शिक्षकले पर्याप्त तलब पाउने अवस्था बनोस्, युवाहरू शिक्षणमा आउने छन्

अंग्रेजीमा एमफिलसम्मको औपचारिक अध्ययन सकेका राजन श्रेष्ठ पायोनियर पब्लिक स्कुल, बुढानिलकण्ठ, कपनका प्रिन्सिपल हुन् । २०६४ सालबाट शिक्षण क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ २०७२ सालदेखि प्रिन्सिपल पदमा छन् । २०४७ साल जेठ १० गते काठमाडौँको बुढालिकण्ठ चुनिखेलमा बुवा रामजी र आमा चन्द्रमायाबाट जन्मिएका उनी सानै उमेरदेखि पढाउन इच्छा राख्थे । गोकर्णको गोकर्णेश्वर विद्यालयबाट उनले त्यो इच्छा एसएलसी सकिएकोे २ वर्षपछि नै पूरा गरे । खेलकुद, गीतसंगीत तथा समाजसेवामा रुचि राख्ने श्रेष्ठ आस्था आटर््स एकेडेमीका अध्यक्ष, लायन्स क्लब अफ काठमाडौँ लिडरसिपकोे चार्टर प्रेसिडेन्ट र एन प्याब्सनमा स्वास्थ्य विभाग प्रमुख हुन् । शैक्षिक डिग्री सकेर आफ्नै नेतृत्वले छोटो समयमा उनले गरेको प्रगतिबाट उनी कसैको लागि प्रेरणा बन्न सक्ने ठान्छन् । छोटो समयमा नै धेरै संस्थाको नेतृत्वमा जान सक्दा हरेक युवाहरूले नेतृत्वको अवसर पाउँदा त्यो नेतृत्वबाट सफलता पाउन सक्छन् भन्ने सन्देश पाउन सक्ने, आफ्नै देशमै बसेर संघर्ष गर्ने हो भने शुन्यबाट सुरु गरेपनि स्थापित हुन सकिन्छ भन्ने प्रेरणा मिल्न सक्छ भनी सोच्ने पायोनियर पब्लिक स्कुल बुढानिलकण्ठ, कपनका जाँगरिला युवा प्रिन्सिपल राजन श्रेष्ठसँग नुवागीका सबिना बानियाँले गरेको कुराकानीः

तुलनात्मक रूपमा सानो उमेरमै प्रिन्सिपल बन्नु भएको छ । यो संयोग हो कि तपाईँको योजना ?
स्कुल पढ्ने समयमा म डाक्टर र पछि त आर्मी बन्छु भन्थेँ । जनजागृत विद्यालयमा कक्षा ७ मा पढ्दा हाम्रो नेपाली शिक्षक राममणि पौडेल सरले मलाई ‘म को हुँ’ भन्ने विषयमा बोल्न लगाउनु भएको थियो । मैले त्यो विषयमा बोलिरहँदा त्यहाँ प्रिन्सिपल सर आइपुग्नु भएको थियो । मैले बोलिसकेपछि पौडेल सरले उहाँलाई ‘हेर्नुस् सर, राजन प्रोफेसर बन्ने मान्छे हो’ भन्नुभएको थियो । मलाई प्रोफेसर के हो थाहा थिएन । तर पोडेल सरले भनिसक्नु भएपछि मलाई शिक्षक र प्रोफेसर बन्नुपर्छ भन्ने लाग्न थाल्यो । र कक्षा ७ बाट नै ट्युशन पढाउन सुरु गरेँ । प्रोफेसर बन्ने इच्छाले कक्षा ११ मा ऐच्छिक अंग्रेजी विषय छनोट गरेँ । सरसर्ती हेर्दा शिक्षणमा लाग्ने इच्छा त्यहाँबाट शुरु भयो । गर्दै जाँदा आज प्रिन्सिपल बनेँ ।

