ऐक्यवद्धता जनाउँदै निजी विद्यालय

निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन र राष्ट्रिय निजी तथा आवाशीय विद्यालय सङ्घ एनप्याब्सनमा आबद्ध नरहेका विद्यालयहरूले पनि अनलाइन माध्यमबाट चलाइने कक्षा बन्द गरेका छन्।

प्याब्सन र एनप्याब्सन आवद्ध विद्यालयहरुले साउन १ गते विहीबारबाटै अनलाइन कक्षाहरु बन्द गरेका थिए। ती संगठनमा आवद्ध नभइ स्वतन्त्र रुपमा सञ्चालित निजी विद्यालयहरुले समेत कोरोनाभाइरसको कारणले सिर्जित हालको अस्वाभाविक र अप्ठ्यारो परिस्थितिमा दुई ठूला सङ्गठनहरूसँग ऐक्यवद्धता जनाउनै पनि अनलाइन कक्षा बन्द गर्न वाध्य भएको बताएका छन्।

कतिपय प्रिस्कुलहरूले भने अनलाइनमार्फत विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिइरहेको देखिएको छ भने कतिपयले बन्द नै गरेका छन्। सरकारले पटकपटक शुल्क नउठाउनु भनेपछि विद्यालयहरूले शुल्क उठाउन नपाएको उनीहरूको गुनासो छ।

चैत महिनाको शुल्कमा छुट दिएको बताउने उनीहरू शुल्क नउठाउँदा र सहुलियत दरमा ऋण माग्दा त्यसको पनि सम्बोधन नभएपछि अनलाइन कक्षा बन्द गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ।

कोरोनाभाइरस महामारीका कारण आर्थिक समस्यामा परेकाले सरकारले सहुलियत दिनुपर्ने माग विद्यालयहरूले राख्दै आएका थिए।

सरकारले निर्णय नगरुञ्जेल वा भौतिक रूपमा विद्यार्थी उपस्थित भएर पढ्न पाउने अवस्था नबनुञ्जेल कक्षा चलाउन सक्ने अवस्था नभएको र शिक्षक र कर्मचारीलाई बेतलबी बिदामा राख्ने पनि उनीहरूले जनाएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने निजी विद्यालयका मागहरूबारे उच्चस्तरीय समितिमा छलफल भइरहेको जनाएको छ। र यहीवीचमा निजी विद्यालयले आफैँले चलाएको कक्षा बन्द गर्नु उपयुक्त नभएको मन्त्रालयको भनाइ छ।

 

:336 Views

Leave a Reply