भौतिक कक्षा मोहः बुद्धिमानी की मूर्खता?

कन्फुसियस भन्थे, “सबैभन्दा बुद्धिमान र सबैभन्दा मूर्ख मान्छेहरु कहिल्यै परिवर्तन हुँदैनन्” । नेपालमा उर्लिंदो भौतिक कक्षा मोह देख्दा यो भनाईको सार्थकता खोज्न आवश्यक देखिन्छ । अमेरिकी राष्ट्रपति दम्पती समेत कोभिड–१९ संक्रमित भएर सिङ्गो विश्व तरंगित हुँदै गर्दा नेपालमा भने कुन नगरपालिका वा गाउँ पालिकामा भौतिकरुपमा स्कूल खोलिए भन्ने समाचारहरु धमाधम ब्रेक हुँदैछ । शौचालय बनेपछि पनि खुल्लामै जान हतार गर्नु पक्कै सभ्यता हैन तर शिक्षामा चाँही सामान्य मानिन थालेको देखिन्छ । नत्र कोभिड–१९ को चूनौतीले गर्दा विद्यालयहरुले बिसौं वर्ष लाग्नसक्ने डिजिटल रुपान्तरणको यात्रा केही महिनामै तय गर्ने अवसर प्राप्त गरे तर केही अपडेट हुन नचाहने प्रिन्सिपल÷प्रधानाध्यापक र शिक्षकहरुका कारण अबोध बालबालिकाहरुको जीवन अकल्पनीय जोखिममा परेको छ । केहीको सम्पूर्ण ध्यान नै कतिबेला भौतिक रुपमा स्कूल खोल्न सकिन्छ भन्नेमा मात्र केन्द्रित देखिन्छ । यसमा सम्बन्धीत स्थानीय तह र अभिभावकहरुले पनि जोखिमको सही विश्लेषण गर्न नसकेको आभाष हन्छ ।

अहिले महाव्याधी उत्कर्षमा छ, संक्रमण दर, मृत्यु दर र भौगोलिक फैलावट अहिलेसम्मकै उच्च छ, तत्काल घट्ने संकेत पनि छैन । यस बीचमा एकपछि अर्को तँछाडमछाड गर्दै यत्रतत्र सर्वत्र भौतिक रुपमा विद्यालय खोल्ने एक किसिमको होडबाजी नै चल्न थालेको छ । यसले बालबालिकाहरुलाई मात्र हैन, सिङ्गो समाजलाई र देशलाई नै असुरक्षित बनाएको छ ।

आखिर भौतिक कक्षाप्रति यस्तो मोह किन? उत्तर प्रष्ट छ, कक्षाकोठामा शिक्षकले चिच्च्याएर, झपारेर, बजाएर र थर्काएर मात्र सिकाई घटित हुन्छ भन्ने पूरातन सोच । नत्र, बिकल्प प्रशस्त, सुलभ र कतिपय अवस्थामा निःशुल्क हुँदाहुँदै प्रोग्रेसिभ एजुकेशनको लागि प्रविधीको यस्तो अनुपम उपहारलाई तिरस्कार गर्दै महामारीसँग खालिहात पैठोजोरी खेल्नुको अरु कुनै कारण देखिंदैन । एकछिन सोचौं तः
१. एकै कक्षाका विद्यार्थीलाई ४–५ जनाको समुहमा ४ देखि ६ वटा कक्षामा राखेर दिनमा कतिजना शिक्षकले कतिचोटी पढाउने?
२. दिनमा कति वटा कक्षा बोलाउने? तोकिएको कार्यघण्टा कसरी पूरा गर्ने?
३. “सम्पूर्ण सुरक्षा सावधानी सहित भौतिक दूरी कायम राख्दै” भनेको के हो? बिकसित देशमा त्यत्रो प्रविधी र गुणस्तरको सावधानीले समेत रोक्न नसकेको संक्रमण २–३ सयको स्यानिटाईजरले रोक्ने जादू छ? कि बेसार–पानी र ईम्यूनिटीकै आधार मान्न सकिने हो?
४. सुरक्षा सावधानी र भौतिक दूरीले हुने भए दिनानुदिन संक्रमण किन बढ्दैछ? ती सबै संक्रमित मास्क। स्यानिटाईजर नलाउँदै खुल्लम खुल्ला हिंड्ने मान्छे हुन्?
५. कथंकदाचित एकजनालाई मात्र संक्रमण भएमा त्यसको जिम्मेवारी कसले लिने? स्कूलले कि नगर÷गाउँपालिकाले कि अभिभावकले? उपचार नभएको रोगको जिम्मेवारी कसरी लिने हो?
६. यसको सट्टा शून्य संक्रमण जोखिमको अनलाईन वा बैकल्पिक पद्दतिबाट सबै कक्षा सामान्य रुपमा चलाउँदा किन नहुने?

जोखिम कति छ त?
नेल्सन मण्डेलाको एउटा भनाई छ, “बहादुर मान्छे त्यो हैन जो डराउँदैन, बल्की त्यो हो जसले डरलाई जित्छ ।” तसर्थ डरलाई जित्नु भनेको नडराउनु त हुँदै हैन, डरको जडमा गएर निराकरण गर्नु हो । हालसम्मको विश्व स्थितीमा यो महामारी अन्त हुन कि त खोप उपलब्ध हुनु पर्छ, कि त सामुहिक प्रतिरक्षा वा हर्ड ईम्यूनिटी बिकास हुनुपर्छ । कोभिड–१९ को औसत संक्रमण दर वा आरनाउट १ः३ छ अर्थात १ जनाले ३ जनामा सारेको देखिन्छ । यो दरले महामारी नियन्त्रणमा आउन करिब ६७ प्रतिशत मानिसमा संक्रमण फैलिई निको भई सामुहिक प्रतिरक्षा बिकास हुन आवश्यक छ ।

यसको गणना त्यती सजिलो छैन । एकैचोटी धेरै संक्रमण फैलिन दिएमा स्वास्थ्य आपतकाल आईपर्छ र एकै भौगोलिक स्थानमा मात्र फैलिएर पनि प्रतिरक्षा विकास हुँदैन । नियन्त्रित ढंगले हर्ड ईम्यूनिटी बढाउने योजनामा रहेको स्वीडेन, डेनमार्क लगायतका थुप्रै देशहरु नराम्रोसँग पछारिएर गल्ति समेत स्वीकारेका छन् । कोरोना केहीपनि हैन भन्दै चर्चामा आएका ब्राजिलका प्रधानमन्त्री बोल्सोनारो जुलाईको सुरुमा आफैं संक्रमित हुँदासम्ममा ब्राजिल संक्रमित र मृतक संख्याको आधारमा अमेरिका पछिको संसारकै दोस्रो देश भईसकेको थियो र त्यसपछि उनी तत्काल लकडाउनको नीति अवलम्बन गर्न बाध्य भए ।

अहिले नेपालमा कोभिड–१९ को जोखिम सतहमा देखिएको भन्दा धेरै बढि छ । असोज १६ गतेको स्वास्थ्य मन्त्रालयको विवरण अनुसार एकैदिनमा कूल १४,७३९ परीक्षणमा २,७२२ जनामा संक्रमण पुष्टि भएको देखिन्छ जुन १८.४६ प्रतिशत हो । हालसम्म कूल १०,४८,६४६ परीक्षणमा ८२,४५० जना (७.८७%) संक्रमित देखिएको छ तर कोभिड–१९ संक्रमितको ८० प्रतिशतमा लक्षण नदेखिने र लक्षण देखिएको २० प्रतिशतले मात्र परीक्षण गराउने हुँदा १०,४८,६४६ लाई २० प्रतिशत मान्न सकिन्छ जस अनुसार नेपालमा करिब ५२,४३,२३० जना संक्रमित भईसकेको देखिन्छ जुन कूल जनसंख्या २,९२,६३,९०५ को करिब १८ प्रतिशत हो । सामान्य रुपले हर्ड ईम्युनिटीको संख्यामा पुग्न अझै धेरै समय लाग्ने देखिन्छ ।

१८ प्रतिशत संक्रमण दरलाई मात्र लिंदा पनि ३० जनाको कक्षामा करीब ५–६ जना संक्रमित विद्यार्थी हुनसक्छन । स्वास्थ्य स्थिती कमजोर बाहेकका बालबच्चामा धेरैलाई लक्षण नदेखिने र मृत्युदर पनि कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ तर उनीहरुले संक्रमण चाहीँ उत्तीकै फैलाउने हुनाले ती ६ जनाले सबै बच्चा र शिक्षकमा सार्न समय लाग्ने छैन र कोरोना घरघरमा पुग्छ । त्यसपछि परिवारका ज्येष्ठ नागरिक र कमजोर स्वास्थ्य स्थितीका सदस्यहरु भकाभक ढल्ने दिन आउन सक्छ र सिङ्गो समाज र देश महामारीको प्रकोपले आक्रान्त हुन सक्छ ।

अभिभावकहरु यति निर्दयी हुन सक्छन् त?
भारतमा गरिएको विभिन्न सर्वेक्षणले करीब ८०% अभिभावकहरुले महामारी समाप्त भएपनि यो वर्ष आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने बताएका छन् । नेपालमा भने यस्तो अध्ययन हुन सकेको छैन । यूरोप, अमेरिकामा पनि स्कूलहरु खूल्न सकेका छैनन्, जति खूलेका छन्, प्राय “क्रिटिकल वर्कर”को सन्तानहरुलाई लक्षित छन् । पब्लिक रुपमा खुलेका सबैजसो स्कूलहरु संक्रमण फैलावट पछि बन्द गरिएका छन् । त्यहाँको सुरक्षा सावधानीका प्रविधी र गुणस्तर हामीले कल्पना पनि गर्न सक्दैनौं । यस्तोमा हामीले आफ्ना सन्तानलाई स्कूल पठाउँदा नतिजा के होला? उनीहरुलाई यति धेरै जाखिममा होमिन पठाउने आखिर के का लागि? कोरोनाको पो त उपचार छैन, सिकाईका त थुप्रै बिकल्पहरु छँदै छन् । त्यसैले अभिभावकहरु तथा विद्यालय संचालकहरुको सोचमा परिवर्तन हुनु जरुरी छ । एक्काईसौं शताब्दीको विद्यालय कम्पाउण्ड भित्र र सिकाई कक्षा कोठा भित्र मात्र हुन्छ भन्ने पूरातन सोच त्याग्न जरुरी छ । सिकाईलाई जीवनसँग जोड्ने, शिक्षकलाई सुनेर मात्र भन्दा पनि ज्ञान र बोधलाई गराईको अनुभवबाट गहिरो सिकाई संरचनाको अवसर दिन विद्यालयहरु तयार हुनुपर्छ र यसलाई अभिभावकले बुझ्न जरुरी छ । यसो गर्न सकिए घर परिवार मात्र हैन, सिङ्गो समाज र देश नै विद्यालयमा रुपान्तरण हुनेछ ।

कोभिड–१९ को अनगिन्ती चुनौती र असर छन् तर यतिबेला सन्तानलाई घरमा आफैंसँग राखेर उसको शिक्षादीक्षामा संलग्न हुन पाउनु अभिभावकहरुको लागि सबैभन्दा सुखद उपलब्धी हुनुपर्ने हो । यसले आधुनिक समाजमा अभिभावकहरुको व्यस्तताको कारणबाट बच्चाहरुसँग सिर्जित भौतिक मात्र हैन, भावनात्मक दूरी कम गर्न समेत अचूक औषधीको काम गरेको छ । आजका सफल सन्तानहरुले आफ्ना बुबाआमालाई त्यसै वृद्धाश्रम पु्र्याएका हैनन् । उनीहरुको हुर्काई, लालानपालन, संस्कार र शिक्षादीक्षामा अभिभावकको उपस्थिती र भूमिका आर्थिक रुपमा मात्र सीमित हुन गएकोले मन भाँचिएको, कुँडिएको र चुँडिएको हो । ममता र भावनाका सबै अवसरहरु नोकर–चाकर, होस्टल, आदिलाई सुम्पिनाको परिणाम हो । महामारी र लकडाउनले यसमा बदलाव ल्याएको पक्कै छ र यो अवसरलाई अभिभावकहरुले मनन गर्नु जरुरी छ । आज हामीले उनीहरुलाई बोझको रुपमा हेरेमा पनि उनीहरु त हुर्किन्छन् नै तर भोलि उनीहरुले हामीलाई बोझ ठाने भने चाहिँ यही जुनीमा नर्क भोग्न बाध्य हुनेछौं ।

बिकल्पले समाधान देला त?
बैकल्पिक सिकाई, त्यसमा पनि मूलतः अनलाईन शिक्षण एक्काईसौं शताब्दीको शिक्षाको प्राण हो । समयचक्र एकैचोटी अगाडी बढ्न पाएको अवस्था हो, भोलिका सबै शिक्षा यसैमा आउने नै हो । कोभिड भन्दा पहिला पनि बिकसित देशका विद्यालय र विश्वविद्यालयहरुमा भौतिक कक्षा र अनलाईन सिकाई सँगसँगै हुँदै आएको हो र कतिपयमा अनलाईनको भार बढि हुने गर्दथ्यो । त्यसैले हिजो हामी पछाडि परेका थियौं, अँध्यारोमा थियौं तर महामारीले हामीलाई पनि उनीहरुसँगै हिंड्न धक्का दिएर अगाडी पठाईदिएको छ । यति हुँदा पनि हामी चाँही जहाँको त्यहीँ रहन खोज्यौं भने हाम्रो बिनास कोरोनाले भन्दा धेरै गुणा बढी हाम्रै अँध्यारो सँगको प्रेम र मोहले गर्छ ।

ओशो भन्थे, “अँध्यारोमा जिउने बानी भएकाहरुलाई उज्यालोको ज्योतिले नराम्ररी पोल्छ । उनीहरु उज्यालोको कुरा त गर्न मन पराउँछन तर हतारहतारमा ज्योति चाहिँ निभाईदिन्छन र निभेको दियोको पूजाआजा गर्न थाल्छन किनकी प्रज्वलित बुद्धत्वको प्रकाशले उनीहरुको नपुंशकता उजागर गर्दछ ।” अहिले ठीक त्यस्तै भएको छ । हिजो परिवर्तनको ठूलाठूला कुरा गर्ने र एक्काईसौं शताब्दिमा सूचना प्रविधीको महत्वको विषयमा घण्टौं फलाक्न नथाक्ने शिक्षाकर्मीहरु नै महामारीको समयमा अपडेटेड हुन नसकेको देखिन्छ । भौतिक कक्षाप्रतिको यो मोह पनि यसैको उपज हो । धेरै भयो नेपालमा पनि हरेक तह र तप्कामा सूचना–प्रविधीको कुरा हुँदै आएको । यो अवस्थामा पनि छलाङ नमार्ने हो भने हामी पनि प्रविधीको ज्योती निभाएर ल्यापटप, मोबाईलमा फेसबुक, ट्वीटर, आदि चलाएर दियोको पूजा मात्र गरिरहने छौं ।
अनलाईन कक्षाको सबैभन्दा राम्रो पक्ष भनेको सिकाईको तीब्र गति हो भने नयाँ पुस्ता आफैंमा डिजिटल पुस्ता पनि हो । शिक्षकको मेहनत निश्चय पनि बढ्छ तर भौतिक कक्षामा कराएर र लेखाएर पढाउने भन्दा थोरै समयमा अत्यधिक पाठ््यभारको प्रभावकारी शिक्षण यसबाट हुने देखिन्छ । हिजो पैदल यात्री घोडामा सवार हुँदासम्मको अनुभव सँगालेका हामीले बुलेट ट्रेन वा हवाईजहाजको गतिसँग कतिपनि तर्सिनु हुन्न बरु त्यसको भरपूर प्रयोग गरेर शिक्षाको रुपान्तरणमा संवाहक बन्नु पर्दछ ।

(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लेखक लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल –एम्आई पिबिएल पद्दतीका प्रवर्तक समेत हुन् ।)

सिङ्ग लामा

:278 Views

Leave a Reply