पाठ योजना एउटा सोच हो

ललितपुर गोदावरीस्थित छम्पी देवी माध्यमिक विद्यालयमा माध्यमिक तहमा सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक रमेशप्रसाद आचार्य विगत ३ दशकदेखि शिक्षण पेशामा लागिरहेका छन् । उनले समाजशास्त्र तथा मानवशास्त्र र शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । शिक्षाशास्त्रमा एक वर्षे स्नातक गरेको समयमा पाठ योजना बनाउन सिकेका उनीसँग पाठ योजनसँग सम्बन्धित रहेर नुवागीले गरेको कुराकानीः

पाठ योजनालाई कसरी ब्याख्या गर्नुुहुन्छ?
पाठ योजना चरणबद्ध रूपमा गरिएको योजना हो । शिक्षकले कुनै पनि पाठलाई के उद्देश्यका साथ पढाइन लागिएको हो र त्यसलाई कति र के क्रियाकलापको प्रयोगबाट अगाडि बढाउने भन्ने कुराको योजना गरिनु नै पाठ योजना हो । प्रत्येक शिक्षकले आफ्नो विषयको पाठ योजना बनाएर शिक्षण गर्नुपर्छ । कक्षामा प्रवेश गर्नु अघिको तयारीलाई पाठ योजनाको रूपमा लिने गरेको छु ।

एउटा शिक्षकको दैनिक ६ पिरियडसम्म हुन्छ । त्यो सबै कक्षाको दैनिक रूपमा फाइलमा नै मेरो विशिष्ट उद्देश्य यो, साधारण उद्देश्य यो, यो किसिमको क्रियाकलाप भनेर दिनदिनै लेखेरै जाने प्रचलन चाहि एकदमै कम छ । यसको मतलब योजना नबनाउने भनेको होइन । योजना बनाएर नै कक्षाकोठामा प्रवेश गरिन्छ ।

पहिलोपटक पाठ योजना बनाएको कहिले हो याद छ तपाईँलाई ?
मैले कक्षा १० पढ्दा ऐच्छिक विषय ‘शिक्षा शिक्षण’ लिएर अध्ययन गरेको थिएँ । त्यहि वर्ष वि.स. २०४२ सालमा नै मैले पाठ योजना भनेको के हो र यसका विषयमा थोरै ज्ञान पाएको थिएँ । शैक्षिक योजनाको बारेमा जानकारी पाएको थिएँ । र शिक्षकले कक्षाकोठाभित्र जानुपूर्व पाठ योजना बनाउनुपर्छ भन्ने कुरा थाहा पाएको थिएँ । त्यसको २ वर्षपछि प्राथमिक तहको शिक्षण पेशामा लागेँ । त्यतिबेलामा पाठ योजना बनाउने गरिँदैनथ्यो ।

मैले वि.सं. २०५१ सालमा एक वर्षे बिएडको प्रयोगात्मक शिक्षण गर्दा पहिलो पटक पाठ योजना बनाएको थिएँ । त्यहि एक वर्षे शिक्षाले मलाई पाठ योजना कसरी बनाउने भन्ने कुरा सिकाएको हो । लिखित रूपमा पाठ योजनापछि बनाएको भएता पनि शिक्षण पेशा सुरु गर्दा नै मनोवैज्ञानिक रूपमा योजना बनाएरै पढाइन्थ्यो ।

तपाईँ पाठ योजना कसरी बनाउनुहुन्छ ?
राम्रो नतिजाका लागि शिक्षक सिकाई क्रियाकलाप अत्यन्त महत्वपूर्ण हुन्छ । पाठ योजना बिनाको शिक्षण अधुरो हो । पाठ योजना शुरु शुरुमा सूचनासंग्रहकै रूपमा फाइलमा भरेर पाठ योजना बनाउने गर्थेँ । शिक्षक कक्षामा जानुअघि उसँग पाठ योजना हुनु आवश्यक कुरा हो । तर लामो वर्षसम्म त्यहि कक्षा र उहि विषय पढाउँदा फाइल नै भरेर पाठ योजना बनाउनुपर्छ भन्ने हुँदैन । पाठ योजना एउटा टेम्प्लेट भर्नु नभई यो एउटा सोच हो ।

