रेडियो कार्यक्रम “म सिक्दै छु” यही श्रावण ५ बाट

कोभिड १९ बाट सिर्जित बन्दाबन्दीका कारण अधिकांश विद्यालयमा पठन पाठन ठप्प भएको स्थितिमा टिच फर नेपालले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने हेतुले रेडियो कार्यक्रम “म सिक्दै छु” सञ्चालन गर्न लागेको छ ।

नेपालका  ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा आफ्ना प्रज्ञार्थी  प्रदान गरि सार्वजनिक विद्यालयको गुणस्तर उकास्न र शैक्षिक समता प्रदान गर्दै आएको  टिच फर नेपालले शुक्रबार एक कार्यक्रमका बीच “म सिक्दै छु” नामक उक्त रेडियो कार्यक्रम उद्‌घाटन गरेको हो । प्रज्ञार्थीहरूले तयार पारेको उक्त कार्यक्रममा अङ्ग्रेजी, विज्ञान, गणित र बाल मनोविज्ञान र अतिरिक्त कृयाकलापसँग सम्बन्धित कुराहरू प्रसारण गर्ने जानकारी दिएको छ  भने कार्यक्रम आउँदो  सोमबार श्रावन ५ गतेदेखि औपचारिक रुपमा प्रशारण हुने बताइएको छ।

उक्त रेडियो कार्यक्रम बालबालिकाको मनोविज्ञानलाई ध्यानमा दिइ तयार पारिएको बताइएको छ। त्यसै कारण विद्यार्थीहरूले सो रेडियो कार्यक्रम रुचाउने विश्वास रहेको कार्यक्रम संयोजक रुमा महर्जन बताउँछिन् । रेडियो कार्यक्रम रेडियो नाटकका रुपमा प्रसारण हुने र एकै अङ्कले कक्षा ५  देखि १० का विद्यार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ। कार्यक्रममार्फत् बालबालिकाको लेखन प्रतिभा सुधार र उजागर गर्ने लक्ष्य समेत रहेको बताइएको छ।

बन्दाबन्दीले बालबालिकाको मनोविज्ञानमा पारेको प्रभावसमेतलाई सम्बोधन गर्न मनोविज्ञान परामर्शबारे जानकारी दिन हप्ताको १ दिन विद्यार्थीका भावना र कथा साट्ने प्रकारका कार्यक्रम पनि समावेश गरिएको कार्यक्रमा बताइएको छ।

“हामी सबै कुरा राम्रो हुने प्रतीक्षा गर्न सक्दैनौं। शिक्षकको हैसियतमा हामीले यो  समय आफ्ना विद्यार्थीहरूसँग सम्पर्कमा रहन र उनीहरूको शिक्षा र मनोसामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्‍यौं। ” रेडियो कार्यक्रममा संलग्न टिच फर नेपालका प्रज्ञार्थी  प्रशान्त ज्ञवालीले भने।

कार्यक्रमबारे प्रकाश पार्दै टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले ग्रामीण भेगमा रेडियोको पहुँच बढी देखिएकोले ग्रामीण विद्यार्थीहरूलाई मध्यनजर गर्दै कार्यक्रम तयार पारिएको बताइन्। “लकडाउनको सुरुवाती दिनमा हाम्रा प्रज्ञार्थीहरूले गरेको सर्वेक्षणमा उहाँहरूले काम गर्ने  जिल्लामा करिब ३५.२५% टेलिभिजन रहेको र करिब ६०%  विद्यार्थीको घर घरमा रेडियो भएको थाहा भएपछि यो रेडियो कार्यक्रम गर्नुपर्छ भन्ने प्रज्ञार्थीको सुझावलाई हामीले मनन् गरेर रेडियो कार्यक्रम निर्माण गर्ने  निष्कर्षमा पुगेका हौँ” उनले भनिन्।

उक्त कार्यक्रम हाललाई टिच फर नेपाल कार्यरत ७ जिल्लाका १५ गाउपालिका र नगरपालिकाका ८ वटा  रेडियोमा प्रसारण हुने बताइएको छ । दक्षिण ललितपुर र पर्सामा रेडियो वीरगन्ज, रेडियो विजयवस्ती, सिन्धुपाल्चोकमा रेडियो मेलम्ची, धनुषामा रेडियो जनकपुर, लमजुङमा रेडियो मर्स्याङ्दी, तनहुँमा रेडियो दमौली र दाङमा रेडियो प्रकृतिबाट प्रसारण हुने बताइएको छ ।

कार्यक्रमको पहिलो चरणमा विज्ञान, गणित र अङ्ग्रेजीका आधारभूत कार्यक्रम हुने जनाइएको छ भने उक्त कार्यक्रमले सार्वजनिक विद्यालयमा विद्यमान आधारभूत तहमा देखिएका कमजोरीहरूलाई  एक हदसम्म सम्बोधन गर्ने  जनाइएको छ  ।

ब्रिटिश काउन्सिल, मिटिङ पोइन्ट, माई इमोसन्स म्याटर्स, कथा एक्स्प्रेस, रेडियो अडियो र द रेकोर्ड हाउसको प्राविधिक सहयोगमा “म सिक्दै छु” रेडियो कार्यक्रम निर्माण गरेको टिच फर नेपालले हाललाई ७ जिल्लामा मात्र प्रसारण गर्ने लक्ष्य राखेको भएपनि कुनै अन्य जिल्लाको एफ एम रेडियोहरूले प्रसारण गर्न चाहेमा गर्न सकिने बताएको छ।

साँझको समयमा प्रसारण हुने रेडियो कार्यक्रमले विपदको बेला सिकाइको अवसर गुमाएकाहरूले लाभ हासिल गर्ने अपेक्षा राखेको आयोजक संस्थाले जनाएको छ।

 

 

 

:150 Views

Leave a Reply