‘शिक्षाप्रति वितृष्णा होइन, विद्यार्थीले झेलिरहेको मानसिकता डरलाग्दो छ’

एमए र बीएडसम्मको औपचारिक अध्ययन सकाएकी सानु घिमिरे र भक्तपुरको कटुञ्जेस्थित ओम सेकेण्डरी स्कूल सँगै जोडिएर आउने नाम हुन् । २०३३ सालमा शिक्षण सेवामा प्रवेश गरेकी घिमिरे विक्रम संवत २०३८ सालदेखि प्रिन्सिपल पदमा छिन् । बुवा बटुकृष्ण तिमल्सिना र आमा रेभकुमारी तिमल्सिनाको कोखाबाट विक्रम सम्वत २०१० साउन १० गते काठमाडौंको खिचापोखरीमा जन्मिएकी उनले स्नातक तह उत्तीर्ण गरिसक्दासम्म पनि यही नै काम गर्छु भन्ने निक्र्योल निकाल्न सकेकी थिइनन् । पछि उनले काठमाडौंकै आनन्दकुटी विद्यापीठबाट शिक्षणमा थालिन् । अन्र्तमुखी स्वभावका बाबजुद पनि उनले आफूलाई विद्यार्थीसामु छर्लङ्ग्याइन् । शिक्षणको सागरमा डुबुल्की मार्दै, पौडिँदै अघि बढिरहेकी उनीसँग नुवागीका हरिसुन्दर छुकांले गरेको लिखित कुराकानी ।
तपाईँ लामो समयदेखि यो विद्यालयको प्रिन्सिपल पदमा हुनुहुन्छ, के कुराले तपाईँलाई यसरी अड्याइ राखेको छ ?हो, जीवनको लामो समय गुज्रेको छ, यो सेवामा लगभग पैंतीस वर्ष । पढ्न चाहने र पढ्ने अवसर नपाउने बालबालिकालाई ध्यानमा राखेर खोलेकी हुँ यो स्कूल त्यतिबेला । अझैपनि समाजमा यो जमात ठूलो छ । पैंतीस वर्ष त के पंैतीस जुनीले पनि पुग्दैन जस्तो लाग्छ । सृष्टि रहेसम्म समाजलाई सधैँ एउटा इमान्दार प्रयासको खाँचो परिरहन्छ । त्यो खाँचो पूरा गर्ने मेरो सानो प्रयास हो । त्यसैले अड्याएको छ, मलाई यो सेवामा ।
‘तपाईँ ’ प्रिन्सिपलको दैनिकी कस्तो रहेको छ ?
म बिहान ५ वजे उठ्छु, आवासीय बच्चाहरूलाई उठाउँछु । विहान वेलुकाको अध्ययनमा सघाउँछु । दैनिक चार पिरीयड पढाउँछु, कापी जाँच्छु । आंशिक शिक्षकहरूको कारण विहान सातवजेदेखि कक्षा शुरु हुन्छ, सिनियर कक्षाको । दिउँसो उनीहरूको खाली हुने पिरियडमा खाली ठाउँ भर्छु । मेरो आफ्नो छुट्टै अफिस छैन । सकेसम्म शिक्षकहरूसँग जम्का भेट हुने ठाउँमा बस्छु र दैनिक समस्याबारे सोधखोज गर्छु । साना कक्षाहरूभित्र सकेसम्म एकपटक छिर्छु, समय मिल्यो भने पुस्तकालयका अघिल्लो दिन छरपस्ट पारिएका किताव, पत्रपत्रिका मिलाउँछु । दिन कसरी वित्छ थाहै हुँदैन । राति १० वजे पछिमात्र म आफ्नो कोठाभित्र छिर्छु ।
शिक्षक र प्रिन्सिपलको परिभाषालाई कसरी परिभाषित गर्नु हुन्छ ?
प्रिन्सिपल पहिला शिक्षक बन्नु पर्छ, अनि मात्र प्रिन्सिपल । बच्चाहरूलाई नबुझी, बच्चाहरूको समस्यासँग नजुधी कोही प्रिन्सिपल बन्न सक्दैन । किनकि प्रिन्सिपलका सारा योजना, परियोजना विद्यार्थी केन्द्रित हुनुपर्छ, त्यसको लागि पनि ऊ शिक्षक हुनुपर्छ । जिम्मेवारी र दायित्वको हिसावले प्रिन्सिपलको पद अलि बोझिलो र शिक्षकको पद अलि हलुका हुन्छ जस्तो लाग्छ ।
खासमा एक प्रिन्सिपल को हो अनि प्रिन्सिपल कसरी प्रिन्सिपल बन्न सक्छ ?
प्रिन्सिपल विद्यालयको मियो हो, जसको वरिपरि विद्यालयका सारा शैक्षिक योजनाहरू, कृयाकलापहरू, शिक्षक समूह, विद्यार्थी र अभिभावकहरू घुम्नु हुन्छ । जो बालबालिकामा आफूलाई एकाकार गर्न सक्छ, जस्तोसुकै अँध्यारोमा पनि उज्यालोको कण खोज्छ र त्यसलाई जगाउने प्रयास गर्छ, जो विद्यार्थीहरूको उदण्डता वा उच्छृंखलतादेखि हार मान्दैन र आफू जस्तोसुकै अवस्थामा पनि उनीहरूको पछिपछि छु है भन्ने बोध गराउँछ जस्ता गुणले प्रिन्सिपल बनाउँछ जस्तो लाग्छ ।
प्रिन्सिपल बन्नको लागि थुप्रै कुराहरूसँग सम्झौता गर्नुपर्छ भन्ने सुनिन्छ । साच्चै सम्झौता गर्नुपर्छ, एक दुईवटा उदाहरण छन् कि?
जब हाम्रो काँधमा संस्थागत जिम्मेवारी हुन्छ संस्था नै हाम्रो प्राथमिकतामा पर्छ, तर जीवनले भने धेरैतिर हाम्रो भूमिकाको अपेक्षा गरिरहेको हुन्छ जसलाई हामी पूरा गर्न सक्दैनौँ । कारण, विद्यालयमा नियमित र निरन्तर प्रिन्सिपलको उपस्थिति हुने भनेको एउटा सकारात्मक दबाब हो, प्रभाव हो । यदि यस्तो नहुने हो भने यहाँ धेरै अवाञ्छित क्रियाकलाप हुन सक्छन् ।
यस्तोमा जब सामाजिक व्यवहारहरू र कार्यक्रमहरूमा आमन्त्रित होइन्छ असामन्जसमा परिन्छ, यदि जान थाल्यो भने हरेक जसो दिन कहीँ न कहीँ, केही न केही भै राखेको हुन्छ । कतै जाँदा, कतै नजाँदा झनै नराम्रो, बरु जाँदै गइँदैन । परिणामतः आफन्तहरू टाढिएका छन्, शुभचिन्तकहरू चिढिएका छन् । दुख त लाग्छ, तर यो असल प्रयोजनको लागि भएको हो भनेर मन बुझाउँछु ।
अन्य विद्यालयका प्रिन्सिपल वा भनौं आम प्रिन्सिपलभन्दा आफू कुन कुरामा पृथक छु जस्तो लाग्छ ?
यो त समाजले हेर्ने, खोज्ने र विश्लेषण गर्ने कुरा हो म कसरी भनूँ ? म जे छु जस्तो छु म छु । आफूलाई कसैसँग दाँजेर आफ्नो स्थान निर्धारण गरुँ जस्तो कहिले लागेन ।
तपाईँ प्रिन्सिपलबाट अन्य प्रिन्सिपलले के कुरा सिक्न सक्छन् ? तपाईँ आफ्नो स्व.मूल्याङ्कन कसरी गर्नु हुन्छ ?मलाई आफूबाहेक सबै प्रिन्सिपलहरू महान लाग्छन्, सानदार लाग्छन् । आफूले उहाँहरूबाट सिक्नु पर्ने धेरै कुरा देख्छु । तर, बच्चाहरूले यसरी अल्मल्याउँछन् कि म उनीहरू भित्रको ‘उनीहरू’ सँग हराइरहेकी हुन्छु । मैले आफूलाई स्वमूल्याङ्कन गर्नुपर्दा म प्रिन्सिपलको पद धारण गरेकी एक सामान्य शिक्षिका मात्र हुँ ।
प्रिन्सिपल पद पनि हो, जिम्मेवारी पनि हो, यी दुबै कुरालाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
यो पदमा बसेर मैले बिताएका यी पैंतीस वर्षहरूले जे जस्तो नतिजा दिएको छ, त्यो मेरो पदीय जिम्मेवारीको व्यवस्थापकीय प्रतिफल हो जसलाई तपाईँ मेरो भूमिकाको ऐना पनि मान्न सक्नु हुन्छ ।
विद्यालयमा हरेक कुराहरू प्रिन्सिपलकै टेबलमा आएर ठोकिन्छन्, यस हिसावले समस्या वा तनावको चाङमाथि आफूलाई भएको पाउनु हुन्छ वा हुन्न ?
जुन कामलाई तपाईँ हृदयको आवश्यकता बनाउनु हुन्छ नि त्यहाँ न समस्या हुन्छन्, न त तनाव नै । त्यहाँ मात्र एउटा प्रकृया हुन्छ । गल्ती कमजोरीलाई चिन्दै जाने हो, सामना गर्दै र हटाउँदै जाने हो ।
तपाईँको आदर्श प्रिन्सिपल पनि छन् कि ? तपाईँ आफू कसरी ‘अपडेट’ भइरहनुहुन्छ ?
हुनुहुन्छ, स्वगीय वासुदेव जोशी जसको छत्रछायामा मैले आफ्नो हाइस्कूल र कलेजको पढाइ पूरा गरेँ । हरेक विहान आफ्नो पुस्तकालयको भित्तामा टाँगिएको उहाँको तस्वीरसँग बालबालिकाहरूसँगको आत्मीयताको लागि सवल र सत्प्रेरणा माग्ने गर्छु । रह्यो अपडेट हुने कुरा म दिनहुँ स्वदेशी र विदेशी च्यानलबाट दिनको एकपटक खबरहरू सुन्छु, दैनिक पत्र पत्रिका, बच्चाहरूसँगै पढ्छु । समय व्यवस्थापन गरेर फेसवुक र ट्विटर पनि चलाउँछु र राति जव कोठामा एक्लै हुन्छु युट्युवबाट प्रेरणादायी स्पिचहरू सुन्दै निदाउँछु ।
मलाई थाहा छ सूचनामात्र त्यस्तो हतियार हो जसको अगाडि बच्चाहरू नतमस्तक हुन्छन् । सूचनामात्र त्यस्तो माध्यम हो जसले उनीहरूलाई संसारसँग जोड्छ । म जे पढछु जे सुन्छु ती सबमा वच्चाहरू हुने गर्छन् ।
सुरुमा प्रिन्सिपल हुँदा र अहिले प्रिन्सिपल भइरहँदा शिक्षा क्षेत्रमा थुप्रै परिवर्तनहरू पक्कै पनि आएका छन् ती परिवर्तले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू के के हुन् ?
कुनै एक क्षेत्रमा यो समस्या छ भनेर औंल्याउँदा सायद हाम्रो वुझाई कमजोर देखिन सक्छ । समस्या देशमा छ, व्यवस्थामा छ, नीति निर्माणमा छ, लागु गर्ने परिपाटीमा छ । राज्यको प्राथमिकतामा कहिले नपरेको र सधँै अरुको अनुदानले निर्देशन गर्ने हाम्रो शिक्षा व्यवस्थालाई शिक्षकले नै तय गर्नुपर्छ कि यो मुलुकको भावी पुस्ताको लागि मेरो दायित्व र जिम्मेवारी के हो, मैले गर्न सक्ने योगदान के हो ?
ती समस्याहरूबीच स्कूल चलाउन सहज छ ?
म जुन किसिमको स्कूल चलाइरहेकी छु, यो एकनास छ, निरन्तर छ । जुन दिन असहज लाग्छ छोड्न सक्ने स्वतन्त्रता पनि छ । मेरो कामलाई अरुले सहज वनाइदिनु पर्छ भन्ने दाबी चाहिँ मेरो छैन ।
तपाईँको अनुभव, अध्ययनमा एक आदर्श विद्यालय कसरी बन्न सक्छ ? अहिलेको शिक्षाको स्थिति, बालबालिकाहरूको शिक्षाप्रतिको वितृष्णाबाट सन्तुष्टि कसरी लिइरहनु भएको छ ?
आर्दश स्कूलको मापदण्ड के हो?, मलाई थाहा छैन । स्कूल–स्कूल जस्तै हुनुपर्छ भन्ने मान्यता चाहिँ राख्छु । हिजो आज स्कूलहरूले देखासिकी गर्ने र अभिभावकहरूले पनि देखिसिकी खोज्ने परिपाटीको विकास हुदै गएको छ जुन गलत हो ।
अहिलेका बालबालिका धेरै दबाबमा छन् । शिक्षाप्रति उनीहरूको वितृष्णा होइन, उनीहरूले झेलिरहेको मानसिकता डरलाग्दो छ । ९० प्रतिशत बालबालिकाका घरमा हेर्नु कि, बाबा छैन कि आमा छैन । यो नहुनुले सृजना गरेको विकृति भयावह छ । र, पनि यदि विद्यालयको बेञ्चमा आएर बालबालिका बसेका छन् भने उनीहरू सिक्नै आएका हुन् । तिनलाई सिकाउनु हाम्रो जिम्मेवारी हो र तिनले प्राप्त गर्ने सफलता चाहिँ हाम्रो सन्तुष्टी । म त्यही सन्तुष्टिको लागि काम गरिरहेकी छु ।
:2689 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव