स्थानीय युवाः स्वयंसेवक शिक्षक

भक्तपुर । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बाहिरी व्यक्ति नआएका ठाउँमा सिल गरेर लकडाउन खुकुलो बनाउने र गाउँगाउँमा विद्यालय खोल्ने तयारी गरेको बताएकी छन् ।

‘कोरोना प्रभाव र गण्डकी प्रदेशको शिक्षा व्यवस्थापनको तयारी’ विषयमा गरिएको भर्चुअल प्रेस मिटमा मन्त्री पुनमगरले प्रदेशका कतिपय स्थानमा इन्टनेट नपुगेको र कतिपय ठाउँमा रेडियोसमेत राम्ररी नसुनिने दुर्गम ठाउँमा दूरी कायम गरेरै पढाउनको लागि पहल भइरहेको जानकारी दिएकी हुन् ।

‘पहिलो चरणमा थोरै विद्यार्थी रहेका गाउँका विद्यालयहरू खोलिने छन् । तर, ती विद्यालयमा पनि बाहिरी प्रदेशका शिक्षकहरू नहुँदा पठनपाठन प्रभावित हुनेछ । विकल्पका रुपमा स्थानीय शिक्षित युवाहरूलाई स्वयंसेवक शिक्षकका रुपमा नियुक्ति गर्न प्रदेश र स्थानीय सरकारबीच छलफल चलिरहेको छ ।’ उनले थपिन्, ‘धेरै विद्यार्थी रहेका विद्यालयमा भने विद्यार्थीबीच दूरी कायम गराएर भिन्न सिफ्टमा कक्षा सञ्चालन गर्नेबारे छलफल हुँदैछ । प्रविधिको पहुँच रहेका सहरी क्षेत्रका विद्यार्थीलाई भने मोबाइल, रेडियो र टेलिभिजनबाट अनलाईन कक्षा सञ्चालन गर्न लागिएको छ ।’

प्रदेश बाहिरका शिक्षक भित्र्याउनु र गाउँगाउँमा क्वारेन्टाइनमा परिणत भएका विद्यालयलाई पुरानै स्थितिमा फर्काउनु चुनौति रहेको उनले बताइन् ।

कोरोना महामारी, लक डाउन र अधिकांश शिक्षकहरू प्रदेशबाहिरका भएकाले उनीहरू रोकिँदा विद्यालयहरूको नतिजा तयारीमा कठिनाई भएको उनले बताएकी छन् ।

:206 Views

Leave a Reply