पढाइ र नृत्य सँगसँगै

सबिना बानियाँ

भक्तपुर । सूर्योदय स्कुलमा कक्षा ८ मा पढ्ने रश्ना गोसार्इं भविष्यमा ‘डान्सर’ र ‘मोडल’ बन्न चाहन्छिन् । त्यसैले पनि उनी स्कुलको हरेक नृत्य प्रतियोगितामा भाग लिन्छिन् । उनलाई पढ्न भन्दा पनि नाच्न मन पर्छ । नृत्यले आफ्नो स्वास्थ्य राम्रो र आफू साथै अरुलाई पनि मनोरञ्जन दिन सकिने उनको धारणा छ । प्रत्येक बुधबार उनको विद्यालयमा नृत्य कक्षा हुने र उनलाई बुधबारको नृत्य कक्षा कहिले होला ? भन्ने कौतुहलता हुन्छ ।

नृत्य शिक्षक बन्ने लक्ष्य लिएकी ११ वर्षीया सलिना लामिछाने हाल क्वालिटी सेकेण्डरी स्कुलमा कक्षा ७ मा पढ्छिन् । उनी आफू घरमा फुर्सद हुँदा पनि नृत्य गरेर बस्ने गर्छिन् । उनको स्कुलमा प्रत्येक सोमबार नृत्य शिक्षिका निरु फुयालले नृत्य सिकाउने गर्छिन् । उनी आफु राम्रोसँग नृत्य सिकेर अरुलाई नृत्य सिकाउन उत्सुक छिन् ।

त्यस्तै भक्तपुरको गुण्डुस्थित हिमाल एकेडेमीमा कक्षा ७ मा पढ्ने छात्रा प्रनिता तामाङ नृत्यमा आफ्नो रुचि रहेको बताउँछिन् । ‘नृत्य गर्दा मेरो रिस शान्त हुन्छ, नृत्य गरेपछि आनन्द आउँछ र पढाइतर्फ ध्यान जान्छ ।’ उनले भनिन् ।

 

सोही विद्यालयमा नृत्य सिकाइरहेकी शिक्षिका रितु खड्का कुनै पनि कार्यक्रम हुदाँ विद्यार्थीहरुलाई नृत्य सिकाउने गर्छिन् । ‘हस्तलेखन, चित्रकला जस्तै नृत्यलाई पनि विद्यालयले महत्वका साथ अगाडी बढाउनु जरुरी छ ।’ उनले भनिन् । सबै विद्यार्थीको एउटै चाहना नहुने भएकाले नृत्यमा इच्छा भएका विद्यार्थीलाई विद्यालयले नृत्य कक्षा राखिनुपर्नेमा उनले जोड दिइन् । नृत्यले स्वास्थ्यका साथसाथै विद्यार्थीको आत्मविश्वास पनि बढाउने उनको विश्वास छ । विद्यालयहरुले लोक र आधुनिक नृत्यलाई मात्र जोड दिएकोमा उनको गुनासो छ । क्यासिकल नृत्यमा विद्यालयले जोड दिनुपर्ने र नृत्य अध्ययन गरेका र व्यावसायिक रुपमा नृत्यमा लागेका शिक्षकको छनोट गर्नुपर्नेमा उनले जोड दिइन् ।

कुनै विद्यालयले मासिक रुपमा विद्यार्थीसगँ पैसा उठाएर नृत्य सिकाउने गरेको उनको अनुभव छ । उनी नृत्य शिक्षक भन्दा कोरियोग्राफरको आर्थिक आम्दानी राम्रो हुने बताउँछिन् ।

नेपाल चलचित्र नृत्य संघका कोषाध्यक्ष गोपाल अधिकारी भने आफ्नो जीवनयापनमा नृत्यले गर्दा ठूलो सकरात्मक र आर्थिक सुधार भएको बताउँछन् । कुनै पनि गीतलाई आफ्नो शरिरको हाउभाउद्वारा व्यक्त गर्नु नृत्य रहेको उनले बताए । नृत्य विद्यार्थी जीवनमा एकदमै महत्व रहेको दर्शाउदै शारिरीक साथै नेपालका संस्कारसम्बन्धी जानकारी विद्यार्थीले यसबाट प्राप्त गर्ने बताए । ‘कक्षा ९ र १० को सामाजिक विषयको पाठ्यक्रममा सामाजिक संस्कार र नृत्यको बारेमा पढ्नुपर्ने हुदाँ विद्यार्थीलाई नृत्यको कक्षाको आवश्यकता छ ।’ उनले भने । शहरी क्षेत्रका केही विद्यालयले नित्यलाई हप्तामा एक पटक कक्षा संञ्चालन गर्दै आएका छन् । तर ग्रामीण क्षेत्रका निजी विद्यालयमा पनि नृत्य कक्षा अभाव रहेको छ । चलचित्र नृत्य संघ र चलचित्र नृत्य निर्देशन संघले हप्तामा एक दिन भएपनि एउटा कक्षा नृत्यको हुनुपर्ने नियम बनाएर अगाडी बढिरहेको उनले बताए । उनका अनुसार कक्षा ११ र १२ मा नृत्यलाई छुट्टै विषयको रुपमा पढाइदै आएको छ ।

विद्यालयले कम पारिश्रमिक लिने नृत्य शिक्षक खोज्दा नृत्यलाई सोचे जसरी अगाडी लैजान मुस्किल हुने उनले बताए । नृत्यमा व्यवसायिक रुपमा लागेका शिक्षकको अभाव र नृत्यलाई सहायक पेशाका रुपमा लिने नित्य शिक्षक धेरै रहेको उनको गुनासो छ । नृत्य संवेदनशील भएर निरन्तर यसमा मात्र व्यावसायिक रुपमा लाग्दा सहज रुपमा बाच्न सकिने उनको अनुभव छ । नित्य शिक्षकले आफै नयाँ नयाँ नृत्य सिकिरहने पर्ने उनको सुझाव छ ।

समग्रमा हेर्दा नृत्य शिक्षकलाई विद्यालयले समयमा पैसा नदिने, गित बजाए बच्चाले नाचिहाल्छन् भन्ने सोचाई र विद्यालयले हल्लिनुलाई नृत्यको परिभाषा दिदाँ आफूलाई दुःख लागेको उनले बताए । ‘जसरी कुनै बिषयका किताब १ वर्ष लगाएर पढ्छौ, नृत्य पनि त्यतिकै गा¥हो विषय हो ।’

उनले भने, ‘नेपाल कल्चरल र क्लासिकल नृत्य गर्ने विद्यार्थीको हिँडाई, बोलाई , कम्मरको चालमा फरक पार्ने र त्यस्तो विद्यार्थीले कोहीसँग बोल्दा संवेदनशील साथै सोचेर मात्र बोल्ने गर्दछन् ।’

 

:1065 Views

Leave a Reply