सामाजिक शिक्षा ‘सफ्ट’ विषय होइन: माथेमा

Social studies

सामाजिक शिक्षा अध्ययनले विद्यार्थीलाई आफ्नो समाज‚ समुदाय‚ देश‚ परिवेश बुझ्न मद्दत गर्ने शिक्षाविद् केदारभक्त माथेमाले बताएका छन्।

विद्यार्थीलाई सामाजिक मूल्य मान्यता सिकाइ समाजप्रति उत्तरदायी बनाउने काम विज्ञान‚ गणित‚ अङ्ग्रेजीलगायत विषयले नभइ सामाजिक शिक्षाले गर्ने भएकाले यसलाई कम महत्त्व र सफ्ट विषय भनेर व्याख्या गर्न नहुने उनको तर्क छ।

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले भर्चुअल रुपमा आयोजना गरेको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षाको महत्व विषयक छलफलमा माथेमाले बताएका हुन्।

सरकारको उक्त निर्णयको प्रशंसा गर्दै नयाँ पुस्तालाई लोकतन्त्र, संविधान, सङ्घीयता र समावेशीताको ज्ञानका लागि यस्ता विषयको अध्ययन गराइनु अत्यावश्यक भएको बताए ।

घोकाउने होइन

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमाले साधारण शिक्षा निरन्तरतामा आधारित हुने र सामाजिक अध्ययनले विद्यार्थीलाई असल नागरिक र व्यापक सोचाइमा लान सक्ने उल्लेख गरे।

“ठूला ठूला कम्पनी र कार्यालयले जनशक्ति खोज्दा सिकाइका रुपान्तरित क्षमतालाई पनि मापन गर्ने भएकाले समाज र आफ्नो परिवेशको अध्ययनविना नयाँ पुस्ता श्रम बजारमा उपयोगी हुन सक्दैन। शिक्षकहरूले यो विषय पढाउँदा घोकेर भन्दा व्यवहारिक रुपमा सिकाउनुपर्छ। घोकन्ते शिक्षा सबैभन्दा तुच्छ शिक्षा हो। ”

उनले भने, “सामाजिक शिक्षा अन्तकृयात्मक हुनुपर्छ। विद्यार्थीले आफ्नो मातृभाषा वा नेपाली भाषामा खुलेर शिक्षकलाई सोध्ने र शिक्षकले जवाफ दिने हुनुपर्छ। यसलाई गणित वा विज्ञानपछि आउने ‘सफ्ट’ विषय भनेर विश्लेषण गर्नु हुँदैन। किनकि यो अत्यन्त महत्त्वपूर्ण जीवनोपयोगी विषय हो जसले मान्छेलाई मान्छे बनाउँछ‚ उसलाई उसको धरातल चिनाउँछ‚ उसलाई पहिचान दिलाउँछ।”

संकाय रहेन

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि विभिन्न चरण र प्रक्रिया पूरा भइसकेकाले यही शैक्षिकसत्रदेखि सबै प्रकारका विद्यालयले यसको कार्यान्वयन हुने बताए।

उनले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ र राष्ट्रिय शिक्षा नीति, २०७६ को कार्यान्वयनका क्रममा विद्यालयीय पाठ्क्रमलाई पुनः संयोजित गरी कक्षा १० र ११ का पाठ्यक्रमका बीचमा देखिएको खाडल चिर्ने गरी पाठ्यक्रम तर्जुमा गरिएको जनाए ।

निर्देशक भट्टराईले युनेस्कोले शिक्षाका लागि ल्याएका पाँच आधारसमेतलाई ध्यान दिएर सामाजिक मूल्य, देशभक्ति र राष्ट्रिय भावलाई विद्यार्थीमाझ बुझाउन यो पाठ्यक्रम ल्याइएको उल्लेख गरे । यो पाठ्यक्रम लागू भएपछि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन‚ शिक्षाजस्ता अलग अलग संकायको मान्यता अन्त्य भई एकल पथीय आधारमा पठनपाठन हुनेछ।

केन्द्रले नयाँ पाठ्यक्रमबारे चाँडै अभिमुखीकरण कार्यक्रम गर्नेछ। निजी क्षेत्रका सो तहका विद्यालय सञ्चालकले गृहकार्य गरेर मात्रै नयाँ पाठ्यक्रम लागू गर्न माग गर्दै आएका छन् ।

सामाजिक अध्ययन शिक्षक समाजका अध्यक्ष डिल्लीराम शर्माले असल नागरिक बनाउने एक मात्र विषय र क्षेत्र सामाजिक अध्ययन भएकाले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू हुनु स्वागतयोग्य भएको बताए। सामाजिक अध्ययनका विज्ञ गोविन्द भण्डारीले नयाँ पाठ्यक्रम कार्यान्वयनमा कुनै पक्षबाट अन्योल र अवरोध देखिएमा सम्बन्धित नियकाले क्रमशः स्पष्ट पार्नुपर्नेमा जोड दिए।

 

 

:33 Views

Leave a Reply