विद्यार्थी भए पनि तलब आएकै छ, नभए पनि आएकै छ, किन टाउको दुखाउने ?

जीवनको आधा हिस्सा शिक्षण क्षेत्रमै बिताएका उद्धव सुजखुको जन्म विक्रम सम्वत २०१५ सालमा भएको हो । उनीसँग शिक्षणका तीता पनि मीठा पनि गरेर थुप्रै अनुभवहरु छन् । उनका अनुभव, अहिलेको शिक्षाको अवस्था, उनले नेतृत्व गरेको शैक्षिक धरोहरहरुका केही विषय समेटेर जेठको २० गते अनिवार्य अवकास पाएका पूर्व शिक्षक एवं प्रअसँग हरिसुन्दर छुकांले गरेको कुराकानीको सार ।
हालसालै रिटायर्ड हुनुभयो ?
हो, एकदमै अस्ति(जेठ २० गते ) । उमेरहदले ६० वर्ष पुगेको र सरकारी नियम कानून अनुसार शिक्षकहरु साठी वर्षमा अनिवार्य अवकास लिनुपर्ने प्रावधानले रिटायर्ड भएको हुँ ।
अवकासपछिको दिनचर्या वा अबको योजना के छ तपाइँँसँग एक रिटायर्ड शिक्षकको हिसाबले भन्नुपर्दा ?
शैक्षिक क्षेत्रमै सकिने किसिमबाट लाग्छु भन्ने लागेको छ । सञ्चार क्षेत्रमा पहिला पनि काम गरिसकेको हुनाले पत्रपत्रिका हेर्नुपर्ने कुराहरु पनि आइरहेको छ । त्यसमा पनि सायद् ध्यान दिन्छु होला ।
थकाई लागेको छैन तपाइँलाई ?
अहिले आराम गर्दैछु, एकदुई महिनापछि फेरि कार्यक्षेत्रमा लाग्नेछु । साथसाथै स्थानीय पाठ्यक्रम बनाउने जिम्मा पाएको छु । कार्यदलको सदस्य पनि भएको नाताले कक्षा ६ र १ को बनिसकेको छ, बाँकी २, ३, ४ र ५, ७ र ८ को बाँकी नै छ । त्यसमा पनि लाग्नुपर्ने साथीहरुको सुझाव छ । त्यो लागू गर्न पनि सायद् भूमिका निभाउनुपर्ने हुन्छ, त्यही योजनामा छु ।
अवकास पाइसकेपछि पनि त आनन्दले बस्नुपर्ने हो नि हैन र ? किन फेरि त्यतातिर जोडिन लाग्नुभयो ?
हुन त शारिरीक रुपमा मान्छेहरु रिटायर्ड भए पनि मानसिक रुपमा रिटायर्ड भएका हुँदैनन् । म जागिरबाट रिटायर्ड भएको हुँला तर कामबाट टायर्ड भएको छैन भन्ने महशुस गर्दछु । किनभने साथीहरु हुनुहुन्छ, रिटायर्ड साथीहरु पनि मैले देखेको छु । उहाँहरुकै साथमा लाग्ने, सामाजिक सोवामा लाग्ने मनसाय बनाएको छु । घरमा बसिराख्दा खेरि आफ्नो जुन अनुभवहरु छन्, काम गरेका अनुभवहरु बिर्सँदै जान्छन् भन्ने कुरा मैले मानसिक डाक्टरहरुबाट थाहा पाएको छु । त्यही भएर जति आनन्दले बस्छ, उसका अनुभवहरु पनि बिर्सँदै जाने रहेछ । त्योबाट बच्न पनि मस्तिष्कलाई चलायमान बनाइराख्नुपर्छ भन्ने सोच छ ।
रिटायर्ड भइसकेपछि कति जागिरे शिक्षकहरु डिप्रेसनको सिकारमा परेका देखिन्छन्, त्यो समस्याबाट छुटकारा पाउने उपाय पनि हो कि तपाइँको योजना ?
