सबै शिक्षक दुर्गा सरजस्तै कहाँ हुनु ?

कक्षामा जानुभन्दा अघि म आज पढाउने चिज के हो ? त्यो विषयमा म राम्रोसँग अध्ययन गरेर जान्छु । चाहे मैले त्यहाँ विगत ५/६ वर्षदेखि पढाइरहेको विषय, पाठ किन नहोस् । म अध्ययन गर्छु, अनि त्यो विषयवस्तुसँग सम्बन्धित क्रियाकलाप के गराउन सक्छु त आज ? मसँग यत्ति समय छ भनेर तयारी गर्छु । अनि त्यसलाई आवश्यक पर्ने सामग्रीमध्ये तत्कालै मसँग उपलब्ध भएका सामग्री, विद्यालयमा उपलब्ध सामग्री, वा म आफैले छोटो समयमा निर्माण गर्न सक्छु भने, त्यो पनि गर्छु र कक्षामा प्रवेश गर्छु ।

मेरो एउटा विशेषता के छ भने फरकपन भनेको के हो भने ? मैले आज के पढाउने हो, कुन पाठन हो ? भनेर म कहिल्यै पनि विद्यार्थीलाई सोध्दिँन । विद्यार्थीले चाहिँ आज सरले के गर्नुहुन्छ? भन्ने कुरा नै थाहा नपाउने गरी म कक्षाको तयारी गर्छु । त्यसले उनीहरुमा उत्सुकता हुन्छ । सरले भोलि यो पढाउँदै हुनुहुन्छ भन्ने कुरा विद्यार्थीले भेउ नै पाउँदैनन् । म फेरि पाठ्यपुस्तकका पाना पाना गएर, क्रम अनुसार पढाउँदिन । आज पेज नम्बर २१, भोलि २२ नम्बर भनेर म पढाउँदिन । म विषयवस्तुसँग कुन चाहिँ पाठ, विषय मेल खान्छ, कनेक्सन कुन पाठसँग छ ? भन्ने खोजेर पढाउँछु ।

म कक्षामा क्रियाकलापबाट मात्र पाठको सुरुवात गर्छु । कुनै एउटा सानो क्रियाकलाप, त्यो २/३ मिनेटको भए पनि काफी छ । त्यसमा म पनि सहभागी हुन्छु । म त्यसै क्रियाकलापलाई जोडेर पढाउने विषयसँग जोड्छु । मेरो प्राय : कक्षा क्रियाकलापमा आधारित हुन्छ । त्यसको तयारी म अघिल्लो दिन र जानुभन्दा अगाडि नै गर्छु । पोहोरसाल गरेका केही क्रियाकलाप मलाई चित्त बुझेको हुँदैन, त्यसलाई सुधारेर पनि म क्रियाकलाप गर्छु । मैले त्यो विषय जतिवर्षदेखि पढाइरहेको भए पनि एकपटक कन्टेन्टलाई नहेरीकन,पाठ्यक्रमलाई नबुझिकन म कक्षामा प्रवेशै गर्दिँन ।

विद्यार्थीहरुमाझ शिक्षक दुर्गा पाण्डेय

म गएको १० वर्षदेखि निरन्तर रुपमा पेशागत सीप विकास कसरी गर्न सकिन्छ ? भनेर अनुसन्धान, खोजी गर्ने क्रममै छु । म नेल्टा, दाङको संस्थापक अध्यक्ष पनि हुँ । त्यही संस्थाको कारणले गर्दा मैले ७ हप्ताको अमेरिका भ्रमणमा जाने अवसर पनि पाएँ । यस्ता संस्थाहरु धेरै छन् । ती संस्थाहरुका हरेक कार्यशाला, गोष्ठी, सम्मेलन सबैमा म सकेसम्म सहभागी हुन्छु । त्यहाँ सहभागी हुँदा त्यहाँका प्रशिक्षक वा सहजकर्ताहरुले जुन क्रियाकलाप गराउँछन्, त्यसलाई म नोटकपिमा टिप्छु । त्यो क्रियाकलापलाई म आफूले पढाउने विषय, पाठसँग कहाँ जोड्न सक्छु ? भनेर खोज्छु ।

अनलाइनमा पनि यस्ता धेरै कुराहरु पाइन्छन् । मैले म्यासिभ ओपने अनलाईन कोर्समा यही विद्यालयका कक्षा ९ र १० विद्यार्थीलाई जोडेको छु । मैले तिनीहरुलाई आफ्नै अनलाइन खोल्न लगाएर निः शुल्क रुपमा अनलाईन कोर्सबारेमा जानकारी दिने र त्यसबाट पनि पढ्न सकिने कुरा बताउँछु । त्यसअनुसार काम पनि भइरहेको छ । कपिय विद्यार्थीले त्यसमार्फत्. पढिरहेका छन् । म पनि आफ्नो पेशागत विकासको लागि अनुलाइन कोर्स गरिरहेको छु । त्यो कोर्समा यस्ता स्रोतहरु हुन्छन् नि, जसले गर्दा मलाई लेशन प्लान, एक्टिभिटी र क्रियटिभीटी गराउन आइडिया हुन्छ । त्यहाँ थुप्रै तरिकाहरु उपलब्ध छन् । ती उपलब्ध भएका चीजहरुलाई हामीले आफ्नो पाठअनुसार जोड्ने हो । त्यसैगरी ब्रिटिस काउन्सिलको वेभसाइट, अमेरिकन एम्बासेको वेभसाइटमा पनि शिक्षकका लागि अनगिन्ती शिक्षण सीपका तरिकाहरु पाइन्छ । त्यसकारण खोज्ने र संकलन गर्छु भन्नेका लागि दुनियँमा अल्याख स्रोतहरु छन् । शिक्षकले खोज्नुपर्छ ।

