विपदमा नमुना विद्यालयका प्रयास

सबिना बानियाँ

कोरोना सक्रमण रोक्न चैत्र ११ बाट लकडाउन सुरु भएलगत्तै विद्यालयहरू बन्द भए । कोरोना महामारी र लकडाउनले विद्यार्थीको शिक्षामा पर्ने प्रभावले विद्यालय, विद्यार्थी र अभिभावकलाई चिन्तित तुल्यायो । बुटवलस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकलाई पनि यो महामारीमा कसरी शैक्षिक गतिविधि अगाडि बढाउने भन्ने चिन्ताले सतायो । आफ्ना विद्यार्थीले यो समयमा के गर्दैछन् भन्ने पिरमा परे उनी । त्यसैले उनको विद्यालयले चैत्र २८ गतेदेखि अभिभावकलाई टेलिफोन सम्पर्क गर्न थाले । र विद्यार्थीमा सञ्चार माध्यम (रेडियो, टेलिभिजन, फोन, इन्टरनेट) को पहुँचका बारेमा बुझे । उनले फरक फरक प्रकृतिका विद्यार्थी पाए । केही विद्यार्थीकोमा त कुनै पनि सञ्चारको साधन रहेनछ ।

विद्यालयका ३८ देखि ४० प्रतिशत विद्यार्थीमा टेलिभिजनको पहुँच रहेछ । टेलिभिजनको पहुँच बढी भएकाले सिकाइका लागि सुरुमा टेलिभिजन माध्यम प्रयोग गरिएको बताउँदै प्रअ पाठक भन्छन्, ‘बैशाख १८ गतेबाट कक्षा ४ देखि १० कक्षासम्म बुद्ध टिभी र लुम्बिनी टिभीबाट भर्चुअल कक्षा सञ्चालन गर्यौँ र ती सामग्रीलाई फेसबुकबाट लाइभ र विद्यालयको युट्युब च्यानलमा पनि राख्यौँ । इन्टरनेट नभएको ठाउँका विद्यार्थीले केही दूरी पार गरेर युट्युबमा अफलाइन डाउनलोड गरेर अध्ययन गर्न भनेका छौँ र गरिपनि रहेका छन् ।’

विद्यालयका करिब २१ देखि २८ प्रतिशत विद्यार्थीसँग इन्टरनेट पहुँच भएकाले विद्यालयले सिकाइका लागि इन्टरनेटको पनि प्रयोग गरिरहेको छ । कक्षा ११ र १२ लाई गुगल मिट, जुम क्लाउडबाट कक्षा सञ्चालन गर्दै आइरहेको र कक्षा ४ देखि १० सम्म म्यासेन्जर गु्रपबाट सम्पर्क गर्दै कक्षा ६ माथिका कक्षामा विविध विषय (नेपाली, गणित, अंग्रेजी, विज्ञान र सामाजिक) मा जुम कक्षा सञ्चालन हुँदै आइरहेको र कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थी म्यासेन्जर गु्रपबाट गृहकार्य दिने लिने काम भइरहेको प्रअ पाठकले जानकारी दिए । विद्यालयले आफ्ना विद्यार्थीका लागि एनटिसिको सिमबाट रु २५० मा २८ दिनको लागि अनलिमिटेड डाटा सुविधाको व्यवस्था गरेको प्रअ पाठक बताउँछन् ।

विद्यालयमा रेडियोको मात्र पहुँच भएका विद्यार्थी पनि रहेकाले जेठ २१ गतेबाट पाल्पाको मदनपोखरा रेडियो, रुपन्देहीको लुम्बिनी रेडियो र कपिलवस्तुको कपिलवस्तु रेडियो स्टेशनबाट टेलिभिजन कार्यक्रमलाई विद्यालयले रेडियोमा प्रशारण सुरु गर्यो । कालिका विद्यालयले आफ्ना विद्यार्थीका लागि मात्र नभएर अन्य विद्यार्थीलाई पनि केन्द्रित गरेर कार्यक्रम गरेको उनको भनाइ छ ।

६ हजार ५ सय सट्चालिस विद्यार्थी भएको कालिका विद्यालयले विद्यार्थी उपस्थिति र गृहकार्य दिए–नदिएको जानकारी दिनका लागि पहिलेबाटै स्मार्ट कालिका एप सञ्चालन गर्दै आइरहेको प्रअ पाठक बताउँछन् । यही एपबाट भर्चुअल कक्षा सञ्चालनको प्रयासमा विद्यालय लागि परेको छ । साथै विद्यालयले शिक्षकलाई प्रविधियुक्त तालिम र विद्यार्थीको घरसम्मै पाठ्यक्रम पुर्याएको उनले जानकारी दिए । अहिलेको अवस्थामा सम्पूर्ण विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउन सरकारले चुनावको बेलाको नारा, ‘घर–घरमा इन्टरनेट, हातहातमा मोबाइल’ भन्ने कुरा पूरा गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै दोलखा बैतेश्वरस्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय (नमुना) ले बैशाख २७ बाट जेठ १० गतेसम्म एसईईका विद्यार्थीका लागि रेडियो वान ९२.३ बाट अग्रेजी, विज्ञान, सामाजिक, कम्प्युटर र नेपाली विषयको पठनपाठन सञ्चालन गरेको थियो । सुरुमा ५ दिन गणित विषय चलाउँदा रेडियोमा सो विषयको प्रभावकारीता त्यति नपाएपछि गणित विषयको कार्यक्रम रोकिएको थियो । त्यस्तै उनीहरूलाई फेसबुक गु्रपमा जोडेर प्रश्न दिने र विद्यार्थीले त्यसमा जवाफ पठाउने व्यवस्था गर्यो ।

विद्यालयका प्रअ गोपालध्वज श्रेष्ठ असार पहिलो साताबाट सरकारले भने बमोजिम लकडाउन शिक्षण सिकाइ कार्यविधि अनुसार काम गरेको जानकारी दिँदै उनी भन्छन्, ‘विद्यालयले सामाजिक दूरी कायम गरी कक्षा ४ देखि १० सम्मका विद्यार्थीको घर–घरमा गएर विद्यार्थीका लागि लकडाउन साप्ताहिक कार्यतालिका भर्न दिने गरेको छ । उनीहरूले कुन सञ्चार साधनको प्रयोग, कुन च्यानल, कुन विषयको कुन पाठ, के क्रियाकलाप गरेको र त्यो गरेको हो कि होइन भनेर अभिभावकलाई परीक्षण गराउने गरेको छ । प्रयोगात्मक कार्यका रुपमा दिइएको सो कार्य पूरा गरेपछि उनीहरूले कार्यतालिका घर नजिकका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ वा विद्यालय कर्मचारीलाई बुझाउन सक्ने छन् ।’

बैतेश्वर गाउँपालिकाका ७ विद्यालयले प्रति विद्यालय २० हजार र हनुमन्तेश्वरको ६० हजारको लगानीमा असार २ देखि साउन २ सम्म कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि विविध विषयमा रेडियो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम सुने नसुनेको जान्न चेकलिस्ट बनाइ विद्यार्थीले वर्कलिस्ट भर्ने गरेको र शिक्षकलाई पनि उनीहरूको बासस्थान अनुसार कार्यविभाजन गरेको हनुमन्तेश्वर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रसाद दाहालले बताए ।

यस वर्ष १२ मध्ये १ वटा शैक्षिक योजना, २६ भौतिक योजनामा ९ वटा र १७ व्यवस्थापकीयमा ४ वटा योजना लकडाउनले गर्दा बाकी रहेको उनले बताए । त्यस्तै हाल विद्यालयमा १७ देखि २० प्रतिशत विद्यार्थीमा इन्टरनेट पहुँच र ९० प्रतिशत रेडियोको पहुँच रहेको छ ।

