बैकल्पिक सिकाइको मारमा “आमाहरू”

सरकारले असार १ गतेदेखि सुरु गरेको बैकल्पिक शिक्षण प्रणाली त्यस्तै विभिन्न विद्यालयले सञ्चालन गरिरहेको अनलाइन कक्षाहरूले अधिकांश आमाहरूलाई पहिलेको भन्दा धेरै व्यस्त बनाएको उनीहरू बताउँछन्। आफ्नै व्यवसाय वा जागिर भएका महिलाहरू आफ्नो कामै छोडेर छोराछोरीको पढाइको पछि लाग्न परेको बताइरहेका छन्। सरकारले अनलाइन कक्षाको नाममा कुनै शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिइसकेको भएपनि शुल्क तिर्न विद्यालयले पठाएका सन्देशका कारण पनि उनीहरूलाई अनेक प्रकारको तनाबले गाँज्ने गरेको उनीहरू सुनाउँछन्। जानकारहरू भन्छन् कोभिड १९ का कारण थिलथिलो अवस्थामा रहेका अभिभावकसँग शुल्कको माग गर्नु न्यायोचित छैन।

लकडाउनका कारण घरमै बसिरहेका बालबालिकालाई सिकाइसँग जोड्न भन्दै कतिपय विद्यालयले बैशाख त कतिले जेठबाट अनलाइन कक्षा सुरु गरेका छन्। सरकारले भने असार १ गतेदेखि बैकल्पिक सिकाइको सुरुवात गरेको छ। यसबाट कति बालबालिकाले कति सिके भन्नेबारे यकीन अनुमान समेत गर्न सकिने अवस्था छैन। तर यी कक्षाहरूले आमाहरूको दैनिकी भने निकै कस्सिलो बनाएको देखिन्छ।

समयको ठेगान छैन

कलंकी बस्ने एक जना महिलाले आफ्नो काममा ध्यान दिन नपाएको धेरै समय भइसकेको बताइन्। उनका दुई छोरा छन्। दुबैले जेठ महिनादेखि विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा लिइरहेका छन्। दुबैको कक्षा कहिले एकै समयमा भइरहेको हुन्छ भने कहिले फरक फरक समयमा। कुनै दिन १ घन्टा चल्छ भने कुनै दिन ३ घन्टा। ६ वर्षको ८ वर्षको बच्चालाई त्यति लामो समय सानो मोबाइल वा ल्यापटपको अगाडि राख्नु उनको लागि “महाभारतको युद्ध” झैँ हुने भन्दै भन्छिन् ‘खासै प्रभावकारी लाग्दैन अनलाइन क्लास। कुनै कुनै दिन त कक्षापछिको गृहकार्य गराउँदा गराउँदै दिन बितेको पत्तै हुँदैन। फेरि आमालाई टेर्दैनन्। एउटा शब्द लेख्न पनि निकै समय लगाउँछ। दुबैको अनलाइन पढाइको कारण उनीहरूलाई मसँग रीस उठ्छ मलाई उनीहरूसँग। घरको बसाइ तनावमा बितिरहेको छ।’

जान्दैनन् आमा

विद्यालय खुलेको भए भवानीकी छोरी ४ कक्षामा पढिरहेकी हुन्थी। लकडाउन भएदेखि खेलेरै वितिरहेको छ भवानीकी छोरीको समय। अनलाइन कक्षामा सहभागी हुने छोरीको रहर भवानीलाई पुर्याउन सम्भव भएको छैन। १ महिनादेखि विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षाबारे सुनेकी मात्र छिन् सहभागी भएकी छैनन भवानीकी छोरी विपना।

‘म जान्दिनँ अनलाइन कक्षा भनेको के हो। चलाउन पनि जान्दिनँ। बुढाको मोबाइल चाहिन्छ भन्थे। त्यो त बुढा बाहिर गएपछि सँगै बाहिर गइहाल्छ।’ भवानीले भनिन्। सरकारको वैकल्पिक शिक्षणवारे पनि उनलाई केही जानकारी छैन। जानकारी भएकै भएपनि उनको कोठामा न रेडियो छ न टिभी।

बैकल्पिक कक्षाले आमालाई दिएका पाँच तनावहरुः

१. घरको कामकाजसँगै सन्तानको शिक्षणको तनाव

२. व्यस्तता बढ्दा आफ्नो लागि समय अभाव

३. प्रविधिसम्बन्धि अल्प ज्ञानले हीनताबोध

४. बलियो इन्टरनेट रेडियो टिभी जस्ता सिकाइ श्रोतको अभाव

५. परिवारको हेरचाह र सन्तानको पढाइको लागि जागिर छोडेर घरमै बस्न बाध्य हुनु। त्यसमाथि शुल्क तिर्न पैसा नहुनु   

 

तिर्ने पैसा छैन

जोरपाटीको एउटा विद्यालयमा कक्षा ३ मा पढ्ने छोरा दिपेशलाई लिएर लकडाउन भएपछि सरिता सुनुवार श्रीमानको साथमा भक्तपुरमा बस्छिन्। न जोरपाटीको विद्यालयसँग उनीहरूको सम्बन्ध छ न कुनै नयाँ विद्यालयमा सम्बन्ध गाँसेका छन्। दिपेश घरमै बस्छन् खेल्छन्।

सरिता अनलाइन कक्षाबारे सकारात्मक सोच्दिनन्। उनलाई “वाहियात ” लाग्छ बैकल्पिक सिकाइ। लकडाउन खुकुलो भएदेखि ज्यालादारी कामको खोजीमा छिन्। डेरा गरी बसेको घरमा इन्टरनेट जोड्न खोज्दा मासिक ३ सय परेकोले नजोडेको बताउने उनी बिहान बेलुकी छाक टार्नै समस्या भइरहेका बेला रेडियो टिभी मोबाइलबाट पढाउने भन्ने कुराको कुनै तुक नभएको उनी बताउँछिन्।

विद्यालयमा नपढाइकन अनलाइन कक्षा चलाएबापत शुल्क लिने भन्ने खवरले उनलाई थप तनाव भएको दखिन्छ। भन्छिन् ‘आफूले आधा पेट खाएर सन्तानलाई राम्रो पढाऊँ भनेर बोर्डिङ्मा हालेकी थिएँ। पहिले पहिले त काम थियो। पैसा तिर्न हरेक महिना नसकेपनि २ महिनामा तिर्छु भन्थेँ। अहिले बच्चालाई के खुवाउने भन्ने भइराको बेला पैसा तिर्नु भन्ने कुरामा कति पनि समर्थन छैन मेरो। सके सुरक्षा दिएर स्कुलमै पढाऊ। पैसा नि तिरौँला। अहिले चैँ छैन।’

शुल्क नलेऊ भन्छ सरकार

शिक्षा मन्त्रालयले भर्ना नगर्न र अनलाइन कक्षाको वहानामा कुनै किसिमको शुल्क नलिन सबै विद्यालयलाई यसअघिनै निर्देशन दिइसकेको छ। सो निर्देशन विपरीत निजी विद्यालयका दुई छाता संगठनहरूले लकडाउन अवधिभरको समेत शुल्क तिर्न गरेको संयुक्त आवह्नाले आफूलाई दुखी बनाएको बताउँछन् संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारी।

ती संगठनसँग विद्यालय बाँच्ने गरीकन मात्र शुल्क लिनु उपयुक्त होला भन्ने सल्लाह भएको उनी बताउँछन्। तर कतिपय विद्यालयले २०७६ को बाकी रकम र ७७ को पनि एकमुष्ट रकम कसैलाई एसएमएस त कसैलाई भाइबर कसैलाई इमेलमार्फत तिर्ने समयसीमा तोकेर पठाइएको पाइएकोले त्यसको विरोध गरिरहेको उनको भनाइ छ। विद्यालयका अभिभावकसँग सल्लाह नै नगरी विद्यालयको आर्थिक अवस्था खराब भयो भन्दै विद्यालयले अभिभावकलाई शुल्क तिर्न गरेको अपिल अहिलेको अवस्थामा न्यायोचित नभएको उनको भनाइ छ।

न महिलामैत्री न बालमैत्री

अधिकांश विद्यालयका अनलाइन कक्षाहरूमा आफूखुशीभन्दा पनि अभिभावकको दबाबमा बालबालिकाले सहभागीता जनाउने गरेको स्वयम अभिभावकहरू बताउँछन्। रेडियो सुन्नै नमान्ने,  टिभीमा ध्यान नदिने, अनलाइनमै पनि उनीहरूको ध्यान बनाइ राख्न निकै कडा प्रस्तुत हुन परेको अभिभावकहरू सुनाउँछन्। सामान्य परिस्थितिमा जस्तो विहान १० बजेदेखि ४ बजेभित्र विभिन्न माध्यमबाट प्रसारण हुने सिकाइ सामग्रीको लाभ लिन बालबालिकाको साथमा अभिभावक नभए बालबालिकाले पढ्नै नपढ्ने अभिभावकहरू बताउँछन्। त्यस हिसाबले बैकल्पिक सिकाइको कक्षा तालिका धेरै जसो अभिभावकलाई पायक नपरेको भन्दै महिलामैत्री मात्र होइन बालमैत्री र कतिपय अवस्थामा प्रविधिमैत्री समेत नभएको बताउँछिन् बासु माविकी प्राचार्य अम्बिका न्याइँच्याइँ पनि।

बालबालिका हुर्काउने मुख्य जिम्मेवारी महिलाको हो भन्ने पारम्परिक सोचका कारण लकडाउन अवधिमा प्राय आमाहरूले रोजगारी गुमाइरहेका छन्। यो अवस्था अझै लम्बिन सक्ने अनुमानका बीच विद्यालय वा सरकारको बैकल्पिक कक्षाको समयतालिका ती आमाहरूको काम नछुट्ने गरी बनाउन सके महिलामैत्री र कक्षा बालबालिकाको मनोभाव र रुचिलाई विशेष ध्यान दिइ बालमैत्री बनाउनु पर्ने विज्ञहरू बताउँछन्।

 

:339 Views

Leave a Reply