आवश्यकताले रचना हुँदो रहेछ चाडपर्व

अभि सुवेदी, साहित्यकार

अभि सुवेदी नेपाली साहित्यमा कुनै परिचय दिइरहनुपर्ने नाम होइन। साहित्य, समालोचना र रंगमञ्चका एक शिखर हुन् उनी। हरेक विषयलाई काव्यिक र दार्शनिक अभिव्यक्ति दिने सुवेदीका हरेक भनाइ सन्तका जस्ता लाग्छन्। पूर्वी नेपालमा जन्मेर विश्वका धेरै देश घुमिसकेका सुवेदीसँग नुवागीले गरेको दसैँ संवादः

तपाईं साहित्यकार, त्यसमा पनि पश्चिमा दर्शनका गम्भीर अध्येता समालोचक। धार्मिक मिथकसँग जोडिएको दसैंलाई कसरी हेर्नुहुन्छ ?

संकट र प्रेमको संगम हो चाडपर्व। जब मान्छे चाडपर्व मान्दिनँ भन्छ नि, त्यसले एक किसिमको खतरा मोलिराखेको हुँदोरहेछ। मैले युरोपमा पढेँ। क्याम्ब्रिज विश्वविद्यालयमा सन् १९७९ को क्रिसमसमा मलाई निम्ता गरे लेखक कवि साथीहरूले। मैले सोचेँ– यस्ता नास्तिक छन्, स्वतन्त्र छन्, कसरी के मनाउलान् ? तर म जाँदाखेरी किङ्स कलेजको संसारप्रसिद्ध क्वायर गाउँदै रहेछन् (गाएर सुनाउँदै)। उनीहरूले एकदमै उदात्त भावना बनाउने गरी गाए। अर्धमुदित नयनमा ती पूरा आस्थावादी देखिए। त्यस्ता नास्तिक, स्वतन्त्र, फ्लानरले मनाएको देखेपछि मलाई महसुस भयो चाडपर्वको महत्त्व। अनि मैले आफ्ना चाडपर्व सम्झिएँ। त्यसले मलाई चाडपर्वप्रति निकै श्रद्धा उत्पन्न भयो। मलाई धर्मकर्ममा खासै केही गर्नु त छैन। तर चाड मान्छु।

उत्सवलाई जहिल्यै पनि धर्मसँग जोड्दा रहेछन् मान्छेले। कारण के हो भने चल्तीको धर्मले उत्सवको रचना गर्दो रहेछ। तर स्वतन्त्र मानिसको विश्वासले पनि चाडपर्व वा उत्सव रचना गर्छ। नेवार संस्कृति र चाडपर्व हेर्ने हो भने थाहा हुन्छ। नेवार संस्कृतिमा एकातिर स्थापित धार्मिक मानक भएका परम्परा छन् भने अर्कातिर स्वतन्त्र काव्यिक किसानको जीवनमा आधारित चाडपर्व छन्। लाखे,  भैरव नृत्यदेखि लिएर विभिन्न समयमा मनाइने उत्सव त्यसको प्रमाण हुन्। ग्रिसमा नित्सेले डाइनोसियन र एपोलोनियन भनेका छन्। नेवार संस्कृतिमा डाइनोसियन प्रवृत्तिका उत्ताल नृत्य गरिने चाड छन् भने चट्ट मिलेको शान्त प्रकृतिका उत्सव पनि छन्। ति दुवैको संगमबाट नै जीवन बनिरहेको हुन्छ। त्यसैले म नेवार संस्कृतिको उपासक पनि हुँ। पश्चिमी संस्कृतिमा पनि त्यस्तै प्रकृतिका उत्सव हुन्छन्।

खासमा, यो मानिसले धेरै महसुस गरेर आवश्यकताले नै रचना गरेको रहेछ। दैनिक दौडधूपको तनावबाट मुक्त हुन, दुःखबाट टाढिन र द्वन्द्व विसर्जन गर्न मान्छेले यस्ता क्षण रचना गर्दा रहेछन्। त्यसैले चाडपर्वमा मानिस खुसी हुन्छन्। त्यसको प्रतीकस्वरूप बत्ती बाल्छन्। त्यो चाहे क्रिसमसमा होस्, या दसैंतिहारमा। दसैंलाई पनि मैले त्यस्तै क्षण मान्छु।

हामी वर्षभरि अनेकौं संकटको तीव्रताबिच गुज्रिराखेका हुन्छौँ। तर चाड त्यस्तो क्षण हो, जहाँ हामी अडिन्छौँ, भेट्छौँ, प्रेम, स्नेह र श्रद्धाको कुरा गर्छौँ। खासमा चाड पनि शिक्षाकै खण्ड रहेछ।

तपाईं पूर्वमा जन्मीहुर्केको,  राई लिम्बू समुदायको सरसंगत गर्नुभएको। राई लिम्बू समुदाय त दसैं  नमनाउने अभियानमा छन्। तपाईंलाई चाहिँ कस्तो लाग्छ ?

गत वर्ष तेह्रथुम जाँदा धेरैले मानेकै पो देखेँ। केहीले बहिस्कार पनि गरे। नमनाउने भनेर विरोध गर्नुको चाहिँ राजनीतिक अर्थ छ। समाजलाई दबाउने क्षेत्री, बाहुन र कति मात्रामा चाहिँ स्थानीय नेवारको संस्कृति भएकाले मान्दैनौँ भन्ने अर्थमा लिइएको हो। यो सामाजिक र सांस्कृतिक विद्रोह पनि हो। त्यसलाई सकारात्मक रूपमै लिनुपर्छ। तर मान्नेको पनि अधिकार हुन्छ। हाम्रोतिर चाहिँ क्षेत्री,  बाहुन र नेवारले भन्दा राम्रो दसैं  त लिम्बूहरूले मान्थे। रंगीन पोसाक लगाउँथे। पिङ खेल्थे। ख्याली गाउँथे। संस्कृति उनीहरूकै थियो, तर यो अवसरलाई उपयोग गर्थे। टीका लगाउँन जाने,  सुगुर काट्नेलगायतका क्रियाकलाप हुन्थे। उनीहरूले जस्तो सुन्दर तरिकाले कसैले पनि दसैं मनाएको देखेको नै छैन मैले आजसम्म। नमान्ने कुराचाहिँ सामाजिक राजनीतिक छलफलको कुरा हो।

दसैंको खास रोमाञ्च के हो ?0

दसैंको खास रोमाञ्च भनेको विश्राम नै हो। हामी समय व्यवस्थापन गर्न जान्दैनौँ। बिदाको बेलाचाहिँ काम गर्छौँ र काम गर्ने बेला मस्त बसिदिन्छौँ। मुड छैन भनिदिन्छौँ। यसले मानिस एक प्रकारको तनावमा हुन्छ। त्यो तनाव हटाउन सम्पूर्ण रूपले फुर्सदको क्षण रचना गर्नु नै यसको रोमाञ्च हो।

दसैं र उमेरको सम्बन्ध हुन्छ कि हुँदैन ? एउटा मान्छे बच्चा, युवा र पाको उमेरमा दसैंमा उत्तिकै रमाउन सक्छ कि सक्दैन ?

सफल चाडपर्व हो भने एउटा पुस्ताको मात्रै हुँदैन। दसैंमा पनि सबै खुसी हुन्छन्। खुसी हुने तरिका चाहिँ फरकफरक होलान्। आजभोलि दसैंमा बूढाबूढी जति खुसी अरू कोही हुँदैनन् जस्तो लाग्छ मलाई। किनभने छोराछोरीले छोडेर हिँडेका हुन्छन्। दसैंमा मात्रै फर्किन्छन्। त्यसैले बाबुआमा कहिले दसैं आउला भनेर कुरेर बस्छन्। त्यो जति खुसी त फर्किने पनि हुँदैन।

पश्चिमा देशमा क्रिसमसलाई केटाकेटीको पर्व भनिन्छ। सजाइएका उपहार, सान्ता क्लज, सजाइएका रुखहरू तिनैलाई आकर्षण गर्ने किसिमका हुन्छन्। उनीहरू नाच्छन्, गाउँछन्, रमाइलो गर्छन्। तर तिनको खुसीलाई आफ्नो खुसीमा जोडेर वयस्कहरू पनि सहभागी हुन्छन्। त्यसो गर्दा चाड सबैको बन्छ। त्यसकारण उमेरअनुसार त्यसलाई भोग्ने र ‘रेस्पोन्स’ गर्ने तरिकाचाहिँ फरक हुन्छ। तर पर्वको खुसीचाहिँ खासै फरक हुँदैन। नेवार समुदायका हरेक पर्वमा बच्चादेखि बुढासम्म एकनासले उत्तेजित भइरहेका हुन्छन्। त्यो पर्वको शक्ति हो।

कुनै त्यस्ता घटना छन् जीवनमा, जसले सधैं तपाईंलाई दसैं सम्झाउँछ ?

म आमासँग कहिल्यै टाढा हुन नचाहने दसैंमा। एक वर्ष पहिलोपल्ट आमाबाट टाढा भएँ, विद्यार्थीकालमै। दसैंको बेला आसामतिर घुम्न निस्केँ। सिलोङसम्म पुगेँ। त्यहाँ हरेक दिनजसो बडो पीडा भयो। सोचेँ– दसैंभन्दा ठूलो केही छैन ?

त्यसैबेला म त्यहाँको एउटा ठूलो चर्चमा पुगेछु। त्यहाँ मरेको मान्छेको संस्कार गरिरहेका थिएँ। उनीहरूलाई दसैंको केही मतलब थिएन। त्यतिबेलासम्म मलाई धर्मको भेद पनि थाहा भएन। त्यसपछि मलाई यो पनि कुनै धर्म विशेष मान्नेको चाड रहेछ भन्ने अनुभूति भयो। अनि आफ्नो चाडमा आफू सहभागी हुन नपाएकोमा निकै पीडा भइरह्यो।

त्यस्तै पीडा र शून्यता आमा बितेको वर्ष अनुभव भयो। आमा बित्नुभएको सालको दसैंमा म विश्वयात्रामा थिए, अन्तर्राष्ट्रिय थिएटरको काममा। त्यो बेला अन्तर्राष्ट्रिय हवाइजहाँजमा, विदेशी भूमिमा खुब दसैं सम्झेँ। हुन त नेपाल बस्नुको पनि कुनै अर्थ थिएन। किनकि दसैं मान्न सक्दैनथेँ।

त्यसकारण पर्व विशेष संगम रहेछजस्तो लाग्छ। दसैं आउँदा परिवारसँग छैन भने मभित्र एउटा खाली बसिरहन्छ, म चाहिँ त्यहाँ छैन भन्ने। दसैं एउटा ‘लिंक’ पनि रहेछ। त्यसो त जुनै पनि पर्व त्यस्तै हो। क्रिसमसका बेला कतिपय बाहिरका साथीहरू आउँछन्। बडो एक्लो अनुभूत गर्छन्। त्यसैले भ्याएसम्म उनीहरूसँग बसेर उत्सव गरिदिन मन लाग्छ।

दसैंसम्बन्धी रोमाञ्चक स्मरणहरू धेरै होलान् बाल्यकालका, युवाकालका। केही प्रतिनिधि सन्दर्भ सम्झनुस् न।

लिम्बू दाईहरूसँग मनाएको दसैँका रोमाञ्चक सम्झना छन्। उहाँहरूले बासाको लिंगे पिङ बनाउनुहुन्थ्यो। रंगीन पोसाक लगाएर नाच्नुहुन्थ्यो। म पनि उहाँहरूसँगै हुन्थेँ। त्यो उत्सवको क्षण कहिल्यै बिर्सने छैन। उहाँहरूले मनाउन छोड्नुहोला। तर पनि मेरो सम्झनामा भने बसिरहन्छ। एउटा दसैंमा चाहिँ मैले नदेखेका तर अरूले भन्ने गरेको मेरो एकजना मामा अकस्मात आउनुभयो र टीका लगाइदिनुभयो। रोएको थिएँ त्यस दिन। भित्रदेखि पग्लिएर रोएँ।

मान्छे केका लागि मनाउँछन् यस्ता पर्व ?

त्यसैले चाडपर्व मनाउनु चानचुन कुरा होइन, ठूलो कुरा हो जस्तो लाग्छ मान्छेको जीवनमा। जसले पर्व नै मनाउँदैन त्यो मान्छे स्वतन्त्र, ‘फ्रिक’ मान्छे हो। कोही कोही हुन्छन्, त्यस्तो मतलबै नराख्ने। तर विशेष जीवन हुन्छ तिनीहरूको। त्यस्ता मान्छे थोरै हुन्छन्, ‘लोन्ली’ हुन्छन्। त्यसो हुनाले पर्व सामाजिक बन्धन पनि हो। यसमा सामाजिक ‘सेयरिङ’ हुन्छ। ‘सेयर’ गर्न सजिलो होस् भनेर विम्ब बनाउँछन् मान्छेले चाडमा। लाखे बनाउनु, दुर्गाको मूर्ति बनाउनु वा क्राइस्ट र मेरीको चित्र बनाउनु सेयर गर्नु हो। त्यसले भावनालाई साझा बनाइदिन्छ। सैद्धान्तिक रूपमा भन्दा ‘भिज्युअल सेयरिङ’ हो त्यो। यसैका लागि विम्बहरू बनाइन्छन्। जसको लेख्य संस्कृति छैन। अक्षर र लिपि छैन, त्यस्ता जाति धेरै छन् नेपालमा। तिनीहरूले पनि भव्य रूपमा मनाउँछन् चाड। त्यसमा ‘भिज्युअल सेयरिङ’ गर्छन्। नृत्य, गीत, रंग, विभिन्न प्रस्तुति, रंगीन पहिरन आदिले त्यो सेयरिङलाई जीवन्त बनाउँछ।

दसैंमा तपाईंले सधैँ ‘मिस’ गर्ने कुरा के हो ?

मेरा आफन्तहरू टाढा–टाढा पनि छन्, हुन्छन् स्वाभाविक हो। दसैंमा उनीहरूलाई खुब मिस गर्छु। उनीहरू घर आइदिए हुन्थ्यो जस्तो लाग्छ। धेरै वर्षदेखि बाहिर बसिरहेकाहरू फर्किदिए हुन्थ्यो कि जस्तो लाग्छ। बुझ्छु, गाह्रो हुन्छ फर्किन तर मनमा त्यो लागिरहन्छ। त्यसकारण पर्व अपूर्णता पनि हो। मान्छेले यसमा पूर्णताको खोजी गर्छ। तर त्यही बेला अपूर्णता पनि महसुस गर्छ। मेरी दिदी डेढ वर्षअघि बित्नुभयो। तिहार आउँछ, ममा अपूर्णता अनुभूति हुन्छ। दिदी नबित्नुभएको भए भन्ने लागिरहन्छ। अरू दिदीहरू छन् तर त्यही दिदीको सम्झना आइरहन्छ। त्यस्तो पूर्णताको खोजी हुन्छ यस्ता चाडमा।

तपाईंले बाल्यकालमा अनुभूत गरेको दसैं र अहिलेको दसैंमा के फरक अनुभूत गर्नुहुन्छ ?

भिन्नता त हुने भइगयो नि। म गाउँमा जन्मेको, मैले भनिहालेँ अघि नै। लिम्बू संस्कृतिसहितको दसैं मनाएको ठाउँमा हुर्केको। आमासँग आफ्नो जन्मथलोमा बसेर दसैं मनाएको मान्छे। हुँदा–हुँदा दार्जिलिङ्ग गइयो। काठमाडौँ, धरान, विराटनगरमात्रै होइन, बेलायत गइयो। त्यहाँ पुग्नु भनेको अलग हुनु हो। त्यहाँ फरक अनुभूति भइहाल्छ।

काठमाडौँमा दसैं त मनाइन्छ नि। तर गाउँमा जस्तो हुँदैन। सबैलाई आफ्नै ठाउँमा मनाएको चाडपर्व सबैभन्दा उत्तम हो भन्ने मनमा बसिराखेको हुन्छ। मभित्र पनि त्यो छ। त्यसैले फरक हुन्छ। तर पनि खुसी हुन्छु। किनभने म स्वभावैले नकारात्मक मान्छे होइन। केही नकारात्मक कुरा आयो भने त्यसलाई काव्यिक भावनाले छोपिदिन्छु। त्यसलाई आवद्ध गर्छु, अंकमाल गर्छु। त्यसभित्रको काव्यिकता हेर्छु। त्यसैमा एकप्रकारको धून सुन्छु, सारंगी सुन्छु। मुरली सुन्छु। र, खुसी खोज्छु।

दसैंको सबैभन्दा चित्त नबुझ्दो कुरा केही छ ?

मान्छेले नचाहिँने खर्च गर्ने कुरा मन पर्दैन। धेरै पशु बलि गर्ने, लाइन लगाएर रगतको खोलो बगाउने कुरा पनि निको लाग्दैन। प्रेम प्रकट गर्नुपर्ने पर्वमा अनेक सन्दर्भ जुटाएर दुर्व्यवहार गर्ने, मान्छेको अपमान गर्ने, कसैले मनाएको पर्वलाई तिरस्कार गर्ने क्रियाकलाप भइरहन्छन्, त्यो पनि राम्रो लाग्दैन। म मनाउँदिन भन्न र नमनाउन पाइन्छ। तर मैले अरूको सम्मान त गर्नुपर्छ नि भन्ने भावना हराउँदै गएको चाहिँ मलाई चित्त बुझ्दैन। सबैको अधिकारको सम्मान गर्नुपर्छ।

दसैंजस्ता चाडपर्वले जीवनशैलीमा पार्ने प्रभाव चाहिँ के हो ?

यसले मानिसलाई ताजगी दिन्छ। फुर्सदमा बसेर योजना बनाउँछन्। आफ्नो अन्तर्यको कुरा सुन्छन्। जसले त्यसमा आस्था राख्छ, राख्दैन। कसैले महिषमर्दिनी देवीले महिषासुर मारेकै कथामा विश्वास गर्छ कि गर्दैन अलग कुरा हो। तर कमसेकम भेटघाट गर्छन्। आपसमा संवाद गर्छन्। त्यसले मित्रता बढाउँछ। भेट नै नभएपनि पहिले चिठीमा शुभकामना आदानप्रदान हुन्थ्यो। अहिले इमेलमै भए पनि शुभकामना लेख्छन्। अहिले अलि भिज्युअल र भर्चुअल भएको छ दसैं पनि। भर्चुयल दसैंमा ज्यान हुँदैन तर पनि सम्झना त हुन्छ।

आजभोलि यस्ता चाड भर्चुअलमात्रै भएका हुन् ?

अलि बढी भर्तुअलचाहिँ भएकै हुन्। भर्चुअलमा घटना हुन्छ, दृष्टि हुन्छ, इमेज हुन्छ तर ज्यान हुँदैन, स्पर्श हुँदैन। स्पर्शबाट जति टाढा गयो, त्यो त्यति नै मृत हुन्छ। तर पहिले भेट नभए कुनै संवाद हुँदैनथ्यो। अहिले त भेटै नभएपनि त्यसैबाट भए पनि ‘विस’ गर्छन्। लेख्छन्, ‘के गर्नु भेटे जस्तो त हुँदैन। तर पनि हार्दिक शुभकामना छ। यही मेलबाटै मात्रै भए पनि।’ विदेशमा रहेका मेरा विद्यार्थी अझ महिलाहरूले यस्तो भावनात्मक मेल गर्छन्। उनीहरू बढी संवेदनशील र स्नेहालु भएकाले पनि होला। लेख्छन्, ‘सर नै अगाडि भएजस्तो त हुँदैन। तर टाढैबाट भएपनि सम्झेका छौँ।’ जे भएपनि सम्झना त मर्दोरहेनछ नि।

:709 Views

Leave a Reply