निजी स्कुलले शुल्क लिनुपर्ने ११ कारण

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका २१५ देश प्रभावित छन् । जसमा नेपाल पनि एक हो । कोरोना भाइरसकै कारण विश्व बजार, अर्थतन्त्रमा ठूलो धक्का परेको छ । यसले सबै खालका व्यवसाय, व्यापार, उद्योगमा असर गरेको छ । यसकै कारण धेरै मानिसको आय आर्जन बन्द भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) कै कारण शैक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । सरकारको आदेश अनुसार विद्यालयले चैत्र ६ गते २०७६ सालको अन्तिम परीक्षा सम्पन्न गरेका थिए । केही ठाउँमा त परीक्षा हुनै बाँकी छ । बैशाखको पहिलो साताबाट सुरु हुनुपर्ने शैक्षिक सत्र अहिलेसम्म सुरु हुन सकेको छैन तर शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले असार १ गतेबाट बैकल्पिक प्रविधिबाट पठन पाठन सुरु गर्नु भन्ने आदेश अनुसार अहिले विद्यालयहरु अनलाइन कक्षामा होमिएका छन् । केही निजी विद्यालयले भने अनलाइन कक्षाहरु बैशाखबाट नै सुरु गरेका थिए । निजी विद्यालयले केहीले छोडि चैत्र महिनादेखि यताको शिक्षक, कर्मचारीहरुलाई तलब दिन सकिरहेका छैनन् । निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले सरकारसँग सौलियत कर्जाको लागि पहल गरिरहेको छ तथापी सरकारको त्यस कुरामा गम्भीर नभएको र सकारात्मक प्रतिक्रिया नआएकोले निजी संगठनहरुले आफ्ना अभिभावकहरुलाई नै यो बिसम परिस्थितिमा विद्यालयमा आइ आर्थिक कारोवार गरिदिन आग्रह गरेका छन् । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुल्क नलिन आग्रह गरेका छन् भने विद्यार्थी संगठनले अहिलेको अवस्थामा शुल्क लिए आन्दोलन गर्ने भनिरहेका छन् ।

अहिले निजी विद्यालयका अधिकतम शिक्षक कर्मचारीका चुल्हो नबल्ने अवस्थामा पुगिसकेको छन् । यी बाहेक पनि निजी विद्यालयका कैयौ समस्या छन् । तसर्थ निजी विद्यालयहरु शुल्क उठाउन पाउनु पर्छ भन्दै आएका छन् । प्याब्सनका उप—महासचिव आर.बी. कटवालले यसलाई यसरी बुँदागत रुपमा टिपोट गरेका छन् ः

१. निजी स्कुल कम्पनी ऐनअन्तर्गत खोलिएका संस्था हुन् । निजी स्कुलले राज्यलाई घरबहाल लगायत अन्य विविध शीर्षकमा कर तिर्नु पर्दछ । निजी स्कुलले शुल्क उठाउन पाए राज्यलाई कर तिरेर कर्तव्य निर्वाह गर्न सक्दछन ।

२. निजी स्कुल तथा शैक्षिक संस्थाले प्रत्यक्षरअप्रत्यक्ष रुपमा पाँच लाख शिक्षक तथा कर्मचारीलाई रोजगारी दिएका छन् । ती सबै कर्मचारीलाई तलब खुवाउनु रोजगारदाता कम्पनीको धर्म हो ।

३. कोरोना महामारीका कारण संस्था बन्द भए पछि शिक्षक कर्मचारीले लामो समयबाट तलब पाएका छैनन् ।. यसका बाबजुद पनि दिनरात मिहिनेत गरेर शैक्षिक गतिविधिलाई निरन्तरता दिने शिक्षकको घरमा आगो नबल्दा, अभिभावकको रुपमा निजी स्कुलले राहत तथा सहयोग गर्नु पर्ने यो स्थितिमा शुल्क लिन नपाएको कारण शिक्षक कर्मचारीलाई सहयोग गर्न सकिएको स्थिति छैन । यसर्थ, निजी स्कुलले शुल्क लिनु पर्दछ ।