बुढ्यौलीले छोएपछि स्मरणमा पनि क्रमशः क्षीण हुँदै जान्छ , यदि हामी चुप लागेर बस्यौं भने, म रिटायर्ड भइहालेँ, किन काम गर्नुपर्यो भनेर बस्यो भने । यसैले दिमागलाई परिचलान गर्दै जानुपर्छ । त्यसले त्यो स्मरणलाई केही कम गर्न भने सहयोग गर्छ । त्यो कारणले पनि स्वयम्सवी भावनाले काम गर्ने योजनामा छु ।
भनेपछि, आफ्नो अनुभव, योग्यता, क्षमतालाई अझ पनि मर्न नदिने सोचमा हुनुहुन्छ ?
अँ, म आफूले सकेको हिसाबले योगदान दिन्छु भन्ने नै हो । मैले त्यस्तै साथीहरु पनि पाएको छु । साथीहरुको हौसला मैले पाएको छु ।
शिक्षण क्षेत्रमा तपाइँले कति वर्ष बिताउनुभयो ? अहिले त तपाइँ ६० वर्ष पुग्नुभयो ?
मैले ३२ वर्षभन्दा बढी शिक्षण क्षेत्रमा बिताएँ । मैले औपचारिक वा भनौं स्थायी शिक्षकै भएर २७ वर्ष काम गरेको छु । अस्थायी रुपमा मैले ४ वर्ष काम गरेँ । त्योभन्दा अगाडि पनि म शिक्षण क्षेत्रमा लागेको थिएँ । बीचबीचमा विभिन्न कारणले गर्दा अवरुद्ध भयो, कहिले जेलमा परेँ, कहिले अण्डरग्राउण्ड हुन बाध्य भएँ, त्यसले गर्दा बीचमा टुटफुट भएको छ । टुटफुट नहुँदो हो त ३५ वर्ष नाघ्थ्यो, पुगनपुग ४० वर्ष पुग्थ्यो ।
मैले शिक्षण सुरुवात २०३७ सालबाट गरेको हुँ । त्यो बेला मैले बिहानी मावि(अहिलेको आदर्श आजद मावि÷कलेज) मा पढाएँ । त्यसपछि मैले नालाको चण्डेश्वरी माविमा पढाएँ । त्यहाँ पढाउँदा ३७० रुपियाँ महिनाको पाउँथे । म निमावि अस्थायी शिक्षक थिएँ । त्यहाँबाट म नुवाकोटमा काम गर्न गएँ । नुवाकोटको चुटराले भन्ने ठाउँको प्रस्तावित माविमा पढाएको थिएँ । त्यसपछि नुवाकोटकै विकट ठाउँ खैरेनीटारको अमरज्योति माविमा पढाएँ ।
त्यो बेला डिग्रीका सबै प्रक्रिया सकाएर पनि थेसिस बाँकी भएर ठाउँठाउँबाट मैले छोड्दै फेरि काठमाडौं आएँ र फेरि म थेसिस गर्नतिर लागेँ । त्यही क्रममा विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन भइरहेको थियो । नुवाकोटको शिक्षक आन्दोलनमा पनि सहभागी भएँ । त्यहाँबाट छुट्टिएपछि काठमाडौं आएँ, त्यो बेला विद्यार्थी आन्दोलन भइरहेको थियो । त्यो २०४२ सालको कुरा हो । त्यो बेलामा पनि म जेलमा परेँ र शैक्षिक यात्रामा अवरुद्ध भयो । त्यसपछि भक्तपरमै आएँ । त्यसपछि वागीश्वरीमा पढाएँ, आदर्श आजदमामा पढाएँ, शारदामा पढाएँ, आदर्श लायकूमा पढाएँ, त्यसरी मेरो शिक्षण पेशा विभिन्न विद्यालयमा बित्यो ।
शिक्षकदेखि प्रअसम्मको पद सम्हाल्नुभयो, त्यो क्रममा शिक्षक हुनु र प्रअहुनुबीचको पृथकता के पाउनुभयो ?
शिक्षक हुँदा आफ्नो विषय र कक्षामा मात्र सीमित भए पुग्थ्यो तर प्रिन्सिपल भएपछि त्यतिले मात्र नपुग्दो रहेछ । विषयको साथसाथै प्रशासनिक काम पनि गर्नुपर्ने र विभिन्न तप्काका मान्छेहरुसँग, संस्थाका मान्छेहरुसँग डिल गर्नुपर्ने, अनि शिक्षकहरुलाई जिम्मेवारीहरु दिँदै, आफूले पनि कर्तव्य निभाउँदै र समयभन्दा बढी नै स्कुलमा बिताउनुपर्ने, शिक्षक भएको बेलाजस्तै घुमफिर गर्न नपाउने हुँदो रहेछ ।
३१ वर्षको शिक्षण भक्तपुरमै बढी बिताउनुभयो कि बाहिर ?
बढी समय मैले भक्तपुरमै बिताएँ, त्यो भनेको मैले आदर्श आजादमा बिताएँ, त्यहाँ १९ वर्ष काम गरेँ । त्यहाँ डेढ वर्षजति प्रअ भएँ । त्यहाँबाट म शारदामा प्रअ नै भएर आएँ र त्यहाँ करिब ११ वर्ष काम गरेँ । त्यसपछि लायकू थिमीको आदर्श माविमा १५ महिना केही दिन काम गरेँ र रिटायर्ड भएँ ।
लामो समय भक्तपुरमा बिताउनुभएको अनुभवबाट त्यो बेलाको शिक्षा र अहिलेको शिक्षाबीच तुलना गर्दा भक्तपुरको शिक्षा कतातिर गइरहेको छ जस्तो लाग्छ ?
पहिलाको शिक्षा घोकन्ते त घोकन्ते नै थियो, तर एकदमै ज्ञावर्धक थियो । नैतिक कुरा धेरै हुन्थे पहिला । शिक्षकहरुलाई विद्यार्थीहरु आदर गर्ने, मान गर्थे । विद्यार्थीहरु अनुशासित थिए । विद्यार्थी आजकालका जस्ता छाडा, उच्छृङ्खल थिएनन् । आजकाल विद्यार्थीहरुले जुन शिक्षा ग्रहण गरिरहेको छ, तर पहिलाजस्तो नैतिक रुपमा सेचत छैनन्, त्यसको अभाव मैले पाएको छु । पहिलोजस्तो कठीन प।िम गर्नुपर्ने बाध्यता अहिले छैन । हाम्रो पालामा हामी पढ्दा माध्यमिक तहमै आठ नौवटा अँग्रेजीका कितावहरु पढ्नुपथ्र्यो, अहिले एउटा कक्षामा एउटा अँग्रेजी पढे पुग्छ त्यतिखेर हामीले ती कितावहरुबाट धेरै नैतिक र नागरिक शिक्षा, अनुशासनका कुराहरु, राष्ट्रियताका कुराहरु, देशप्रेमका कुराहरु सिक्थ्यौं । साथीभाइहरु प्नि त्यस्तै खालका थिए तर आजकाल चैं मैले विद्यार्थीहरुमा व्यक्तिवादी, उपभोक्तावादी सोच पलाएको मैले पाएको छु । पहिला पठनपाठनका साथसाथै सामुहिक भावनाका विद्यार्थी थिए, आजकाल भने कम छ । आजकाल व्यक्तिगत स्वार्थमा निर्लिप्त हुने खालका, पूँजीवादी शिक्षाको प्रभावमा परेको देखेको छुु ।
प्रअ हुनुभएको अनुभवका आधारमा भन्नुपर्दा हाम्रो सामुदायिक शिक्षा ¥हासोन्मुख भएको, विद्यार्थी सख्या कम हुनुका कारण के देख्नुभयो ?
सार्वजनिक शिक्षा तपाइँले भन्नुभएजस्तो हुनुमा शिक्षक त जिम्मेवार छ नै । किनभने उसले कक्षाकोठामा जेजति गर्नुपर्ने थियो, सायउद् त्यसमा पनि कमी भएको हुनुपर्छ । सामुदायिक विद्यालयमा तालिमप्राप्त शिक्षक बढी छन् । तलब पनि उनीहरुले रामै्र पाएको अवस्था छ तर यति भैकन पनि राज्यले सामुदायिक विद्यालयमा जति हेर्नुपर्ने थियो, हेरिरहेको जस्तो लाग्दैन । विनिहरु हुन्छन्, स्रोतव्यक्तिहरु, शिक्षाप्रति जिम्मेवार सरोकारवालाहरु छन्, तिनीहरु त खाली तलब खुवाउने निकायजस्तै भएका छन् । विद्यालय कुन रुपमा चलिरहेको छ, अगाडि बढिरहेको छ कि छैन ? तालिम प्राप्त शिक्षकहरुले तालिमअनुसार अगि बढिरहेका छन् कि छैन ? कक्षामा त्यो प्रयोग भएको छ कि छैन ? त्यो फिडव्याक दिने, कक्षा निरीक्षण गर्ने, त्यस्तो पटक्कै भएको पाइँदैन । त्यसले गर्दा राज्य त खाली तलब दिने निकायजस्तै मात्र हुन गएको छ । र, बजेट पनि झन् झन् घटाएको अवस्था छ । सत्रबाट १० प्रतिशतमा आएको छ । त्यो सत्र प्रतिशत हुँदा पनि र अहिले १० प्रतिशत हुँदा पनि त्यसको अधिकांश बजेट तलबमा गएको छ । शिक्षा निकायका कर्मचारीहरु भ्रमणमै लाग्ने गरेका छन् । शिक्षाको विकासमा भन्दा प्रशासनिक कुरामा बढी खर्च गरिरहेका छन् । शिक्षकलाई तलबमात्र दिएर, अन्य भौतिक पूर्वाधारहरुको विकास गर्ने, शिक्षाप्रति बदलिएको अपेक्षा पूरा गर्न सरकार लागेको पाइँदैन । यस्ता कुराहरुमा बोर्डिङ सजग छ । त्यस्ता स्कुलहरु आफ्नो लगानी उठाउनका लागि पनि ध्यान दिएको छ । त्यसले गर्दा उनीहरुप्रति नै अभिभाकव आर्कर्षित भएका छन् ।
राज्यकै सिकारमा हाम्रा सरकारी स्कुल पर्यो भन्नुभएको हो ?
हो, एकदमै, राज्यकै गलत नीतिको सिकारमा सरकारी स्कुल परेका छन् । म ठाउँठाउँका निजी विद्यालयको अवलोकनमा पनि पुगेको छु । उनीहरुले असाध्यै राम्रो वातावरणमा पढाइरहेका छन् । त्यस्तो वातावरण हामीकहाँ सिर्जना गर्नै सकेन । तलबले मात्र त्यो वातावरण नहुने रहेछ । त्यो कुरा राज्यले नै बनाउनुपर्ने रहेछ । त्यसको निम्ति विद्यालय विद्यालय चहार्नुपर्ने देखिन्छ ।
शिक्षकहरुले आफ्ना सन्तान सरकारीमा राखेन भन्ने सवाल पनि छ नि ?
त्यसमा म फरक कुरा राख्छु । सरकारी स्कुलमा त पढाए पनि तलब आउँछ, नपढाए पनि तलब आउँछ भन्ने सोच विकास भएको छ । विद्यार्थी भए पनि तलब आएकै छ, नभए पनि तलब आएकै छ किन टाउको दुखाइ भन्ने सोचले पनि अभिभावकहरु आर्कर्षित छैनन् । शिक्षित अभिभावकहरु, हुने खाने अभिभावकहरु सामुदायिक विद्यालयको गेटबाटै भित्र छिर्दैन ।
सरकारी स्कुलमा पढाउने शिक्षकहरुले तलब सरकारबाटै खाने भएकाले त्यो भनेको हो । अब सरकारी क्षेत्रबाट तलब खाने त शिक्षकमात्रै होइनन्, थु्रप्रै क्षेत्रका मानिसहरु छन् । शिक्षा कार्यालय, मन्त्रालय, विभाग, सैनिक, पुलिस, कर्मचारी सबैले सरकारी तलब खान्छन् । के तिनीहरुले चाहिँ सरकारीमा पढाउन नपर्ने, शिक्षकले मात्र पर्ने ? यदि सरकारको तलब खाने, माना खाने सबैले आफ्ना सन्तान सरकारीमा राखेको भए सरकारी स्कुलमा ध्यान जान्थ्यो । अनि बँधय भएर तिनीहरुले सरकारीलाई राम्रो बनाउन कोसिस गथ्र्यो । त्यसकारणले पनि राज्यका ढुकुटीबाट आफ्नो जीवन निर्वाह गर्ने सबैले सरकारीमै पढाउनुपर्छ । अनि मात्रै सरकारी स्कूल ठीक हुन्छ । निजि स्कुलमा पढाएका कति अभिभावक, कति सरकारी कर्मचारीहरुमा काम गर्ने मान्छे पनि चाहिन्छ नि भन्ने पूँजीवादी सोच छ, त्यसकारण हुने खानेका छोराछोरी र हुँदा खानेका छोराछोरी पढ्ने खालको दुई खाले शिक्षाको विकास राज्यले नै गरेको हो । मलाई लाग्छ, २०५२ सालदेखि सरकारी विद्यालय खुलेका छैनन्, त्यति अवधिका हजारौं निजी स्कूल च्याउजस्तै उम्उिका छन् । त्यसरी उम्रिनुका कारण सरकारी स्कुल बेवास्तामा परेका हुन् । राज्य शिक्षाको दायित्वबाट पन्छिदै गएको तथ्य त्यहाँबाट पनि देखिन्छ ।
तपाइँसँग शिक्षण र प्रशासन दुबैको अनुभव छ, आदर्श आजाद, शारदा, आदर्श लायकूमा नेतृत्व गर्दाताकाका थुपै्र काम, योजनामध्ये कुन चाहिँ बढी तपाइँलाई सम्झना आउँछ ?
म जहाँजहाँ गएँ, त्यहाँ त्यहाँ विवाद थियो । ती विद्यालयहरुमा विवाद समाधान गरेकोमा म सन्तुष्ट छु । शिक्षकहरुको बीचमा मनोमालिन्य, धारणामा मनोमालिन्य, द्वन्द्वकालीन अवस्थामा म शारदा र लायमूमा पुगेको थिएँ । मैले त्यो द्वन्द्वलाई साथीहरुको सहयोगले समाधान गरेँ । जहाँजहाँ पुगेँ, त्यहाँ भौतिक निर्माणका कुराहरुमा जोड दिएँ । विद्यार्थीहरुको शौचालयदेखि लिएर तिनीहरुको पठनपाठन गर्ने कोठाहरुदेखि लिएर, ल्याबसम्मको भौतिक सुविधा दिने काममा खटेँ । जति मैले जति शैक्षिक क्षेत्रमा ध्यान दिनुपर्ने हो, त्यति दिन नसकेको हो कि जस्तो पनि लाग्छ । तर द्वन्द्व समाधान गर्न भने म सफल भएको छु । आजकाल राम्रो अंक ल्याउने विद्यालय मात्र राम्रो विद्यालय गनिने समय छ, तर म कहिल्यै पनि त्यसमा मात्र सीमित हुन चाहिँन । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिक्कै अब्बल हुनुपर्छ भन्ने तरिकाले काम गरेँजस्तो लाग्छ ।
विवादित स्कुलमै तपाइँको नेतृत्व किन, कसरी समाधान गर्नुभयो ?
