अवसरले मान्छेलाई कहाँ कहाँ पुर्याउँछ

शिक्षणलाई अरु कामको विकल्प बनाउने मनोवृत्तिको अन्त हुनुपर्ने बताउने युलेन्स स्कूलका प्रिन्सिपल मेदिन लामिछाने गोरखाको संस्कृत विद्यालयबाट प्रवेशिका परीक्षा र त्यसपछि गोरखा क्याम्पसको २ वर्षे अध्ययन सकेपछि ४७ सालमा काठमाडौँ आएका हुन् । काठमाडौँ प्रवेश गरेको दोस्रो दिनमै एउटा विद्यालयमा संस्कृत शिक्षणबाट शैक्षिक यात्रा सुरु गरेका उनले झण्डै ३० वर्ष शिक्षा क्षेत्रको अध्ययन अनुसन्धान र अभ्यासमा सुम्पिसकेका छन् । विशुद्ध शैक्षिक व्यक्तित्वको छवि बनाउन चाहने उनै मेदिन लामिछानेको व्यक्तित्वको चर्चा उनकै शब्दमा ।

१६ वर्षको उमेरमा संस्कृत पढाउन भनी पहिलो पटक काठमाडौँको एउटा विद्यालयको कक्षामा पसेको थिएँ । कति विद्यार्थीहरू त मभन्दा ठूला पनि थिए । पढ्दै र पढाउँदै अनि बाकी समय नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धान गर्दै जाँदा एउटै विद्यालयमा १५ वर्ष बिताएछु । मैले शिक्षक तालिम पनि थालिसकेको थिएँ । त्यहीबीचमा सोम पनेरु सरसँग भेट भयो । उहाँमार्फत अमेरिकाको बैंकस्ट्रिट विश्वविद्यालय हुँदै युलेन्स स्कूलसम्मको बाटो तय भएको हो ।
नेपालको लागि समयसापेक्ष विद्यालय कस्तो हुनुपर्छ भन्ने विषयमा मैले एक वर्ष अध्ययन गरेँ । नेपाली पाठ्यक्रम र विदेशी शिक्षण विधिबीच तालमेल गराउन सकिन्छ कि सकिन्न भनी हेर्न ३० जना शिक्षकहरूलाई प्रशिक्षण दिएँ । युलेन्स स्कूल खुलेको पहिलो वर्ष एउटा कक्षामा २ जना विद्यार्थी र ४ जना शिक्षक राखी शिक्षकहरूको प्रशिक्षणको प्रयोग गर्यौँ । त्यसबाट राम्रो परिणाम आएपछि दोस्रो वर्ष युलेन्सले विद्यार्थी भर्ना आव्हान गर्यो । तेस्रो वर्ष त विद्यार्थी भर्नाका लागि कुर्नुपर्ने समय आयो । विद्यालय तहमा क्ष्द्य चलाउने नेपालको पहिलो स्कूल हो युलेन्स । जहाँ १ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने ३ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् ।

अरु सबैले काम नलाग्ने विद्यार्थी भनिएकालाई मैले जिम्मा लिएर पढाउने आँट गर्दा आजको दिनमा उनीहरूको स्थापित व्यक्तित्वले मेरो आत्मविश्वासको जीत गराएको भान हुन्छ ।

शिक्षण पेशामा लागेर पछुताउने ठाउँ भेटेको छैन मैले । योबाहेक अर्को पेशामा गएको भए म निकै थकथकाउँथेँ हुँला । यहीबीचमा मैले विभिन्न अवसरहरू पाएको छु । अवसरले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने लागिरहन्छ । क्ष्द्य स्कूल चलाउने अमेरिका, युरोप जस्ता ठाउँका लिडरहरूको तालिममा उनीहरूको सर्टिफाइड ट्रेनर भएर बेलाबेला प्रशिक्षण दिन पाउँदा गर्व लाग्छ । गोरखाको विकट गाउँमा पढेर आएको भएपनि उतिनै बेला उता अमेरिकामा जन्मेर पढेर आएकाहरूभन्दा आफूलाई कुनै कुरामा पछि परेको महशुस हुँदैन । भित्री मनदेखि केही गर्ने वा केही बन्ने चाहना राख्यो भने ढिलो चाँडो सफलता त हात पर्छपर्छ भन्नेमा म विश्वास गर्छु ।
एकै शिक्षकले उही विद्यार्थीलाई कक्षा १ देखि १० सम्म ४, ५ विषय हरेक वर्ष लगातार पढाउने सायद विरलै हुन्छ । त्यो विरलै अनुभव गर्न पाउने शिक्षकमध्ये एक म पनि हुँ । अरु सबैले काम नलाग्ने विद्यार्थी भनिएकालाई मैले जिम्मा लिएर पढाउने आँट गर्दा आजको दिनमा उनीहरूको स्थापित व्यक्तित्वले मेरो आत्मविश्वासको जीत गराएको भान हुन्छ ।
यति लामो समय कहिले शिक्षकहरूको माझमा त कहिले विद्यार्थीहरूका बीचमा विताइयो । एक्लो बस्दा उकुसमुकुस हुन्छ । विदाका दिनमा निकै तनाव पो हुन्छ । अरु दिनहरूमा त म विहान ८ वजेतिर स्कूल पुगिसक्छु । सबै कक्षाहरू सर्सर्ती एक चक्कर लाउन मन लाग्छ । समयले भ्याएसम्म कक्षामा पढाउनै पनि पुग्छु । अहिलेसम्म गणितबाहेक सबै विषय पढाएँ हुँला । हरेक आइतबार शिक्षकहरूको लागि विशेष कार्यशाला वा तालिमहरू आयोजना हुन्छन् । त्यसको तयारीमा वित्छ केही समय भने । विद्यार्थीहरूका विषयमा पनि निकै सम्बेदनशील भएर हामी छलफल गछौँ । हरेक विद्यार्थीका हरेक समस्या वा विशेषताबारे शिक्षकहरूबीच गहन छलफल हुन्छ र समाधानसहित विद्यार्थी र अभिभावकसमक्ष पुग्छौँ । यसमा कहिलेकाहीँ सोचेभन्दा धेरै समय लाग्ने गरेको छ । ४ बजे विद्यार्थीहरू घर गइसकेपछि म आफूलाई मनपर्ने र चाहिने विषय अध्ययन गर्छु । एक्लै घण्टौँ पढेर बस्न सक्छु । त्यसबाट मलाई आवश्यक ज्ञान उपलब्ध हुनुका साथै म आनन्दित पनि हुन्छु । लवाइ खवाइबारे त्यति चिन्ता गर्दिनँ । अरुले पकाएको खानाबारे गुनासो गर्ने बानी छैन । जे दियो, जस्तो दियो खाइदिन्छु ।

:630 Views

Leave a Reply