कोरोना भाइरसबारे भ्रम हटाउन विश्व स्वास्थ्य संगठनका सुझावहरु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसको सङ्क्रमण अहिले ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ। कोभिड-१९ बाट झन्डै सवा लाख मानिस प्रत्यक्ष प्रभावित भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
कोरोना लागेर उपचारपछि घर फर्किनेको संख्या पनि ६० हजार नाघिसकेको बताइएको छ। यसको अर्थ कोरोना संक्रमण हुनासाथ मृत्यु हुने चाहिँ होइन । कोरोना भाइरसका भ्रम र तथ्यबारे विश्व स्वास्थ्य संगठनले हालै महत्वपूर्ण सुझाव सार्वजनिक गरेको छ:
चिसो मौसम र हिउँले कोरोना भाइरस मार्न सक्दैन
चिसो मौसमले कोरोना भाइरस तथा यस्ता रोग मार्नसक्छ भन्ने कुरामा कुनै सत्यता छैन । कोरोनाबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको निरन्तर सफा पानी र साबुन पानीले हात धुनु हो । अल्कोहलयुक्त पानीले हात धुन पनि सकिन्छ ।
तातोपानीले नुहाउँदैमा कोरोनाबाट बच्न सकिँदैन
तातो पानीले नुहाउँदा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने मान्यता सत्य हैन । तातो वा चिसो पानीले नुहाउँदैमा कोरोना भाइरसबाट जोगिन सकिँदैन । कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय नै नियमित हात धुनु नै हो ।
चीनमा उत्पादिन सामग्रीबाट कोरोना सर्दैन
कोरोना भाइरस चीनबाट फैलिएको हुँदा यहाँ उत्पादन भएका सामानबाट पनि कोरोना फैलिनसक्छ भन्ने भ्रम असम्भव कुरा हो । कोरोना भाइरस कुनै पनि सामानको सतहमा केही घण्टा वा केही दिनसम्म रहन सक्छ । त्यो भने सामानको प्रकृतिमा भर पर्छ ।
तर सामान कुनै ठाउँबाट अर्को ठाउँमा सार्दा कोरोना भाइरस उही सतहमा बसिरहन असम्भव हुन्छ । फरक तापक्रममा जाने वित्तिकै यसको अस्तित्व रहँदैन । बरु यस्ता सामान छोएपछि साबुन पानी वा अल्कोहलयुक्त पानीले हात धुनु चाहिँ पर्छ ।
लामखुट्टेको टोकाइबाट पनि सर्दैन
लामखुट्टेको टोकाइबाट कोरोना सर्छ भन्ने त्रासमा हुनुहुन्छ भने पनि त्यो भ्रम हटाउनूस् । अहिलेसम्म कोही पनि लामखुट्टेको टोकाइबाट संक्रमित भएको प्रमाण भेटिएको छैन । यो त संक्रमित मानिसको स्वासप्रस्वासको क्रममा वा हाच्छ्युँ गर्दा खकार वा थुकको छिटाबाट सर्नसक्छ । त्यसैले रुघाखोकी लागेका वा संक्रमणको आशंका भएका मानिससँग टाँसिनु वा नजिकिनु हुँदैन ।
ह्यान्ड ड्रायरले पनि भाइरस मार्दैन
ह्यान्ड ड्रायरले पनि कोरोना भाइरस नष्ट गर्न सकिँदैन । यसले हातलाई सुख्खा बनाउने मात्रै हो । कोरोना भाइरस मार्न त साबुन पानी वा अल्कोहलयुक्त पानीले नियमित हात धुनु नै पर्छ । साथै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ ।
यूभी ल्याम्पले पनि कोरोना मार्दैन
अल्ट्राभायलेट डिसइन्फेक्सन ल्याम्प हात वा अन्य छालामा प्रयोग गर्नु हुँदैन । यसका विकिरणले त उल्टै छालामा समस्या निम्त्याउन सक्छन् ।
थर्मल स्क्यानरले संक्रमित पत्ता लगाउँछ त ?
