पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ

बालबालिकाको प्रभावकारी सिकाइको लागि उनीहरुको स्वास्थ्य र पोषणमा विशेष ध्यान दिन पर्ने विज्ञहरुले बताएका छन्। कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि उनीहरुलाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन उनीहरुले जोड दिएका छन्।

यतिबेला धेरै विद्यालयहरु स्वास्थ्य मापदण्डसहित खुल्ने तरखर गरिरहेको देखिन्छन्। उनीहरु अभिभावक‚ शिक्षक तथा अन्य सरोकारवाला निकायसँग छलफल गर्ने क्रममा भेटिन्छन्। कसैले असोजदेखि नै कतै दुई सिफ्ट त कतै तीन सिफ्ट गरी विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराइ पढाउन थालेको शिक्षक तथा प्रअहरुले शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा बताएका छन्।

कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको कुनै पनि अवस्थामा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य‚ जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका छन् ।

पोषणविद् डा उप्रेतीले बालबालिकालाई कुषोषणबाट जोगाउन जंक फुड अर्थात् पत्रु खानाबाट टाढा राख्न पर्ने बताइन्। पत्रु खाना सजिलै उपलब्ध हुने कारण कतिपय अभिभावकले आफ्नो व्यस्तताका कारण जानी नजानी आफ्ना नानीलाई उनीहरुको स्वास्थ्यमा गम्भीर असर पुर्याउने पत्रु खाना दिइरहेको र त्यस्तो खानाले बालबालिकाको जीवन बर्बाद पारिरहेको उनले बताइन्। बालबालिकाको स्वास्थ्य पहिला त्यसपछि सिकाइ भन्ने भावसहित कोभिड १९ महामारीका बेला र यसपछिको समयमा पनि बालबालिकाको स्वास्थ्यको लागि उनीहरुको सन्तुलित आहारमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।

काठमाडौँको पद्मकन्या माविका प्रधानाध्यापक रीता तिवारीले विद्यालयमा नर्सको समेत व्यवस्था भएकाले पत्रु खाना निषेध गराइएको जानकारी दिइन्।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले विद्यालय खोल्न हतार गर्न नहुने बताए। सबै स्थानमा विद्यालय खोल्ने स्थिति अझै नभएको र खोल्नु परेमा अनिवार्य मास्क लगाउने, हात धुने र सेनिटाइजर लगाउन छोड्न नहुने सुझाव दिए । विद्यालय सञ्चालनमा आएपछि त्यहाँ जनस्वास्थ्यका मापदण्ड पालना नभएमा विद्यालयबाट समुदायस्तरमा दोस्रो लहरको महामारी फैलन सक्ने प्रबल सम्भावना रहेको बताए।

ललितपुरको आदर्शशौल युवक माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले दैनिक तीन सत्रमा सञ्चालन हुनेगरी जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भइरहेको बताए ।

कार्यक्रममा सहभागी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घकी सचिव देवी खड्काले जनस्वास्थ्यका विषयवस्तुबारे अभिभावकमाझ सचेतना फैलाउन आवश्यक रहेको भन्दै महासङ्घले बालबालिकाको सिकाइ निरन्तरताको अवस्था सुधारको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताइन्। बालबालिकाको हेरचाहमा अग्रणी भूमिका निर्वाह गर्ने आमाहरुलाई बालबालिकाको स्वास्थ्य तथा उनीहरुको पोषणबारे थप सचेतना दिनु पर्ने भन्दै महासंघले सो विषयलाई आगामी दिनमा छलफलमा लाने बताइन् ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले विज्ञहरुका सुझावका आधारमा जनस्वास्थ्यका मापदण्ड पालना गरी शैक्षिक क्रियाकलाप अघि बढाउन पर्ने बताए ।

 

 

:39 Views

Leave a Reply