बासुमा स्वास्थ्य शिविर, २५० विद्यार्थी लाभान्वित

भक्तपुर ५ असोज ।भक्तपुरको बासु माध्यमिक विद्यालयले स्वास्थ्य शिविर गरेको छ । विद्यालयको प्राथमिक कक्षाका विद्यार्थीलाई लक्षित गरी सो शिविर सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

सो स्वास्थ्य शिविरबाट विद्यालयमा अध्ययन गरिरहेका २५० विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरुले जानकारी दिए ।

उनले सो शिविरका लागि भक्तपुर नगरपालिकास्थित जनस्वास्थ्य कार्यालयबाट प्राविधिक सहयोग प्राप्त भएको पनि बताए । उनका अनुसार सो शिविरमा डाक्टरहरु क्रमशः सुमिता चोलेख्व, सनिश कुसी, एभरेष्ट सुवाल र रेणु त्वानाबासुले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षणले विद्यार्थीमात्र नभएर अभिभावकहरु पनि खुसी भएको प्रावि इन्चार्ज दुमरुको भनाइ छ । उनले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुको स्वास्थ्यबारेमा विद्यालयले पनि चासो राख्नु र उनीहरुका स्वास्थ्य समस्या समाधानका लागि विद्यालयले प्रयास गरेको जानकारी दिए ।

विद्यालयले वार्षिक रुपमा दुईपटक निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको भन्दै उनले स्वास्थ्य समस्याका कारण विद्यालयमा अनुपस्थित हुने विद्यार्थीमा काम आएको पनि बताए ।

शिविरमा सहभागी विद्यार्थीहरुमध्ये अधिकांशमा मुख र दाँतसम्बन्धी समस्या देखिएको त्यसपछि पेटको समस्या देखिएको डा. सनिस कुसीले बताए । उनले विद्यार्थीहरुको दाँत माझ्ने समयमा अनियमित हुँदा, बजारमा पाइने खाना बढी खाँदा सो किसिमको समस्या देखिएको बताए ।

विद्यालयले भने विद्यार्थीलाई जंक फुड कम गराउनका लागि विशेष पहल गरिरहेको जनाएको छ । जंक फुड कम गर्नकै लागि विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालय आफैंले खाजा बनाएर खुवाउने गरेको छ ।

स्वास्थ्य शिविरको उद्घाटनको क्रममा प्रअ अम्बिका न्याइच्याईं, सहायक प्रअ लक्ष्मीभक्त लासिवा, डा. समिता चोलेख्व र शिक्षक सूर्यलक्ष्मी बासुकलालगायतले विद्यार्थीको स्वास्थ्यबारे चर्चा गरेका थिए ।

:654 Views

Leave a Reply