हामी बिना पाठ योजना कक्षामा जाँदैनौँ । सामान्य रूपमा आफूलाई काम लाग्ने गरेर आफ्नो डायरीमा पाठ योजनालाई टिपोट गरेर पनि जान सकिन्छ । आज यो पाठ पढाउँछु, यो पाठको यस्तो उद्देश्य हुन्छ र मेरा विद्यार्थीलाई आज यति पढाउँछु र उनीहरूबाट यस्तो किसिमको प्रतिक्रिया आउला भन्ने तयारी गरेर नै जान्छु । मेरो ३ दशकको अनुभवले पनि मैले मानसिक रूपमा योजना गरेर कक्षाकोठामा प्रवेश गर्ने गरेको छु । यो पाठ पढाउने यो उद्देश्यको साथ भनेर योजना गर्ने गरेको छु । विद्यार्थीलाई प्रदर्शनी नै गरेर देखाउने खालको पाठ योजना नभएपनि पाठ योजना बनाउछौँ ।

त्यसमा घण्टी समय, विशिष्ट उद्देश्य, साधारण उद्देश्य, विद्यार्थी सङ्ख्या, क्रियाकलाप, गृहकार्य र मूल्याङ्कनलाई समावेश गर्ने गरिएको हुन्छ । पाठको लम्बाईभन्दा पनि पाठको आवश्यकता हेरेर पाठ योजना बनाउनुपर्छ । मेरो सन्दर्भमा कुन पाठ के उद्देश्यले मात्र टिपेर अरु कुरा मानस्टलमा राखेर जान्छु । जस्तै ‘हाम्रो सम्पदा’ भन्ने पाठ पढाउनु पर्यो भने मानौ पाठ्यपुस्तकमा पशुपतिनाथको मन्दिरको फोटो दिएको छ, म विद्यार्थीलाई नजिकैको कुनै एउटा मन्दिर लिएर जान्छु र त्यहाँ गएर सम्पदा चिनाएर यसलाई संरक्षण गर्नुपर्ने विषयमा विद्यार्थीलाई बताउँछु । कुनै पाठमा विद्यार्थीलाई सम्वाद र वादविवाद गराएर पनि पढाउन सकिन्छ ।

सधैँ विद्यालय प्रमुखले नै पाठ योजनालाई जाँच गरेर अगाडि बढ्ने भन्ने त्यति व्यवहारिक नहुन सक्छ । पाठ योजना भनेको शिक्षकले आफ्नो तरिकाबाट गर्ने हो । यसको केही कुरा भएपनि टिपोट गर्नुपर्छ । अझ भन्नु पर्दा म व्यवहारिक पाठ योजना बनाउने गर्दछु ।

पाठका लम्बाई, चौडाईलाई भन्दा पनि शिक्षकहरूले उद्देश्य र पाठ्यक्रमलाई ध्यानमा राखेर पाठ योजना बनाउनु पर्छ । पाठ योजना बनाउँदा विद्यार्थीको रुचि, उमेर र क्षमतालाई ध्यानमा राख्नुपर्छ ।

शिक्षकलाई पाठ योजनाको आवश्यकताबारे तपाईको धारणा के छ ?
पाठ योजनले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँछ । हाम्रो दैनिक क्रियाकलापमा पनि योजनासहितको हिँडेको र योजना बिना हिँडेको मानिसहरूको हिँडाइ र रफ्तार फरक–फरक हुन्छ । ठाउँ ठाउँमा अल्मलिन्छन् योजनाविना हिँडेका मानिसहरू । योजना बिना गरिएको कुनै पनि काम प्रभावकारी हुँदैन । पाठ योजना बिना नै एउटा शिक्षक कक्षाकोठामा प्रवेश गर्नु हँुदैन ।

पाठ योजना बनाउनमा पाठ्यक्रमले कसरी मद्दत गर्छ ?
पाठ्यक्रम भनेको शिक्षकको खाना खाने प्लेट हो । शिक्षकको आधार नै पाठ्यक्रम हो । सामान्यतया पाठ्यक्रमलाई आधार नै नमानी शिक्षण गरिन्छ भने त्यो शिक्षण राम्रो हुँदैन । पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार भएको हुन्छ भने पाठ्यक्रमको आधारमा पाठ योजना बनाउनु पर्छ । एउटा शिक्षक आफ्नो विषयको पाठ्यक्रमको बारेमा ज्ञात भएको हुनुपर्छ । अझ पनि कति शिक्षकहरू पाठ योजनाको मुख्य स्रोत पाठ्यपुस्तकलाई मान्नु हुन्छ । पाठ योजना बनाउन पाठ्यपुस्तक पनि हेर्नुपर्छ तर यसको मुख्य स्रोत भनेको पाठ्यक्रम नै हो । पाठ योजना बनाउँदा पाठ्यक्रमले निर्देशन गरेको उद्देश्य प्राप्त गर्ने किसिमको बनाउनुपर्छ । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन पाठ सुहाउँदो किसिमको शैक्षिक सामग्री छनोट गर्नुपर्छ ।