हामीकहाँ प्रिन्सिपल भनेपछि अलि पाको उमेरको मानिसको कल्पना हुन्छ । तपाईले आफूलाई प्रिन्सिपल भनेर चिनाउँदा कुनै फरक प्रतिक्रिया पाउनुभएको छ?
कपाल फुलाईको आधारमा अनुभवलाई तुलना गर्न मिल्दैन । कोही मान्छे बुढो भएको आधारमा नै उसलाई अनुभवी भन्न मिल्दैन र ती व्यक्तिले त्यो क्षेत्रमा लामो समय काम नगरेको पनि हुनसक्छ । कोही मान्छेलाई केही कुरा सिक्न १५ वर्ष लाग्छ भने त्यहि काम मैले ३ वर्षमा पनि सिकेको हुन्छु । प्रिन्सिपल हुन कपाल फुल्नु पर्छ या बुढो नै हुनु पर्छ भन्ने हुँदैन । प्रिन्सिपल पद भनेको अनुभवले मात्र नभई क्षमताले नेतृत्व गर्ने कुरा हो ।

मैले प्रिन्सिपल पदमा सुरुमा यहाँ नै काम गरेको भएपनि शिक्षक र संयोजनकर्ताको रूपमा लामो अनुभव बटुलेको छु । मलाई युवा र उदाउँदो प्रिन्सिपलको रूपमा धेरैले उदाहरणको रूपमा लिने गर्दछन् ।

हामी युवाहरूले कपाल फुलेको व्यक्तिले मात्र पदमा बस्नुपर्छ भन्ने अवधारणालाई चिरेका छौँ । ३ वर्षको अवधिमा मैले थुप्रै संघसस्थाहरूमा नेतृत्व गर्ने पाउने मौका पाएको छु । भाषण गर्नुभन्दा पनि काम गर्नुमा विश्वास गर्नुपर्छ । लिडरसिप लिनका लागि बहुआयामिक व्यक्तित्वलाई लिएर अघि बढ्नुपर्छ । सबैजनाले छोटो समयमा चाँडै प्रगति गर्नेको अग्रपंक्तिमा मलाई राख्ने गर्नुहुन्छ ।

प्रिन्सिपलको कामलाई कसरी ब्याख्या गर्नुहुन्छ?
सुरुदेखि नै प्रशासनिक कामहरू, प्रतिस्पर्धा, शिक्षण नियमावलीका कुरामा अपडेट हुन मलाई केही समय लाग्यो । प्रिन्सिपल भएपछि मानसिक रूपमा पनि धेरै जिम्मेवारी बहन गर्नुपर्छ । सबैतिरबाट तनाव हुने भएकै कारण ३६५ दिनमध्ये ४–५ दिन त शिक्षण पेशामा लागेकोमा पछुतो पनि हुने गर्छ । जति मेहेनत गरेपनि जस नपाइने पेशा पनि हो यो जस्तो लाग्छ । १०० वटा राम्रो काम गर्यो कसैले वास्ता गरेको हुँदैन । जश दिँदैनन् । तर अन्जानमा एउटा गल्ती भयो तत्काल त्यसको विरोध हुन्छ र नराम्रो जश आउने गर्छ । त्यो हिसाबले पनि प्रिन्सिपल पद र काम दुबै चुनौती हो । नेतृत्व गर्ने, नयाँ व्यक्ति र अभिभावकसँग कुरा गर्ने, शिक्षक व्यवस्थापन, बजारमा प्रतिस्पर्धादेखि लिएर सम्पूर्ण जिम्मेवारी प्रिन्सिपलको हुन्छ । हरेक क्षेत्रको समस्यालाई पार लगाउँदै यहाँसम्म आइपुगेको छु । धेरै लामो यात्रा गर्न बाँकी नै छ ।

प्रिन्सिपल हुन कपाल फुल्नु पर्छ या बुढो नै हुनु पर्छ भन्ने हुँदैन । प्रिन्सिपल पद भनेको अनुभवले मात्र नभई क्षमताले नेतृत्व गर्ने कुरा हो । तपाईँले सोचे जसरी नै विद्यालय सञ्चालन गर्न सक्नुभएको छ ?
धेरै कुरामा हामीले योजना लिएर अगाडि बढीरहेका छौँ । हाम्रो विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा ख्याति कमाइरहेको छ । हामीसँग धेरै ठूलो भवन नभएपनि धेरै ठूला विद्यालयमा नगनिएपनि समग्र पढाइको हिसाबले राम्रो गरिरहेका छौँ । हाम्रो विद्यालय हाम्रो नगरमा एउटा उत्कृष्ट विद्यालयमा गनिने गर्दछ । हामीले जुन उद्देश्यका साथ यस विद्यालयको जिम्मा लिएका छौँ, सोचे अनुसार र आशा गरेअनुरूप काम भइरहेको छ ।

विद्यालयको भौतिक संरचनालाई सुधार्ने कुरामा हामीले २ वर्षदेखि योजना बनाएका छौँ । त्यसमा अझै काम गर्न बाँकी छ । अन्तराष्ट्रिय स्तरमा हामीहरूले सस्कृति आदानप्रदानको कार्यक्रम गरिरहेका छौँ तर अन्तराष्ट्रिय सम्बद्धता नै लिएर समयसापेक्ष शिक्षा दिने कुरा विद्यालयमा चलाउने भन्ने कुरा प्रयास गर्दा पनि भइरहेको छैन ।

पायोनियरका विद्यार्थी कस्ता हुन्छन्?
पायोनियरबाट कक्षा १० पास भएका विद्यार्थीलाई उनका अभिभावकले स्वतन्त्रपूर्वक जीवनयापनको अनुमति दिएमा उनीहरू राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाएका छौँ । विद्यार्थीलाई व्यक्तिगत रूपमा जसको जे क्षमता छ त्यसलाई त्यस विषयमा नै अब्बल गराउने प्रयास हामीबाट भइरहेको छ । अहिलेको समयमा पढाइमा मात्र र सर्टिफिकेटमा जिपिए ४ मात्र ल्याएर हुँदैन । उनीहरूले एउटा सिप बोकेर राष्ट्रिय र अन्तराष्ट्रिय बृत्तमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु हाम्रो उद्देश्य हो र हामी त्यहि अनुरूप काम गरिरहेका छौँ ।

नेपाली शिक्षामा क्षेत्र तपाईँ जस्ता युवाहरूलाई आकर्षित गर्ने र भएका युवा प्रिन्सिपललाई टिकाउने वातावरण बनेको छ?
संघर्ष र दृष्टिकोणसहित जान सकिएन भने जो प्रिन्सिपल पनि टिक्न सक्दैन । मैले विदेश जाने बाटो नरोजी नेपालमा नै केही गर्ने सोचले काम गरिरहेको छु । शिक्षा क्षेत्रमा केही गर्ने सोच छ । स्थानीयस्तर हुँदै देशको समग्र शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने सोचका साथ अगाडि बढीरहेको छु । तर यहाँ सरकारी गतिविधि र राजनीतिक अस्थिरताले हामी जस्ता युवाको प्रोत्साहन घट्ने गर्छ । हामी जग्गा बेचेर पनि आफ्नै लगानीमा ५० भन्दा बढीलाई रोजगारी दिएर विद्यालय सञ्चालन गरिरहेका छौँ । ५ सयभन्दा बढी विद्यार्थीको जिम्मा लिएका छौँ । यस सन्दर्भमा सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेका छौँ । तर देशको अवस्था हेर्दा अहिले पढेलेखेको व्यक्तिको मूल्याङ्कन हुने गरेको छैन र नागरिकले आफ्नो देशमा नै बसेर आफ्नो लगानीमा विद्यालय सञ्चालन गर्छुभन्दा पनि सरकारले त्यसमा सहयोग गर्नुभन्दा निजी विद्यालय बन्द गर्ने जस्ता विभिन्न हल्ला फैलाएर विभिन्न समस्यामा शैक्षिक योग्यता भएका व्यक्तिलाई बाहिर देशमा लखेट्ने काम गरिरहेको छ ।

