विद्यालय नखोल्न मन्त्रीको आग्रह

काठमाडौँ, असोज १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
शिक्षण संस्थामा कोभिड–१९ को सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिनुपर्नेमा उनको जोड छ।
‘कार्तिकसम्म नै संक्रमण बढ्ने देखिएको छ। त्यसैले विद्यालय खोल्ने सोच बनाएका स्थानीय तहहरूलाई तत्काल त्यसो नगरी वैकल्पिक शिक्षणमै जोड दिन म आग्रह गर्दछु।’ मन्त्री पोखरेलले शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलका क्रममा सो आग्रह गरेका हुन्।
छलफलमा आसमान नेपालका कार्यकारी निर्देशक नोवलकिशोर यादवले प्रदेश–२ मा गरिएको पछिल्लो अध्ययनले ५१ प्रतिशत बालबालिका वैकल्पिक सिकाइको पहुँचमा पाइएको र पहुँच वृद्धि हुँदै गए पनि सिकाइको स्तर २० प्रतिशतको हाराहारीमा रहेको बताएका छन्।
त्यस्तै सञ्चारविद् डा निर्मलमणि अधिकारीले विपन्न र गरिब विद्यार्थीका लागि निःशुल्क रुपमा उच्चगतिका इन्टरनेट र डाटा उपलब्ध गराउन आग्रह गर्दै मिडिया साक्षरतालाई प्रभावकारी नबनाइए वैकल्पिक सिकाइ प्रणाली सफल नहुने धारणा व्यक्त गरे। उनले सूचना, सञ्चार तथा प्रविधि र आमसञ्चारको सदुपयोगका लागि रणनीति तर्जुमा गर्न सुझाव दिएका छन्।
मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितताका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेको र सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरूलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताएका छन्।
त्यस्तै शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापनार्थ सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताएका छन्।
:39 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव