बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन् । ८ वर्षअघि नै अभिभावकले घरमा कसरी स्वस्थ र बालमैत्री वातावरणको सृजना गर्ने भन्ने विषयमा अभिभावक प्रशिक्षण गर्न आवश्यक रहेको कुरा उठाएका थिए उनले । जसको प्रभावले धेरै जसो विद्यालयको वार्षिक क्यालेन्डरभित्र नै अभिभावक शिक्षाको लागि समय छुट्याएको देख्न थालिएको छ । नेपालको मेचीदेखि महाकालीसम्म ५ सयभन्दा बढी विद्यालयमा एक हजार भन्दा बढी अभिभावक तालिम दिइसकेका उनले करिब ६ लाख भन्दा बढी अभिभावकलाई उत्प्ररित गर्न भ्याइसकेका छन् । उनीसँग अभिभावक शिक्षाबारेको एउटा कुराकानीः

रबिन कटवाल, मनोपरामर्शकर्ता तथा उत्प्रेरक वक्ता

अचेलका अभिभावकहरू बालबालिकाको विषयमा कस्तो चिन्ता गरेको पाउनुहुन्छ?
पहिले पहिले मानिसहरूका धेरै सन्तान हुने गर्दथे । तर अहिले समाज सानो परिवार सुखी परिवारमा रूपान्तरित भएको छ । अहिलेका अभिभावकहरू एउटा वा दुईवटा सन्तानमा केन्द्रित हुन थालेका छन् । त्यो भएको एउटा वा दुई वटा सन्तानले पनि पाउनुपर्ने शिक्षा नपाएर गलत बाटोमा लागेर बिग्रिएमा आफ्नो सर्वस्व जान्छ भन्ने कुरामा अहिलेका अभिभावक चिन्तित देखिन्छन् । त्यसै कारण अहिले अभिभावक शिक्षा भनेपछि उनीहरूको उपस्थिति बाक्लिदै गएको देखिन्छ । त्यति मात्र नभएर अहिले अभिभावकहरू खोजी खोजी मेरो बच्चामा त्यस्तो कुनै समस्या त छैन तर मेरो बच्चालाई भोलि गएर ठूलो र असल मान्छे बनाउन मेरो दायित्व के छ भन्दै मनोपरामर्शकर्ताकहाँ जान थालेको देखिन्छ ।
त्यसैले अहिलेको अभिभावकको चिन्ता भनेको आफ्नो बच्चा भालि नबिग्रियोस्, गलत बाटोमा नलागोस् भन्ने नै हो । सम्पन्न र पढेलेखेको कतिपय अभिभावकसँग आफ्नो बालबालिकाका लागि समय नै छैन । आफ्नो बच्चा कुन बाटो हिँडिरहेको छ उनीहरूलाई वास्तै हुँदैन । त्यसैले आवश्यक पैसा दिएर बरु होस्टेलमा राख्ने गर्दछन् । बालबालिकाका लागि आवश्यक आत्मीयता, माया र निगरानी उनीहरूले आफ्नो अभिभावकबाट पाएका हुँदैनन् ।

अभिभावक र बच्चाबीचको सम्बन्धबारे कस्तो धारणा राख्नुहुन्छ?
अहिले बच्चाहरूको मनोविज्ञान अभिभावकले बुझ्न र अभिभावकको आशा र भावनालाई बालबालिकाले बुझ्न सकेका छैनन् । अभिभावकहरू बालबच्चालाई समय दिन सक्दैनन् । अभिभावकले बच्चालाई जे कुरा पनि थोपर्ने गर्दा बच्चा पनि अभिभावकबाट दूरी बनाएर बस्न रुचाउँछ ।

पहिला अभिभावक शिक्षाको कमी र त्यसबारे थाहा नै नपाएर अभिभावक र बच्चाबीच समस्या हुन्थ्यो । तर अहिले शिक्षित अभिभावककको सङ्ख्या बढेको देखिन्छ । तै पनि उनीहरूबीचको द्वन्द्व कायमै छ । यस्तो किन भइरहेको छ ?
थाहा नपाएर वा अभिभावक शिक्षित नभएको कारणले बच्चाप्रति विशेष ध्यान दिन नसक्नु त अभिभावकको गल्ती होइन । तर सक्षम र पढेलेखेका अभिभावकले बच्चाहरूलाई समय दिन नसक्नु दुखको कुरा हो । बच्चा र अभिभावकले एकआपसको भावना बुझ्न नसकेर उनीहरूबीच दूरी बढिरहेको छ । यो दूरी बढ्नुको पहिलो कारणमा बच्चाको रुचि, इच्छालाई ख्याल नै नगरी अभिभावकले आफ्ना कुरा बढी लाद्न खोज्नुहुन्छ । बच्चाले जन्म जातै ल्याएको उसको क्षमतालाई तारिफ र प्रोत्साहन गर्नेभन्दा पनि फलानोको छोरो डाक्टर बन्यो, तिमी पनि डाक्टर बन्नुपर्छ । उसले यो विषयमा यति नम्बर ल्यायो तिमीले पनि त्यति नै ल्याउनुपर्छ भन्ने अभिप्रायबाट आफ्ना कुरा बालबालिकामा थोपर्न खोज्नु हुन्छ र त्यसले गर्दा बच्चाहरू अभिभावकहरूबाट टाढिदै जान थालेका छन् । बच्चाले नाच्यो भने स्यावासी दिएर उसलाई ‘तिमीले जति राम्रो नाच्छौँ त्यति नै राम्रोसँग तिमी पढ पनि’ भनी सम्झाउने अभिभावक कम हुनुहुन्छ । कारण र प्रमाण बताएर सम्झायो भने हरेक बच्चाले बुझ्छ र पढाईमा पनि प्रगति गर्छ । यो तरिका धेरै अभिभावकले जान्नु भएको छैन ।

दूरी बढ्नुको दोस्रो कारणमा बालबालिकाले आफ्नो आमाबुवाबाट अनुकुल वातावरण तथा अभिभावकसँग बसेर भावना साटासाट गर्न पाइरहेका छैनन् । अहिले सामाजिक सञ्जाल बढेसँगै पारिवारिक सद्भाव घटेको छ । जब बच्चाले अभिभावकको खराब आचरण थाहा पाउँछ तब उसले अभिभावकले भनेको मान्न छोड्छ ।

अब बृद्धाश्रमको सङ्ख्या ५ सय गुणाले बृद्धि हुने बिकराल समय आउँदैछ । हिजोको नैतिक शिक्षा र संस्कार पाएका बालबालिकाहरूले त अहिले आफ्ना अभिभावकलाई बृद्धाश्रममा पठाउँदै छन् भने अहिले आधुनिक र पश्चिम मूलुकबाट प्रभावित बालबालिकाका कारण भोलिको दिनमा धेरै अभिभावकले आफ्नो सन्तानको मायाबाट बञ्चित हुने अवस्था आउँदैछ । त्यसकारण हामी जस्ता मनोपरामर्शकर्ताले अभिभावक र बच्चाको बिचमा पुलको काम गरिरहेका छौँ । बच्चाहरूलाई पनि ‘बाबुनानीहरू तिमीहरू धेरै पढ र ठूला मान्छे बन तर आफ्नो अभिभावकप्रतिको कर्तव्य पूरा गर्न नचुक’ भनी सिकाउछौँ । बालबालिकाले भविष्यमा पैसा कमाउनु, उच्च ओहदामा पुग्नु र प्रगति गर्दै जानु मात्र सफलता नभएर त्यसको साथमा हामीले अभिभावकलाई गर्नुपर्ने व्यवहार पूरा गर्यौँ कि गरेनौँ भन्ने कुराबाट उनीहरूको जीवनको सफलता मापन हुन्छ । समाज र भोलि उसका सन्तानले पनि हेर्न सक्छन् ।

आफ्नो सन्तानबाट धरै अपेक्षा गर्नु अभिभावकको दोष हो र ?
संसारका सम्पूर्ण अभिभावकले आफ्नो बच्चाले जीवनमा प्रगति गरोस् भन्ने चाहना राख्नुहुन्छ । भालि गएर समाजको प्रतिष्ठित, ठूलो र प्रेरक पात्र बनोस् भन्ने नै अभिभावकको आशा हुन्छ । तर त्यो ठाउँमा बालबालिका कसरी पुग्न सक्छ ?, उसलाई त्यस्तो बनाउन अभिभावकले अहिले के के कुरामा ध्यान पुर्याउनुपर्छ ? र उसको पढाई लेखाईका साथमा हुनुपर्ने संस्कार र बोलीचाली के कस्तो हुनुपर्छ भन्ने कुरामा उनीहरू अनविज्ञ छन् । जसले गर्दा चाहना राख्दा पनि त्यो दिशातिर बच्चाहरू गएका हुँदैनन् ।

अभिभावकले बालबालिकाबाट चाहना र अपेक्षा मात्र राख्ने होइन कि त्यहाँ पुर्याउन मेरो बच्चालाई के के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । जस्तैः कुनै कानुनी विधामा एउटा उच्च ओहदामा पुगोस् भन्ने हामी चाहन्छौँ भने काुननको त्यो ओहदामा पुग्न त्यो बच्चामा अहिलेदेखि नै के कस्ता गुण हुनुपर्छ र त्यसलाई निखार्न के गर्नुपर्छ भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ । तसर्थ अपेक्षासँगै आफ्नो दायित्व पनि निर्वाह गर्नुपर्छ ।

अभिभावकका कस्ता व्यवहार बालबालिकाले मन पराउँछन् ?
अभिभावकले सधै हप्काउने, पिट्ने गरेर बच्चाहरू सुध्रिन सक्दैनन् । अभिभावकले बच्चालाई माया गर्ने क्षण चिन्नुपर्छ । बच्चा ५ घण्टादेखि मोबाइल खेल्दै छ र अभिभावकले ओहो छोरा भनिदिएमा उसले थप २ घण्टा मोबाइल खेल्छ । बच्चाले राम्रो काम गरेको बेलामा उसलाई स्याबासी, प्रशंसा र तारिफ दिनुपर्छ र नराम्रो काम गरेको छ भने अलि गम्भिर मुद्रामा रहनुपर्छ । यसको अर्थ पिट्ने वा गाली गर्ने भन्ने होइन । अभिभावक गम्भिर अवस्थामा रहिदिँदा बच्चा आफै डगमगिन्छ कि मेरो बाबा या ममि रिसाउनुभयो कि भनेर । अनि सायद मेरो अभिभावकलाई यो कुरा मन परेन कि भन्ने कुरा बच्चाले आफै बुझ्छ ।

एउटा बच्चाले आफ्नो अभिभावकको व्यवहार बाट धेरै कसरी सिक्छन्?
एउटा साक्षर, पढेलेखेको परिवारमा अभिभावकको गल्तीले गर्दा बालबालिका बिग्रिएको धेरै घटनाहरू छन् । जुन घरमा बुवाले रक्सी पिउने र चुरोट खाने गर्नुहुन्छ, त्यो घरमा पनि बच्चाले रक्सी र चुरोट खाएको हुन्छ । करिब ९८ प्रतिशत बच्चाले सोही व्यवहार गरेको हुन्छ । अझ आजकल त जन्मदिन मनाउँदा यता जन्मदिनको धुन गुन्जायमान हुन पाएको हुँदैन उता बुवा, काका, छिमेकीले बच्चाको अगाडि रक्सीका गिलासहरू चेस गर्न भ्याइसकेका हुन्छन् । जसले गर्दा त्यो सानो बच्चाले यो त खाने चिज रहेछ भनेर सिक्दछ । बुवाकाकाहरूले यो खाएपछि कति रमाइलो गर्नुभयो, कहिले ननाच्ने काका पनि नाच्नु भयो, कहिले गीत नगाउने बुवाले पनि गित गाउनु भयो, यो खानु पर्ने चिज रहेछ भनेर सिक्छन् ।

नजानेर बच्चाले सिक्नु छुट्टै कुरा हो तर पढेलेखेका सक्षम परिवारले नै यस्तो गल्ती गरिरहेका छन् । मानिसहरू मामाघर, ससुराली पाहुना भएर जाँदा सभ्य व्यवहार देखाउँछन् । त्यो बेलामा हामी बोली र व्यवहारमा जति सतर्क रहने गछौँ, बच्चाको अगाडि व्यवहार गर्दा त्योभन्दा पनि बढी सतर्क रहने गर्नुपर्छ । करिब ५ हजार ३ सय बालबालिका र धेरै अभिभावकसँग परामर्श गर्दाको मेरो अनुभव अनुसार जुन घरमा अभिभावकले मीठो बोली बोल्नुहुन्छ, जहाँ अभिभावकबीचको पारिवारिक सम्बन्ध सुमधुर छ भने त्यस्तो वातावरणमा हुर्केको बच्चाहरू मिठो बोल्ने र आज्ञाकारी, सम्मान र माया गर्ने स्वभावका हुन्छन् । झैझगडा र तनावको वातावरणमा हुर्केको बच्चा रिसालु, आक्रामक स्वभावको हुने गर्दछ । जस्तो जस्तो आमाबुवा त्यस्तै त्यस्तै बालबच्चा हुने गर्दछन् ।

अधिकांश अभिभावकको गुनासो हुने गर्छ कि जस्तो हामी पहिला थियौँ अहिलको बालबालिका त्यस्ता छैनन् । के यसरी गुनासो गर्नु जायज छ?
यस्तो भन्नु भनेको अभिभावकको बुझाईको कमी हो । मेरो हजुरबुवाले आफ्नै खेती गरेर धान चामल फलाएर खानु हुन्थ्यो र मेरो बुवाले केही केही आफूले फलाएर र केही किनेर पनि खानु भयो र आज म हरेक चिज किनेर नै खान्छु । यसको अर्थ मेरो हजुरबुवाले आफूलाई चाहिने अन्न आफैले फलाउनु हुन्थ्यो म पनि त्यतैतर्फ गएँ भने अहिलेको गतिशिल उन्नति सम्भव हुँदैन । त्यसैले अभिभावकले आफ्ना पालामा के थियो भनेर बच्चाहरूलाई जानकारी दिन त सकिन्छ तर अभिभावक जस्तै बन्नुपर्छ भनेर हुँदैन । समयअनुसार काम गर्ने र मेहेनत पनि परिवर्तन भएको छ । प्रविधि, समय परिवर्तनसँगै बालबालिकाको जीवनशैली परिवर्तन हुन्छ । अहिलेको बच्चाको हुर्काइ पनि फरक छ । पहिला बच्चाहरू संयुक्त परिवारमा हुर्कन्थे । कुन सदस्यसँग कस्तो व्यवहार गर्ने भनेर आफूभन्दा ठूला व्यक्तिबाट सिक्थे । अहिले त्यस्तो छैन । अहिलेका अभिभावक पाल्न नसक्ने, ठाउँको अपर्याप्तता इत्यादि कारण देखाएर हजुरबुवा र हजुरआमाबाट छुट्टै राख्छन् । त्यसरी छुट्टिएर बस्दा उसले आमाबुवालाई कस्तो व्यवहार गर्ने भनेर सिक्न पाउँदैन ।

एउटा राम्रो अभिभावकमा हनुपुर्ने गुणहरु केके हुन्?
राम्रो अभिभावक हुन प्रशस्त पैसा हुनुपर्छ भन्ने जरुरी छैन । राम्रो अभिभावक हुन पढेको र विश्वविद्यालयबाट डिग्री लिएको नै हुनुपर्छ भन्ने पनि छैन । एउटा राम्रो अभिभावक हुन ऊ अनुशासित हुनुपर्छ । अभिभावक बौद्धिक हुनुपर्छ । शिक्षित हुनु मात्र बौद्धिक हुनु होइन । जस्तै हाम्रो हजरबुवाहरूलाई नेपालीको व्याकरण त्यति थाहा छैन । तै पनि राम्रो नेपाली भाषा बोल्नुहुन्छ । उहाँहरूको पढाई खोज्ने हो भने त धेरै अशिक्षित नै हुनुहुन्छ । तर उहाँहरूको व्यवहार हेर्ने हो भने अहिले पिएचडी पढेको भन्दा कम सक्षम देखिदैन । सहि र गलत छुट्याउन सक्ने व्यक्ति बौद्धिक हो । त्यसैले अभिभावक बौद्धिक हुनुपर्छ ।

एउटा राम्रो अभिभावक बन्न बालबच्चालाई समय दिएर उनीहरूसँग आत्मियता बढाउनु पर्छ । बालबालिकाको मनोविज्ञान बुझ्ने र उसँग अन्तक्रिया गर्न सक्ने हुनुपर्छ । आफ्नो बालबालिकालाई सफल र असल बन्न प्रेरित गर्ने अभिभावक नै असल अभिभावक हो । र एउटा असल अभिभावकले बालबालिकालाई नैतिकता, मानवता, समाज, राज्य र सिंगो मानव समुदायलाई गर्नुपर्ने व्यवहार र आचरण सिकाउँछ । असल अभिभावकले शैक्षिक विषयको साथमा संस्कार सिकाउनुपर्छ । बच्चाको अगाडि सभ्य भएर प्रस्तुत हुनुपर्छ । बच्चाको अगाडि सकारात्मक र आशावादी व्यवहार देखाउनुपर्छ । पहिला अभिभावकले आफू सम्हाल्ने आचरण बच्चा सामू देखाउनुपर्छ ।

अभिभावकले कस्तो व्यवहार गर्नुहुँदैन ?
अभिभावकलाई म यो चिज गलत गर्दैछु भन्ने भान हुन्छ । उसलाई जे कुरा गलत लागेको हुन्छ, त्यस्तो व्यवहार बच्चालाई देखाउनु हुँदैन । जस्तो ठूलो र रुखो स्वरले बोल्नु हुँदैन । बच्चाको अगाडि साथीभाइ र परिवारका सदस्यसँग झगडा गर्नु हुँदैन । अभिभावकले अफिसबाट घर फर्कँदा त्यहाँको तनाव र समस्या बच्चाको अगाडि पोख्नु हुँदैन । अभिभावकको खराब आचरण जस्तै चुरोट र रक्सी पिउने जस्ता व्यवहार बच्चालाई थाहा दिनुहुँदैन ।

बालबालिकाले चाहि कस्तो व्यवहार गनुपर्छ?
बालबालिकाले किताबी ज्ञान मात्र नभएर उनीहरूले व्यवहारिक ज्ञान पनि सिक्नु आवश्यक छ । अहिले विद्यालयले नै जीवनका सिपसम्बन्धि पुस्तक नै राखेका छन् । पहिला भएका नैतिक, संस्कृति शिक्षा अहिले पुनः आएका छन् । नैतिकता बिना विज्ञानले मात्र मानिस सफल नहुने कुरा मानिसलाई आभास भएको छ । बच्चाले आत्मविश्वास बढाउने र आमाबुवालाई गर्ने व्यवहार राम्रो हुनपर्छ ।

आजभोलिका अभिभावकहरू कस्तो परामर्शको खोजमा छन् ?
धेरै मान्छे विरामी भएपछि मात्र अस्पताल जाने गरे जस्तै अधिकांश अभिभावकहरू समस्या परेपछि मात्र परामर्शको लागि आउने गर्नुहुन्छ । विदेशतिर समस्या आउनुपूर्व नै अभिभावकहरू परामर्शका लागि आउनुहुन्छ । धेरै अभिभावकहरू मेरो बच्चाले रक्सी र दुव्र्यसनमा लागे, बच्चा घर छोडेर हिँड्छ, नियन्त्रणमा नै भएन, भनेको मान्दैन र अर्को बच्चाहरूले पढाइको महत्व नबुझिदिएको भन्दै परामर्शका लागि आउने गर्नुहुन्छ । भालिको दिनमा समस्या आउनुअघि नै अभिभावकले परामर्श गर्नु आवश्यक हुन्छ । राम्रो व्यवहार भएका बच्चालाई मनोपरामर्शकर्ताका लगेर परामर्श दिनु उपयुक्त हुन्छ । जसले गर्दा ऊ गलत बाटो लाग्न पाउँदैन । तर बिग्रिसकेपछि त झन् ऊ कसैको कुरा सुन्न नै चाहँदैन ।

पहिला पहिला गाउँका बुढापाका र हजुरबुवाले राम्रो मान्छे बन्नु, अरुको नराम्रो नगर्नु, अरुको भलो गर्नु, अनुशासित हुनु र जीवनमा सधै अगाडि बढ्नु भनेर मनोपरामर्श दिने गर्नुहुन्थ्यो । अहिले एकल परिवार विकाससँगै त्यो परामर्श हराउँदै गएको छ, त्यसैले अहिले मनोपरामर्शकर्ताकोमा जानु आवश्यक छ ।

परामर्शकै कारण सुधारिएका घटनाहरू कस्ता कस्ता छन्?
एउटा बालक घर छोडेर हिँडेछ । घर नफर्केको ६ दिनको दिनमा उसका अभिभावक मेरो सम्पर्कमा आउनु भयो र ८ दिनको दिनमा हामीले बालक उसको साथीको घरमा पत्ता लगायौँ । त्यो बाबुसँग घर छोड्नुको कारण बुझ्दा अभिभावकले घरमा सधै पढ मात्र भन्ने गर्नुभएको रहेछ । उसको बुवा सरकारी जागिरको उच्च पदमा हुनुहुँदोरहेछ र छोरालाई आफू जस्तै बन्नुपर्छ भनेर दबाब दिने गर्नुहुँदो रहेछ । १० कक्षामा पढ्दा पढाई नै छोडेका उनी परामर्श पाएपछि उसले आफूलाई सुधार गर्दै अहिले ऊ एउटा एयरलाइन्सको क्यापटेन भएका छन् ।

त्यस्तै अर्को एउटा १४ वर्ष उमेरको नानी बेलुका खाना खाएर केही कुरामा कराएमा यो रात मेरो अन्तिम रात हो भन्दै चुकुल लगाएर बस्ने गर्थिन् । एउटा अभिभावकको लागि यो भन्दा त्रासको वातावरण के हुन सक्छ र । कयौँ पटक अभिभावक छोरीको ढोका खोलेर भित्र जानु भयो । जब मनोपरामर्श पाइन् आज उनी बृद्धबृद्धालाई कस्तो व्यवहार गर्नुपर्छ भनेर समाजका सक्षम मानिसहरूलाई पढाउँदै हिँड्छिन् । मनोपरामर्शबाट दाजु र भाइबीचको ठूलो झगडा हटेका घटना पनि छन् ।

अभिभावक शिक्षा कहिले दिँदा उपयुक्त हुन्छ?
औषधिको डोज जस्तो यहि दिन दिनुपर्छ भन्ने हुँदैन । जुनसुकै दिन जुनसुकै समयमा अभिभावक परामर्श दिन सकिन्छ । तर बिहानको समयमा मानिसहरू नयाँ उत्साहको साथमा योजना बनाएर निस्कने हुँदा बिहानको समयमा गर्दा उपयोगिता बढी हुन्छ ।

विद्यालयमा अभिभावकको लागि कार्यक्रम गर्दा के सिकाउनु हुन्छ?
कुन क्षेत्रका अभिभावकले के अपेक्षा राख्नु भएको हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्नेहुन्छ । एउटा सहरमा बच्चा पढाउँदै गरेको अभिभावक र गाउँमा बच्चा पढाउँदै गरेका अभिभावकको अपेक्षा त समान हुनसक्छ तर अभिभावकलाई दिनुपर्ने शिक्षा ठाउँ विशेष फरक हुनसक्छ । परामर्श गर्दा उद्देश्य त उही हुन्छ तर त्यसमा प्रयोग गरिने विधि फरक हुन्छ ।विद्यालयमा परामर्श दिँदा अभिभावकलाई आफ्नो बालबालिकालाई सधै उत्साहित बनाउने, किताबी ज्ञान मात्र नभई व्यवहारिक ज्ञान दिने र घरको वातावरण स्वस्थ र पारिवारिक बनाउनु पर्ने र बच्चालाई समाजको हरेक व्यक्ति, साथीभाइसँग मिलेर बस्नु पर्छ भन्ने भावना विकास गराउन सिकाउँछौँ । असल मानव बन्नुपर्छ भन्ने कुरामा मैले अभिभावक र विद्यार्थीलाई प्रेरित गर्ने गरेको छु ।

 

:81 Views

Leave a Reply