पाठ योजना बनाउँदा केको आधारमा समयसीमा निर्धारण गर्नुहुन्छ ?
सामान्यतया परम्परागत किसिमको ढाँचामा एउटा पाठलाई एउटा घण्टी दिने, लामो पाठ छ भने दुई दिन र कथा तथा दन्ते कथा छ भने ५ दिन पढाउने भनेर आफ्नो किसिमको व्यवस्था हुन्थ्यो । पाठका शब्द धेरै भए धेरै समय र थोरै भए थोरै समय भनेर किटान गरिने गरिन्थ्यो । तर त्यस्तो नभई पाठको आवश्यकता र त्यसमा भएको तत्वहरूको आधारमा कुन पाठलाई कति समय दिने भन्ने छुट्याउन सकिन्छ । अहिले पाठ्यक्रममा पनि विशिष्टिकरण तालिका बन्न थालेका छन् । ४५ मिनेटको एउटा घण्टीमा ३५ मिनेटको पाठ योजना बनाउन सकिन्छ । हामीसँग थोरै समय छ भने धेरै उद्देश्य लिएर पाठ योजना बनाउनु भन्दा बरु थोरै उद्देश्य लिएर पाठ योजना बनाउनु पर्छ तर त्यसलाई पूरा गर्नुपर्छ । एउटा पिरियडमा कति समय शिक्षण सिकाई क्रियाकलापलाई छुट्याउने भनेर योजना बनाउनुपर्छ ।

पाठ योजना बनाउन वार्षिक योजनाले के मद्दत गर्छ ?
वार्षिक योजनाको आधारमा नै हामीले पाठ योजना बनाउन हो । गोदावरी नगरपालिकामा भएका सामूदायिक विद्यालयको क्यालेन्डर छ । त्यहि क्यालेन्डर अनुसार त्रैमासिक र एकाई परीक्षाको लागि समय छुट्याएका हुन्छौँ । एउटा त्रैमासिक परीक्षा अगाडि एउटा पाठलाई कति समय र कति घण्टी दिने भनेर योजना शैक्षिक वर्षको सुरुमा नै बनाउने गर्छौँ । यसलाई हामी प्रमाण वा सूचनासंग्रहका रूपमा राख्ने गर्छौँ ।

विद्यार्थीमैत्री पाठ योजना बनाउन के के कुरामा ध्यान दिनु पर्छ ?
अहिलेको पढाई विधि भनेकै गरेर सिक्ने भन्ने अवधारणामा आधारित छ । विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गत रहेर विद्यार्थीलाई बढी सक्रिय बनाउनेमा ध्यान दिने गर्नुपर्छ । शिक्षकले मार्ग निर्देशक, मध्यस्थकर्ता, सहजकर्ताको रूपमा रहनुपर्छ । विद्यार्थीलाई एकोहोरो व्याख्या मात्र नभई उनीहरूलाई सहभागी गराएर सिकाउनुपर्छ । त्यसका लागि पाठ योजनालाई विद्यार्थी केन्द्रित बनाउनुपर्छ ।

क्रियाकलापबारे योजना बनाउनु कत्तिको आवश्यक छ?
यो अत्यन्त आवश्यक छ । कक्षाकोठामा आएर व्याख्यान मात्र गर्ने परिपाटी विस्तारै बन्द हुँदै गइरहेको छ । विद्यार्थीले सजिलै र राम्रोसँग सिक्ने भनेको नै क्रियाकलापबाट हो । क्रियाकलापबाट विद्यार्थीको रुचि बढ्छ ।
कहिलेकाही कथा, नाटक र वादविवाद, भ्रमण जस्ता क्रियाकलाप गरेर विद्यार्थीलाई सहज रूपमा बुझाउन सकिन्छ ।

तपाईँ कस्ता शैक्षिक सामग्रीको प्रयोग गर्नुहुन्छ ?
मैले पढाउने विषय सामाजिक शिक्षा भएकाले शिक्षण गर्दा म नक्सा र ग्लोबको प्रयोग गर्ने गर्दछु । कहिलेकाही कक्षा चार्ट, पोस्टर पम्पेल्ट, अडियो भिडियो पनि प्रयोग गर्छु ।

:1143 Views

Leave a Reply