विद्यालय लकडाउनमा हाम्रो भूमिका

सिकाइ एक निरन्तर प्रक्रिया हो । बालकालिकाले जीवनका हरेक क्षणमा र हरेक वातावरणमा केही न केही सिकिनै रहेका हुन्छन् । विद्यालय र शिक्षकको काम ती सिकारुहरूलाई पढाइ र सुनाइको माध्यमबाट लेख्न र बोल्न सक्ने बनाउनु हो । त्यसैले हरेक बालबालिकालाई विद्यालय र शिक्षकबाट टाढा राख्न सकिन्न र यो गर्नु पनि हुँदैन । तर विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको कारण विद्यार्थी‚ विद्यालय र शिक्षकबाट टाढा छन् । यद्यपि भौतिक दुरी रहँदा रहँदै पनि विभिन्न सञ्चारका माध्यमबाट यो दुरीलाई कम गराउन भने सकिन्छ । उनीहरूको निरन्तर सिकाइलाई निरन्तरता दिन यस विषम परिस्थितिमा विद्यालय, शिक्षक र अभिभावक मिली सही वातावरण सिर्जनामा आआफ्नो सक्रिय भूमिका खेल्नु जरुरी छ ।

विद्यालयको भूमिका

विद्यालयको प्रमुख भूमिका भनेको आफ्ना विद्यार्थी तथा अभिभावकको अवस्था पहिचान गरी उहाँहरू सुरक्षित स्थानमा सुरक्षित वातावरणमा हुनुहुन्छ भनी निश्चिन्त रहनु हो । त्यसपछि विद्यार्थीको निरन्तर सिकाइको लागि निम्न वातावरणको उचित व्यवस्थापन गर्नु उचित हुन्छ ।

क. शिक्षक, विद्यार्थी, अभिभावक समन्वयको वातावरण बनाउनु

विद्यालय एकातिर र विद्यार्थी अर्कातिर रहँदा सिकाई प्रक्रिया टुट्न जान्छ । सँगसँगै विगतमा सिकिएका कुराहरू पनि बिस्तारै बिर्सदै गइन्छ । यसले भविष्यमा नयाँ कक्षाको सिकाइको लागि ठूलो बाधा अड्चन सिर्जना गर्छ । त्यसैले विद्यार्थी र शिक्षक निरन्तर समन्वयमा रहनु आवश्यक छ । विषम परिस्थिति (जस्तै विद्यालय नखुलेको अवस्था) मा शिक्षक विद्यार्थीसम्म पुग्नको लागि अभिभावक माध्यम बनिदिनु उचित हुन्छ । यी सबै तत्वहरूलाई समन्वयमा राख्नु नै विद्यालयको प्रमुख दायित्व  हुन्छ । यसको लागि विद्यालयले विभिन्न उपायहरू अपनाउन सक्छ । जस्तैः आधुनिक टेक्नोलोजिको जुम, मेसेञ्जर‚ भाइबर  प्रयोग गरेर, अभिभावक र विद्यार्थीलाई पालैपालो विद्यालयमा बोलाएर वा शिक्षकहरूको  टोली बनाई विद्यार्थीकै घरमा गएर भेट गर्दा भने दुरी कम  हुन्छ ।

ख. विषम परिस्थिति पाठ्यक्रम निर्माण गर्नु

यथास्थितिमा विद्यालय र कक्षाकोठामा प्रयोग भइरहेका पाठ्यक्रम लकडाउन जस्ता विषम परिस्थितिमा उपयुक्त हुँदैन । यसमा समय, उचित वातावरण, सामग्री आदि सम्पूर्ण कुराहरूमा ध्यानदिनु जरुरी हुन्छ । यसो भन्दैमा विद्यार्थीको सिकाइलाई ठप्प पार्नु झन खतरनाक हुन जान्छ । त्यसैले विद्यालयले विषम परिस्थितिको लागि समय सुहाँउदो र बालबालिकाले थेग्न सक्ने साथै अभिभावकलाई धेरै भार नपर्ने खालको पाठ्यक्रम तयार पार्नु आवश्यक हुन्छ ।

ग. अभिभावक सँगको नियमित सम्पर्कः

आफ्ना बाबुनानी लामो समयसम्म विद्यालय नजाँदा उनीहरूमा पर्ने सिकाइ असरको बारेमा अभिभावकहरू चिन्तिन रहनु स्वभाविक हो । यसमा सहज वातावरण सिर्जना गर्नु विद्यालयको कर्तव्य हुन्छ । त्यसैले अभिभावकसँग फोन, भिडियो कन्फरेन्स र व्यक्तिगत भेटघाट गरी सम्पर्कमा रहनु विद्यालयको जिम्मेवारी हुन्छ ।

