कोरोनाबाट बच्न के गर्दैछ विद्यालय?

काठमाडौँको नेक्सस् इन्टरनेशनल एकेडेमीले कोरोना भाइरस तथा अन्य सरुवा रोगबाट विद्यार्थीलाई सुरक्षित राख्न रेजर थर्मोमिटरबाट ज्वरो मापन गर्दै

सबिता नयाँजू

एक हुल विद्यार्थी सेतो माक्स लगाएर विद्यालयभित्र छिरे । विद्यालयको नियमित एसेम्ली सकिएसँगै सबै कक्षा कोठातर्फ लागे । पहिलो घण्टी बज्यो र सबै कक्षागत शिक्षक कक्षामा लागे । कक्षामा छिर्ने बित्तिकै कुनै पनि शिक्षकले किताब पल्टाएनन् । न त पाठ नै पढाउन सुरु गरे । ५ मिनेट विद्यार्थी र शिक्षक कुराकानीमै व्यस्त रहे । उनीहरूले यसरी छलफल गर्न थालेको धेरै भएको छैन । मात्र १ महिना भयो । तर उनीहरूको छलफलको विषय भने सधै एउटै । ‘कोरोना र कोरोनाबाट कसरी बच्ने?’

यसरी दिनहुँ कोरोनाको चर्चा गर्दै आइरहेको विद्यालय हो, सिराहा जिल्लाको सरस्वती मोेडल ऐकेडेमी । त्यति मात्र होइन थप सरसफाइ र साबुन पानीले हात धुने बानी पनि बढेको विद्यालयका प्रिन्सिपल विष्णु न्यौपाने बताउँछन् । त्यस्तै विद्यालयमा सबै विद्यार्थी माक्स लगाएरै आउँछन् । कोरोना भाइरस फैलन नदिनका लागि नेपाल सरकारले विभिन्न गोष्ठी र भेला नगर्न भनेकाले नै विद्यालयमा अभिभावक भेला नगरी विद्यार्थीमार्फत अभिभावकसम्म जनचेतना जगाइरहेको उनले जनाए ।

अहिले विद्यालय नियमित रुपमा सञ्चालन भइरहेका छन् । नेपालको ठूलो जनसंख्या रहेको क्षेत्र विद्यालयले यो भाइरसको त्रासलाई घटाएर रोकथामको लागि उल्लेखनीय भूमिका निर्वाह गर्न सक्छ ।

अधिकांश विद्यालयले कोरोना भाइरससम्बन्धि जानकारी विद्यार्थीलाई दिँदै विद्यार्थी मार्फत उसको घर र समूदायसम्म जनचेतना जगाउने कार्यमा लागेको विद्यालयका प्रिन्सिपलहरूले जानकारी दिएका छन् । सरकारले भेला गर्न रोक लगाएकाले अभिभावक भेला गरेर जानकारी दिन नसकिने भन्दै आफ्ना नानीबाबु विद्यालय छोड्ने क्रममा या अन्य कारणले विद्यालय आएका अभिभावकलाई व्यक्तिगत रुपमा कोरोनाका विषयमा र रोकथामको जानकारी दिएको विद्यालयका प्रिन्सिपलहरू बताउँछन् ।

काठमाडौँको जोरपाटीस्थित ब्राइट जोन इन्टरनेशनल स्कुलका प्रिन्सिपल मदनराई रेग्मीले पनि कोरोनाबाट बच्ने उपायका बारेमा विद्यार्थीहरूलाई एसेम्लीमा र कक्षाकोठामा नियमित रुपमा बताउँदै आएका छन् । उनको विद्यालयमा पनि यो भाइरसबाट बच्न सबै विद्यार्थी माक्स लगाएर आउँछन् ।

त्यस्तै भक्तपुरको आदर्श आजाद माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीकृष्ण किसी जनचेतना दिने मात्र नभई विद्यार्थी विद्यालयभित्र रहने समयमा उसको स्वास्थ्यको ख्याल गर्ने जिम्मेवारी पनि विद्यालयको रहेको बताउँछन् । सो विद्यालयले पनि सरसफाईलाई प्राथमिकता दिँदै आएको उनले उल्लेख गरे ।

काठमाडौँको नेक्सस् इन्टरनेशनल एकेडेमीले कोरोना भाइरस तथा अन्य सरुवा रोगबाट विद्यार्थीलाई सुरक्षित राख्न रेजर थर्मोमिटरबाट ज्वरो मापन गर्दै

‘हरेक कुरासँग जुध्नका लागि आत्मबल बलियो हुनुपर्छ । हामीले विद्यार्थीहरूको आत्मबल कमजोर नबनाऊ भन्दै आफू स्वस्थ र वातावरण सफा राख्न सिकाइरहेका छौँ । यसरी उनीहरूको मनमा कोरोना भाइरसको त्रास कम गर्ने हाम्रो प्रयास जारी छ ।’ उनले भने ।

त्यस्तै चितवनको भरतपुरस्थित कमलदेवी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बेलबहादुर गुरुङले विद्यार्थीलाई माक्स अनिवार्य गर्न चाहेर पनि माक्स पर्याप्त नभएको गुनासो गरे । उनले विद्यार्थीहरूलाई भन्ने गरेका शब्दहरू, ‘भीडमा नजानु, रुघा लागेको मानिससँग सम्पर्क नगर्नु, सफा र स्वस्थ रहनु ।’

ललितपुरको सुनाकोठीस्थित विलियम पब्लिक स्कुलका प्रिन्सिपल अमिर महर्जनले पनि विद्यार्थीलाई कोरोना भाइरस के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा चेतनामूलक जानकारी प्रवाह गरिरहेको बताए । साथै विद्यालयले विद्यार्थीको ज्वरो जाँच, रुघा लागेको विद्यार्थीलाई अरुभन्दा केही दूरीमा राखेर कक्षा सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए ।

:957 Views

Leave a Reply