म आर्दशबाट शारदामा जाँदा पनि प्रअ को हुने ? भन्ने सवाल थियो । नेतृत्व कसले बहन गर्ने भन्ने प्रश्न थियो । त्यहाँ विद्यार्थी कम भइरहेको अवस्था भए पनि तलबको साथसाथै अरु भत्ता, सुविधा लिइरहेको मैले पाएँ । थप काम गरेको भन्दै, अथवा पुरानो शिक्षक भएको नाताले घाटा बजेट हुँदा पनि त्यसरी खाइरहेको कुरा मलाई चित्त बुझेन । विद्यालयको एउटा शौचालय, खानेपानीको ट्यांकी बनाउन नसकेको बेलामा, खेल्ने कुनै सामग्ी र चौरहरु नभएको अवस्थामा मैल शिक्षकहरुलाई खाली सेवा र सुविधामा मात्र जोड दिनुहुदैन र विद्यार्थीको निम्ति पनि, अतिरिक्त क्रियाकलापको निम्ति पनि, खेलकुदको निम्ति पनि, पुस्तकालयको निम्ति पनि, पठनपाठनबाहेक उनीहरुको सर्वाङ्गीण विकास गर्न चाहिने कुराहरुमा पनि ध्यान दिनुपर्छ, बजेट बनाउनुपर्छ भनेर मैले भनेँ । तर शिक्षककहरु ऋाफ्नो थप आम्दानीको स्रोतको रुपमा विद्यार्थीलाई लिइरहेका रहेछन् । त्यो कुरा चित्त नबुझेपछि मैले हिसाब पारदर्शीको कुरा उठाएँ । यो स्थितिले विद्यालय बन्दैन, विद्यालय कोल्याप्स हुन्छ भनेर भनेँ । त्यसकारणले अब विद्यार्थीलाई केन्द्रमा राखेर काम गरौं भन्ने सोच राखेँ तर कतिपयलाई पचेन र विवाद भयो । मैले त्यो सुविधा कटौती गरेँ । विवाद भयो । विस्तारै साथीहरुले बुझे । अहिले टीम बनेको छ ।
यसैगरी आर्दश लायकूको कुरा पनि बेग्लै छ । त्यहाँ पनि पदीय विवाद थियो । को सिनियर भन्ने विषयमा प्रअ बन्न नसकेको अवस्थामा म त्यहाँ सरुवा भएर गएँ । पुरानो प्रअले रिटायर्ड हुनुभन्दा अगाडि धेरै दिनअघि कोहीलाई पनि प्रअको जिम्मेवारी नदिई उहाँ हिँड्नुभयो । त्यहाँको खाता बन्द भयो, शिक्षकहरुले तलबै खान पाएनन् । त्यो अवस्थामा शिक्षा कार्यालयले कुनै परीक्षा केन्द्र नै राख्न चाहेन । विश्वास गरेन । सामुहिक परीक्षा समितिले समेत केन्द्र दिएन । शिक्षकबीच एकदमै अन्योलको अवस्था थियो । त्यतिखेर साथीहरुको सरसल्लाह अनि त्यही स्कुलका साथीहरुको अनुरोधमा म सो स्कुलमा सरुवा भएँ । त्यो काममा बढी भूमिका नेपाल क्रान्तिकारी शिक्षक संघले खेल्यो । संघले जिल्लाकै राम्रा्, ऐतिहासिक विद्यालय विवादमा मुछिनु हुन्न भनेर मलाई प्रअ बन्नुपर्छ भने, समस्या समाधान गर्नुपर्छ भनेपछि म त्यहाँ गएँ । त्यहाँ मलाई सुरुवातमा केही समस्या आयो, घेरामा परेँ म । विद्यालय बन्द गर्न आए । त्यो सबै हुँदा हुँदै पनि शिक्षकहरुमा विद्यालय चलाउनुपर्छ भन्ने भावना पाएँ । त्यो भावनालाई सँगालेर मैले बाहिरी दबाबलाई पन्छाएँ । बाहिरी कुरा बाहिरै मिलाउनुहोला भनेर भनेँ । मैले त्यो बेला भनेँ, म विद्यालय बन्द गर्न आएको होइन, बन्द विद्यालयलाई खुलाउन आएको हँु, यहाँ तपाइँको काम छैन, तपाइँहरु जिशिका जानुहोला, सिडिओकोमा जानुहोला । त्यो बेला केही जर्बजस्ती गर्न त खोजे तर मैले त्यो गर्न दिइँन । उतै पठाएँ । अनि शिक्षक साथीहरुलाई बाहिरको प्रभावका नपर्नु होला, दशबजे अगाडि, चारबजे पछाडि तपाइँहरु अरु कुराहरु गर्नुहोला र स्कुलभित्र बाहिरका कुरा नछिराउँ र यहाँचाहिँ हाम्रो विशुद्ध शैक्षिक काम गरौं, पूरा कक्षा लिउँ भनेर भने । तपाइँहरुमा कुनै शैक्षिक समस्या आउन दिन्न भनेँ । अहिले सुरक्षित अवतरण गरिकन म फर्कन पाएँ, टीम मिलाएर । त्यही आनन्दको कुरा हो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव