साक्षरताको परिभाषा बदल्नुपर्छः मन्त्री घिमिरे

भक्तपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालयलाई झोला र किताब विस्थापित गरी प्रविधि मैत्री बनाउनुपर्र्ने बताएका छन् । शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभावमा प्रदेश १ को शिक्षा क्षेत्र व्यस्थापनको तयारी’ विषयमा आयोजना गरेको भर्चुअल प्रेस मिटमा उनले अब समयानुसार विद्यालयलाई प्रविधिमैत्री बनाउनेमा प्रदेश सरकार केन्द्रित रहेको जानकारी दिए ।
लकडाउन सुरु हुने अगावै प्रदेशका १ सय विद्यालय छनोट गरी प्रविधिमैत्री कक्षा सञ्चालन गरिरहेको बताउँदै उनले भने, ‘पहिलो चरणमा १ सय स्कुलका केही शिक्षकलाई तालिम दिँदै आएका थियौँ । सबै सामग्री विद्यालयका ल्याबमा नै सीमित भएकाले अहिले लकडाउनले गर्दा यी कक्षा स्थगित भएको छ ।’
‘लकडाउनको समयमा एसईई दिने विद्यार्थीको लागि गत महिनाको १५ गतेबाट एन.टि.भि इटहरीमार्फत कक्षा सञ्चालन गरिरहेका छौँ । इन्टरनेटमा पहुँच भएकाले अनलाईनबाट, नभएकालाई टेलिभिजन र रेडियोबाट र ती सञ्चार साधन पनि नभएकालाई टेलिफोनको माध्यमबाट शिक्षक र विद्यार्थीलाई जोडिरहेका छौँ ।’ उनले थपे, ‘लकडाउनले सबैलाई इन्टरनेटको महत्व बुझाएको छ । इन्टरनेट पहुँच नभएकालाई पहुँचको लागि पहल गर्ने र इन्टरनेट नभएका सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने योजनामा छौँ ।’
अनलाईन शिक्षालाई पहिलैदेखि प्रदेश १ ले महत्व दिँदै आएको औल्याउँदै दोस्रो चरणमा छनोट गरिएको १ सय १२ विद्यालयमा कम्प्युटर ल्याबको निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र प्रदेश १ का १४ जिल्लाबाट ६ सय शिक्षकलाई इ लर्निङ कक्षा सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए ।
त्यस्तै अहिलेको समयमा साक्षरताको परिभाषा बदल्नुपर्ने विचार राख्दै उनी भन्छन्, ‘अहिले पहिला जसरी क,ख लेख्न जान्नेलाई साक्षर भनेर गनिनु हुँदैन । अहिलेको डिजिटल युगमा डिजिटल साक्षरता भनेर हेरिनुपर्छ । हाम्रो प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न २ जिल्ला बाकी छन् ।’
शिक्षक र अभिभावकलाई डिजिटल साक्षरता कक्षा सञ्चालनका साथै शिक्षा दिवसदेखि विद्यालयमा निर्माण भएका आमा समूहलाई डिजिटल साक्षरता कक्षा सुरु गरेको र यो प्रभावकारी रहेको उनले प्रष्ट पारे ।
:488 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव