अभिभावकका लकडाउन अनुभव

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनले बालबालिका युवा वयस्क बृद्ध सबैलाई घरभित्र रहन वाध्य बनाएको छ। अधिकांशलाई लकडाउन सकिने दिनको प्रतिक्षा छ। विशेषगरी चञ्चले स्वभावका बालबालिका हुने अभिभावकहरू उनीहरूलाई एकै ठाउँमा खुशी बनाएर राख्नु युद्ध जितेजतिकै हुने बताउँछन्। बालबालिकाको उचित हेरचाह चुनौतीपूर्ण भएको अधिकांश अभिभावकहरूले बताइरहेका छन्।

मोवाइल छुटाउनै गार्हो
काठमाडौँ बानेश्वर बस्ने सुनिता न्हेमाफुकीले यो लकडाउनमा आफ्नो पाँच वर्षे छोरालाई मोबाइलको लतबाट जोगाउन निकै मिहिनेत गर्न परेको छ। उनी विहान आफूसँगै छोरालाई ब्यायाम गराउन कौसीमा लान्छिन्। केही बेर बगैँचामा भुलाउँछिन्। उनलाई दिनै जसो एक एक वटा चित्र बनाउन लगाउँछिन्। भान्सामा सँगै राख्छिन्। आफ्नो हातैले भ्याउने वस्तुहरू पनि छोरालाई ल्याइदिन भन्छिन्। जसरी हुन्छ छोरालाई व्यस्त बनाउने उनको उद्देश्य हो। किनकि एक छिन फुर्सत पाउने बित्तिकै उनी मोबाइल खोज्छन्। मोबाइल हेर्न थालेपछि छोरो एकोहोरिने उनी बताउँछिन्। मोबाइलको लत लाग्ला भन्ने ठूलो चिन्ता छ उनलाई। त्यसो त छोरासँग यतिको एकमुष्ठ समय अहिलेसम्म कहिल्यै नविताएकाले यो लकडाउनको पूरापूर मज्जा लिइरहेको सुनिता बताउँछिन्।

हैरानी
सीता खत्री भने आफ्ना नातिनातिनासँग हैरान भइसकेकी छन्। एउटा ८ वर्षका र अर्की १० वर्षकी नातिनातिनाले लकडाउनमा उनलाई धुरुक्कै पारेका छन्। दुबै आइप्याड र ट्याबलेट मात्र चलाउँछन्। पढाइ उनीहरूको दैनिकीमा पर्दैन। त्यसमाथि भनेको वा अर्हाएको केही कुरा पनि नमान्दा कहिलेकाहीँ रिस उठ्ने र सामान्य पिटपाट पनि गर्ने गरेको उनी बताउँछिन्। ‘पहिला भए स्कुल जान्थे। विहान बेलुकी मात्र घरमा हुन्थे। होमवर्क गरेर समय वित्थ्यो। विहान बेलुका सताएपनि दिनमा आरामै हुन्थ्यो। अहिले दिनभरी घरैमा हुन्छन् भनेको मान्दैनन। यसरी नै बितिराछ जिन्दगी।’ उनले बताइन्।

खुशी पार्न सकिएन
सृजना नगर बस्ने पार्वती दंगाल आफ्नी ९ वर्षकी छोरीलाई यो लकडाउनमा खुशी बनाउन नसकेको सुनाउँछिन्। उनले दैनिक रुपमा के गराउने कसो गराउने भनेर निश्चित तालिका त बनाएकी छैनन्। तर हरेक दिन पढाउन भने छुटाएकी छैनन्। कतिपय समय शैक्षिक विषयवस्तुका सिनेमाहरू देखाउने गरेको उनी सुनाउँछिन्। तर भन्छिन् ‘छोरी खुशी छैन। खानेकुरा सीमित छ। बाहिर जान पाउँछिनन्। साथीभाइसँग नभेटेको लामो समय भइसकेको छ।’

अवसर
त्यस्तै संयुक्त परिवारकी कामकाजी बुहारी शशी कसपाल लकडाउनले किशोरावस्थाका छोराछोरीलाई बुझ्ने अवसर दिएको बताउँछिन्। किशोरावस्थाका सन्तानलाई आमाबुवाको समीपमा राख्नु ठूलो चुनौतीको विषय भएको शशी बताउँछिन्। यो लकडाउनमा आफ्ना कोशोरावस्थाका सन्तानसँग उनीहरूको प्रत्येक गतिविधिमा साथ रहन पाउँदा, उनीहरूसँग सँगै गाउँदा, करेसाबारीमा सँगै काम गर्दा, उनीहरूलाई सुन्ने समय दिँदा नसोचेसरी आफ्ना कुराहरू खोल्न थालेको, मनको भावनाहरू सहजै व्यक्त गर्न थालेको उनको अनुभव छ।

छटपटी
काभ्रेकी शान्ति पुडासैनीलाई भने १५ वर्षे छोराको छटपटीले घोचेको छ। एसपालि एसइइ दिने पूरा तयारीमा बसेका छोरालाई यो लकडाउनको समय कटाउन हम्मे परेको छ। ‘कहिले के खाने कहिले के खाने भनिरहन्छ। कहिले त मलाई उसँगै टेनिस खेल्न जाऊँ भन्छ। तर म भान्साको काम छोडेर जान सक्दिनँ। मेरो छोरा ज्ञानी छ। उ कुनै कुराको गुनासो गर्दैन। तर यति लामो लकडाउनले उसलाई अत्याइरहेको छ। मोजा धुन सिकाइ मागेको थियो। मैले त्यो पनि सिकाएँ। धोला विस्तारै। उ पढ्छ, खेल्छ। तर उसको छटपटी देख्दा मलाई दुख लाग्छ।’

भूगोल, परिस्थिति, पारिवारिक अवस्था, समुदायलगायत विविध कारणले अभिभावकहरूको अभिभावकीय अभ्यास फरक फरक हुन सक्छ। तर घर बालबालिकाको लागि अहिले मात्र होइन सधैँ सबैभन्दा प्रिय र सुरक्षित स्थान हो भन्ने अनुभूत गराउनु सबैभन्दा महत्त्वपूर्ण कार्य हुने विज्ञहरू बताउँछन्।

:507 Views

Leave a Reply