त्यस्तै सर्लाहीको लालबन्दीस्थित जनज्योती माध्यमिक विद्यालयले जेठ २ गतेबाट कक्षा १० का विद्यार्थीका लागि अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा ३३० विद्यार्थीमा प्राय ४५ विद्यार्थीको मात्र सहभागिता हुने गर्छ । त्यस्तै कक्षा ११ का पाठहरू बाकी रहेकाले विद्यालयले जेठको अन्तिम साताबाट अनलाइन कक्षा सञ्चालन गरेको छ ।

कैलालीको गोदावरीस्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयका प्रअ शिवराज जोशी विद्यार्थीसँग भौगोलिक सम्पर्क हुन कठिनाई हुने भन्दै भन्छन्, ‘हामीसँग ५–६ जिल्लाका विद्यार्थी छन्, विद्यार्थीसँग सञ्चार पहुँचमा समस्या छ, कतिपय विद्यार्थी त विद्युतबाटै बञ्चित छन् । यस्तो अवस्थामा हामीले शैक्षिक क्रियाकलाप खासै गर्न सकेका छैनौँ ।’

उनीमात्र होइन झापाको बिर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रअ खरेल विद्यार्थीमा साधनको पहुँचको अभावले गर्दा पठनपाठनको काम गर्न नपाएको दुखेसो पोख्छन् । विद्यालयले विद्यार्थीलाई सरकार र प्याब्सनबाट सञ्चालित कार्यक्रम हेर्न प्रोत्साहन गरिरहेको उनले जानकारी दिए ।

सरकारले बैकल्पिक सिकाइका लागि दिने २५ हजारबाट विद्यार्थीलाई वर्कसिट बनाएर बितरण गर्ने भन्दै उनी भन्छन्, ‘शिक्षा तथा मानव स्रोत केन्द्रले पर्फमेन्स अनुदान अन्तर्गत दिने करिब ३७ लाख ६० हजारमध्ये २ लाख बराबरको खर्च कोभिड कार्यक्रममा खर्च गर्नेछौँ । विद्यार्थीको वर्कसिट बनाउन र केही निश्चित कक्षाका विद्यार्थीलाई कक्षाका लागि विद्यालयमै खाजा खुवाउने लगायतका कार्यक्रममा खर्च गर्ने योजना बनाएका छौँ ।’

धेरै विद्यालयमा असार १ बाट मात्र वैकल्पिक शिक्षण
सुर्खेतको नेपाल राष्ट्रिय माविले असारबाटै कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सामग्रीको पहुँचका आधारमा वर्गीकरण गरेको छ । सरकारले दिएको बैकल्पिक अनलाईन शिक्षण सामग्रीमध्ये कक्षा १ देखि ३ सम्मका सामग्रीलाई प्रिन्ट गरेर विद्यार्थीलाई पठाउने योजना रहेको प्रअ खत्रीले बताए ।

गोरखाको सिरानचोकस्थित परोपकार आदर्श माविले पनि असारमै ८ सिकाइ केन्द्रको निर्धारण गरेको छ । टेलिभिजन नभएका विद्यार्थीका लागि विद्यालयले अभिभावक र शिक्षकको उपस्थितिमा विद्यार्थीलाई प्रत्येक हप्ता एक पटक सिकाइ केन्द्रमा राखेर एनटिभी च्यानलबाट प्रसारित कार्यक्रम हेर्न सहज बनाइदिएको छ । त्यस्तै विद्यालयले बैकल्पिक सिकाइका लागि पाउने ११ हजार बजेटबाट कक्षा ८ र १० का विद्यार्थी र शिक्षकका लागि डाटा प्याक लिएर अनलाईन कक्षा सञ्चालन गर्ने विद्यालयका प्रअ हरिप्रसाद ढकालको योजना छ । साथै विद्यालयले पाउने पर्फमेन्स बजेटमा भने योजना बनाइ नसकेको उनले जानकारी दिए ।

दुर्गालक्ष्मी माविका प्रअ जोशी जेठको अन्तिम सातामा कक्षा ९ र १० का नजिकका विद्यार्थीलाई पुस्तक वितरण गरेको बताउँदै भन्छिन्, ‘कक्षा १ देखि ५ सम्मका विद्यार्थी नजिकका हुने भएकाले असार दोस्रो हप्ताबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यार्थीको टोलटोलमा गएर भएपनि पुस्तक वितरणसँगै उनीहरूलाई गृहकार्य दिनका लागि टोलटोलमा शिक्षक परिचालन गर्यौँ ।

शिक्षककोे प्रयासमा कक्षा सञ्चालन
विद्यार्थी र शिक्षकको पहलमा केही विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेका छन् । जनज्योति माविका शिक्षक सन्तोष बरालले केही शिक्षकहरूको पहलमा कक्षा १० का विद्यार्थीको लागि अनलाईन कक्षा सञ्चालन गरेको बताए । साथै केही समयपश्चात अन्य कक्षाका विद्यार्थीको अनुरोधपछि कक्षा ७ माथिका विद्यार्थीका लागि अनलाईन कक्षा सञ्चालन गरेको बताउँछन् । कक्षा ८ माथि करिब १० देखि १५ प्रतिशत विद्यार्थीको सहभागीता हुने र कक्षा ७ मा करिब ७ प्रतिशत विद्यार्थीको सहभागिता रहने उल्लेख गर्दै उनी भन्छन्, ‘कतिपय विद्यार्थीको घरमा मोबाइल र नेटको पहुँच हुँदाहुँदै पनि अभिभावकहरूले बालबालिकालाई अध्ययनको लागि मोबाइल दिदैनन् । शिक्षकले पनि आफ्नै लगानीमा डाटाबाट कक्षा लिँदै आइरहेका छन् ।’

त्यस्तै महेन्द्र माविका शिक्षक केशव प्रसाइले पनि सुरुमा आफ्ना घर नजिकका बालबालिकालाई संकलन गरी पढाउन सुरु गरेका थिए । पछि उनले र उनकै विद्यालयका केही विषय शिक्षकले कक्षा ९ का लागि म्यासेन्जरमा गृहकार्य दिने र विद्यार्थीले त्यसमै समाधान पठाउन थालेका छन् ।

के भन्छन् विद्यार्थी
कालिकामा कक्षा १० पढ्ने प्रशंसा भट्टराई विद्यालयले प्रतिदिन जुमबाट ३ घण्टा अनलाईन कक्षा लिएकोमा खुसी छिन् । विद्यालयले अपनाएको गुगल, फेसबुक, जुमलगायत माध्यमबाट शिक्षकको सहकार्यमा विद्यार्थीलाई कुनै न कुनै कुरामा जोडेर विद्यार्थी सक्रिय राखेको उनको भनाई छ । साथै विद्यालयले भनेबमोजिमका गृहकार्यका साथै सरकारले टेलिभिजनमार्फत दिएको शिक्षा पनि आफूलाई उपयोगी लागेको उनी बताउँछिन् ।

झापाको महेन्द्र माविको कक्षा ९ की छात्रा प्रिती घिमिरे विद्यालयले म्यासेन्जरको सहायताबाट पढाउन सुरु गरेकोमा खुसी छिन् । तर आफूलाई जिज्ञासा लाग्ने बित्तिकै प्रश्न राखेको समयमा शिक्षक अनलाईनमा नहुँदा तुरुन्तै जवाफ नआउँदा भने उनलाई दुख लाग्ने गर्छ । उनी भन्छिन्, ‘विद्यालयमा कुन समयमा कुन विषयको पढाइ हुने भन्ने तालिका भए झै कुन विषयको गृहकार्य कुन दिनमा र कुन समयमा आउने भनेर निश्चित समय तोकिदिए हामीलाई सहज हुने थियो ।’ उनकै कक्षाकी अर्की विद्यार्थी आदर्शना सिटौला भन्छिन्, ‘हामीलार्ई नआएको कुराहरू म्यासेन्जरमार्फत शिक्षकलाई त्यसको तस्विर पठाई सोध्छौँ र त्यसको समाधान गरी हामीलाई शिक्षकहरूले पठाइदिनुहुन्छ । तर हामीलाई शिक्षकहरूले कक्षामा पढाएको जस्तै गरी बोर्ड राखेर भिडियोमा पढाइ दिएमा अझ हामीलाई सहज हुनेथ्यो ।’

क्वारन्टाइनले समस्या
नमूना विद्यालयहरूमा कोभिड–१९ को क्वारेन्टाइन सञ्चालन भएकाले भवन निर्माण गर्न सकिने अवस्था नभएको प्रधानाध्यापकहरू बताउँछन् । हाल क्वारन्टाइन मात्र नभई विद्यालयले विरोध गर्दा पनि आइसोलेशको लागि विद्यालय प्रयोग गरिएकोले यसले थप समस्या सृजना गर्ने उनीहरूको भनाई छ ।

गोरखाको परोपकार आदर्श माविका प्रअ ढकाल प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोेलेशन राख्ने निर्णय भएकोमा केन्द्रभित्र आइसोलेशन राख्ने सम्भावना नभएपछि विद्यालयमा राख्ने निर्णय गरिएकोमा आपत्ति जनाउँछन् ।

कैलालीको दुर्गालक्ष्मी माविका प्रअ जोशी अहिलेसम्म विद्यालयलाई क्वारन्टाइन नदिएका भएपनि अहिले कोरोना संक्रमित बढेकाले विद्यालयमै कोरोना संक्रमितलाई आइसोलेशनमा राखिएकोले थप समस्या परेको गुनासो पोख्दै भन्छन्, ‘यसले विद्यार्थीमा मानसिक डर पैदा हुन्छ, भौैतिक काम रोकिएको छ, आइसोलेशनले गर्दा विद्यार्थी भर्नामा समेत प्रभाव पर्छ ।’

त्यस्तै झापाका महेन्द्र रत्न माविका प्रअ खरेल विद्यालयमा क्वारन्टाइन राख्ने निर्णय भएको र हुँदैन भन्दा पनि क्वाररन्टाइन राख्न लागेकोमा आपत्ति जनाउँछन् । कतिपय प्रशासकीय काम विद्यालयमै आएर गर्नुपर्दा शिक्षकहरू विद्यालय आउन पनि डराउने समस्या हुने र भौतिक निर्माणका काम पनि रोकिएको उनले उल्लेख गरे ।

सामाजिक दूरी कायम गरी विद्यालय खोल्नुपर्छ
सर्लाहीको जनज्योति माविका प्रअ राम निवास शाही नगरपालिकासँग सल्लाह गरेर सुरक्षा अपनाई ४ वटा विषयमा फरक समयमा आधा–आधा विद्यार्थी बोलाएर विद्यालयमै कक्षा सञ्चालन गर्ने योजनामा छन् । उनी भन्छन्, ‘अहिले रेडियो, इन्टरनेट र टिभीबाट त्यति प्रभावकारी हुँदैन । हाम्रो शिक्षकको तालिम, पाठ्यक्रम त्यहि अनुकुल छैन । सबैभन्दा राम्रो उपाय नै सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नु हो । तर सरकारले विद्यालय खोल्न दिएको छैन ।’

उनीमात्र होइन सुर्खेतको नेपाल राष्ट्रिय माविका प्रअ ढालबहादुर खत्री घरमै बसेर सम्पूर्ण विद्यार्थीलाई पढाउन नसकिने र आफ्ना विद्यालयका करिब १५ प्रतिशत विद्यार्थीमात्र इन्टरनेट पहुँचमा रहेकाले विद्यालय नै सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । ‘क्वारन्टाइन हटेपछि अहिले भइरहेको ६ वटा प्रविधिमैत्री कक्षामा ३ थप गरी ९ वटा कक्षा प्रविधिमैत्री बनाउने योजना छ । एउटै कक्षाका विद्यार्थीलाई फरक फरक कक्षामा राखेर विद्यालयभित्र एक शिक्षकमार्फत भर्चुअल कक्षा सञ्चालन गर्ने सोच छ ।’ उनले भने ।

देशका अधिकांश नमुना विद्यालयले छोटो समयसम्म कोरोना रहने अनुमान गर्दै चैत्र र बैशाखमा शैक्षिक क्रियाकलाप नगरेको पाइयो । जेठ महिनामा पनि लकडाउनको अवस्था भएपछि केही विद्यालयले सोच्न थालेको देखिन्छ । केहीले सरकारको नीति आएपछि मात्र विद्यार्थी साधन पहुँच विवरण असार १ बाट लिने पर्खाइमा बसे भने केही विद्यालय त विद्यालय नखुलेसम्म केही पनि शैक्षिक क्रियाकलाप गर्न नसकिने भन्दै विद्यालय लक र शिक्षक बिदामा बसेको पाइयो । केही विद्यालयका प्रअ भन्छन्, ‘शिक्षक र विद्यार्थीलाई लकडाउन भरि बिदा हो ।’
कतिपय नमुना विद्यालयले स्थानीय रेडियोबाट, एकदम थोरैले अनलाईन कक्षाबाट र केहीले केन्द्रबाट प्रशारित कार्यक्रममा सहजीकरण गरेर त केहीले केही पनि नगरि सरकारको मुख ताकेर, हात बाँधेर बसेको देखियो । त्यस्तै शैक्षिक क्रियाकलाप गरेका धेरै विद्यालयले एसईईका विद्यार्थीलाई मात्र केन्द्रित गरिएको पाइयो ।

नमुना विद्यालय राष्ट्रिय सञ्जालले ‘अबको सिकाइ कसरी अगाडि बढाउने’ भनेर ७ प्रदेशमा र संकटमा सिकाइमा नमुना विद्यालयको भूमिका विषयमा छलफल गरेको छ । सञ्जालका अध्यक्ष पूर्ण दवाडीले असार १ बाट रेडियो माध्यमबाट प्रयोग, पुस्तक वितरण छिटो पुर्याउने र कोरोना संक्रमित नभएका ठाउँमा सुरक्षित ढङ्गले कक्षा सञ्चालन गराउन थालेको बताए ।

करिब २ हजार सामुदायिक विद्यालयमा क्वारन्टाइन राखिएकोले विद्यार्थीलाई विद्यालय लैजानमा जोड दिन नहुने भन्दै उनले भने, ‘हामीले लकडाउन खुकुलो भएपछि कक्षा ८ देखि १२ सम्मका विद्यार्थी पहिला, ६ र ७ दोस्रो र तेस्रोमा साना बालबालिका गरी तीन चरणमा विद्यार्थीलाई विद्यालय ल्याउने सोचेका छौँ । त्यस्तै नमुना विद्यालयको नेतृत्वमा अन्य विद्यालयलाई पनि पठनपाठनको वातावरण बनाउनतर्फ हामी लागि परिरहेका छौँ ।’

नमुना विद्यालयले लकडाउन खुलेपछि पनि भाषण गरेर शिक्षण गर्ने नभई प्रविधिको प्रयोगबाट पढाउने र शिक्षकको आइसिटि तालिममा केन्द्रित रहने उनले उल्लेख गरे ।

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतम यो समयमा नमुना विद्यालयले के गर्दैछ भन्ने विषयमा शाखाबाट रिपोर्टिङ नगरिएको स्विकार्छन् । त्यस्तै बजेटको सन्दर्भमा कुन विद्यालयले के राम्रो गरेको आधारमा बजेट कम र बढी गर्न नसकेको बताउँदै अनुगमनको पाटो स्थानीय तहले गर्नुपर्नेमा उनले जोड दिए । केन्द्रले नमुनाका लागि मात्र नभई सबै विद्यालयको लागि ४५ दिने पाठ्यसामग्री बनाएर वेभसाइटमा राखेको छ ।

नमुना विद्यालयको विकासको प्रारम्भ सामुदायिक विद्यालयको शिक्षा सुधार, शैक्षिक गुणस्तर बुद्धि गर्न एकै पटक सबै विद्यालयमा सुधार गर्न कठिनाई हुने भएकाले अहिले केही पूर्वाधार पूरा भएका र थप पूर्वाधार गर्न सक्ने विद्यालयको आवेदन मागेर त्यस्ता विद्यालयलाई नमुना विद्यालय छनोट गरिएको उनले बताए । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपि)अन्तर्गत नमूना विद्यालय छनौट गर्दै आएको छ । हालसम्म ३२२ वटा विद्यालय नमूना विद्यालय कार्यक्रममा रहेका छन् । नमुना विद्यालय विकास निर्देशिका, २०७६ का आधारमा विद्यालयले शैक्षिक, भौतिक र प्रशासनिक पक्ष सुधारमा बुद्धि गर्नुपर्ने हुन्छ ।

‘विद्यालय क्षेत्र विकास कार्यक्रमले १ हजार नमुना विद्यालय निर्माण गर्ने योजना भएकोमा सुरुमा एक स्थानीय तहमा एक नमुना विद्यालय पुर्याउने उद्देश्य रहेको छ । अरु विद्यालयलाई पनि नमुना विद्यालयबाट सिकून र यी विद्यालय अग्रणी हुने भन्ने उद्देश्यले वि.स २०७२ सालदेखि सुरुमा ५ वटा विद्यालय छनोट गरी नमुना विद्यालयको कार्यक्रम सुरुवात गरिएको हो ।’ उनले थपे ।

केन्द्रले प्रति नमुना विद्यालय डेढ करोड वार्षिक बजेट दिने गरेको छ । २०७५–७६ मा भौतिकमा ६५ प्रतिशत, २५ प्रतिशत शैक्षिकमा र व्यवस्थापनमा १० प्रतिशत दिएको र २०७६–७७ मा पूर्ण डेढ करोड बजेट नै भौतिकको लागि तोकिएको छ । अघिल्लो वर्षको सम्पूर्ण बजेट भौतिक निर्माणमा मात्र लगाउन भनिएकोले सो बजेटले शैक्षिक सुधार गर्न नपाएको केही विद्यालयका प्रअले गुनासो पोखे । १९ नमुना विद्यालयलाई भने रु ५० लाखको मात्र बजेट केन्द्रबाट छुट्याइएको छ ।

‘कार्यसम्पादन अनुदान (पर्फमेन्स ग्रान्ड), कार्यसम्पादन राम्रो गरेका विद्यालयलाई शैक्षिक सुधारका लागि १४० विद्यालयमा थप बजेट दिन प्रस्ताव गरेका छौँ । विद्यालयको कामको प्रगति, त्यसलाई तोकेको समयमा रिपोर्टिङ गरेर विद्यालय स्वयम्ले पठाएको रिपोर्टको आधारमा त्यहाँ स्थानीय तहको सिफारिस हुन्छ र त्यसकै आधारमा हामी वितरण गर्छौँ । निर्देशक गौतम थप्छन्, ‘विद्यालयले बनाएको गुरु योजनामा वार्षिक बजेट सबैलाई दिने र केही पनि काम नै नभएका विद्यालयलाई स्थानीय तहको अनुगमनका आधारमा नमुना विद्यालयबाट झिक्न पनि सकिने सोचमा छौँ ।’

:127 Views

Leave a Reply