रकेट उडाएर हाजिरीजवाफ !

सबिना बानियाँ

भक्तपुर ४ असोज । कुनै पनि कार्यक्रम कसरी उद्घाटन हुन्छ होला ? धेरैको जवाफ आउँछ, पानसमा दीयो बालेर, रिबन काटेर, गमलामा पानी हालेर, ताली पड्काएर वा अन्य अन्य तरिका अपनाएर ।

तर भक्तपुरमा भएको हाजिरी जवाफ प्रतियोगिता भने रकेट उडाएर गरिएको छ । त्यो पनि पानी रकेट उडाएर । त्यसरी किन गरिएको होला ?
‘२१ औं शताब्दीको विज्ञान र प्रविधिको युगमा विज्ञानलाई व्यवहारिक जीवनमा उतार्दै लैजानु जरुरी छ ।’ विद्यार्थीहरुले विज्ञानलाई डरलाग्दो विषयको रुपमा लिने भएकोले यो विषयलाई रमाइलो खेलको रुपमा सहज बनाउन कार्यक्रमको आयोजना गरिएको बताउँदै रकेट उडाएर प्रतियोगिताको उद्घाटन गरिएको बिनायक स्कुलका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भने ।

विज्ञान विषयलाई केन्द्रमा राखी गरिएको प्रतियोगितामा विज्ञानकै एक आविष्कार रकेट उडाएर उद्घाटन गरिएको छैटौं राष्ट्रिय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा दिव्यज्ञान स्कुल प्रथम भएको छ । विज्ञान शिक्षक समाज र बिनायक शिक्षा निकेतनले आयोजना गरेको प्रतियोगितामा ६५ विद्यालय सहभागी थिए ।

मध्यपुर थिमिस्थित बिनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलमा भएकोे सो कार्यक्रममा पहिलो चरणबाट रेडियन्ट पब्लिक, प्रभात (ललितपुर), सिद्धार्थ विद्यापीठ (भक्तपुर), तारा स्कुल (भक्तपुर), पञ्चकन्या (काठमाडौं), दिव्यज्ञान स्कुल (काठमाडौं) गरी उत्कृष्ट ६ विद्यालयलाई छनोट गरिएको छन् । प्रतियोगितामा सिद्धार्थ विद्यापीठ, द्धितीय र रेडियन्ट पब्लिक स्कुल तृतीय भएका थिए ।

कार्यक्रममा शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदी, विज्ञान शिक्षक समाजका केन्द्रीय अध्यक्ष खिलकुमार प्रधान, सानोठिमी क्याम्पस विज्ञान संकायका प्रमुख रामकृष्ण दुवाललगायतको सहभागिता थियो ।

:978 Views

Leave a Reply