४. ‘नो स्कुल नो फी’ भनेर केही समूहले अभियान नै चलाउनु भएको छ । तर स्कुल होटल–रेस्टुरेण्ट जस्तो होइन । स्कुलले दिने शिक्षा र सेवा होटलमा खाने खानासँग तुलना गर्नु न्यायोचित हुँदैन । बालबालिकाको न्युनतम सिकाइ उपलब्धी निजी विद्यालयले जसरी पनि पूरा गर्दछन् । त्यसैले, निजी स्कुलले शुल्क लिनु पर्दछ ।

५. नेपालमा अहिले खुल्ला विश्वविध्यालयले अनलाइन मार्फत शिक्षा दिने गरेको छ । त्यो औपचारिक शिक्षा हो । उक्त विश्वविद्ययालयले विद्यार्थीसंग वार्षिक शुल्क लिने गर्दछ । नेपालमा धेरै निजी स्कुलले अनलाइन तथा अन्य वैकल्पिक शिक्षा अन्तर्गत कक्षा संचालन गरेका छन् । शिक्षक दिनरात खटेका छन । त्यसकारण निजी स्कुलले शुल्क लिनु पर्दछ ।

६. धेरै निजी विद्यालयको गत वर्षको पुरानो शुल्क पनि उठेको छैन । नयाँ शैक्षिक सत्रको शुल्क उठाउन दिइएको छैन । यो अवस्थामा विद्यालयले बहन गर्नु पर्ने न्युनतम वित्तीय जिम्मेवारी पनि पूरा गर्न सकेको अवस्था छैन । यसर्थ निजी विद्यालयले शुल्क लिनु पर्दछ ।

७. शैक्षिक संस्थाले लिने शुल्क पूरै १२ महिनाको हो । विश्वभरिकै चलन यही हो । नेपालको सन्दर्भमा विद्यमान परिस्थिति बुझेर अभिभावकलाई पनि असजिलो नहोस् भनेर निजी विद्यालय लचक छन् । तर जस्तो सुकै परिस्थितिमा पनि विद्यालयले आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छन्, र गर्नेछन पनि । त्यसैले निजी स्कुलले शुल्क लिनु पर्दछ ।

८. निजी स्कुलले अभिभावकसंग सबै शुल्क मागेको होइन । औसतमा प्रत्येक अभिभावकले तिर्ने २–३ हजार रुपैयाँले तत्काल शिक्षक कर्मचारीलाई सामान्य तलबरसुबिधा प्रदान गर्न सकिन्छ । निजी विद्यालयमा अप्रत्यक्ष रुपमा आश्रित झन्डै २० लाख नेपालीको भोक मेटिन्छ । त्यसैले निजी स्कुलले शुल्क लिनु पर्दछ ।

९. निजी स्कुल इतिहासकै कठिन मोडमा छन् । आजसम्म गुणस्तरीय शिक्षा दिएर राज्यलाई सहयोग गरिरहेका निजी स्कुलले लाखौंको संख्यामा रोजगारीसमेत सिर्जना गरेका छन् । राज्यलाई विपद परेको अवस्थामा निजी स्कुलले धेरै पटक राहतसमेत वितरण गरेका छन् । शिक्षाको नाममा विदेशिने अरबौं रकम देशमै रोकेका छन् । तर अहिले आफैं जटील स्थितिको सामना गरिरहेका निजी स्कुल बाँच्नकै लागि भए पनि शुल्क लिनु पर्दछ ।

१०.शुल्क सन्चालकले आफुलाई हैन व्यवस्थापन गर्नलाई हो ।

११. यो समय सबै बाँच्ने र बचाउने हो । यो समय सहअस्तित्वको हो । यो समय सहकार्यको हो । यो समय पारस्परिक हीतको हो । त्यसैले सबैले एक अर्कालाई सहयोग गर्दै कोरोना महामारीलाई परास्त गरौँ ।

:255 Views

Leave a Reply