गुरु रोएको दिन  

सीता थापा (नाम परिवर्तन) आफ्नी ५ वर्षकी छोरीलाई सासुको भरमा छोडेर कक्षा १ को अनलाइन कक्षा सञ्चालन गर्न विहान ६ बजे स्कुल जान्छिन्। उनको श्रीमान् पनि विहानै काममा हिँड्छन्। ७ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्न उनलाई कम्तीमा आधा घन्टा पहिल्यैदेखि तयारी गर्न पर्छ। सबै अभिभावकलाई जुम लिंक पठाउन पर्छ। उनको घडीमा ७ बजिसक्दासम्म २० जना विद्यार्थी आउनुपर्नेमा २ जना ३ जना अनलाइन कक्षाका लागि आइपुग्छन्। समयमै आउन भनेकी हुन्छिन् तर सबैजना आआफ्नै समयमा जोडिन आउँछन्। उनलाई रिस उठेपनि देखाउने छुट छैन। आफूले अघिल्लो दिन छोरीसँग खेल्ने समय घटाएर तयार गरेको सामग्रीको पूरा प्रयोग गर्न नपाइ कक्षाको समय सकिन्छ। कक्षा सकिएपछि मेसेञ्जरमा अभिभावकका अनेक मेसेजहरू आउँछन्। कसैले कक्षामा पढाएको बुझेको, नसुनेको, कक्षाको समयावधि नपुगेको त कसैले गृहकार्यको बारेमा सोध्छन्। सबैको एक एक प्रश्नको जवाफ दिनु उनको कर्तब्य बताइएको छ। त्यसैले उनी सबैलाई जवाफ फर्काउँछिन्। कसैले त मेसेञ्जरमा कल नै गर्छन्। कसैले फोनमै कुरा गर्न खोज्छन्। यो सिलसिला दिनैभरी चल्छ। सीता विहान १० बजेपछि घरमा भएपनि छोरीसँग उनले मागेजति र उनलाई चाहिएजति समय दिन पाउँदिनन्। अरुलाई पढाएर फर्किन्छिन् तर आफ्नै छोरीको अनलाइन कक्षा लिन पाउँदिनन्। सासुसँग मोबाइल छैन। भाकै भएनि नातिनीको अनलाइन क्लासको बन्दोबस्ती गर्न सक्दिनन्। सीता भित्रभित्रैदेखि कुँडिन्छिन्। छोरीको अनुहारमा आफूलाई देख्छिन् र भन्छिन् ‘सबैलाई पढाएँ आफ्नैलाई भ्याइनँ।’

त्यति गर्दा पनि चैत्रदेखिकै तलब पाएकी छैनन्। कोरोनाभाइरसले गर्दा सबै मर्कामा छन् भन्ने सोचेर लामो साँस फेर्छिन्। तर रित्तिँदै गएको खल्ती सम्झेर आँत्तिन्छिन्। स्कुलले केही समयपछि केही रकम दिन्छु भनेको छ। कहिले कति पाइने हो उनलाई थाहा छैन। उनको श्रीमानले केही नकमाइरहेको भए उनको घरमा चुल्हो बल्ने पनि थिएन। पढाउन मन भएरै शिक्षण पेशा रोजेकी हुन्। एउटा संस्थागत विद्यालयमा विगत ४ वर्षदेखि पढाइरहेकी छन्। यही लकडाउनमा पहिलो पटक जुम प्रयोग गर्न सिकेकी उनले गुगल कक्षाबारे पनि थाहा पाइसकिन्। भन्छिन् ‘यो परिस्थतिले मलाई फरक फरक सिकाइको लागि प्रेरित गरिरहेको छ।’ तर तलब नपाउँदा गुजारा गर्न कठिन बन्दै गएको उनी बताउँछिन्। कुन दिन श्रीमानले ‘स्कुल नजा’ भन्ला भन्ने चिन्ता छ उनलाई। पहिलेका सालहरूमा गुरु पुर्णिमाको दिन उनको निधार रातो टीकाले भरिन्थ्यो। ‘हातभरी फूलका थुंगाहरू हुन्थे। शुभकामना पत्रहरूले ब्याग भरिन्थ्यो। कुनै कुनै विद्यार्थी उपहारसहित आउँथे। नाचगान गर्थ्यौँ। यसपालि यस्तो केही भएन। यस्तै हाल भए पढाउनै पाइन्न भन्ने सम्झेर भित्रभित्रै रोइरहेकी छु। म जस्तै लाखौँ शिक्षकहरू रोइरहेका छन्।’

:432 Views

Leave a Reply