सरकारले मापदण्ड तोकेर नियमन गर्न सक्छ । जस्तै धेरै कम विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्ने र नियमकानून भित्र रहेर काम गराउने जस्ता कार्ययोजना बनाउनुपर्छ ।

म पनि सरकारी विद्यालय पढेको हुँ । मलाई पनि सरकारी विद्यालयको माया लाग्छ । सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिनु मेरो लागि पनि खुशीको कुरा हो र यसले समग्र शिक्षा पनि सुध्रिन्छ भने राम्रो कुरा हो । सरकारी विद्यालयमा भएको आर्थिक अवचलन, स्रोत दुरूपयोग, नातावाद कृपावाद जस्ता विभिन्न समस्या हटाएर अगाडि बढ्न सके अझ राम्रो हुन्छ ।

सरकारी विद्यालयमा सरकारी फन्ड र धेरै क्षेत्रबाट सहयोग आएको छ, खाजालगायत विभिन्न कुरामा निशुल्क भनिएको छ । त्यस्तै गरि निजी विद्यालयलाई पनि फन्ड दिने हो भने निजीले अझ राम्रो गर्न सक्छ । निजी विद्यालयको योगदानलाई नजरअन्दाज गरेर भोलि सरकारी विद्यालयलाई मात्र प्राथमिकता दिँदा त्यसले समग्र शिक्षा क्षेत्र धरासायी हुन्छ र त्यसको बारेमा विज्ञ, सरकार र सरोकारवालाले बेलैमा सोचेन भने त्यसले भोलि शिक्षा क्षेत्रमा ठूलो दुर्घटना हुनसक्छ । भोलि सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्ने हो भने निजी क्षेत्र आफै बन्द हुन्छन् ।

तपाईँ पुराना पुस्ताका प्रिन्सिपलहरूप्रति कस्तो धारणा राख्नुहुन्छ?
हामी युवापुस्ताले पद पायो भन्दैमा आफूभन्दा ठूला व्यक्तिलाई गर्ने व्यवहार परिवर्तन गर्न हुँदैन । उहाँहरूले दिनुभएको योगदान र उहाँहरूको अनुभवलाई हामीले कदर गर्नुपर्छ । पुराना पुस्ताले एउटा काम गर्न धेरै समय लगाउनु भएको थियो भने त्यहि काम हामी अलि छिटो गर्न सक्छौँ । युवापुस्तालाई विश्वास गरिनहाल्ने नेपालको परिपाटीलाई हामीले चिरेको मात्र हो । त्यो भन्दैमा हामीले अग्रजहरूलाई सम्मान नै नगर्ने भन्ने होइन ।

व्यवहार भनेको आफूले जस्तो गरेको छ, त्यस्तै पाउने हो । उहाँहरूको प्रतिक्रिया राम्रो छ र उहाँहरू प्रोत्साहन पनि गर्नुहुन्छ । उहाँहरूले नै भन्ने गर्नुहुन्छ कि उहाँहरूको समयमा त्यहि काम गर्न बढी समय लाग्थ्यो र अहिले युवाहरूले कम समयमा प्रगति गर्नुभएको छ ।

तर कोही कोही पुराना पुस्ताका प्रिन्सिपल भने गुनासो गर्नुहुन्छ । हामीहरू बीसौँ तीसौँ वर्षदेखि संस्थामा लागिरहेका छौँ, तिमीहरू भर्खरका फुच्चे । हाम्रो अगाडि के नै हौ र भन्नेहरूको पनि कमी छैन । तर ती कुरा अप्रत्यक्ष रूपमा आइरहेका हुन्छन् ।

तपाईँ र उहाँहरूबीचको तात्विक भिन्नता के ?
पुराना र युवा दुवै पुस्ताका प्रिन्सिपलको उद्देश्य एउटै हुन्छ । सोच्ने र काम गर्ने तरिका र शैलीमा भने फरक हुन्छ । उमेरको विविधताका कारणले नै पनि २० वर्षअघि जन्मेको र २० वर्षपछि जन्मेको व्यक्तिमा आकाश पातालको भिन्नता हुन्छ । अहिलेको पुस्ता स्वतन्त्र र खुल्ला विचार र ख्दछ भने पहिलाका मान्छेहरू पुरातन शैलीका हुन्छन् । उनीहरू पहिला जुन तरिकाले बसेको हो त्यहि तरिकामा नै बस्न रुचाउँछन्, अपडेटेड हुन रुचाउँदैनन् ।

पुराना पुस्ताले आफूहरू शिक्षामा निकै समर्पित रहेको बताउनुहुन्छ र अचेलका कमै मात्र युवा प्रिन्सिपलहरू शिक्षामा समर्पित छन् भन्नुहुन्छ । के यो सत्य हो ?
पुराना प्रिन्सिपलहरूले पुर्याएको योगदानको हामीले कदर गर्नुपर्छ । तर कुनै संस्थामा बिहान ६ देखि बेलुका ६ बजेसम्म बस्दैमा गुणस्तर आउँदैन । तपाईले २० वर्ष एउटै विद्यालय चलाइरहनु भएको छ भन्दैमा त्यसको गुणस्तर बढ्दैन । यदि युवा प्रिन्सिपललाई त्यस विद्यालयको जिम्मा दिने हो भने त्यस विद्यालयको मुहार फेरिन सक्छ । युवाको विचार र दृष्टिकोणले त्यस विद्यालयको मुहार बद्लिन सक्छ ।

शैक्षिक समर्पणको कुरामा पुराना पुस्ताको भन्दा नयाँ पुस्तामा केही कम भएको लाग्न सक्छ किनभने मेरो आफ्नै कुरा गर्नुपर्दा पनि म धेरै संस्थामा आबद्ध छु । ती संस्थाहरूमा पनि हामीले भागबण्डा गरेर होइन कि हाम्रो क्षमताले गर्दा युवा पुस्ताले नेतृत्व पाइरहेका छौँ । त्यसकारण पनि शैक्षिक क्षेत्रमा केही कम देखिएको हुनसक्छ । तर भौतिक उपस्थितिलाई नै समर्पण भनेर व्याख्या गरिनु गलत हो । भौतिक रूपमा हामी उपस्थित नभएपनि उहाँहरूको जतिनै हाम्रो समर्पण शैक्षिक क्षेत्रमा छ । अझ प्रदर्शनीको कुरा गर्नुपर्दा पुराना पुस्ताको प्रदर्शनीभन्दा युवाको प्रदर्शनी ज्यादा छ ।

प्रदर्शनीको कुरा गर्नुभयो, नयाँ पुस्ताका प्रिन्सिपल सामान्य उपलब्धीलाई पनि ठूलो बनाएर प्रचार गर्छन् भन्ने गरिन्छ । कत्तिको सत्यता छ यसमा ?
काम भनेको सानो–ठूलो भन्ने हुँदैन । तपाईले पुरस्कार भनेर नगद १ लाख पाउनु भएपनि र पुरस्कार भनेर कलम नै पाएपनि पुरस्कार भनेको त पुरस्कार नै हो । एउटा सम्मान नै हो । अहिलेको समय नै प्रचार प्रसारको छ । त्यसकारण पनि प्रचार गर्नु राम्रो हो ।

पुराना पुस्ताहरू अपडेटेड पनि हुँदैनन् र प्रचारमा उनीहरूले वास्ता पनि गरेका हुँदैनन् । आफू अपडेटेड नहुने भएकाले पनि उनीहरूलाई नयाँ पुस्ताले गरेको प्रचार बढी लाग्छ र मन पर्दैन । हामी सानो कुरालाई ठूलो त बनाउँदैनौँ । तर सानो होस् या ठूलो उपलब्धिको प्रचार गर्ने गर्छौँ । कसैले सत्य कुरालाई प्रचार गर्नु गलत होइन । मैले यस्तो काम गरेँ, ल हेर्नुस् र प्रतिक्रिया दिनुस् भनेर भन्नु नराम्रो कुरा होइन ।

के भयो भने नयाँ पुस्ता शिक्षणमा आकर्षित होलान् ?
यो एउटा चुनौतीको कुरा हो । हामीले नर्वेदेखि लिएर फिन्ल्याण्ड, जर्मनीतिरका कुराहरू सुनिरहेका हुन्छौँ, जहाँ शिक्षण पेशालाई १ नम्वरमा राखेर मर्यादित बनाउने र सबैभन्दा बढी तलब दिने गर्दछ । एउटा प्रोफेसरले सिफारिस गरेपछि अरुले पनि त्यस कुरालाई काट्न सक्दैनन्, शिक्षण पेशालाई त्यतिसम्म सम्मान गरिएको हुन्छ । त्यहाँ शिक्षण पेशाबाट नै अरु पेशा जन्मने हो भन्ने कुरालाई आत्मसात गरिएको छ ।

तर नेपालको सन्दर्भमा कक्षा १२ पास गर्ने, आइएल्ट्स गर्ने अनि बाहिर देश जाने र एसएलसी पास हुने अनि खाडी मुलुक जाने प्रचलन बढीरहेको छ । अलि राम्रो पढ्ने पनि बाहिर देशमा पढ्न गई उतै बसिदिने गर्दछन् । त्यसकारण पनि अहिले शिक्षकको अभाव छ । अब जस्तो व्यक्ति या उम्मेदवार आएपनि विद्यालयले राख्नुपर्ने बाध्यता आएको छ । शिक्षण पेशालाई एउटा आकर्षक पेशा र त्यसमा व्यावसायिकता ल्याउन धेरै गार्हो छ ।

कहीँ काम नपाएपछि र कम ग्रेड ल्याउनेहरूले शिक्षण पेशामा लाग्ने होइन कि धेरै पढेको र शिक्षा बुझेको मान्छे नै शिक्षणमा लाग्ने हो भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ । त्यसका लागि विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

शिक्षण पेशाालाई मर्यादित पेशाको रूपमा विकास गर्न पहिला त शिक्षकलाई तलब नै बढी दिनुपर्छ । काम चलाउने हिसाबले शिक्षक राख्नु हुँदैन । दोस्रोमा शिक्षकहरूका लागि प्रशस्त मात्रामा तालिमको व्यवस्था गरिनुपर्छ । शिक्षण पेशाबाट नै हाम्रो बाँच्ने आधार रहन्छ भनेर बाहिर देशबाट व्यक्तिहरू ल्याएर पनि त्यसमा विद्यार्थीहरूलाई उत्प्रेरित गर्न सकिन्छ । यो एउटा प्रतिष्ठित जागिर हो भनेर स्थापित गराउन सक्नुपर्छ ।

अहिले नेपालमा राजनीति र शिक्षण क्षेत्रमा दक्ष र राम्रो दृष्टि भएको मान्छेको अभाव छ । म मेरा विद्यार्थीहरूलाई पनि शिक्षा र राजनीतिमा भोलिका दिनमा माग बढ्ने भएकाले यी क्षेत्रका लागि तयार हुन सुझाव दिने गर्छु । यसबाट नाम, पैसा र मान कमाउन सकिन्छ भनेर भन्ने गरेको छु । डाक्टर, पाइलट र इन्जिनियर मात्र ठूलो पेशा हो भनेर हामीलाई बाल्यकालमा जे सिकाइएको थियो त्यसलाई तल कक्षाबाट नै शिक्षण पेशाले अरु पेशा जन्माउँछ, त्यसकारण सबैभन्दा पहिलो पेशा शिक्षण हो भनेर सिकाउनुपर्छ । यसले गर्दा पनि युवापुस्तालाई शिक्षण पेशामा आकर्षित गर्छ ।

:568 Views

Leave a Reply