शिक्षकको भूमिका

माथि उल्लेखित बुँदाहरूमा शिक्षकका केही आधारभूत भूमिका आइसकेका छन् । यद्यपि विषम परिस्थितिमा शिक्षकको विषेश भूमिका रहन्छ ।

क. लकडाउन पाठ्यक्रमअनुसार पठन पाठनः

शिक्षकले विद्यालयले तयार पारेको विषम परिस्थिति (लकडाउन) पाठ्यक्रमअनुसार विद्यार्थीलाई अध्यापन गराउनु पर्छ । विषम परिस्थितिमा सहज अवस्थाको जस्तै सबै विद्यार्थी एकै समयमा एकै साथ एकत्रित गर्नु असम्भव हुन सक्छ । यसको उचित अभिलेख राखी उपस्थित हुन नसकेका विद्यार्थीलाई पुनःसिकाइको व्यवस्था मिलाउनु शिक्षकको कर्तब्य हुन्छ ।

ख. अभिभावकसँगको सम्पर्क

यथास्थितिमा शिक्षक र विद्यार्थीको नियमित भेटघाटले उनीहरूको दैनिक कृयाकलाप र गृहकार्य अवलोकन सहज हुन्छ । तर विषम परिस्थितिमा विद्यार्थीको घरको क्रियाकलाप र शिक्षकले दिएको गृहकार्यमा सक्रियताको बारेमा भने अभिभावकसँगको नियमित सम्पर्कले पूर्ति गर्न सक्छ । त्यसैले शिक्षकको प्रमुख भूमिका भनेको विभिन्न माध्यम प्रयोग गरेर अभिभावकसँग सम्पर्कमा रहनु हो ।

ग. पढाइमा स्थानीय वातावरणको संयोजन

यो विषम परिस्थितिमा सम्पूर्ण रूपमा किताबी पाठ्यक्रमको आधारमा अध्यापन गराउन असम्भव नै हुन्छ । साथ–साथै हामीले यस विषम परिस्थितिलाई चुनौति र  अवसर दुबै प्रवृत्तिले हेर्यौँ भने शिक्षक र अभिभावक दुबैले बालबालिकालाई स्थानीय वातावरणको राम्रो अध्ययन गराई जीवनोपयोगी शिक्षा दिने अद्भूत अवसरको रूपमा लिन सकिन्छ । त्यसैले शिक्षकको भूमिका यसमा अहम् रहन्छ ।

अभिभावकको भूमिका

अभिभावकको लागि आफ्ना छोराछोरीलाई व्यवहारिक ज्ञानदिने यो असाध्यै राम्रो र उपयुक्त समय हो । यही समयमा घरायसी कामकाजको राम्रो ज्ञान दिन सकिन्छ । ज्ञान मात्र नभएर त्यसको महत्व बुझाउने समय पनि यही हो । ‘Hands on experience’ अहिलेको शैक्षिक जगतमा एकदमै चलेको विषय हो । आफ्ना छोराछोरीलाई हरेक घरायसी कामकाजमा ‘Hands on experience’ दिएमा उनीहरूमा परिपक्वता आउँछ । अभिभावकले यो समयमा निम्नअनुसार कार्य गर्दै जानु श्रेयस्कर हुन्छ।

क. छोराछोरीको समयतालिका

समय आफ्नै गतिमा चल्छ । जुन समयमा जुन काम गर्नुपर्ने हो त्यो काम त्यही समय सीमामा गर्नुपर्छ । तब मात्र आउने समयको लागि नयाँ कामको सिर्जना गर्न सकिन्छ । नत्र एउटै कामको लागि लामो समय बिताउनुपर्ने हुन्छ । त्यसैले छोराछोरीहरूलाई समय तालिका बनाई त्यसअनुसार चल्ने र कामगर्ने बानीको अभ्यास गराउन सकिन्छ । समय तालिका बनाउँदा दैनिक र साप्ताहिक तालिका बनाउनु राम्रो हुन्छ ।

ख. विद्युतीय सामग्रीको सदुपयोग

लकडाउनले नानीबाबुहरूलाई विद्युतीय सामग्रीको सदुपयोग गर्ने राम्रो मौका दिएको छ । धेरै विद्यालयमा  अनलाइन कक्षाहरू सञ्चालन भइरहेका छन् । शिक्षकहरूले बिभिन्न वेभसाइटहरूबारे जानकारी दिइरहेका छन् । त्यसको माध्यमबाट धेरै कुराहरू सिक्न सकिन्छ । गेम खेल्ने र भिडियो हेर्ने अनि फेसबुक र टिकटक बनाउन मात्र जानेका विद्यार्थीलाई इन्टरनेटमा ज्ञानगुनको अथाह सागर छ भनेर सचेत गराई उनीहरूको बानीलाई परिवर्तन गर्ने सही समय पनि यही नै हो । यसमा अभिभावकहरूको अहम् भूमिका रहने कुरालाई नकार्न सकिन्न ।

ग. स्टोरी थेरापी

कथाहरूबाट बालबालिकामा धेरै ज्ञानका कुराहरू अन्तरनिहित हुँदै जान्छन् । कथा सुन्दा उनीहरूले त्यसभित्रको राम्रो पात्रको छेउछाउमा आफूलाई घुमाइरहेका हुन्छन् । राम्रो पात्रले गरेका कार्यहरूले उनीहरूमा गहिरो छाप छोडदै गइरहेको हुन्छ । यसले उनीहरूको बानी–व्यहोरामा परिवर्तन ल्याउँछ । त्यसैले अचेल अन्तर्राष्ट्रिय जगतमा पनि स्टोरी थेरापीमार्फत व्यवहार परिवर्तन गराइन्छ । यो अभ्यास हाम्रो समाजमा धेरै पहिलेदेखि थियो जुन अभिभावकको ब्यस्तताले हराँउदै गएको छ । यसलाई पुनःव्युँताई घरमा छोराछोरीलाई आफ्नो नजिक राखी बाबुआमा,  हजुरआमा र हजुरबुबाले विभिन्न पौराणिक, लोक तथा आधुनिक कथाहरू भन्न सकिन्छ ।

घ. विद्यालयसँगको समन्वय

लामो समयदेखि विद्यार्थी विद्यालय र शिक्षकको सम्पर्कमा नरहँदा उनीहरूको सीकाइ उपलब्धी घट्दै जाने पक्का छ । नयाँ सिकाइमा यसले पूर्णबिराम लगाउँछ । साथै विगतको सिकाइ पनि बिर्सदै गइन्छ । यसले कुनै न कुनै समयमा सुरु हुने नयाँ कक्षाको सिकाइमा धेरै बाधा अडचन पैदा गर्छ । त्यसैले विद्यालयले लकडाउन पाठ्यक्रम बनाई लागू गरेको छ भने त्यसैमा समन्वय गर्न आवश्यक सल्लाह सुझाव दिने र यदि विद्यालय सक्रिय छैन भने विद्यालयलाई सक्रिय रहन घचघच्याउने भूमिका अभिभावकको हुन्छ ।

वातावरणको भूमिका

बालबालिकाले भनेकोभन्दा ज्यादा देखे भोगे र सुनेको कुराबाट सिकिरहेका हुन्छन् । यसमा कुनै दुविधा छैन् । त्यसैले उनीहरूको पारीवारिक, सामाजिक, शैक्षिक वातावरण जीवनपयोगी सिकाइको वातावरण सही हुनुपर्छ । यसको लागि अभिभावक र शिक्षकबिचको समन्वय अपरिहार्य छ । अभिभावकले असल, सही र इमान्दार पारिवारिक वातावरणको सृजना गर्नुपर्छ किनकि विद्यार्थी यो समयमा चौबिसै घण्टा परिवार मै रहन्छन् । सामाजिक वातावरणको सवालमा अभिभावक सजक हुनुपर्छ । असल सामाजिक वातावरण भएमा समाजमा समय बिताउन उत्प्रेरणा दिने र यदि सामाजिक वातावरण असल छैन भने समाज र छोराछोरीको दुरी बढाउने जिम्मा अभिभावकलाई नै जान्छ । जीवनोपयोगी सिकाइको वातावरणका लागि अभिभावक र शिक्षकको समन्वय महत्वपूर्ण हुन्छ । शिक्षकले यस्ता सिकाइलाई गृहकार्यको रूपमा दिन सक्नुहुन्छ र अभिभावकले त्यसमा छोराछोरीलाई उत्प्रेरणा सहित काम गराउन सक्नुहुन्छ । शैक्षणिक वातावरण सिर्जना गर्न भने अभिभावकको कम र शिक्षकको ज्यादा भूमिका रहन्छ । शिक्षकले विभिन्न सञ्चारका माध्यम प्रयोग गरी विद्यार्थीलाई सिकाउने र धेरै गृहकार्यमा संलग्न गराउने र अभिभावकले त्यसको हेरचाह गर्ने गर्नुपर्छ ।

यहाँ मैले विद्यार्थीको भूमिकाको छुट्टै वयान गरिनँ किनभने यी चार तत्वहरूलाई सही दिशामा मिलाउन सकियो भने विद्यार्थी स्वतः स्फूर्त रूपमा जीवन्त भई आफ्ना कार्यमा लागि रहन्छ जसले उसको निरन्तर सिकाइलाई निरन्तरता दिइरहन्छ ।

कुलदिप न्यौपाने

:286 Views

Leave a Reply