शिक्षक आत्मउत्साहित हुनु जरुरी छ । हामीमध्ये धेरैलाई सँगै नास्ता खाना जाउँ, चिया खान जाउँ भनेर कोहीले भनेको खण्डमा रहर लाग्छ, सँगसँगै घुम्न जाउँ, पिकनिक जाउँ भने राम्रो लाग्छ । कोहीलाई खाना पकाउन, कोहीलाई तास खेल्न, कोहीलाई साँझतिर साथीहरु बसेर रमाइलो गर्न मन लाग्छ । जुन क्षेत्रमा आफू रमाउन सकिँदैन नि, जुन काम गर्दा आफू रमाउन सकिँदैन नि, त्यो कामै गर्नुहुन्न । त्यस्तो काम गर्यो भने अकालमै मरिन्छ । किनभने, तपाइँ त्यो कामबाट सन्तुष्ट हुनुहुन्न, सन्तुष्ट नभएपछि तपाइँलाई दिक्क लाग्छ, चिन्ता लाग्छ । त्यो हुँँदा मान्छे जागिरे भइन्छ, जागिरे भए पनि मान्छे अकालमै मर्छ । जागिरे मात्र भएपछि रक्तचाप बढ्छ, विभिन्न रोग लाग्छ । म धेरै शिक्षकहरुलाई यही कुरा भन्छु तर, साथीहरुले यो कुरा बुझ्दैनन् ।

म आफैं यो पेशमा उत्साहित छु । मलाई उत्साहित गर्ने काम मेरो विद्यार्थीले गरिरहेका छन् । मेरो विद्यालयले गरेको छ, मेरो हेडसरले गर्नुभएको छ । मेरो परिवारले गरेको छ । पहिलो कुरो मेरो मोटिभेटर म आफैं हुँ ।

शैक्षिक भ्रमणको क्रममा एक विद्यालयअघि शिक्षक पाण्डेय

जब म विद्यार्थीलाई कक्षामा खुसी देख्न सक्तिँन, त्यो दिनलाई मैले बेकारको दिन मानेको छु । जब म कक्षाबाट निस्कन्छु, तब विद्यार्थीले मलाई मुस्कानसित बिदाई गर्छ, उत्साहित भएर, बाई सर, सि यु टुमरो सर भन्दा मलाई एक प्रकारले उर्जा आउँछ । विद्यार्थी भनेका हाम्रा लागि क्टालिस्ट हुन् । म विद्यार्थीलाई खुसी पार्छु, उनीहरु मलाई खुसी दिन्छन् । त्यसैले म कितावहरु पढ्छु, इन्टरनेटमा बस्छु, समाजिक सञ्जालमा पनि व्यस्त हुन्छु । त्यस्तो बेलामा केही न केही सामग्री भेटियो भने, त्यसलाई कहिँ न कहिँ लिंक गर्न सकिन्छ कि भनी सोच्छु ।

हामीसँग समय भनेको २४ घन्टा नै हो । त्यसलाई व्यवस्थापन गर्न पनि जान्नुपर्छ् । विषय केन्द्रीत रहेर दिनदिनै आधाघन्टा, एकघन्टा बसेको खण्डमा त आवश्यक उपाय त फेला परिहाल्छ । चौबिसै घन्टा त्यसमै दिनुपर्छ भन्ने छैन । तर फेसबुकमा लाइक गर्ने, कमेन्ट गर्ने, अनावश्यक कुराहरु हेर्न थाल्ने हो भने इन्टरनेटमा बढी समय बर्बाद हुने हो । आफूलाई चाहिने चीजमात्र खोज्ने, हेर्ने गरेको खण्डमा पनि समय मिल्छ । तर अलि खर्चिलो छ । सानो मन भएका, चित्त सानो भएका शिक्षकलाई गाह्रो छ । सानो सानो कुरामा पनि हिसाब राख्ने, पाइलैपिच्छे पैसा खोज्ने शिक्षकहरुले त यो गर्न निक्कै मुश्किल छ ।

समाजमा मात्र होइन, विद्यालयमै पनि दुई खालका मान्छेहरु छन् । एकथरि राम्रो गर्यो, अब मैले पनि त्यो अनुसार गर्नुपर्छ, त्यसले दुःख मात्र थप्ने भाये भनेर चिन्ता गर्ने स्वभावका, अर्कोथरि भने राम्रो गरेको छ, मैले पनि केही सिक्न पाउँछु भन्ने खालका छन् । यहाँ मलाई कोहीले पनि निरुत्साहित बनाउने काम भएको छैन ।

दुर्गाप्रसाद पाण्डे, शिक्षक पद्मोदय पब्लिक नमूना मावि, दाङ, घोराही मावि

पीपी प्रसाइँ फाउण्डेशनद्वारा २०७४ सालमा ‘राष्ट्रिय उत्कृष्ट शिक्षक सम्मान’ बाट सम्मानित शिक्षकसँग हरिसुन्दर छुकांले गरेको कुराकानीमा आधारित ।

:2428 Views

Leave a Reply