थर्मल स्क्यानरले कोरोना संक्रमित पत्ता नलगाए पनि ज्वरो आएको मानिस चाहिँ पहिचान गर्छ । ज्वरो पनि कोरोना संक्रमितको एक लक्षण हो । तर कोरोना लागेका मानिसमा संक्रमणले छोएको दुईदेखि १० दिनसम्म ज्वरो देखिन्छ । थर्मल स्क्यानरको सहायताबाट ज्वरो पत्ता लगाउन सकिने हुँदा स्वास्थ्य परीक्षण वा निगरानीमा राख्न सकिन्छ ।
शरीरमा अल्कोहल वा क्लोरिन छर्कँदा कोरोना नष्ट गर्न सकिन्छ त ?
हैन । शरीरभरी अल्कोहल वा क्लोरिन छर्कँदा शरीरमा प्रवेश गरिसकेका भाइरस मार्न सकिँदैन । बरु मुख वा आँखामा पर्दा हानिकारक हुन्छ ।
घरपालुवा जनावरले कोरोना फैलाउँछन् त ?
हालसम्म कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना संक्रमण भेटिएको छैन । तर यस्ता जनावरलाई छुँदा हात धोएर र छोइसकेपछि पनि हात धुनु वुद्धिमानी हुनेछ ।
निमोनियाविरुद्धको खोपले कोरोनाबाट बचाउँछ त ?
निमोनिया विरुद्ध लगाइने खोपहरुले पनि कोरोना भाइरसबाट बचाउन सक्दैनन् । कोरोना भाइरस एकदम नयाँ र भिन्न हो । यसबाट बच्न यसको आफ्नै खोप आवश्यक पर्छ । जुन विकास भइसकेको छैन ।
नियमित नाक पखाल्दा कोरोना संक्रमणबाट बचिन्छ त ?
नियमित नाक पखाल्दा वा धुँदैमा कोरोना संक्रमणबाट बच्ने कुनै प्रमाण भेटिएको छैन । बरु औषधिको सहायतामा नाक नियमित सफा गर्दा रुघाबाट बच्न सकिन्छ ।
लसुन सेवनले कोरोनाबाट जोगाउँछ त ?
सामान्यतः लसुन स्वस्थकर खाना नै हो । यसमा जीवाणु मार्ने गुण हुन्छ । तर कोरोना भाइरस मारेको कुनै प्रमाण भेटिएको छैन ।
यसले वृद्धवृद्धालाई बढी असर गर्छ वा युवाहरु पनि संवेदनशील छन् ?
सबै उमेर समुहका मानिस यसबाट संक्रमित हुन सक्छन् । तर वृद्धावस्थाका मानिस, डायबिटिज, मुटुरोग जस्ता स्वास्थ्य समस्याबाट ग्रसित मानिस यसबाट जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठनले सबै उमेरका मानिसलाई कोरोनाबाट जोगिन सचेत गराएको छ ।
एन्टिबायोटिकले कोरोनाबाट जोगाउने र उपचार गर्नसक्छ त ?
एन्टिबायोटिकले कोरोना भाइरस विरूद्ध केही गर्न सक्दैन । यसले त ब्याक्टेरिया नियन्त्रण गर्ने मात्रै हो । तर कोरोना संक्रमणबाट अस्पताल भर्ना हुने अवस्था आउँदा चाहिँ यसको पनि प्रयोग गरिन्छ ।
कोरोना भाइरसबाट बच्ने वा उपचारको औषधि छ त ?
हालसम्म कुनै खास औषधि भेटिएको छैन । कोरोना संक्रमितहरु विशेष निगरानीमा बसेर उपयुक्त उपचार लिनुपर्छ । यद्यपि विज्ञहरु यसको खोप वा औषधि विकासका लागि केन्द्रित भएका छन् । विश्व स्वास्थ्य संगठनले यसका लागि काम गरिरहेको छ ।
(विश्व स्वास्थ्य संगठनको वेभसाइटबाट)
:204 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव