सम्वेदनशील हुन्छन् महिला प्रिन्सिपल

खोटाङमा जन्मिएर शिक्षाशास्त्रबाट स्नातकोत्तर अध्ययन गरेकी रिता राई दाहाल काठमाडौँ, पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक हाइस्कुलकी प्रिन्सिपल हुन् । वि.स २०५१ सालमा धनकुटाको ब्रिटिस स्कुलबाट शिक्षण पेशामा प्रवेश गरेकी उनले २०५९ सालदेखि क्याम्ब्रिज पब्लिक स्कुलको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएकी छन् । बुवा गंगाप्रसाद र आमा बसन्तीको कोखबाट जन्मिएकी उनलाई कराते र भलिबल खेलमा रुचि छ । घरदेखि स्कुलका बगैँचासम्मका सम्पूर्ण व्यवस्थापकीय पक्ष सम्हाल्दै आएकी रिता राई दाहाल काठमाडौँ जिल्ला प्याब्सनकी उपाध्यक्ष हुन् । स्पष्टवक्ता र हक्की स्वभावकी प्रिन्सिपल राई वि.सं.२०६९ सालमा राष्ट्रपतिबाट प्राप्त प्रबल जनसेवा श्री चर्तुर्थद्वारा सम्मानित भएकी थिइन् । हरेक चुनौतीको सामना गर्दै शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएकी प्रिन्सिपल रिता राई दाहालसँग नुवागीले गरेको कुराकानी :

नेपाली शिक्षा जगतमा महिला नेतृत्वको अवस्था कस्तो देख्नुहुन्छ ?
शिक्षामा महिलाको सहभागिता पछिल्लो समयमा क्रमश बढ्दै गइराखेको देखिन्छ, तर शिक्षाको नेतृत्व तहमा निकै न्यून रहेको छ । नेपालको सन्दर्भमा विद्यालयका शिक्षकहरूको संख्यालाई मात्र विश्लेषण गर्दा कुल शिक्षक संख्याको ४३ प्रतिशत हिस्सा महिलाले ओगटेको देखिन्छ भने माध्यमिक तहमा कुल संख्याको २८ प्रतिशत महिला शिक्षकले ओगटेको देखिन्छ । तर प्रधानाध्यापक अर्थात् प्रिन्सिपल हुनेहरूको संख्या निकै कम रहेको छ । काठमाण्डौ जिल्लामा मात्र १८० को संख्यामा रहेको सरकारी विद्यालयमा महिला प्रिन्सिपलको संख्या करिव १७/१८ जना मात्र महिला प्रिन्सिपलहरू रहेको तथ्याङ्क देखिन्छ भने निजी विद्यालको हकमा पनि काठमाण्डौ प्याब्सन अन्तर्गत रहेका करिव ७०० विद्यालयहरू मध्येमा महिला प्रिन्सिपलहरूको संख्या ८२ जना भन्दा बढी नरहेको अवस्था छ । त्यसैले शिक्षामा महिलाको पहुँच बढ्दै गएपनि नेतृत्व तहमा महिलाको सहभागिता भने अत्यन्तै न्यून रहेको छ । तसर्थ महिला नेतृत्वको विकासमा विशेष जोड दिनु आवश्यक देखिन्छ ।

एक जना महिला प्रिन्सिपल हुनुले के अर्थ राख्छ ? उनमा आउने परिवर्तन र थपिने जिम्मेवारीहरू के–के हुन् ?
प्रिन्सिपल मात्र किन नि जो कोही व्यक्तिलाई नयाँ जिम्मेवारीले उसको व्यवहारमा परिवर्तन ल्याइदिन्छ । महिला प्रिन्सिपल मात्र होइन जो कोही महिला पनि पुरूषको तुलनामा व्यवस्थापकीय भूमिकामा बढी क्रियाशील रहेका हुन्छन् । घरपरिवार, छोराछोरी, नातागोता, इष्टमित्र सवैको व्यवस्थापन, हेरचाहमा महिलाले नै बढीजसो भूमिका निर्वाह गरेका हुन्छन् । त्यसमा पनि विद्यालयको प्रिन्सिपलको जिम्मेवारीमा रहेपछि, घर अनि विद्यालय दुवैको जिम्मेवारी लिनु पर्दा त वास्तवमै धैरे व्यस्त हुनु पर्दो रहेछ । विद्यालयको नेतृत्वमा रहेपछि विद्यालको गुणस्तर अर्थात् नतिजा कसरी राम्रो बनाउने भन्ने कुरासँग विद्यालयको वातावरण, विद्यालयको शिक्षक कर्मचारीको उचित व्यवस्थापन, विद्यालमा आइपर्ने समस्याको समाधानका साथै समस्या नै आउन नदिने कुरामा जिम्मेवारीपूर्ण ढङ्गबाट काम गर्नु पर्ने हुन्छ । साथै विद्यालयमा शिक्षक, कर्मचारीको व्यवस्थापन, समाजमा कसरी राम्रो सम्बन्ध स्थापना गर्न सकिन्छ ता कि आफ्नो विद्यालय नजिकका अन्य विद्यालयभन्दा भिन्न भई राम्रो होस् भन्ने विषयले महिला प्रिन्सिपलको व्यवहार, काम गर्ने शैली इत्यादिमा परिवर्तन त आइहाल्छ नि ।

जिम्मेवारी र चुनौतीका हिसाबले महिलालाई प्रिन्सिपल पद कतिको कठिन पाउनुभएको छ ?
सर्वप्रथम् त महिला होस् या पुरूष, प्रिन्सिपल हुनु भनेकै उसमाथि ठूलो जिम्मेवारी थपिनु हो । किनकि प्रिन्सिपल भइसकेपछि उसको नेतृत्वमा रहेको विद्यालयको नतिजाको सहित हरेक पक्षमा उत्कृष्टता हाँसिल गर्न सक्नु, विद्यालयको आन्तरिक र बाह्य वातावरण चुस्त र दुरूस्त राख्नु भौतिक संरचनाको विकास, शिक्षक कर्मचारीहरूको उचित व्यवस्थापनको भूमिकासँगै विद्यालयको विकासको लागि सबैसँगको सुमधुर सम्बन्ध स्थापित गर्ने जिम्मेवारी त छँदै छन् । त्यसमा पनि महिलाले नेतृत्व लिएको विद्यालय भनेपछि हामीकहाँ हेर्ने दृष्टिकोण नै भिन्न बनाएको पाइन्छ । महिलाको नेतृत्वमा राम्रो विद्यालय हुन्छ, हुनसक्छ भन्नेप्रति विश्वास नै रहेको पाइँदैन । त्यसैले महिला नेतृत्वको विद्यालय राम्रो हुन्छ भन्ने पुष्टि गर्दै महिलाहरू पनि विद्यालयको नेतृत्वमा राम्रा हुन्छन् भनेर देखाउनु नै मुख्य चुनौती हो । साथै महिलाहरू अवसर पाएमा असल नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुराको सन्देश दिनु नै हामी महिला प्रिन्सिपलहरूको चुनौती रहेको छ ।

विद्यालयमा महिला प्रिन्सिपल हुनुको सबल पक्ष पनि छन् भनिन्छ । महिला भएकै कारण उनले कुनै अवसर पाउँछन् भन्ने छ? कि उस्तै हो महिला र पुरुषलाई ?
महिला भएकै कारण उनीहरूले अवसर पाउँछन् भन्ने अवधारणा अझै पनि हाम्रो नेपालमा विद्यमान छ । यो हिसावले हेर्ने हो भने महिलाहरूलाई काम गर्न झन् गाह्रो छ । महिला र पुरूषबीचको विभेद अझै पनि हटेको छैन जुन कुरालाई न्युनीकरण गर्नु पर्छ । महिलाहरूलाई सशक्तिकरण गर्नुपर्छ भन्ने अवधारणाको विकास सङ्गै आर्थिक सामाजिक, राजनीतिक क्षेत्रमा त्यसको सुरुवात भएको वा त्यसप्रति चासो बढेको देखिन्छ ।

महिला प्रिन्सिपलको सवल र सक्षम पक्ष भनेको अपबाद बाहेक सवै महिलाहरू आमा हुन् । स्वाभाविक रूपमा एउटी आमामा बच्चाहरूको बाल मनोविज्ञानलाई सहजताका साथमा बुझ्न सक्ने क्षमता पुरूषमा भन्दा बढी हुन्छ । महिलाहरू बढी संवेदनशील पनि हुन्छन् । विद्यार्थीको चाहना, आवश्यकता र संवेदनशीलतालाई बुझेर शिक्षण गर्न सक्ने क्षमता, उचित परामर्श गर्न सक्ने क्षमता महिलाहरूमा बढी हुन्छ । मेरो विद्यालयमा हेर्दा आफ्ना नानीबाबुहरूलाई भर्ना गर्न होस्, आफ्ना नानीहरूको पर्फरमेन्स बुझ्न होस्, बाबाभन्दा आमा नै बढी आउने गर्छन् । मेरो अनुभवमा महिला अभिभावकले महिला प्रिन्सिपललाई आफ्ना कुराहरू मानौँ समस्याहरू पुरुष प्रिन्सिपलको तुलनामा धेरै सहज ढंगले राख्न सक्छन् । अर्को पक्ष पुरुषमा भन्दा महिलाहरूमा कुनै पनि कुरालाई केलाएर बुझ्ने क्षमता, इच्छा शक्ति, दृढ संकल्पित भएर काम गर्ने क्षमता, पङ्च्यूल हुने, धैर्यपूर्वक कार्य सम्पादन गर्न सक्ने क्षमता हुन्छ जसले गर्दा विद्यालमा भैपरी आउने समस्यालाई सहजै समाधान गर्न सिपालु हुन्छन् । भरसक समस्या नै आउन नदिने कुरामा सचेत रहन्छन् । महिलाहरू समय व्यवस्थापनमा, शिक्षक कर्मचारीको व्यवस्थापकीय पक्षमा, विद्यालयका आन्तरिक या बाह्य विविध कृयाकलापसँग गाँसिएका कामहरू लगायतका कामहरू समयमा नै सम्पादन गर्ने र कुनै पनि क्षेत्रमा समस्या आइहाल्लाकि भनेर संवेदनशील भइरहेका हुन्छन् जुन कुराले विद्यालयमा आइपर्ने समस्याबाट मुक्त हुनुका साथै विद्यालयको समग्र विकासमा सहयोग पुर्याइरहेको हुन्छ । यिनै विषयहरूनै महिला प्रिन्सिपलहरूको सवल र सक्षम पक्षहरू हुन् भन्ने मलाई लाग्दछ ।

तपाईँको व्यक्तिगत अनुभव कस्तो छ ?
सुरुवातमा त मैले प्रिन्सिपल हुन्छु भन्ने सोचेकै थिइनँ, शिक्षक हुन्छु भनेर चाहिँ सोचेकी थिएँ । मेरो बुवा ब्रिटिस आर्मीबाट अवकास पाएर उहाँ नेपाल आउनुभयो । आफू ग्रेजुयट भएको र बेलायत बस्दाको अनुभवका कारण उहाँ शिक्षाप्रति सकारात्मक सोंच राख्नु हुन्थ्यो । उहाँकै प्रेरणा भनौँ या छोरीहरूलाई टिचिङ् फिल्ड राम्रो हुन्छ भनेका कारण मलाई एजुकेशन नै पढाइयो । मेरो पढाइको पृष्ठभूमि एजुकेशन नै भएबाट पनि शिक्षण पेशामा जाने उपयुक्त वातावरण बन्यो । त्यसमाथि पनि जब म आइ एड पढ्थँे, त्यसबेला एक जना मलाई पढाउने शिक्षिकाबाट प्रभावित बनेकी थिएँ । उहाँको पढाउने शैली, उहाँको व्यक्तित्व, उहाँको नेतृत्व क्षमता देखेर म निकै प्रभावित थिएँ । ‘आहा म पनि यस्तै प्राध्यापक बन्न पाए हुन्थ्यो’ भन्ने लागेको थियो । अनि मेरो विवाहपश्चात मेरो श्रीमान् पनि त्यो बेलाको राम्रो शिक्षकमा गनिनुहुन्थ्यो जो आज गणित विषयका पुस्तकहरूको लेखनमा स्थापित व्यक्ति हुनुहुन्छ, उहाँको प्रेरणाले नै मैले स्नातकोत्तर पनि गरेँ । साथै विद्यालय स्थापनाको बेला उहाँ प्रिन्सिपल र म सहायक प्रिन्सिपल भएर ४ वर्ष काम गर्यौँ, पछि गएर म प्रिन्सिपल भएँ । उहाँको प्रेरणा, सहयोग नै मेरो प्रिन्सिपल बन्नको लागि उत्साहित गर्ने विषय बन्न पुग्यो ।

प्रिन्सिपल बनेपछि तपाईले जीवनमा कुनै हाँसिल गरेँ भन्ने भएको छ ?
हो छ । सबभन्दा ठूलो कुरो त आफ्नो विद्यालयको उत्पादन नै हो । यस क्याम्ब्रिजबाट हिजो एसएलसी र आजको एसईईमा उत्तीर्ण विद्यार्थीहरू चाहे स्वदेश होऊन् या विदेशमा राम्रो व्यक्ति बनेको देखेको छु, डाक्टर, इन्जिनियर, पाइलट, वकिल, गायिकादेखि नायिकासम्म त कोही सफल व्यापारी भएर समाजमा चिनिने व्यक्ति बनेको देख्दा मेरो लागि यो खुसी अनि म र मेरो विद्यालयको ठूलो उपलब्धि ठानेकी छु । यसबाट मलाई गर्वको अनुभूति हुन्छ । यो नै मेरो सबैभन्दा ठूलो उपलव्धी हो भन्ने लाग्छ । साथै मैले हिजोको एसएलसी परीक्षामा अनुशासित, मर्यादित र उत्कृष्ट केन्द्रको रूपमा परीक्षा संचालन गरेकोमा उत्कृष्ट परीक्षा केन्द्राध्यक्षको रूपमा पुरस्कृत हुन पाउँदाको क्षण, साथै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुँदाको दिन साथै एउटा महिलाले नेतृत्व गरेको विद्यालयको उत्कृष्ट नतिजास्वरूप राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुँदाको क्षण मेरो लागि ठूलो उपलब्धि मानेको छु । अझै भन्नु पर्दा त मेरो विद्यालयका प्रोडक्टकहरू समाजमा असल नागरिकको रूपमा विभिन्न भूमिकामा योगदान पुर्याइरहेको देख्दा मैले प्रिन्सिपल भएर ठूलै धर्म गरेछु जस्तो लाग्छ ।

पुरुषले चलाएको विद्यालय र महिलाले चलाएको विद्यालयबीच कुनै भिन्नता छ भन्ने लाग्छ तपाईँलाई ?
खासै भिन्नता त हुँदैन तर पनि पुरुषले चलाएको विद्यालयको भन्दा पनि महिलाले सञ्चालन गरेको विद्यालयको व्यवस्थापकीय पक्ष सबल रहन्छ । जस्तो की विद्यालयको सरसफाइदेखि फूल, बगैँचाको व्यवस्थापनमा केही न केही भिन्नता त हुन्छ नै । अनि मैले यस अगाडि पनि भनिसकेको छु कि विद्यालयमा आफ्ना नानीहरूलाई लिएर आउने आमाहरू नै हुन्छन् त्यसैले ती आमा अभिभावकहरूले महिला प्रिन्सिपल हुँदा आफ्ना समस्या या कुरा सहजै राख्न सक्छन् अनि स्वभावैले महिलाहरू पुरुषभन्दा बढी भावुक, संवेदनशील, इमान्दार र बढी मिहिनेतीका साथै अनुशासित र कर्तव्यनिष्ठ हुने भएकोले पनि फरक त हुन्छ नै ।

महिला प्रिन्सिपलले कस्तो शिक्षामा बढी जोड दिन्छन् ?
चाहे महिला होऊन् चाहे पुरुष, सबैले एउटै शिक्षामा जोड दिनु पर्छ । मेरो विचारमा आजको शिक्षा गुणस्तरीय हुनुका साथै व्यावहारिक हुनु पर्दछ । एक्काइसौँ शताब्दीको वर्तमान प्रतिस्पर्धात्मक युगमा हाम्रा विद्यार्थीहरू विश्वको कुनै पनि कुनामा किन नहोऊन्, प्रतिस्पर्धामा दह्रो र खह्रो रूपमा उतार्न सक्ने आधुनिक प्रविधियुक्त सूचना र प्रविधिमा आधारित शिक्षा चाहिएको छ । अनि हाम्रा विद्यार्थीहरूमा उत्कृष्ट कार्यशैलीको विकास गराउने र विद्यालय शिक्षा पार गरेपछि जीवनयापन गर्न सक्ने शिक्षामा जोड दिनुपर्ने हुन्छ । यस तर्फ नै सबैको जोड हुनुपर्छ भन्ने लाग्छ ।

आफ्नो र संस्थाको हितको लागि समग्र महिला प्रिन्सिपलले के के कुरामा सुधार गर्नु पर्ने ठान्नुुहुन्छ ?
सर्वप्रथम त सोचको परिवर्तन गर्न सक्नु पर्छ, महिलाहरू कमजोर हुन्छन् त्यसैले केही पनि गर्न सक्दैनन् भन्ने कुराको सोचलाई परिवर्तन गर्नु पर्दछ । अनि महिला आफैमा चाहिँ अध्यनशील, नयाँ नयाँ कुराहरूको खोज गर्ने, अनुसन्धानात्मक हुने अनि नयाँ कुरा सिक्न खोज्ने बानीको विकास गर्नु पर्दछ । आजको युग विज्ञान र प्रविधिको युग हो । त्यसैले आइ.सि.टीसँग परिचित हुन सक्नु पर्दछ । महिला प्रिन्सिपल एकजना शिक्षक पनि हो । त्यसैले आजको शिक्षण विधिसँग अपडेट हुन सक्नु पर्दछ । साथै शिक्षण मात्रै नभएर प्रिन्सिपलले विद्यार्थीहरूलाई परामर्श गर्दा बालमनोविज्ञानको पनि ज्ञान राम्ररी राख्नु पर्दछ अनि आजको सामाजिक, आर्थिक र राजनीतिक गतिविधिबारे पनि जानकार हुनु पर्दछ । राष्ट्रिय अन्तराष्ट्रिय परिवेशको बारेमा पनि जानकार हुनुका साथै प्रचलित ऐन कानुनको बारेमा पनि जानकार हुनु पर्दछ । निजी विद्यालयप्रति सरकारको नीति निर्देशनको बारेमा पनि उत्तिकै सचेत हुनु पर्दछ ।

:57 Views

Leave a Reply