बालबालिकाको सामग्री उत्पादनमा लगानीको आवश्यकता

काठमाडौँको बानेश्वरस्थित आरक्वायरिस प्रोडक्शन हाउसको एउटा ब्राण्डको रूपमा रहेको युट्युब च्यानल हो पुकुलुकु । सन् २०१७ को जुलाईबाट सञ्चालनमा आएको बताइएको यो च्यानलले बालबालिकाको लागि श्रब्यदृश्य सामग्री उत्पादन गर्दै आइरहेको छ । हालसम्म यसले १० वटा भिडियो सार्वनजिक गरिसकेको छ । २ दशकदेखि विज्ञापन क्षेत्रमा काम गर्दै आइरहेको यसै संस्थाका निर्देशक सन्तोष पौडेलसँग नेपाली बालबालिकाको लागि श्रब्यदृश्य सामग्री उत्पादनबारे विद्यमान चुनौती र अवसरबारे नुवागीसँगको गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

नेपाली बालबालिकामा अन्तराष्ट्रिय श्रब्यदृश्य सामाग्रीको प्रभाव कस्तो पाउनु भएको छ?
नेपाली बालबालिकामा अन्तराष्ट्रिय सामग्रीको प्रभाव धेरै देखिन्छ । नेपालका बच्चाहरू मोटुपतलुको सम्वाद बोल्छन् । हिन्दी सिङ्गम स्टाइल भन्दै त्यस्तै अभिनय गर्छन् । केही अन्तराष्टिय सामग्रीले बालबालिकाललाई सानैदेखि मार्ने, काट्ने र हिंस्रंक बनाउने विषयवस्तु दिइरहेका छन् । हाम्रा बालबालिका चालै नपाइ विदेशी बन्दैछन् ।

पुकुलुकुको जन्मबारे केही बताइदिनोस् न ।
बालबालिकाले अंग्रेजी र हिन्दी भाषामा बालसामग्री सजिलै पाउन सक्छन् । तर त्यस्ता नेपाली सामग्री पाउन मुस्किल छ । अंग्रेजी वा अन्य भाषाका गीत, कथा वा बालबालिकाले रुचाउने खालका अन्य सामग्री नेपालीमा अनुवाद गरिएको पाइएतापनि नेपाली चित्र भएका तथा नेपालीपनका सामग्रीहरू त्यति छैनन् । अहिलेका बालबालिकाले नेपाली संस्कार, लोककथा, हाम्रा गीतहरू सुन्ने, सिक्ने र बुझ्ने खासै मौका पाएका छैनन् । सबैको परिवारमा हजुरबुवा वा हजुरआमा हुन्नन् । त्यसैले यो अवसरबाट उनीहरूलाई बञ्चित गराउन हुन्न भनेरै हामीले बालबालिकाको लागि सामग्री उत्पादन क्षेत्रमा हात हालेका हौँ ।

अहिले नेपाली भाषा खतरामा परेको छ । कतिपय बच्चा ‘रेड’ भनेकै ‘रातो’ हो भन्ने जान्दैनन् । अंग्रेजीमा जानेका कतिपय कुराहरू नेपालीमा भन्न जान्दैनन् । नेपालीमा भन्दा बुझ्दैनन् । उनीहरूले ‘कुकुर’ लाई ‘डग’ र ‘गाई’ लाई ‘काउ’ मात्र भनेर चिन्ने दिन आउन कति बेर लाग्ने छैन । वस्तुका नाम मात्र नभएर गीतहरूमा पनि त्यस्तै समस्या देखिन्छ । एक जना बच्चाले ‘बाबा ब्याल्क सिप’ जानेको छ तर ‘कुखुरी का’, ‘काग दाजै’ भन्ने गीत गाएको खोइ? नेपाली भाषा जगेर्ना गर्नका लागि पनि बच्चाको रुचि अनुसार विभिन्न गीतमार्फत त्यसलाई एनिमेशन गरेर भिडियोमा उतारेर उनीहरूलाई देखाउन खोजेका हौँ । विदेशमा भएका नेपाली बालबालिकालाई नेपाली सिकाउन पनि यो उपयोगी हुन्छ भन्ने सोचेरै हामीले यो काम गरिरहेका हौँ ।

अझ विदेशमा बसेका अभिभावकले बच्चाले हाम्रो संस्कार बिर्सिए भनेर चिन्ता गरेको देखेका छौँ । नेपाली चाडपर्वका बारेमा उनीहरूलाई थाहा हुँदैन। दशैँ तिहारका बारेमा पनि उनीहरूलाई थाहा हुँदैन । यो अवस्थाबाट पार पाउन हामीले हाम्रो सीप प्रयोग गर्न सक्छौँ भन्ने ठान्यौँ । साथीहरूको हौसलाले पनि हामीले यसमा काम गर्न थालेका हौँ ।

हामीले बिर्सिँदै गएका कुरा सम्झाउन खोजेका हौँ । बालबालिकाको घरमा भइरहेका कुरालाई, ख्याल नभएका कुरा ख्याल गराउन खोजेका हौँ । जस्तै उसले कुखुरी का त सुनेको हुन्छ तर गाउँदै हिँडेको हुँदैन । अभिभावकलाई हाम्रा नेपाली पहिचान भएका गीत पनि देखाउनुहोस् आफ्ना नानीलाई भनेर सम्झाइदिएका मात्र हौँ ।

तपाईँको संस्थाले गर्ने कामहरू के के हुन्?
आरक्वायरिसबाट विज्ञापन बनाउनेदेखि लिएर छाटो फिल्म, लाइभ, एड फिल्म, त्यसको एनिमेशन र प्रोडक्शन हाउसका रूपमा रहेर एजेन्सीहरूको लागि काम गर्छ । यसले सृजनात्मक र डिजिटल प्रोमोशन पनि गर्दै आइरहेको छ ।

समग्रमा पुकुलुकुको क्रियटिभ भाग, एनिमेशन र उत्पादनको भाग पनि हेर्छौँ । डिजिटल प्रोमोशन, जिङगल, रेकर्डिङको लागि हाम्रो छुट्टै समूह छ । हामीले राजनीतिक विषयवस्तुबारे ‘भाकै कुरो’ नामको भिडियो पनि बनाएका छौँ ।

पुकुलुकुले अहिलेसम्म कस्ता कस्ता सामग्रीहरू पस्किसकेको छ?
हामीले पुकुलुकुबाट अहिलेसम्म १० वटा भिडियो सार्वनजिक गरिसकेका छौँ । पुकुलुकुमा हाम्रा मुख्य २ वटा सेगमेन्ट छन् । पहिलो शैक्षिक र दोस्रो पुराना गीत र हामी आफैले सृजना गरेका गीतहरू ।

शैक्षिक वा शिक्षाप्रद विषयमा हामीले गीतहरू दिने गरेका छौँ । जस्तै ‘ए फर एप्पल’ । ए फर एप्पल जस्ता चलिरहेका गीतहरूमा मात्र नभएर सरल तरिकाले विषयका कुरा पनि बुझाउनका लागि हामी आफैले एबिसि सिरिज भनेर सृजना गरिरहेका छौँ । जस्तै ‘बि बाट बुक हुन्छ, बुक माने किताब’ लगायत नेपाली भाषा र शिक्षा प्रदायक कुरा सरल तरिकाबाट बुझाउन खोजेका छौँ ।

पुराना र नयाँ राइम्स अर्थात् आफैले सृजना गरेका भिडियोहरू पनि बनाउँछौँ । पुराना तथा लोकगीतमा जस्तै ‘कुखुरी का’ । हामीले आफै बनाएका भिडियोमा भने विभिन्न चाडपर्व र कथालाई गीतमा ढाल्ने काम गरेका छौँ । जस्तै ‘तिहार गीत’ जसमा तिहारका बेला कुन दिन के हुन्छ भनेर गीतमार्फत भिडियोले जानकारी दिएको छ । हामीले लोककथालाई पनि गीत बनाएर प्रस्तुत गरेका छौँ । जस्तै ढुकुर, कमिला र सिकारी । त्यति मात्र नभएर शब्दको प्रयोग बिनाको ‘टोमाटो सस’ शिर्षकमा भिडियो निर्माण गरेका छौँ । यो भिडियोलाई सिरिजको रूपमा लाने सोच छ ।

बालबालिकाका लागि सामग्रीहरू बनाउँदा विशेष के के कुरामा ख्याल पुर्याउनु हुन्छ?
बालबालिकाको सामग्री निर्माण गर्दा विषयवस्तु लेखनबाटै हामीले ध्यान दिनुपर्छ । हामीले बच्चाको मनोविज्ञानलाई बुझ्नुपर्छ । बच्चालाई कस्तो धुन मनपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ । बच्चालाई गीत गाएर भनेको मनपर्छ कि, सीधा बोलेको मनपर्छ कि स्वर बिगारेर बोलेको मनपर्छ, उसलाई के मनपर्छ भन्ने कुरामा ख्याल पुर्याउनुपर्छ । कस्ता कुरा कसरी भने उनीहरूले रुचाउँछन् भन्ने सोचेर सामग्री बनाउन पर्छ जुन सजिलो काम भने पक्कै होइन ।

बच्चालाई प्रेरणा मात्र दिँदा उनीहरू दिक्क मान्छन् । बच्चालाई एकोहोरो र दिक्क हुने तरिकाले ज्ञान दियो भनेपनि उनीहरूलाई मनपर्दैन । विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने भनेर पनि ध्यान दिनुपर्छ । बालबालिकाको सामग्रीको प्रस्तुतीमा ख्याल दिइएन भने त्यो त्यति प्रभावकारी बन्न सक्दैन । बच्चालाई कस्तो सामग्री मनपर्छ, उनीहरूले कस्तो सामग्री हेरिरहेका छन् भन्ने कुराको अवलोकन गर्न सकियो भने त्यसले मद्दत गर्छ ।

हामीले पुराना बालगीतलाई भिडियोको रूपमा उतार्नु परेमा त्यसमा अनुमति लिएर मात्र काम गर्छौँ । कतिपय गीतहरू कसले लेखेका हुन् भन्ने कुरा चाहेर पनि थाहा पाउन सकिँदैन । हामीले आफ्नै मौलिक गीतको सृजना पनि गरेका छौँ । अब भने हामी मौलिक सृजनामा नै केन्द्रित रहने छौँ ।

इन्टरनेटमा उपलब्ध कतिपय नेपाली अडियो भिजुयल सामग्रीहरू कम आकर्षक छन् भन्ने धेरैको प्रतिकृया सुनिन्छ । एक जना उत्पादकको हैसियतले तपाईँ के भन्नु हुन्छ ?
एनिमेशन भनेको सबैभन्दा महङ्गो उत्पादन प्रविधि हो । थोरै लगानीमा एनिमेशन गर्न खोज्दा गार्हो हुन्छ । साथै एनिमेशन गर्न लामो समय लाग्छ । त्यस्तै यसमा धेरै प्रविधि र टेक्नीकको प्रयोग गर्नुपर्छ । अरुमा एक दिन सुटिङ गर्यो अर्को दिन केही काम गरेर छोटो समयमा अन्य भिडियो बनाउन सकिन्छ भने बालबालिकाको यो सामग्रीको निर्माणमा समय धेरै लाग्छ । समय, जनशक्ति र प्रयास पनि धेरै लाग्छ ।

मैले आफूले पनि नेपाली टेलिभिजनमा बालकार्यक्रम भन्ने विषयमा थेसिस गरेको थिएँ । बालकार्यक्रमलाई कसैले पनि प्राथमिकतामा राखिएको पाइएन । सबैभन्दा बढी खर्च बच्चाको लागि उत्पादन गरिने वस्तुको विज्ञापनमा गरिन्छ तर त्यहि बालबािलकालाई सिकाउने सामग्री उत्पादनमा वास्ता गरिन्न ।

नेपाली सामग्री किन कम भए भन्ने विषय भने चल्ला पहिलो कि कुखुरा भनेजस्तै हो । हामीले बनाएर तपाईहरूले हेर्ने हो कि पहिला तपाईहरूले खोजी गरेर त्यसपछि हामीले बनाउने हो भन्ने कुरा हो । यस्ता सामग्रीमा लगानी पनि कम छ । त्यस्तै प्रायोजक पनि कम छन् । चासो राख्ने हो भने सञ्चारमाध्यमले मात्र नभई विद्यालयबाट पनि यस्ता सामग्रीको लगानीका लागि प्रयत्न गर्न सकिन्छ ।

एनिमेशन खर्चिलो छ भन्नु भयो । प्रायोजनको लागि कतै प्रस्तावहरू लिएर जानुभएको छ ?
हाम्रो प्रस्ताव लिएर हामी आजसम्म सरकारी निकायमा पुगेका छैनौँ । हामीले मार्केटिङभन्दा विषयवस्तुको सृजनशिलतामा बढी चासो दिएकाले पनि हामी त्यहाँसम्म पुगेका छैनौँ । हामीले निजीसँग भने अनौपचारिक कुरा गरेका छौँ । हामीले कुरा गरेका केही निजी संस्थाले चासो देखाउनुभएको छ । बच्चाको लागि सामाजिक कार्य गरिएको भनेर उहाँहरू सकारात्मक हुनुहुन्छ । सरकारी पक्षबाट यस्ता भिडियोको माग आएमा भने हामी यो कार्यमा लाग्न सक्छौँ ।

बालबालिकाका लागि यस्ता सामग्रीहरू बनाउन कस–कसको मद्दत चाहिन्छ?
बालबालिकाको यस्ता सामग्री बनाउन हामीलाई लेखक, रचनाकार, संगीतकार, कथाकार, गायकलगायत एनिमेशनमा स्केच गर्ने कलाकार पनि चाहिन्छ । त्यसमा मोडलिङ, एनिमेशनमा काम गर्ने र न्यारेसनका लागि कलाकारहरूको आवश्यकता पर्छ ।

बालबालिकाका लागि श्रब्यदृश्य सामग्री बनाउने अरु पनि केही संस्थाहरू छन् नेपालमा । पुकुलुकु तीभन्दा के कुरामा भिन्न बनाउनु भएको छ ?
फरक–फरक संस्थाअनुसार केही न केही कुरा भिन्न नै हुन्छ । युट्युबमा भिडियो राख्नु मात्र ठूलो कुरा होइन । हामी गुणस्तर र दीर्घकालिन सोचमा केन्द्रित भएर अघि बढीरहेका छौँ । हामीले एनिमेशनमा पनि उत्तिकै ध्यान दिएका छौँ । हामी बच्चाको मनोविज्ञानलाई बुझेर भिडियो बनाउँछौँ ।

मान्छेले हेर्नु मात्र पनि ठूलो कुरा होइन । त्यसलाई एउटा ब्राण्डको रूपमा विकास गर्न लागि परेका छौँ । त्यस्तै हामीले बनाएका भिडियो बालबालिकाले हेरेपछि उनीहरूले याद गरुन् भन्नेमा हामी केन्द्रिंत छौँ । जस्तै कुनै बच्चाले ‘कुखुरी का’ हेरेपछि पुकुलुकुको भिडियोलाई सम्झन्छ कि अरु कुनैको भिडियोलाई सम्झन्छ भन्ने कुरा आउँछ । हामी पुकुलुकुलाई नै सम्झियून भन्ने कोसिस गरिरहेका छौँ । चलिरहेको गीतलाई मात्र नभएर हामीले मौलिक गीत सृजना गरेर त्यसलाई भिडियोमा उतारेका छौँ ।

भने जस्तो काम गर्न तपाईँसामू उभिएका मुख्य चुनौतीहरू के के हुन्?
हामीले गुणस्तरका लागि त्यहि अनुसारको खर्च गर्नुपर्ने हुन्छ । एनिमेशन लगायतका काम एकदम महङ्गो हुने भएकाले यो बढी खर्चिलो छ । एनिमेशनमा लागि काम गर्ने दक्ष जनशक्ति पनि कम छ ।

यसमा अर्को ठूलो समस्या भनेको बालबालिकाको सामग्रीको लागि लगानी कम हुनु हो । त्यस्तै हामीले आफ्नो पहलमा गरेको काममा त्यसलाई कदर र प्रशंसा गर्ने पक्ष कम छ । यसमा व्यवसायिक समर्थन र आर्थिक सहयोग पनि छैन । कतिपयले हाम्रै भिडियोको फुटेज राखेर भिडियो निर्माण गरेको पाइन्छ । कपिराइटलाई पनि ख्याल गरेको पाइँदैन ।

अहिलेसम्म गरेको तपाईँहरूको प्रयासका लागि कतैबाट ‘स्याबासी’ पाउनु भएको छ ?
हामीले हाम्रो संस्थाको बारेमा अरुलाई जानकारी नदिँदै उसले हाम्रो संस्थाको बारेमा राम्रो भनिदिँदा एकदमै खुसी लाग्छ । साथीभाइको समूहमा पनि ‘पुकुलुकु तेरो पो हो राम्रो गरिरहेको छ’ भन्ने हौसला मिल्छ । गैरसरकारी संस्थाबाट पनि राम्रो प्रतिक्रिया आइरहेको छ ।

आरक्वायरिसमा हामीले बनाएको विज्ञापनबाट अवार्डहरू मिलेको छ । एनसेल सापटीको विज्ञापनबाट ‘बेष्ट एनिमेशन अवार्ड’ । त्यस्तै कलर्स मोबाइलबाट, जिङ्गल र एडफिल्म उत्कृष्ट बनाएकोमा हामीले विभिन्न अवार्ड पाएका छौँ ।

पुकुलुकुलाई लिएर तपाईँको भावी योजना के के छन्?
पुकुलुकुलाई एउटा ब्राण्ड कै रूपमा लैजाने मुख्य योजना हो । यसलाई सूचनामूलक र शिक्षाप्रद उत्पादन गर्ने संस्थाको रूपमा चिनाउन चाहन्छौँ । त्यस्तै बालबालिकाका सामग्रीलाई सिरिजका रूपमा लाने योजना छ । हामी दीर्घकालिन रूपमा काम गर्ने सोचमा छौँ । साथै टेलिभिजन च्यानलसँग मिलेर कथाका श्रृङ्खला (एपिसोड) जसरी आउने योजना छ ।

विदेशतिर त बालबालिकाकै लागि भनेर भिन्न च्यानल नै खुलेका छन् । हाम्रो दीर्घकालिन योजना पनि त्यहाँसम्म छ । युट्युब च्यानल मात्र नभएर पछि पुकुलुकु च्यानल नै बनाउन सक्छौँ । हामी अरु कथा र पात्रको पनि सृजना गर्न सक्छौँ । पुकुलुकु पात्र चलेको खण्डमा त्यसलाई हामी विज्ञापनमा पनि प्रयोग गर्न सक्छौँ ।

:428 Views

Leave a Reply