पहिला हामी आफै सुध्रियौं, त्यसपछि विद्यालय

राजकुमार बस्नेत / सूर्यविनायक नगरपालिका वडा नं. ७ को भैरबी आधारभूत विद्यालय २०३६ सालमा स्थापना भएको हो । स्थापनाको समयमा गतिलै विद्यार्थी पाएको उक्त विद्यालयले समयक्रमसँगै दुर्गति पनि भोगे । विविध कारणले क्रमश : विद्यार्थी संख्या घट्दै घट्दै आएपछि २०६२/६३ मा आएपछि त जम्माजम्मी ५/६ जनाको हाराहारीमा भए । २०६६/६७ मा आउँदा अझ कम भयो । जिल्ला शिक्षा कार्यालयले त मर्ज गर्ने पत्र समेत दिएको थियो । तर चालू शैक्षिक सत्रदेखि भने विद्यालयमा परिर्वतन भएको छ । अहिले १६ जना शिक्षक र ९२ जना विद्यार्थी भएका छन् । पहिला ८ सम्म चलेको विद्यालय अहिले ५ सम्म सञ्चालनमा छ । क्रमशः अपग्रेड गर्दै लैजाने विद्यालयको सोच छ । विद्यालयमा आएको परिवर्तनबारे विगत ३० वर्षदेखि विद्यालयमा आवद्ध शिक्षक एवं एक वर्षअघिबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएका राजकुमार बस्नेतसँग गरिएको कुराकानीको अंश :

दुई वर्षअघि र अहिले आएको परिवर्तनहरुको सूची के के हुन् ?
भौतिकमा आकाश र पातालकै फरक भएको छ । सबैभन्दा पहिला त स्कुल आउने बाटो बन्यो । कक्षाकोठाहरु सजावट गरियो । कक्षाकोठामा रंगरोगन गरियो । बाहिरी वातावरणलाई चुस्त बनाएपछि अभिभावकलाई आफ्ना बच्चा ल्याएर भर्ना गराऊँ गराउँ भयो । यति राम्रो ठाउँ पाएपछि बच्चाले पढ्छ भन्ने वातावरण सिर्जना गरियो । त्यसपछि हामी शैक्षिक वातावरण कसरी सुधार्न सकिन्छ भनेर लाग्यौं । चिन्तित हामी सबै छौं र काम गरिरहेका छौं । अहिलेको अवस्था हेर्दा, प्रगति हेर्दा अर्को साल थप एकसय विद्यार्थी थप्ने लक्ष्य बनाएका छौं । अब हामी परीक्षा लिएर मात्र भर्ना लिने भन्ने मानसिकतामा छौं, त्यसको तयारी पनि भइरहेको छ ।

यो नौ महिनाको अभ्यास हो । नौ महिनामा हामी यत्ति खट्यौं, यति खट्यौं, यत्ति झुक्यौं त्यो लेखाजोखा छैन । बेलुका सात बज्दा पनि घ्याम्पे डाँडामा अभिभावककसँग थियौं हामी । दूध चुसाउनुपर्ने सन्तान छोडेर पनि शिक्षिकाहरु अब स्कुल बनाउने, राम्रो गर्ने भनेर लागेका थिए । हामी तीनपटक अभिभावकका घरघर पुग्यौं । कहिले चिठी लिएर पुग्यौं, कहिले कार्यक्रम लिएर पुग्यौं । प्रचारप्रसार पनि व्यापकै गर्यौं । एक वर्ष हामीले प्रचारप्रसारकै वर्षका रुपमा लियौं ।

शिक्षकहरुको मिहिनेत, अभिभावकमा आएको चेतनाकै कारण यत्ति छोटो समयमा परिवर्तन भएको हो ।
पहिला हामी आफै सुध्रियौं । पहिला हामी १० बजे आउँथ्यौं, स्कुल आएर नि हाम्रो काम थिएन, बच्चै थिएन के पढाउनु ? को अवस्था थियो । दिनभरी गफ गथ्र्यौ । २/३ बजे स्कुलबाट जान्थ्यौं । पछि हामी पौने दशबजे स्कुल पुग्न थाल्यौं, चार बजेपछि पनि स्कुलमा बसेर स्कुलको बारेमा चिन्तन गर्न थाल्यौं । त्यो गरेर पनि अभिभावकको मन जितियो ।

जागिर भन्ने कुरा बसेर खाएर हुन्न । हामी शिक्षकको ठूलो जिम्मेवारी छ । शिक्षकले नै भोलि देश हाँक्ने व्यक्ति तयार गर्नुपर्छ । यो जिम्मेवारी सबैले बहन गर्नुपर्छ, हामी बहन गरौं भनेर हामीले सामुहिक कटिवद्धता जनायौं । बनाउँछौं भनेर लागेपछि हामी निरन्तर रुपमा लाग्यौं । निरन्तर रुपमा लाग्दा हुँदो रहेछ भन्ने प्रमाणित भयो । भैरबी जाग्यो । अब हामी यो स्कुललाई राष्ट्रकै नमूना बनाउनुपर्छ भनेर लागिरहेका छौं ।

दुई वर्ष अघि स्कुलले यसरी कोल्टे फेर्छ भन्ने सपना देख्नुभाथ्यो ?
थिएन, थिएन । जागिर खाने, पेन्सन पाकिहाल्यो, अब अभिभावकहरुको ह्या माष्टरले अब जागिर छोडेर बस्यो भनाउनुभन्दा फलानो सरले, पलानो म्याडमले जागिर छोडेर घर बसे भन्नु पार्नुपर्छ भन्ने कुरामा छलफल भयो ।

धेरै कार्यक्रम भयो, अभिभावक भेला भए । अभिभावकलाई बुझाउने काम भयो । जतिले बुझे बच्चा ल्याएर भर्ना गरे । यो वर्ष हेरौं भन्ने अभिभावक छन्, के होला होला ? भोलि भैरबी बिग्रन पनि सक्ला नि भन्ने अभिभावक पनि छन् । उहाँहरुलाई पनि भनेको छु, भोलि भर्ना गर्नुपर्यो भनेर व्यवस्थापन समितिका सदस्य, यहाँका सर मिसहरुलाई गुहार्ने दिन नआओस्, ठिक छ एक वर्ष हेर्नुस भनेको छु । यो निरन्तर रुपमा जान्छ । यो भैरबी आधारभूत स्कुलले एक फड्को मात्र हैन कि उनान्सय फड्को मार्यो होला । छोटो समयमा ।

हेडसर भइसकेपछि के के गर्नुभयो ?
म यो स्कूलको हेडसरमा जुन दिन सिफारिश भएँ, बिहान ७ बजे सिफारिश भएँ, ८ बजे घर गएँ । एक वर्षभरीको कार्ययोजना बनाएँ । नौ महिनाको योजना बनाएँ । नौ महिनाभित्र हामी के के गर्छौं भनेर योजना बनाइयो ।

नयाँ विद्यार्थी पनि नौ महिनाभित्रै ल्याएर भर्ना गर्ने योजना सहित विद्यालयलाई कसरी राम्रो बनाउने भनेर कार्ययोजना तयार पारेँ ।

तीनदिन त मलाई कार्ययोजना बनाउनै लाग्यो । कार्ययोजना बनाइरहेकै बेला एपरन भन्ने संस्थाबाट फोन आयो । त्यो फोन उठाएपछि तपाइँको विद्यालयलाई चाहिने सामानहरु के के हुन् ? भनेर सोधनी भयो । एपरेनले इसिडीका बच्चाहरुलाई सहयोग गर्न सामग्रीको लिस्ट मागेको छ । तर ती सामानहरु के होला ? भन्ने कुरा सोच्न थालेँ । मैले त्यो काममा यही वडाका वडाध्यक्ष रवीन्द्र सापकोटा र सांसद महेश बस्नेतको सहयोग मागेँ ।

त्यतिको भरमा विद्यालय र शिक्षकलाई अभिभावकले पत्याए ?
हैन, बालकबालिको पढाइमा हामी सम्झौता गर्दैनौं । त्यसको जिम्मा म लिन्छु भनेर मैले आँटे । मैले सार्वजनिक रुपमै पनि भनेको छु ।अन्य विद्यालयभन्दा एक कदम अघि बढेको विद्यार्थी यहाँबाट उत्पादन हुन्छन् ।

हेडसर भएपछि स्कुल राम्रो बनाउनुपर्छ भन्ने चेत कहाँबाट आयो ?
मैले म हेडसर भएको छु, म यहिँको हुँ, भोलि यहिँ मर्नुपर्छ, राम्रो काम गर्छु भनेर अभिभावकलाई भनेपछि अभिभावकको मन जित्न सफल बनेका हौं ।

म विद्यालयमा हेडसर भएको एक वर्ष भयो । मैले समन्वय गरेर स्कुल अघि बढाएँ । जनप्रतिनीधिहरुले पनि स्कूल बनाउने हो भने हामी साथ दिन्छौं भनेर भन्नुभो, अनि अझ हौसला मिल्यो ।

के के गर्नुभयो सुरुका ती दिनमा ?
हामीले सुरुमा अभिभावक भेला गर्यौं, अभिभावक घेटघाट कार्यक्रमलाई नै बढी जोड दियौं । साथसाथै हामीले पहिला यो स्कुलको सेवा क्षेत्रभित्रबाट कति विद्यार्थी बाहिर वा अन्यत्र पढ्न जाँदा रहेछ भन्ने अध्ययन गर्यौं । त्यो अध्ययनले सातसय विद्यार्थी अन्यत्र वा भनौं संस्थागत विद्यालयमा पढ्न गइरहेको हामीले पायौं । त्यो तथ्यांक आएपछि अब केही गरौं भनेर हामी घरघरमा गयौं । सबैलाई कन्भिन्स गर्यौं ।

सरकारी कितावमा अभिभावकको विश्वास भएन । अँग्रेजी मोह बढ्यो । हामी लोकल बोर्डिङले पढाउने अँग्रेजी हामी पढाउँदैनौं भनेर भन्यौं । हामी काठमाडौंका उत्कृष्ट बोर्डिङ स्कुलले जस्तै गरी पढाउँछौं भनेर भन्यौं । हामी विभिन्न संस्थागत विद्यालयसँग समन्वय गरेर निजी स्कुलले भन्दा तगडा शिक्षा दिन्छौं, तपाइँका बालबालिका भैरबीमा पठाउनुस् भनेर हामी पटकपटक अभिभावककोमा गयौं ।

:3284 Views

Leave a Reply