गतेभित्र सक्न फागुन २८ बाट परीक्षा सुरु गर्ने बताएका छन् ।
तर यसरी छिटो परीक्षा लिँदा परीक्षा पूर्व तयारीमा समस्या आएको बताउँदै उनी भन्छन्, ‘केही विषयका पाठ सकिएका हुँदैनन् । परीक्षाको तयारी कक्षा सञ्चालनको लागि समय भएन र प्रश्नावलीको तयारीमा पनि समस्या रह्यो । एक महिनामा हामीले धेरै काम गथ्र्याँै तर बिदाले गर्दा नयाँ शैक्षिक सत्रमा समेत असर पर्छ ।’ उनी थप्छन्, ‘यसले समस्या त सृजना गरेकै छ तर संकटको समयमा गरेको यो निर्णयलाई गलत भन्न पनि सकिदैन । त्यस्तै समय र परिस्थितिले शिक्षक समूहमा बस्न मिल्ने भयो भने बिदामा शिक्षकको लागि शिक्षण सिकाईका तालिम र छलफल गर्नेछौँ ।’
ललितपुरको सुनाकोठीस्थित विलियम पब्लिक स्कुलका प्रिन्सिपल अमिर महर्जन पनि बिदाको समयमा कक्षाहरू सञ्चालन गर्नुपर्दा विद्यार्थीले दुखेसो पोखेको बताउँछन् ।
त्यस्तै काठमाडौँको जोरपाटीस्थित ब्राइट जोन इन्टरनेशनल स्कुलका प्रिन्सिपल मदनराज रेग्मीले सरकारको यो निर्णयले विद्यालय सञ्चालनमा समस्या भएको उल्लेख गर्दै भने, ‘हामीले चैत्र दोस्रो हप्तादेखि परीक्षा लिने गरी पाठ योजना र परीक्षा तयारी गर्ने योजना बनाएका थियौँ । विद्यार्थीले तयारी बिना परीक्षा दिँदा हामीले अपेक्षा गरेअनुसार नतिजा नआउन सक्छ । त्यस्तै अभिभावकले चैत्रमा पढाइ नहुने भन्दै शुल्क तिर्न मानिरहेका छैनन् । शुल्क नउठेर विद्यालयको आर्थिक अवस्थामा पनि ठेस पुग्छ ।’
उनको विद्यालयले पाठ नसकिएका विषयलाई बिहान, दिउँसो र बेलुका गरी तीन पटक पढाइ रहेको छ । यस्तो सन्दर्भमा विद्यार्थीले कसरी सबै कुरा स्मरण गर्ने भन्ने कुरा अन्यौल नै छ ।
विभिन्न समस्या आउने भएकै कारण सिराहाको सरस्वती मोडल ऐकेडेमीले भने चैत्र ५ गतेसम्म कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका प्रिन्सिपल विष्णु न्यौपानेले एसईईको परीक्षा सकिने समयमा मात्र आफ्नो विद्यालयको परीक्षा सकाउने जानकारी दिए । विद्यालयको कक्षा ८ को परीक्षा मात्र चैत्र ५ मा सकिने भएको छ ।
‘सरकारले भनेको समयमा परीक्षा सकाउँदा हाम्रो शुल्क उठाउन सक्ने संभावना देखिएन । हाम्रा अधिकांश अभिभावकहरू वैदेशिक रोजगार र कृषिमा आधारित परिवारको हुनुहुन्छ । र शुल्क नउठ्दा शिक्षकलाई तलब दिने कसरी?’ समस्या औल्याउँदै उनी थप्छन्, ‘विद्यालयका पाठयोजना अनुसार पाठ सकाउन पनि गार्हो पर्छ । यी विविध कारणले गर्दा हाम्रा स्थानीय तहका निजी विद्यालयले चैत्र ५ गतेसम्म कक्षा सञ्चालन गरेर चैत्र ७ बाट परीक्षा सुरु गरी १६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।’
:1084 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव