कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ

१३ वर्षका सुसान्त खत्रीले भने कोभिडका कारण विद्यालय बन्द भएपछि पढ्न पाएका छैनन्। अटिजमको समस्या भएका उनी दिनभरी घरमै बस्छन्। आमा बाहिर गएका बेला वा काममा व्यस्त भएका बेला उनको खान्की समेत छुट्ने गर्छ। उनकी आमा सरिता भने छोरालाई घरमा राख्न पर्दा आफ्नो काममा जान समेत समस्या भएको बताउँछिन्। बुवाले खासै वास्ता नगर्ने बताउने उनी आफू एक्लैले घरको र बाहिरको काम भ्याउन कठिन हुने बताउँछिन्। चाहेर पनि छोराको रेखदेख र सिकाइमा समय दिन नसकेको स्विकार्छिन्।

‘स्कुल जाँदा केही सिक्थ्यो। टाइममा खान पाउँथ्यो। अहिले त न राम्रो खान पाको छ न केही सिक्न। कोभिड १९ कहिले जाला र छोरा स्कुल जाला भन्ने भइसक्यो।’

कोभिड १९ का कारण विद्यालय बन्द रहेपनि बालबालिकाको सिकाइले निरन्तरता पाउनुपर्छ भन्दै सरकारले रेडियो‚ टिभी‚ अनलाइनबाट वैकल्पिक सिकाइ प्रणाली लागू गरेको छ। तर अपेक्षाकृत रुपमा प्रभावकारी नभएको बताइँदै आएकोमा राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम संयोजक मनिष प्रसाई सरकारले अपाङ्गता भएका बालबालिकाको आवश्यकतालाई खासै ध्यानमा नराखेको भन्दै वैकल्पिक सिकाइ प्रणालीबाट अधिकांश अपाङ्गता भएका बालबालिका लाभान्वित हुन नसकेको बताउँछन्।

‘सरकारले सिकाइको माध्यम मात्र परिवर्तन गर्यो। तर उस्तै सिकाइ वा त्यसलाई थप प्रभावकारी बनाउन खासै कार्य गरेको देखिँदैन। हाम्रा अभिभावक‚ बालबालिका र शिक्षकहरू अझै पनि प्रविधि प्रयोगमा सहज देखिँदैनन्। कतिसँग त स्मार्ट फोन पनि छैन। टिभी नहुने पनि धेरै छन्। रेडियो सबैले सुन्न सक्दैनन्।’

सिन्धुपाल्चोकमा बौद्धिक अपाङ्गता भएकाहरूको अभिभावकहरूले एउटा संघ बनाएका छन् जसले बौद्धिक अपाङ्गता भएकाहरूका लागि डे केयर स्थापना सञ्चालन गरेको छ। तर कोभिड १९ महामारी फैलिएपछि सो डे केयर सेन्टर बन्द रहेको संघकी अध्यक्ष जानकी श्रेष्ठ बताउँछिन्। भन्छिन् ‘हामीकहाँ अठार उन्नाइस जना बौद्धिक अपाङ्गता भएकाहरू आउँथे। तर कोभिड १९ को महामारीपछि उनीहरू घरमै छन्। उनीहरूलाई सरकारले रेडियो‚ टिभी‚ अनलाइनले सिकाउन सक्दैन। शिक्षकको उपस्थितिविना उनीहरूको सिकाइ हुन अति कठिन छ। उनीहरूलाई विद्यालय खुलेपछि पनि सिकाइ प्रकृयामा जोड्न निकै चुनौती देखिन्छ।’ बौद्धिक क्षमता भएकाहरू मात्र नभइ अन्य अपाङ्गता भएका बालबालिकाहरू समेत वैकल्पिक शिक्षा प्रणालीबाट लाभान्वित हुन नसकेको उनको अनुभव छ।

केन्द्रीय तथ्याङ्क विभागको पपुलेशन मोनोग्राफ भोलुम २ अनुसार नेपालमा कूल जनसंख्याको ०.९९ प्रतिशत (९२,०१२ जना) ० देखि १४ वर्ष सम्मका बालबालिकामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ र ९२,०१२ जनामध्ये शारीरिक अपाङ्गता ३६.१ प्रतिशत,  दृष्टिविहीन १८.५ प्रतिशत, स्वरबोलाई सम्बन्धी अपाङ्गता १५.५ प्रतिशत, पूर्ण सुन्न नसक्ने १०.४ प्रतिशत, बहु अपाङ्गतामा ९.५ प्रतिशत, सुस्त मनस्थिति ४.५३ प्रतिशत, बौद्धिक अपाङ्गता ४.३ प्रतिशत र श्रवण–दृष्टिविहीन १.६ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क विभागको नेपाल बहु–सूचकाङ्क क्लस्टर सर्वेक्षण, २०७६ अनुसार २–१७ वर्ष उमेर समूहका बालबालिकामध्ये १०.६ प्रतिशतमा सुनाइ, हेराइ, बोलाइ, सिकाइ, हिँडाइ र भावना सम्बन्धी कुनै–न–कुनै प्रकारको कठिनाई भएको देखिएको छ।

विशेषगरी श्रवणदृष्टिविहिन, बहिरा, बौद्धिक अपाङ्गता, अटिजम लगायत सिकाइ सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरू सिकाइ अवसरबाट बञ्चित भएको पाइएको राष्ट्रिय अपाङ्ग महासंघका अधिकारीहरू बताउँछन्। उनीहरूलाई विशिष्ट डिभाइस, श्रव्य सामग्री, दोभाषे तथा सांकेतिक भाषाका सहयोगी आवश्यक पर्ने भन्दै सरकारसँग बारम्बार सम्वाद गरिरहेको भएपनि ठोस् उपलब्धी हाँसिल भइनसकेको उनीहरू बताउँछन्।

‘सरकारले रेडियो टिभी वा अनलाइनबाट सामान्य बालबालिकालाई सिकाउन खोजेको भएपनि अझै कति ती सेवा लिन सकिरहेका छैनन्। सामान्य बालबालिका र तिनका अभिभावकलाई त सेवा पुर्याउन सकेको छैन भने अपाङ्गता भएकाहरूको हकमा विशेष व्यवस्था गर्ने कुरा परकै विषय रह्यो। तर हामीले भन्न छोडेका छैनौँ।’ राष्ट्रिय अपाङ्ग महासंघका कार्यक्रम संयोजक प्रसाई भन्छन्।

महासंघका अध्यक्ष मित्रलाल शर्मा कोभिड १९ महामारीबीच बनेका सरकारी नीतिहरूले अपाङ्गता भएकाका हितमा केही व्यवस्थाहरू गरेको भएपनि तिनको कार्यान्वयनमा समस्या रहेको बताउँछन्। अपाङ्गता भएका विद्यार्थीहरूको सिकाइमा वैकल्पिक सिकाइ प्रणाली प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाइप्रति सरकारी अधिकारीहरू सहमत रहेको उनको भनाइ छ। अपाङ्गता भएका मानिसहरूको समस्या नबुझेका व्यक्तिले बनाएको नीति अपाङ्ग मैत्री नहुनु ठूलो आश्चर्य नहुने आशय व्यक्त गर्दै महासंघ अध्यक्ष शर्मा भन्छन् ‘स्थानीय तहमा बसेकाहरू अपाङ्गताको क्षेत्रमा केही गर्न चाहन्छन् तर उनीहरूसँग प्रविधिको कमी छ। उस्तै चाह र दृष्टिकोण नीति निर्माण तहमा हुनेहरूकोमा भइदिने हो भने अपाङ्गता भएका धेरै बालबालिकाहरू अन्य बालबालिका सरह पढ्न र सिक्न पाउँथे। उनीहरूको जीवन धेरै सहज हुन्थ्यो।’

 

 

 

:33 Views

Leave a Reply