आजैबाट सुधारौं अक्षर : नत्र ज्यान लिन सक्छ !

सबिना बानियाँ

भक्तपुर, ९ असोज । के ह्याण्डराइटिङले ज्यान लिन सक्छ ? ह्याण्डराइटिङले कसरी ज्यान लिन्छ ? विश्वास गर्न गा¥हो हुन सक्छ तर संसारमा ह्याण्डराइटिङकै कारण ज्यान जाने गरेको तथ्यांक पनि छ ।

नेपालमा यसको तथ्याङ्क नभए पनि, सन् २००६ को जुलाईमा ‘नेशनल एकेडेमीज् अफ साइन्स इन्ष्टिच्युट अफ मेडिकल’ ले गरेको अनुसन्धानका अनुसार वार्षिक डाक्टरले नबुझिने अक्षर (अर्थात् बोलिचालीको भाषामा फोहोर र नराम्रो अक्षर) लेख्दा विश्वमा ७ हजार भन्दा बढि बिरामीको मृत्यु भएको छ । यसैले शिक्षा अभियन्ता दिपक बास्कोटाले डाक्टरले लेखेको प्रत्येक अक्षर महत्वपूर्ण रहेको बताउँदै अक्षर राम्रो हुनुपर्ने बताए ।

‘डाक्टरले लेखेको अक्षर नबुझ्दा गलत औषधी पर्न गई बिरामीको ज्यानै जाने गरेको छ, यसैले यो विषयमा अहिलेदेखि नै होसियारी अपनाउनुपर्छ,’ उनले भने, ‘आजका बालबालिका नै भोलिका डाक्टर, इञ्जिनियर हुन्, तिनीहरुको अक्षर नराम्रो वा नबुझिने भयो भने, पहिलेको घटनाले निरन्तरता पाउँछ ।’

उनका अनुसार नेपालमा नबुझिने अक्षर लेख्ने डाक्टर वा चिकित्सकहरु नभएका हैनन् तर बाहिर आएको भने छैन । र त, उनी जोड दिन्छन्, ‘अक्षरको महत्व कतिसम्म छ भनेर हामीले जापानको उदाहरण लिन सक्छौं । टेक्नोलोजीमा अगाडी छ जापान, त्यहाँको परीक्षा कम्प्युटर प्रणालीबाट हुने भए पनि अक्षर लेखनमा बालबालिकाको ध्यानमा कमी आएको भन्दै केही समय अगाडी बालबालिकालाई दिनको कम्तिमा १ घण्टा अनिवार्य अक्षर लेखाइनु पर्ने जापानको संसदले नै पारित गरेको छ ।’

नेपालमा अक्षरको महत्व बुझेर केही स्कुलले शिक्षक नै राखे पनि सरकारी तवरबाट यसमा ध्यान दिन नसकेको उनको गुनासो छ । अक्षर राम्रो भए बालबालिकाको पढाइमा, व्यवहारमा, सम्झन सक्ने क्षमता बृद्धि भई टिभि, कार्टुन हेर्ने बानीमा समेत कमी आउने उनको विश्वास छ ।

अक्षर मानिसको पहिचानको बिषय भएकोले गर्दा अक्षर विद्यार्थी जीवनमा मात्र नभई सम्पूर्ण पेशाकर्मीलाई उत्तिकै महत्वपूर्ण छ ।

यता ह्यापी किड्स फाउन्डेशनका निर्देशक अभिषेक घिमिरे स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा डाक्टरको लापरवाहीका कारण विरामीले गलत औषधी सेवन गरिरहेको गुनासो पोख्दै त्यसको निराकरणका लागि सानै उमेरदेखि नै विद्यार्थीलाई प्रशिक्षणको खाँचो रहेको औंल्याए ।

‘सडक दुर्घटना भएमा ड्राइभरलाई दोष दिने होइन कि बाटो राम्रो बनाउने, खाल्टो नबनाउन, देशको प्रणालीमा परिवर्तन गर्नुपर्छ, त्यस्तै डाक्टरले किन डाक्टरको अक्षर राम्रो भएन भनेर समाधान खोजिनुपर्र्छ, यसमा प्रणालीमा नै सुधार गरिनुपर्छ ।’ डाक्टर बन्ने मुहानबाटै राम्रो अक्षरको अभ्यास गर्नुपर्ने त्रि.वि.शिक्षण अस्पतालका हेमाटोलोजिस्ट अन्जन श्रेष्ठ भन्छन् ।

 

:1344 Views

Leave a Reply