निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो

संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षकले समयमा तलब सुविधा नपाएकोले नेपाल शिक्षक महासङ्घले अबको आन्दोलनको मुख्य कार्यसूची यही मुद्दालाई बनाउने बताएको छ ।

महासङ्घका उपाध्यक्ष तिलक कुँवरले निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता शिक्षकको अपमान हुने काम गर्न नहुने बताएका छन्।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रको आयोजनामा  ‘कोभिड–१९ पछि निजी विद्यालयका शिक्षकका समस्या’ विषयक छलफलमा उनले सो अभिव्यक्ति दिएका हुन्।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले धेरै शिक्षकले अहिले पनि गत चैतदेखिको तलब नपाउनु श्रम नियम विपरीत भएको जिकिर गरे । उनले आफूहरुको श्रमप्रतिको सम्मान नभएको विषयमा सम्बन्धित सरकारी निकाय र विद्यालय सञ्चालकलाई पटक पटक ध्यानाकर्षण गराइ सकिएको जनाए ।

कार्यक्रममा  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङले महामारीका कारण विद्यालय सञ्चालक पनि अप्ठ्यारोमा परेको बताए। तर शिक्षकको तलब रोक्ने काम कुनै पनि विद्यालयले गर्न नहुनेबारे सहमति जनाउँदै विद्यालय सञ्चालकहरुले पनि आफ्नो मर्यादा कायम गर्न पर्ने बताए।

चौतर्फी रुपमा सबैलाई परेको समस्याको घडीमा अभिभावक विद्यार्थीलगायत सरोकार भएका पक्षसँग सहकार्य र समन्वय गरी अघि बढ्न आवश्यक रहेको उनले बताए ।

शिक्षकको श्रमको मूल्याङ्कन हुनुपर्ने भन्दै शिक्षा अधिकारकर्मी बाबुकाजी श्रेष्ठले  सङ्घीय ऐनमा निजी विद्यालयलाई पनि समेट्न आग्रह गरेका छन्।  निजी विद्यालयको नियमन र व्यवस्थापनका लागि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रको उचित कार्यान्वयन गर्नपर्ने बताइएको थियो।

:45 Views

Leave a Reply