क्वालिथन रिले रेस् २०२० मा गोल्डेन गेटको जोड्दार एस्क्यूसी केस् स्टडी प्रस्तुती

हरेक वर्ष नोभेम्वर महिनाको १२ तारिखका दिन विश्वभर मनाईने “वल्र्ड क्वालिटी डे”को अवसरमा क्वेष्ट–नेपाल तथा क्वालिटीका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित “क्वालिथन रिले रेस् २०२०” मा भक्तपुर स्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका विद्यार्थीहरुले एक उत्कृष्ट एस्क्यूसी केस् स्टडी प्रस्तुत गरेका छन् । उक्त कार्यक्रमका लागि सातै प्रदेशबाट एक–एक वटा विद्यालय छनौट हुने क्रममा वाग्मती प्रदेशबाट स्टुडेन्ट्स क्वालिटी सर्कलको निरन्तर अभ्यास गर्दै आएको गोल्डेन गेट छानिन सफल भएको थियो ।

शिक्षा, उद्योग, कलकारखाना, स्वास्थ, व्यापार, व्यवसाय, सुरक्षा तथा सामाजिक क्षेत्रका क्वालिटी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ तथा अभ्यासकर्ताहरुको सहभागिता र प्रस्तुती रहेको उक्त कार्यक्रममा सानै उमेरदेखि क्वालिटी माईन्डसेटलाई संस्कारको रुपमा सिक्दै आएका गोल्डेन गेटका कक्षा ९ मा अध्ययनरत ईन्क्विजिटिभ स्टुडेन्ट्स क्वालिटी सर्कलका ५ जना विद्यार्थीहरु – क्रिश बज्राचार्य, न्होर्साङ लामा, अनुष्का शिल्पकार, समीर तामाङ र सोनिका तामाङले जोडदार रुपमा आफनो एस्क्यूसी केस् स्टडी प्रस्तुत गरेका थिए भने उक्त केस स्टडीलाई विद्यालयकी माष्टर ट्रेनर श्रीषा सितिखूले सहजीकरण गरेकी थिईन् । विद्यार्थीहरुको प्रस्तुतिलाई स्वदेशी तथा विदेशी क्वालिटी गुरुहरुले मुक्त कण्ठले प्रशंशा गरेका थिए ।


कार्यक्रममा विशेष मन्तव्य राख्ने क्रममा विद्यालयका प्रिन्सिपल–कोफाउण्डर तथा क्वेष्ट–नेपालका सचिव सिङ्ग लामाले एस्क्यूसीले विद्यार्थीहरुको व्यक्तित्व रुपान्तरणमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउँदै विद्यालय तहका क्वालिटी अभ्यासकर्ता विद्यार्थी र औद्योगिक क्षेत्रका क्वालिटी अभ्यासकर्ताहरु एकै मन्चमा रहेर गरिएको यस्ता कार्यक्रमले शिक्षालाई श्रम र पेशासँग जोड्ने कार्यमा दूरगामी प्रभाव पार्नेमा अवधारणा राखे ।

बिहान ७ः०० बजेदेखि राति ९ः०० बजेसम्म आयोजित करीब ३,५०० जना सहभागि रहेको उक्त “क्वालिथन रिले रेस् २०२०” कार्यक्रम क्वालिटीको क्षेत्रमा सम्भवतः सबैभन्दा लामो र ठूलो कार्यक्रम हो । कार्यक्रम नेपालमा क्वालिटीको अवधारणा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका काठमाडौं विश्वविद्यालयका पूर्व डीन तथा क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रो. दिनेश चापागाईँको परिकल्पनामा आयोजित थियो । नेपालमा उनी विद्यालय र एस्क्यूसीका क्षेत्रमा “फादर अफ एस्क्यूसी”को रुपमा परिचित छन् ।

:46 Views

Leave a Reply